आज नेपाल-मलेसियाको श्रम सम्झौता हुँदै !

नेपालले मलेसियासँग आज श्रम सम्झौता गर्ने भएको छ । नेपाल आएका मलेसियाका मानव संशाधनमन्त्री एम कुला सेघरान र श्रम, रोजगार तथा सामाजिक मन्त्री गोकर्ण विष्ट नेतृत्वको प्रतिनिधिमण्डलबीच आज वार्ता हुँदैछ । वार्तापछि सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । मलेसियाबाट सेघरान नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आइपुगेको छ ।

नेपालबाट मलेसियाका लागि श्रमिक आपूर्ति, आप्रवासी कामदारका हकहितका विषयमा छलफल हुने श्रम मन्त्रालयले जनाएको छ । त्यसपछि दुवै देशका श्रममन्त्रीले श्रमिक आपूर्ति गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । 
दुई सरकारका उच्च अधिकारीले हस्ताक्षर गरेसँगै विगत छ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने छ । नेपाल र मलेसियाबीच डेढ दशकभन्दा अघिदेखि श्रम सम्बन्ध रहेपनि श्रम सम्झौता हुन सकेको थिएन । विभिन्न समयमा श्रम सम्झौताको प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन । 

समझदारीपछि मलेसिया जाने नेपाली कामदारको सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्नुपर्नेछ ।

अब मलेसिया जाने कामदारले कुनै शुल्क तिर्नुपर्ने छैन । रोजगारदाता मुलुकलाई कामदारप्रति जवाफदेही बनाउँदै नेपाली कामदारले अधिकतम् लाभ प्राप्त गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर हुने श्रम मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए ।

यस्तै नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटोलाई पनि सम्झौताले सम्बोधन गर्नेछ । समझदारीपश्चात् नेपाली कामदारको २४ घन्टे बीमा, रोजगारदाता मुलुकमा विरामी हुँदा उपचारमा लाग्ने खर्च, बिदालगायत सेवा सुविधा सुनिश्चित हुने विश्वास लिइएको छ । 
नयाँ समझदारीअनुसार कामदारको करार अवधि दुई वर्षको हुनेछ । यसअघि तीन वर्षको करार अवधिमा नेपाली कामदार रोजगारीका लागि मलेसिया जाने गरेका थिए । मलेसियाका लागि कामदार आपूर्ति गर्दै आएका ‘मेनपावर कम्पनी’ले रोजगारदाता मुलुकका सम्बन्धित कम्पनीबाटै सेवा शुल्क पाउनेछन् । 

नेपाल सरकारले विभिन्न शीर्षकमा कामदारसँग अवैध शुल्क लिँदै आएका एजेन्सीको खारेजीसँगै छ महिनादेखि मलेसियाका लागि श्रमिक आपूर्ति ठप्प भएको थियो । छ महिनाको अवधिमा कामदार आपूर्तिलाई सहज बनाउन भन्दै दुई मुलुकका अधिकारीबीच पाँच पटकसम्म कूटनीतिकस्तरमा छलफल भएको थियो । दुई देशबीच तीन पटकसम्म श्रम समझदारीको मस्यौदा आदानप्रदान भएको थियो । 
मस्यौदालाई अन्तिम रुप दिन गत महिना नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो । गत असोज १२ गते मलेसियाको पुत्रजयामा नेपाली पक्ष र मलेसियाली पक्षबीच समझदारीपत्रका अन्तरवस्तुमा सहमति जुटेको थियो । 

रोजगारी खुल्न केही समय लाग्ने

दुई सरकारका उच्च अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भए पनि मलेसियाको रोजगारी खुल्न भने केही समय लाग्नेछ । प्राविधिक तयारी गर्नुपर्ने भएकाले तत्काल मलेसियाका लागि श्रम स्वीकृति प्रदान गर्न नसकिने प्रवक्ता रेग्मीले बताए ।
समझदारीपछि कामदार आपूर्तिका ढाँचा तय गर्न दुई देशका अधिकारी सम्मिलित प्राविधिक टोली गठन हुने विश्वास छ । सोही टोलीले कामदार छनोट, प्रवेशाज्ञा, स्वास्थ्य परीक्षणलगायत विषयमा सहजीकरण गर्नेछ । 

नेपालीका लागि मलेसिया सबैभन्दा ठूलो श्रम गन्तव्य हो । अझै पनि मलेसियामा करीब पाँच लाख नेपाली काम गरिरहेका छन्, जसमा  सबैभन्दा बढी सुरक्षा गार्ड छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक