फाल्गुन १७, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाको ज्यान जाने गरी ताप्लेजुङमा दुर्घटनामा परेको हेलिकप्टरले क्षमताभन्दा धेरै मानिस बोकेको भन्दै आलोचना भएको छ।
खराब मौसमसमा ‘ओभरलोड’ का कारण हेलिकप्टर डाँडामा ठोकिएको अनुमान पनि धेरैले गरेका छन्।
सो हेलिकप्टरले आफ्नो क्षमता भन्दा धेरै भार बोकेको हो? दुर्घटनाका कारण के-के हुन सक्छन्?
दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकप्टर एएस-३५० को जम्मा क्षमतानै ६ + १ अर्थात् ६ जना यात्रु र एक जना पाइलट बोक्ने रहेको नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए।
‘यो हेलिकप्टरमा पाँच जना भन्दा बढी मानिस चढ्न मिल्दैन भन्ने साँचो होइन,’ उनले सेतोपाटीसँग भने।
हेलिकप्टर ताप्लेजुङको पाथिभरा मन्दिरबाट उडेपछि दुर्घटना भएको हो। त्यसले पनि यो दुर्घटनामा भारवहन क्षमता वा हेलिकप्टर उडेको उचाइ प्रमुख कुरा होइन भन्ने देखाउँछ।
उक्त हेलिकप्टरले पूर्ण क्षमतामा ५०० किलोग्राम तौल बराबरको इन्धन भरेको हुन्छ। ताप्लेजुङ पुग्दा १५०-२०० केजी इन्धन खर्च भइसक्ने पाइलटहरू बताउँछन्।
फर्किने बेलमा हेलिकप्टरको भार झण्डै दुई मानिसको तौल बराबर घटिसकेको हुन्छ। त्यसैले हेलिकप्टर ताप्लेजुङबाट फर्कँदा भार धेरै हुन नसक्ने उनीहरूको धारणा छ।
पाथिभरा मन्दिरबाट फर्कँदा उचाइ पनि ठूलो ‘इस्यु’ नहुने उनीहरू तर्क गर्छन्। पाथिभरा मन्दिर आफैं धेरै उचाइमा छ। हेलिकप्टरले त्यहाँबाट फर्कँदा धेरै उचाइ लिनु पर्दैन।
उडेर पाथिभरा मन्दिरमा सकुशल ल्याण्ड गरेको हेलिकप्टर, फर्किने बेलामा धेरै उचाइ र धेरै भारका कारण दुर्घटना भयो भन्ने तर्क धेरै पत्यारिलो नभएको उनीहरूको जिकिर छ।
कतिपयले बुधबार काठमाडौं र पूर्वको मौसम खराब हुँदाहुँदै किन हेलिकप्टरलाई उड्न दिएको भनेर पनि आलोचना गरेका छन्।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताप अधिकारीले विमानस्थलले हरेक हेलिकप्टर वा विमान उड्नुअघि मौसमको प्रक्षेपण गर्ने बताए।
‘मौसम खराब भए हामी उडान रोक्न भन्छौं,’ उनले भने।
आफूहरूले मौसम प्रक्षेपण गरेर उडान नरोकेपछि थप निर्णय गर्ने जिम्मा पाइलटकै हुने उनले बताए।
तेह्रथुमका लागि काठमाडौंबाट उडेको हेलिकप्टर त्यहाँको कार्यक्रम सकेर ताप्लेजुङका लागि उडेको थियो।
हेलिकप्टर ताप्लेजुङ पुग्दा भने मौसम ठीकै रहेको देखिन्छ।
पाथिभरा मन्दिरका पूजारी डिल्ली आचार्यले मौसम केही खुलेको बेला हेलिकप्टर आएर बसेको बताएका छन्।
फर्किने बेलामा भने मौसम खराब भएको हेलिकप्टरका पाइलट प्रभाकर केसी र एयरपोर्ट टावरसँग भएको संवादले पनि पुष्टि गर्छ।
धेरै हिउँ परेकाले आफूहरू उड्न नसकेको जानकारी पाइलट केसीले ताप्लेजुङस्थित सुकेटार टावरलाई गराएका थिए।
पूजारी आचार्यका अनुसार हेलिकप्टर पुगेको केही समयदेखि नै फेरि हिउँसहित ठूलो हावाहुरी चल्यो । पूजाआजा सकेर मन्त्री अधिकारीसहितको टोली हेलिकप्टरमा नै बस्यो।
‘हेलिकप्टरभित्रै केही न्यानो होला भन्दै उहाँहरू हेलिकप्टरमा चढ्नुभयो र करिब १५ मिनेटभित्रै बसेर चियासमेत पिउनुभयो,’ आचार्यले भनेका छन्।
छिनछिनमा बादल लाग्ने र मौसम खुल्ने क्रम चलिरहेको थियो। बेलाबेला बतास चल्दै थियो।
पाथीभरा मन्दिर सदरमुकाम ताप्लेजुङ बजारभन्दा धेरै माथि छ। सदरमुकामतिर मौसम खुलेको भन्ने जानकारी आएपछि हेलिकप्टर उडाउने निर्णय भएको आचार्यले सुनाए।
‘हेलिकप्टरमा रहेका युवराज दाहालले अब उडे फरक पर्दैन, उताको मौसम ठिकै छ भने समस्या आउँदैन होला भन्नुभएको थियो, केहिबेरपछि हेलिकप्टर उड्यो,’ उनले भने।
आचार्यका अनुसार हेलिकप्टर उड्दा मन्दिरमा सामान्य हिमपात भैरहेकै थियो। आकाश बादलले ढाकेको थियो।
हेलिकप्टर उडेको एक मिनटभित्रै दुर्घटनामा परेको एयर ट्राफिक कन्ट्रोल टावरले जनाएको छ।
प्रत्यक्षदर्शीका परस्पर बाझिने कुरा मिडियामा आएका छन्।
एक प्रत्यक्षदर्शीले उडिरहेको हेलिकप्टरमा आकाशमै आगो लागेको बताएका छन्, भने अर्काले हेलिकप्टर उड्दै आएर डाँडामा ठोक्किएको बताएका छन्।
मौसम खराब भएको बेला, अझ हिमपात भएको बेला हेलिकप्टरको उचाइ लिने क्षमता घट्ने पाइटलहरू बताउँछन्।
हिमपातका कारण इन्जिन ‘आइसिङ’ भएको हुन सक्ने अनुमान पनि कतिपय पाइलटले गरेका छन्।
के दुर्घटनामा परेको हेलिकप्टर पनि हिमपातका कारण आवश्यक उचाइ लिन नसकेर डाँडामा ठोकिएको थियो? के इन्जिन ‘आइसिङ’ भएको थियो? के बाक्लो बादलका कारण नदेखेर पाइलटले हेलिकप्टर डाँडातिर लगे?
यी प्रश्नको उत्तर सरकारले गठन गरेको छानविन समितिले पनि कति खोज्न सक्छ एकिन छैन।