वाइडबडी घोटाला प्रकरणमा देउवा दोषी भए पनि कारवाही गर्नुपर्छ : कांग्रेस नेताहरु

पौष ३०,काठमाडौं : नेपाल वायुसेवा निगमको जहाज वाइडबडी घोटाला प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम मुछिएपछि नेपाली कांग्रेसभित्र नयाँ तरंग उत्पन्न भएको छ । यद्यपि देउवाले वाइडबडी घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरिरहेका छन् । 

देउवा नेतृत्वको पूर्ववर्ती सरकारको पालामा जहाज खरिदका लागि पहिलो किस्ता भुक्तानी गरेको प्रमाण देखाउँदै घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्री देउवा संलग्न रहेको जिकिर सत्तापक्षले गरिरहेको छ भने प्रमुख प्रतिपक्षी दल कांग्रेस घोटाला प्रकरणमा सत्तारुढ दलकै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संलग्न रहेको दाबी गरिरहेको छ । 

सार्वजनिक लेखा समिति अन्तर्गत रहेको कांग्रेस नेता राजन केसी संयोजकत्वको उपसमितिले वाइडबडी खरिद प्रक्रिया बारेमा छानबिन गरिरहेकै अवस्थामा सरकारले संसदीय समितिलाई किनारा लगाएर जाँचबुझ आयोग गठन गर्नुले घोटाला प्रकरणमा सरकारकै संलग्नता पुष्टि भएको कांग्रेसको टिप्पणी छ । तर कतिपय कांग्रेस नेताहरुले भने देउवा नै दोषी पाइए पनि कारवाही हुनुपर्ने बताएका छन् ।

‘‘संसदीय समितिले वाइडबडीको छानबिन अगाडि बढाइरहेकै समयमा सरकारले हस्तक्षेप गरेर छानबिन आयोग गठन गर्यो,’’ कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले भने, ‘‘त्यसले सरकार स्वयम् वाइडबडी काण्डमा संलग्न छ भन्ने कुरा पुष्टि गर्दछ । धेरै कुरा खोजी रहनु आवश्यक नै छैन ।’’ सरकारले जाँचबुझ आयोग गठन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने अनुसन्धानमा अवरोध खडा गर्ने प्रयत्न गरिरहेको उनले टिप्पणी गरे । 

‘‘पछिल्लो समयमा अरु को–को आउँछन्, को–को गाँसिन्छन् भन्ने कुराका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न बाँकी नै छ,’’ घोटाला प्रकरणमा पार्टी सभापति देउवाको नाम मुछिएको प्रसंगमा नेता गुरुङले भने, ‘‘सरकारले जाँचबुझ आयोग गठन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो संवैधानिक अंगले गर्ने अनुसन्धानमा अवरोध खडा गर्ने प्रयत्न गरिरहेको छ ।’’ 

कांग्रेस नेता गुरुङले आफू सधैँ वाइडबडी घोटाला प्रकरणको निष्पक्ष छानबिन गरिनुपर्ने र छानबिनका क्रममा दोषी देखिएका जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने पक्षमा उभिएको स्पष्ट पारे । ‘‘छानबिनमा उहाँ (देउवा) गलत देखिनुभयो भने कारवाही हुनुपर्छ, उहाँ गलत देखिनुभएन भने समाजमा क्लिन चिट पाउनुहुन्छ । उहाँमाथि अहिले गरिएको आशंका छ्याङ्ग हुनका लागि पनि निष्पक्ष छानबिन हुनैपर्छ,’’ उनले भने । 

वाइडबडी घोटाला प्रकरणमा ‘तेरो–मेरो’ भन्दै अनुहार हेरेर छानबिन गरिन नहुनेमा जोड दिँदै नेता गुरुङले कांग्रेस वाइडबडी प्रकरणको निष्पक्ष छानबिनको पक्षमा उभिएको स्पष्ट पारे । कांग्रेसका अर्का केन्द्रीय सदस्य डा. रामशरण महतले पनि आफू वाइडबडी घोटाला प्रकरणमा निष्पक्ष छानबिन गरिनुपर्ने पक्षमा रहेको प्रतिक्रिया दिएका छन् । 

उनले घोटाला प्रकरणमा सभापति देउवाको संलग्नताका बारेमा खुलेर प्रतिक्रिया भने दिएनन् । ‘‘सभापतिले संलग्नता छैन भन्नुभएको छ । उहाँकै कुरा सुन्नु पर्यो, यो बारेमा हामीलाई त केही जानकारी छैन्,’’ डा. महतले भने, ‘‘उहाँले संलग्नता छैन भने पछि हामीले कसरी संलग्ता छ भन्ने ? जानकारी नै नभाको कुरोमा अहिलेनै बोलिहाल्नु उचित हुन्न । तर निष्पक्ष छानबिन भने हुनुपर्छ ।’’

कांग्रेस सभापति देउवाले सोमबार कैलालीको धनगढी पुगेर वाइडबडी घोटाला प्रकरणमा प्रधानमन्त्रसमेत रहेका ने क पाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संलग्नता रहेको दाबी गरेका छन् । 

नेपाल प्रेस यूनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तत्कालीन नेकपा एमालेका अध्यक्ष ओलीको नेतृत्वको तत्कालीन सरकारले जहाज खरिदका लागि पहल गरेको र तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले जमानत बसेर बोलपत्र खरिद गर्ने निर्णय गरेको बताए ।   

‘‘वाइडबडी प्रकरणमा मेरो हैन, ओली र प्रचण्डजीको प्रत्यक्ष संलग्नता छ । ओली प्रधानमन्त्री भएको बेला सरकारले जहाज खरिदका लागि उपसमिति गठन गरेको हो । प्रचण्ड प्रधानमन्त्री भएका बेला जमानत बसेर बोलपत्र खरिद गर्ने सरकारले निर्णय गरेको थियो,’’ कांग्रेस सभापति देउवाले भने ।  उनले वाइडबडी विमान घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गर्दै आफ्नो नाम जोडेर अन्याय गरिएको गुनासोसमेत गरे । 

तत्कालीन सरकारले मन्त्रीस्तरिय निर्णय गरेको देखिए आफूलाई मुछ्नु स्वाभाविक भएको भन्दै उनले वाइडबडी विमान घोटाला प्रकरणमा आफू निर्दाेष रहेको प्रष्टिकरण दिए । ‘‘खाली रहेका १८ मन्त्रालयमा कहाँ के हुन्छ मलाई के थाहा हुनु र ? कसरी थाहा पाउनु ? यदि मैले मन्त्रीस्तरीय निर्णय गरेको भए म दोषी हुन्थे, मलाई केही थाहै छैन । कसरी मेरो संलग्नता हुन्छ ?” देउवाले प्रश्न गरे । 

प्रतिपक्षी कांग्रेसले माघ २ गते वाइडबडी घोटाला प्रकरणका बारेमा पत्रकार सम्मेलन गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले माघ २ गते पत्रकार सम्मेलन गरेर वाइडबडी प्रकरण र पछिल्लो समयमा पार्टी सभापति देउवामाथि भइरहेको अशंका तथा डा. गोविन्द केसीको आमरण अनशनरतको विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड