May 13, 2019

पूर्वन्यायाधीशको अध्ययन समितिको निष्कर्ष, न्यायालयमा भेष बदलिएका बिचौलियाको दबदबा

 बैशाख २९, काठमाडौं। पूर्वन्यायाधीशको फोरम गरेको अध्ययन समितिले न्यायालयमा विभिन्न भेष बदलिएर आउने बिचौलियाले प्राथमिकता पाइरहेको निष्कर्ष निकालेको छ । त्यस्ता बिचौलियाले न्यायालयको न्यायिक निर्णयमा समेत प्रभाव पार्ने गरेको समितिको भनाइ छ । फोरमको पछिल्लो प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।

बिचौलियाका कारण न्यायालयप्रति विश्वास घट्दै जानुका साथै न्यायिक धरोहरलाई समेत धराशायी बनाउने काम बिचौलिया र राजनीतिक हस्तक्षेपले पार्दै गइरहेको सो निष्कर्षमा उल्लेख छ । ‘न्यायालयमा बिचौलिया विभिन्न वेशभूषामा रहेका छन्,’ पूर्वन्यायाधीश मञ्चका सदस्य सुरेन्द्रसिंह बस्न्यातले भने, ‘नातावाद र कृपावादका कारण न्यायालयमा विचौलियाको राज बढिरहेको छ ।’

पूर्वन्यायाधीशले न्यायालय गलत बाटोमा जान थालेकोप्रति समेत टिप्पणी गरेका छन् । त्यस्ता बिचौलियाहरू राजनीतिक दल एवं सामाजिक कार्यकर्ताका रूपमा न्यायालयमा घुसिरहेको पूर्वन्यायाधीशको अध्ययन समितिले निकालेको प्र्रतिवेदनमा उल्लेख छ । प्र्रतिवेदनअनुसार बिचौलियाहरू वकिल, न्यायकर्मीको भेषमा रहने गरेको पूर्वन्यायाधीश समितिको भनाइ छ ।

पूर्वन्यायाधीश समाजको सो प्रतिवेदनमा न्याय परिषद्मा राजनीतिक नेतृत्व हावी भएकाले प्रधानन्यायाधीशकै नियुक्तिमा समेत राजनीति हाबी भएको उल्लेख छ । अदालतमा मुद्दा परेपछि बिचौलियाको चलखेल सुरु हुने गरेको पूर्वन्यायाधीशहरूको भनाइ छ ।
न्यायपरिषद्को अध्यक्ष प्रधानन्यायाधीश हुन्छन् भने तीन सदस्य राजनीतिक नियुक्तिका रहने गरेका छन् । अदालतका तर्फबाट अल्पमत हुने भएकाले राजनीतिक तहले दबाबमा काम गराउन बाध्यसमेत पार्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो समय न्यायालयमा राजनीतिक हस्तक्षेप प्र्रत्यक्ष रूपमा परेको समेत उल्लेख गरेका छन् । न्यायालय राजनीतिक प्र्रभावबाट मुक्त हुनुपर्ने हो तर न्यायाधीशले स्वच्छ भएर काम गर्ने वातावरण नभएको पूर्वन्यायाधीशको फोरमले निष्कर्ष निकालेको छ । सरकारवादी फौजदारी, अर्थ, आयकर वा यस्तै अरू मुद्दामा क्षणिक लोकप्रियता प्राप्त गर्ने विचारले कुनै न्यायाधीशले फैसला गर्न थालेको प्रतिवेदनको निष्कर्ष छ । त्यस्तो कार्य गर्दा सरकार वा केहीलाई फाइदा भए पनि समग्र रूपमा न्यायालय भने धराशायी हुने प्रतिवेदनमा उल्लेख छ ।

अझै निष्पक्ष न्याय गर्छु भनेर कसैले सोचे भने महाअभियोगको तरबार टाउकोमा छ भनेर राजनीतिक दलका नेताले बारम्बार भनिरहँदा न्यायालय स्वतन्त्र बन्न नसकेको पूर्वन्यायाधीश सुरेन्द्रसिंह बस्न्यात बताउँछन् । न्यायपालिका दलहरूको प्रभावमा पर्ने दुर्भाग्यपूर्ण अवस्थामा देश एकदलीय शासन वा कुनै न कुनै सर्वसत्तावादतिर धकेलिन सक्ने सम्भावना बढ्दै जान्छ, अध्ययन समितिको प्र्रतिवेदनमा उल्लेख छ ।

केही न्यायाधीश आफ्नो राजनीतिक दल र नेताप्रति बफादारी देखाउन पार्टीका कार्यकर्तामार्फत र अन्य विभिन्न किसिमले नेताको सम्पर्कमा रहिरहने हुनाले न्यायालयमा राजनीतिक चलखेलको प्रभाव परिरहेको प्रतिवेदनमा भनिएको छ ।

कानुन व्यवसाय क्षेत्रबाट ल्याइएका केही न्यायाधीशले निःसन्देह राम्रा उदाहरण प्रस्तुत गरेको भन्दै समितिको प्रतिवेदनले उनीहरू ओझेलमा परेको भनिएको छ । वर्तमान न्यायपरिषद्को बनोटपछि त्यस क्षेत्रबाट ल्याइएका केही न्यायाधीशमा अनिवार्य रूपले हुनुपर्ने निष्पक्षताको अभाव रहेको निष्कर्षसमेत प्रतिवेदनमा उल्लेख छ । पूर्वन्यायाधीशहरूको प्रतिवेदनले पछिल्लो समयमा मिडिया ट्रायल हुने गरेको निष्कर्ष निकालेको छ । न्यायालयको मर्यादा समाजमा बिस्तारै खस्किरहेको औंल्याउँदै प्रतिवेदनमा राजनीतिक दलका पदाधिकारी, सरकारी पदाधिकारी वा कुनै पनि व्यक्ति विशेषले समेत अदालतमाथि ट्रायल गर्न थालेको प्रतिवेदनमा उल्लेख छ ।

पूर्वन्यायाधीश फोरम नेपालको २५ मंसिर २०७५ मा बसेको साधारण सभाले न्यायालयको अवस्था अध्ययन गर्न एक समिति गठन गरेको थियो । सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रप्रसाद भण्डारी नेतृत्वमा बनेको समितिमा सर्वोच्चकै पूर्वन्यायाधीशहरू पवनकुमार ओझा, गिर वैद्यनाथ उपाध्याय सदस्य थिए । पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश शम्भुबहादुर खड्का सदस्य सचिव थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण