August 27, 2018

भक्तपुरमा गाईजात्रा यसरी मनाइन्छ ?

भक्तपुर, भाद्र ११ ।‘तःहामचा गना तय्, ग्वाखँ प्वालय् तय् , ग्वाखँ प्वालय् म्हन्ह्सा, खुँसी च्वयका छ्वय्

विनिसी तिनिसी टङ, घिन्ताङघिसी टङ’ (तःहामचा कहाँ राखूँ, खोपामा राखूँ, खोपामा नअटे खोलामा लगेर राखूँ, विनिसी तिनिसी टङ, घिन्ताङघिसी टङ )

सुन्दर लयमा उल्लेखित भाकासहित एक आपसमा लठ्ठी जुधाउँदै नाच्ने घिन्ताङघिसी नाच प्रदर्शन तथा हास्यव्यङ्ग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गरिने गाईजात्रा पर्व भक्तपुरमा आइतबार साँझदेखि सुरु भयो । मृत आफन्तको नाममा वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइने गरिन्छ ।

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको यो पर्व पूर्व सन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्ययेश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचका टोलीले नगर परिक्रमा गरेर भक्तपुरमा गाईजात्रा सुरु भएको थियो ।

यहाँ गाईजात्रा जनैपूर्णिमाको साँझ शुरु भए पनि सर्वसाधरणले मुख्यरुपमा आज मात्र गाईजात्रा निकाल्ने गर्छन् । गाईजात्रा निकाल्नुअघि आजै बिहान सबेरै दरबारस्क्वायरस्थित तलेजु भवानीको मन्दिरमा निकाल्ने परम्परा रहिआएको छ । आज बिहान कुखुरा नबास्दै तलेजुको गाईजात्रा निकालिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी बताए । नेवार समुदायले विशेष पर्वका रुपमा मनाउने गाईजात्रालाई नेपाल भाषामा ‘सापारु’ भनिन्छ । विधिवत रुपमा गाईलाई नगर परिक्रममा गराएपछि मृतात्मा सजिलैसित स्वर्गलोकमा पुग्छन भन्ने धार्मिक विश्वासका साथ यो पर्व मनाईएको हो ।

भक्तपुरको गाईजात्रालाई अन्य स्थानको गाईजात्रा भन्दा भिन्न र विशेष खालको जात्राको रुपमा मनाईने गरिन्छ । भक्तपुरमा यो पर्व श्रावण शुक्ल पूर्णिमाको दिनदेखि आठ रात नौ दिनसम्म मनाईन्छ । गाईजात्राको मुख्य दिन वर्षदिन भित्र मरेका आफ्ना परिवारका सदस्यको आत्माले मोक्ष प्राप्त गरुन भन्ने लक्षले तःहामचा (बाँसको चारखुट्टे रथलाई कपडाले बेरेर मृत व्यक्तिको तस्बीर र टुप्पामा परालबाट गाईको प्रतिक चित्र राखिएको हुन्छ) लाई काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । तःहामचासँगै धाँ बाजा, ताःबाजा र धिमाय् बाजाको संयुक्त तालमा नाच्ने घिन्ताङघिसीको नाचले जात्राको रौनक बढाउँछ । जात्राको मुख्य आकर्षण भन्नु नै यही नाच हो ।

नेवारी समुदायमा काजकिरीया गर्न नपर्ने उमेर नपुगेका मृतक बालबालिकाको हकमा डोकोमा गाईको प्रतिक चित्र र परालको सिङ बनाएर नगर परिक्रमा गराईन्छ भने उमेर पुगेका व्यक्तिको हकमा तःहामचा बनाई नगर परिक्रम गर्ने चलन रहेको छ । तःहामचासहित नगर परिक्रमा गर्नु अगाडि घरको मूलढोका अगाडि पुरोहितले किरीयापुत्रीलाई पूजा सङ्कल्प र विधिबमोजिम पूजा गर्न लगाई मृतात्मा सजिलै स्वर्गमा पुग्न सकुन भन्ने कामना गर्न लगाईन्छ । कसैकसैले मृतकको स्मृतिमा ‘रामायण’को करुणरस प्रधान गीतिलीला समेत प्रदर्शन गर्ने गर्छन् भने कसैले कालो माटाको साँढे बनाई शुङ्गारपटारका साथ खटमा राखी केटाकेटीलाई सुन्दर बनाई महादेव पार्वतीको वेशमा सिँगारी बाजागाजाका साथ ‘बासा लुइँके’ गरेर प्रदर्शन गर्दछन् ।

राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किम्बदन्ती भए पनि नेवार समुदाय बाहेकले गाईजात्रा गर्ने चलन रहेको पाईदैन । मल्लकालमा नेपाल मण्डल विशेषगरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोवास भएको स्थान रहेकोले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वको रुपमा विकास भएको इतिहासविद् एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताए ।

उक्त समुदायमा पनि भक्तपुरको गाईजात्रा भिन्न र विशेषखालको हुनुमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको उनले बताए । किंबदन्तीअनुसार राजा प्रताप मल्लको छोराको मृत्युपछि रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको हुन्छ, भन्ने देखाउनका लागि गाईजात्रा निकाल्ने प्रचलन शुरु गरिएको र यतिले पनि रानीको मन शान्त नभएकाले गाईजात्रामा हास्यव्यङ्ग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न राजाले आदेश दिए बमोजिम गाईजात्राको अवसरमा हास्यव्यङ्ग्य प्रदर्शन गर्न थालिएको हो भन्ने भनाइ रहेको छ ।

प्रा डा श्रेष्ठ भने राजा जयस्थिति मल्ल भन्दा पहिल्यै गाईजात्रा मनाउँदै आइएको बताए । राजा जयस्थिति मल्लले सम्पादन गरेको गोपालवंशालीमा ‘साँःयात’ भन्ने उल्लेख भएको र लिच्छविकालको अभिलेखमा पनि ‘गौ युद्ध’ उत्सव भनी लेखिएको पाइएकाले लिच्छविकालमा पनि गाईजात्रा मनाईन्थ्यो भन्न सकिने र विक्रमको १४ औँ शताब्दी भन्दा अगाडि लिच्छविकालको अन्त्यतिर गाईजात्रा पर्व सुरु भएको मान्नसकिने आधार भएको उनको भनाइ छ ।

भक्तपुरमा मनाइने गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी नाच जयस्थिती मल्ले चलाएका हुन भन्नेमा प्रा डा श्रेष्ठ जोड दिनुहुन्छ । गाईजात्रालाई हास्यव्यङ्ग्यको पर्वको रुपमा पनि लिइन्छ । गाईजात्राको दिनदेखि आठ दिनसम्म राज्यको बेथिति, राजनीतिक तथा सामाजिक विकृति विरुद्ध हास्यव्यङ्ग्यको माध्यमबाट विरोध जनाउने परम्परा रहिआएको छ ।

तत्कालीन राणा शासन र पञ्चायती शासन व्यवस्था विरुद्ध साहित्यकार तथा कलाकारहरले यो पर्वमा व्याङ्ग्य गर्ने पर्वको रुपमा पनि लिने गरेका र यो परम्परा अहिले पनि कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८