आन्तरिक राजस्व दुई–तिहाइ उठे भन्सार दर घटाउँछौं : अर्थमन्त्री खतिवडा

 अर्थमन्त्री युवराज खतिवडाले आन्तरिक राजस्व कम्तिमा दुई–तिहाइ उठ्ने अवस्था बन्यो भने भन्सार दर कम गर्ने बताएका छन् ।

राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट सुरु सवारीसाधन बिक्री प्रदर्शनी ‘नाडा अटो शो २०१८’ उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भन्सार कम गर्न आन्तरिक राजस्व उठ्ती उल्लेख्य परिमाणमा हुने अवस्था आउनुपर्ने बताएका हुन् । 

नेपालमा सवारीसाधन आयात गर्दा विभिन्न किसिमका कर झन्डै २ सय ४० प्रतिशतसम्म लाग्ने गरेको छ । यसबाट विदेशमा तिरिएको सवारीसाधनको मूल्य यहाँ आइपुग्दा उपभोक्ताले धान्नै नसक्ने परिमाणमा पुग्ने गर्छ । छिमेकी भारतमा कुनै सवारीसाधनको भाउ जति हुन्छ, त्यसलाई नेपाल ल्याएर बिक्री गर्दा उताको भन्दा चार गुणासम्म महँगो हुने गर्छ । 

‘भन्सार कम गरे पनि चोरी पैठारी कम हुने चाहिँ होइन,’ अर्थमन्त्री खतिवडाले भने, ‘यसका लागि प्रशासनिक संयन्त्र सुदृढ र बलियो बनाउन आवश्यक छ ।’ कर बढी भएका कारण सवारीसाधन खरिद गर्न चाहने उपभोक्ता मारमा परेको भन्ने गुनासोप्रति उनले अटो क्षेत्रमा बढी कर लगाएको स्वीकार भने गरे । 

‘कमाएर गाडी किन्नुस्, ऋण गरेर होइन,’ खतिवडाले सुझाव दिए, ‘ऋण तिर्ने क्षमता छैन भने गाडी किन्दै नकिन्नुस् । उपभोक्ता जहिले पनि आम्दानीमा आधारित हुनुपर्छ ।’

आयात प्रतिस्थापन गर्न सार्वजनिक सवारीसाधन एसेम्बलिङ र विद्युतीय सवारीलाई प्राथमिकता सरकारले प्राथमिकता दिएको भन्दै खतिवडाले यसमा निजी क्षेत्रबाट उल्लेख्य सहयोगको अपेक्षा गरिएको बताए । अन्तर्राष्ट्रिय स्तरको एउटा प्रदर्शनी स्थल नभएर समस्या भइरहेको भन्ने गुनासो सुनेपछि खतिवडाले राजधानी नजिक पायक पर्ने ठाउँ निजी क्षेत्रले देखाइदिए सरकार सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए । आयात प्रतिस्थापन गर्नुपर्छ पनि भन्ने र गुनासो पनि गरिरहनेबीच तालमेल नभएको भन्दै उनले निजी क्षेत्रलाई निर्यातमुखी बन्न सुझाव दिए । त्यसैगरी एलसी (प्रतितपत्र) बाट कारोबार गर्दा सबैलाई सहज हुने उनको भनाइ थियो । 

‘जहाँ जसलाई जे राम्रो लाग्छ, त्यस्तै बोल्ने अर्थमन्त्री म होइन,’ खतिवडाले भने, ‘बोली फेरिरहने अर्थमन्त्री भएर के काम ? म कर्णप्रिय बन्न चाहन्नँ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अटो क्षेत्र पुँजी परिचालन र अर्थतन्त्र चलायमान बनाउने प्रमुख क्षेत्र रहेको बताइन् । निजी क्षेत्रले पनि व्यापार घाटालाई चुनौतीका रूपमा लिएको भन्दै उनले सबै बैंकिङ च्यानलबाट आयात गर्दा एलसीजस्तै सुविधा पाउनुपर्ने माग गरिन् ।

‘निजी क्षेत्र अन्तर्राष्ट्रिय स्तरको एउटा ठूलो प्रदर्शनी स्थल निर्माण गर्न तयार छ,’ राणाले भनिन्, ‘यसमा सरकारको सहकार्य र सहयोग आवश्यक छ ।’ अटो क्षेत्रलाई उत्पादनमूलक क्षेत्रका रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । 
नाडा अटो शोको आयोजक नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष शम्भु दाहालले सरकारी नीति–नियमका कारण व्यवसायी मर्कामा परेको बताए । नेपाल विश्व व्यापार संगठनको सदस्य भएका नाताले मूल्यांकन सन्दर्भ सूची खारेज हुनुपर्ने उनको माग थियो । 

‘सरकार र निजी क्षेत्र मिलेर २ सय रोपनी क्षेत्रफलमा एउटा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्नुपर्छ,’ दाहालले भने, ‘हामी धेरै नै सकारात्मक छौं तर, सरकार अझै उदासिन छ ।’

आयोजकका अनुसार भदौ ३१ सम्म सञ्चालन हुने यसपालिको नाडा अटो शोमा १ सय ३४ वटा स्टल छन् ।  बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीलाई छुट्टै स्टल उपलब्ध गराउन नसके पनि सवारीसाधनको ब्रान्डका कम्पनीसँग उनीहरूले स्टल सेयर गरेका छन् । यसपालि १९ ब्रान्डका चार पांग्रे तथा २० ब्रान्डका २ पांग्रे सवारीसाधन प्रदर्शनी गरिएका छन् । अायोजकका अनुसार नाडा अटो शो मा ६० हजार दर्शक अाउने अपेक्षा गरिएको छ भने ३ अर्बको कारोबार हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक