June 16, 2018

मोहन वैद्यका नजरमा १४ शीर्ष नेता को–कस्ता ?

वीरेन्द्र ओली
काठमाडौं, असार | 
 

२००३ सालमा प्युठानमा जन्मिएका मोहन वैद्य किरणले विद्यालय तहको शिक्षा गृहजिल्लामै पूरा गरे । त्यसपछि उनी उच्च शिक्षा अध्ययन गर्न दाङको महेन्द्र बहुमुखी क्याम्पस झरे । दाङमा क्याम्पस पढ्दापढ्दै साथीहरूकै प्रभाव र दाङका सामन्त जमिन्दारको अत्याचार सहन नसकी समाज परिवर्तनका लागि कम्युनिस्ट विद्यार्थी राजनीतिमा लागे । ०२१ सालमा कम्युनिस्ट पार्टीको सदस्य लिएका वैद्य चौथो महाधिवेशनमा केन्द्रीय सदस्य हुँदै ०४० सालमा नेकपा मशालका महासचिव भए । ०४५ सालमा उपत्यकाको सेक्टर कान्डपछि नैतिकताका आधारमा महासचिवबाट राजीनामा दिए । उनको पार्टी पटक–पटकको विभाजनपछि ०५२ सालमा माओवादी जनयुद्धमा सहभागी भयो ।

वैद्य भारतीय जेलमै हुँदा माओवादी १० वर्षे जनयुद्धलाई स्थगित गर्दै शान्ति प्रक्रियामा आयो । तत्कालीन माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईले क्रान्तिलाई धोका दिँदै पार्टीलाई संसदीय अभ्यासमा फसाएको भन्दै वैद्यले ०६९ सालमा आफ्नै नेतृत्वमा नेकपा माओवादी गठन गरे । सो पार्टी अहिले नेकपा क्रान्तिकारी माओवादी बनेको छ । वैद्यले महासचिवका रूपमा नेतृत्व गर्दै आएका छन् । ५४ वर्षदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय वैद्यले राजनीतिक दलका धेरै नेतासँग सहकार्य गरे भने कतिपय नेतालाई नजिकबाट चिन्ने मौकासमेत पाए । आफ्ना कुरालाई निर्धक्क र सटिक रूपमा राख्न सक्ने नेताको परिचय बनाएका वैद्यका नजरमा विभिन्न दलका १४ शीर्ष नेता यस्ता छन् ।

केपी ओली : सत्तामा हुँदा आफूलाई महाराजा ठान्छन्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली कुनै काममा लागेपछि दृढतापूर्वक खटिनुहुन्छ । आफ्ना कुरा जोडदार रूपमा राख्ने र खरो रूपमा लानुहुन्छ । वैचारिक रूपमा उहाँको विचार हामीलाई मन पर्ने कुरा पनि भएन । उहाँ सरकारमा हुँदा एक प्रकारले दम्भ चढेको जस्तो लाग्छ । बाहिर दुनियाँमा अरू कोही पनि छैन, मै हुँ भन्ने खालको स्वभाव उहाँमा देखिन्छ । आफूलाई राजा–महाराजाजस्तो ठान्नुहुन्छ । त्यो खालको दम्भ नेतामा हुन जरुरी छैन ।

शेरबहादुर देउवा : आफ्ना कुरा हाकाहाकी राख्छन्
वैचारिक रूपमा भन्नुपर्दा कांग्रेस सभापति शेरबहादुर देउवाको विचार र हाम्रो विचार मिल्ने कुरा भएन । कुराकानी गर्दा देउवाजी हाकाहाकी गर्नु हुन्छ । कुनै पनि कुरा लुकाउनु हुन्न, फ्याट्ट भन्नुहुन्छ ।

रामचन्द्र पौडेल  : साधारणखालका नेता
कांग्रेस नेता रामचन्द्र पौडेलजी सरलखालको नेता हुन् । विचारमा पनि उहाँ र हाम्रो मिल्ने कुरा भएन । उहाँहरूले मान्ने विचारलाई पौडेल व्याख्या विश्लेषण गर्ने नेता हुनुहुन्छ । अन्यको तुलनामा उहाँ थोरै वैचारिकखालका नेता पनि हुन् । देउवाको तुलनामा पौडेलसँग वैचारिक अध्ययन देखिन्छ ।

प्रचण्ड : गलत कुरालाई ठीक हो भनेर कन्भिन्स गर्न सक्ने
प्रचण्डले वैचारिक रूपमा गलत बाटो समाउनुभयो । एक किसिमले संसद्वादी कित्तातिर जानुभयो । उहाँमा मान्छेलाई कन्भिन्स गर्न सक्ने क्षमता छ । कन्भिन्स पनि दुई खालका हुन्छन्, उहाँसँग मान्छेलाई सम्मोहित गर्ने क्षमता छ । जुन कुरामा पनि कन्भिन्स गर्न सक्ने क्या ! सही र गलत दुवै कुरालाई कन्भिन्स गर्न सक्ने । उहाँमा अलिअलि जादुगरीको जस्तो झझल्को पनि आउँछ । उहाँले आश्चर्य भन्नुहुन्छ, चमत्कार भन्नुहुन्छ, यस्ता शब्द हुन्छन्, जसले गर्दा भएको यथार्थभन्दा पनि विषयवस्तुलाई अर्कै ढंगले भन्न खोजेको जस्तो भान पार्न सक्नुहुन्छ । क्रान्तिका लागि भए ठीकै पनि हुन्थ्यो । गलत ठाउँमा भए दिग्भ्रम हो । यस्तो कला पोजेटिभ भए राम्रो हुन्छ, निगेटिभ भए खराब हुन्छ । पहिला ठीक बाटोमा लाग्नुभएको थियो । ठीकै थियो, अहिले नेगेटिभतिर जानुभयो, त्यस्तो कलाको काम छैन ।

माधव नेपाल : मनमा कुनै कुरा गुम्साएर नराख्ने
नेकपा नेता माधवकुमार नेपाल आफ्नो मन लागेको कुरा भन्नुहुन्छ । मनमा धेरै कुरा गुम्साएर राख्नुहुन्न । स्वभावका हिसाबले राम्रै मान्छे हो । तर, उहाँमा राजीतिको प्राविधिक विषयलाई धेरै ध्यान दिने र सैद्धान्तिक विषयलाई कम दिने देखिन्छ ।

झलनाथ खनाल : समस्या आए भाग्छन्
झलनाथजी स्वभावैले भद्र खालको देखिने । उहाँमा सबैलाई मिलाएर लैजानुपर्छ भन्ने खालको सकारात्मक पाटो छ । तर, गलत प्रवृत्तिका विरुद्ध त्यति लड्न नसक्ने हो जस्तो लाग्छ । समस्या नजिकै आयो भने जुध्न नसक्ने, भाग्ने खालको स्वभाव उहाँमा देखिन्छ ।

डा. बाबुराम भट्टराई :  अस्थिर स्वभाव भएका नेता
बाबुरामका विषयमा त के भनौँ खै ! बाबुरामजी स्थिर खालको स्वभाव भएको नेता होइन । उहाँ कहाँबाट कम्युनिस्ट आन्दोलनमा आउनुभयो खै, हुन त जनयुद्धका वेलामा दुःख गर्नुभयो । प्रचण्डजीसँग सल्लाह गरेर बाबुरामजीलाई जसरी पनि पार्टीमा ल्याउनुपर्छ भनेर ल्याएको हो । ल्याउन पहल गरेपछि उहाँ पार्टीमा आउनु पनि भयो । जनयुद्धमा लाग्नुभयो राम्रै गर्नुभयो । पछिल्लो कालखण्डमा जनयुद्धलाई यहाँसम्म ल्याउन प्रचण्डजी र बाबुरामजी मिलेर ग-या’ हुन् । उहाँले त्यो आफू लागेको पुरानो पार्टी छोड्न हुन्थ्यो क्या ! हामी विचार नमिलेर अलग भयौँ । हाम्रो तर्क पनि छ । प्रचण्डजीले यही माओवादीलाई संसद्वादमा लग्नुहुन्छ भन्ने थियो । यही पुरानै संसद्वादमा जानु भन्ने जानेरै हामी अलग भयौँ ।

मोहनविक्रम सिंह : क्रान्तिकारी शक्तिलाई ठोक्ने
नेपाली कम्युनिस्ट आन्दोलनलाई धेरै पुराना नेताले प्रतिक्रियावादी सत्तालाई समर्पण गरे । तर, मोहनविक्रम सिंह पुरानो कम्युनिस्ट नेता भए पनि त्यो समर्पण कहिल्यै गर्नुभएन । आफूलाई जोगाएर ल्याउनुभयो । राजनीतिक रूपमा त्यो सकारात्मक पाटो हो । पछिल्ला कालखण्डमा संसद्वादी झुकाउ उहाँमा देखिन्छ ।

महोनविक्रमजीमा क्रान्तिकारीहरूलाई जहिले पनि ठोक्ने र अवसरवादीसँग मिल्ने विशेषता देखिए । इतिहास हेर्दा जहिल्यै पनि क्रान्तिकारीलाई ठोक्ने गरेकै देखिन्छ । झापा विद्रोहमा झापा विद्रोहीलाई ठोक्नुभयो । जनयुद्धका वेलामा जनयुद्धलाई नै ठोकेर विरोध गर्नुभयो । पञ्चायतमा कांग्रेससँग मिलेर विरोध गरेको भए पनि हुन्थ्यो नि । तर, पञ्चायतकालमा कांग्रेसलाई पनि ठोक्नुभयो ।

नारायणमान बिजुक्छे : एकलकाटे भएका छन्
नारायणमान बिजुक्छेजी आफ्नो ठाउँमा ठीकै हो । विगत पनि उहाँको राम्रै देखिन्छ । तर, पछि अलि एकलकाटे जस्तो हुनुभयो । एक्ला एक्लै हुन मन पराउने, अरूसँग त्यति संगत गर्न मन नपराउने स्वभाव उहाँमा देखियो । बिजुक्छेको सकारात्मक रूप भनेको निर्वाचनमा सहभागी हुने । तर, सरकारमा कहिल्यै नजाने ।

सिपी मैनाली : जनवादी क्रान्ति गर्ने विषयमा अलमल
माले नेता सिपी मैनालीजी नौलो जनवाद भन्नुहुन्छ, त्यो विचार हाम्रो नजिक पनि छ । उहाँले कम्तीमा नयाँ जनवादी क्रान्ति गर्नुपर्छ भन्दै आउनुभएको छ, यो सकारात्मक पाटो हो । तर, कसरी जाने भन्ने विषयमा अलमल भएको जस्तो देखिन्छ ।

उपेन्द्र यादव : मधेसवादी चिन्तन हाबी
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवजी शालीन र भद्र स्वभावको हुनुहुन्छ । चलाख र चतुर पनि हुनुहुन्छ । विगतमा उहाँ कम्युनिस्ट चरित्र देखिए पनि अहिले उहाँमा मधेसवादी चिन्तन धेरै देखिन्छ । पहिला उहाँको कम्युनिस्ट स्कुलिङको हो । तर, पछिल्लो समय विचारभन्दा क्षेत्रीयतावाद हाबी भएको देखिन्छ ।

महन्थ ठाकुर : भद्र र कम बोल्ने
राजपा अध्यक्ष महन्थ ठाकुरजीको विषयमा धेरै भन्न सक्दिन । धेरै लामो संगत पनि भएन । उहाँ भद्र खालको, थोरै बोल्ने र गम्भीर नेता हो । उहाँको बुझ्न नसक्ने कुरा, त्यति लामो समय कांग्रेसमा बस्नुभयो । जीवनको उत्तराद्र्धमा कांग्रेस छोडेर मधेस केन्द्रित दलमा लाग्नुभयो । त्यो अलि बुझी नसक्नु छ ।

विजय गच्छादार : आफ्ना कुरा सशक्त रूपमा राख्न सक्ने
कांग्रेस नेता विजयकुमार गच्छदार आफ्ना कुरा सशक्त रूपमा राख्ने व्यक्ति हुन् । धेरैले उहाँलाई पदलोलुप भएको नेता भन्छन्, तर अरू नेता पनि यस्तै हुन् । परेको वेलामा सबै जान्छन् । गच्छादारजीलाई जहिले पनि मौका परेर हो । सत्तामा जान त अरूले पनि खोजेका थिए, तर अरूले उहाँले जस्तो पाएनन् । सत्ता पदलोलुपता संसद्वादी सबैको उस्तै हो ।

विप्लव : केही गरौँ भन्ने ऊर्जा भएका युवा
नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव नयाँ युवा हो । केही गर्नुपर्छ भन्ने ऊर्जा भएको युवा नेता हो । कसरी अगाडि बढ्नुहुन्छ भनेर सबैले उहाँलाई हेरेका छन् । उहाँको त्यस्तो कमजोर पक्ष त के भनौँ । विप्लवजीले पार्टी नछोडेको भए हुन्थ्यो । हामी सँगसँगै भएको भए हुन्थ्यो ।

वैद्यका नजरमा ४ दल

 

वैद्यले नेपाल कम्युनिस्ट पार्टी (नेकपा), कांग्रेस, फोरम र राजपाका विषयमा मसिनो गरी अवलोकन गरेका छन् । यस्तो छ हाल संसद्मा रहेका चार पार्टीबारे वैद्यका धारणा :

नेकपा : वाम पनि होइन, कम्युनिस्ट पनि होइन 
एमाले र माओवादी केन्द्रको एकतालाई दुई रूपमा लिनुपर्छ । माओवादी केन्द्र र एमालेबीच विचार र कार्यदिशा मिलेकाले सबै कुरा मिल्यो । मिलेपछि एकता गर्नुभयो । त्यसलाई विचार मिल्नेहरूबीचको एकता भन्नुपर्छ । एमाले–मालेबीच संघर्ष गर्दैगर्दा एउटा महान १० वर्षे जनयुद्धको प्रक्रियामा नेपालको जनवादी राज्यसत्ता स्थापना गरेर समाजवादबाट साम्यवादमा जाने एउटा उद्देश्य बनाएर हामी जनयुद्धमा गएका थियौँ । त्यो सबै छाडेर हिजो जे–जसरी एमाले– मालेको विरोध गरेका थियौँ, ती सबै विरोधलाई स्वीकार गरेर प्रचण्डहरू एमालेमा विलय हुनुभयो । एमाले र माओवादीहरूले नयाँ पार्टीको नाम २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी राख्नुभयो । त्यस वेलाको कम्युनिस्ट पार्टीको नाम उहाँहरूले राख्न सुहाउँदैन । उहाँहरू वाम पनि होइन, कम्युनिस्ट पनि होइन । वाम र कम्युनिस्टको जुन एउटा लक्षण र विशेषता हुन्छन्, ती सबै छैनन् । उहाँहरूले कम्युनिस्ट नाम राखेर एक ढंगले जनतालाई भ्रममा पार्न खोजेको देखिन्छ ।

कांग्रेस : सामन्तवादको प्रतिनिधित्व गर्ने पार्टी
कांग्रेसलाई हामीले पहिलेदेखि नै विरोध गर्दै आएका हौँ । दलाल, पुँजीपति, नोकर–शाहीहरूको पार्टी हो । मुख्य रूपमा कांग्रेस सामन्त वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । कांग्रेसका विषयमा अरू थप भन्ने कुरा पनि छैन । राजावादी पार्टीहरू पनि छन्, हामीले उनीहरूको विरोध गर्दै आयौँ । ती राजावादी पार्टीहरू पनि कांग्रेससँग मिल्दाजुल्दा छन्, त्यसैले थप भन्नुपर्ने आवश्यकता छैन ।

यहाँ विचित्रको के देखापरेको छ भने कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीको विरोध गर्दा यी साँच्चिकै कम्युनिस्ट हुन् भन्ने भ्रम पर्छ । साम्यवाद नै ल्याउन खोजे, अधिनायवाद नै ल्याउन खोजे भन्नु विचित्र प्रकारको विरोध देखिन्छ । कांग्रेसले यस्तो विरोध गर्नै हुँदैन, विरोध गर्ने खालको पनि देखिँदैन ।

कांग्रेस र नेकपा दुवैले अहिलेकै संविधानलाई मान्छन् । नेकपा पनि यही संसदीय व्यवस्थालाई मान्ने, कांग्रेस पनि यही संसदीय व्यवस्थालाई मान्ने । अनि, दुवै पार्टीको मुख्य उद्देश्य संविधान कार्यान्वयन गर्ने हो । जुन कोणबाट कांग्रेसले विरोध गर्छ, त्यसको तर्क र आरोप पनि पुग्दैन ।

कांग्रेसले जुन अधिनायकवादको कुरा छ, वर्ग संघर्षमा सबैले अधिनायवाद नै लागू गर्ने हो । कांग्रेसले पनि सकेसम्म अधिनायकवाद नै लागू गर्न खोज्ने हो । राजतन्त्रले पनि एकप्रकारले अधिनायकवाद नै लाद्छ । कम्युनिस्टहरूले उत्पीडकप्रति अधिनायकवाद नै लागू गर्छन् । जनतामा अधिनायवाद लागू गर्दैन । राज्यसत्ता आफैँमा अधिनायकवाद हुन्छ । कांग्रेस आफैँमा अधिनायकवादी हो । २००८ देखि ०१३ सालसम्म कम्युनिस्ट पार्टी प्रतिबन्ध हुँदा उसले अधिनायकवाद लादेको हो । कांग्रेसले नेकपालाई अधिनायकवाद लाद्न खोज्यो भन्नु जनतालाई भ्रममा पार्नुबाहेक केही होइन ।

फोरम : मधेसको प्रतिनिधित्व गर्न नसक्ने पार्टी 
संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव पहिला एमालेमा हुनुहुन्थ्यो, त्यसपछि माओवादीमा आउनुभयो । जनयुद्धको क्रममा हाम्रै पार्टीमा हुनुहुन्थ्यो । फोरम पनि हाम्रै समर्थनमा खोलेको हो । फोरममा लाग्दा पनि उहाँ र हामी एउटै पार्टीमै थियौँ । पछि माओवादी छाडेर जानुभयो । फोरमको अध्यक्ष भएर मधेसको नेता पनि हुनुभयो, अहिले आएर मधेसको ठूलो पार्टीको अध्यक्ष हुनुभएको छ । पहिला कम्युनिस्ट स्कुलिङबाट आउनुभयो । अहिले कम्युनिस्ट विचार छोड्नुभयो । उहाँमा कम्युनिस्ट रङ छैन । वर्गीय बुझाइलाई उहाँले छोड्नुभयो । हुन त कम्युनिस्ट पृष्ठभूमि भएका अशोक राई, राजेन्द्र श्रेष्ठहरू पनि जानुभएको छ ।

राजपा : तराईका जमिन्दारको पार्टी

धेरै पार्टीहरू मिलेर राजपा बनेको छ । उहाँहरू सारमा कांग्रेस नै हो । गजेन्द्रनारायण सिंह पृष्ठभूमि भएका माले एमालेबाट आएका नेता पनि राजपामा छन् । तर, मूल रूपमा राजपा तराईको जमिन्दारहरूको पार्टी हो । मधेसको मुक्ति गर्ने भन्नुहुन्छ, तर त्यस्तो कतै देखिँदैन । कसरी सत्तामा जाने भन्ने चिन्तन देखिन्छ । कम्युनिस्टको विरोध गर्नुहुन्छ । भारतीय शासक वर्गको आशीर्वाद थाप्नुहुन्छ । तराईमा विभाजन ल्याउन खोज्नुहुन्छ । यस्तो पार्टीले मधेसी जनताका लागि कसरी काम गर्न सक्छन् ?

copied from Nayapatrika.com

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र