समाचार टिप्पणी/काठमाडौं, १६ असोज । आइतबार बिहान नेकपा एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा उक्त पार्टीको स्थायी समितिको बैठक सम्पन्न भयो । बैठक लगत्तै एमाले नेता योगेश भट्टराईले फेसबुक स्टाटस लेखे- ‘नेपाली राजनीतिमा एेतिहासिक क्षण र नयाँ तरङ्ग । थोरै प्रतिक्षा ।’
माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन ‘अनन्त’ले रोल्पामा आयोजित एक कार्यक्रममा एमालेसँग चुनावी तालमेल नभई पार्टी एकता हुनसक्ने बताएपछि यसले राजनीतिक वृत्तमा तरङ्ग सिर्जना भएको छ ।
नेपालको कम्युनिष्ट आन्दोलनमा दुई फरक स्कूलिङबीच एकताको सम्भावनाका आधारहरुबारे नेता अनन्तले केही उल्लेख नगरेपनि उनको यो अभिव्यक्तिलाई कतिपयले पत्याएनन् । यद्यपी उनको यो भनाईले राष्ट्रिय मिडियामा विशेष महत्व पायो । त्यसो त एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि एमाले पोलिटब्यूरो बैठकपछि ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सर्वमान्य नेता भएकोले वहाँलाई कार्यकारी राष्ट्रपतिमा निर्वाचित गर्नुपर्छ ।’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनसम्म एमालेमा माओवादीसँग तालमेलदेखि एकतासम्मको कुरा छायाँमा परेको थियो । एमाले अध्यक्ष केपी ओली उक्त कुरा सुन्नै चाहँदैनन् भन्ने आरोप पनि एमालेभित्रै बाट लाग्ने गरेको थियो । तर, तेस्रो चरणको मत परिणामसँगै माधव नेपाल पक्षको कुराहरु पनि एमालेमा सुनिने वातावरण बन्यो र आइतबार एमाले स्थायी समितिको बैठकले वाम तालमेल र एकतासम्मको छलफलको ढोका खोल्यो । यसको सम्पूर्ण जिम्मा पनि स्थायी समितिलाई नै दिने निर्णय एमालेले गरेको छ ।
त्यसो त एमालेको बैठकको निर्णय सार्वजनिक हुनासाथ रोल्पाबाट माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनः अनन्तले एमालेसँग माओवादीको चुनावी तालमेल भन्दा एकता सजिलो हुने धारणा राखेर यो बहसलाई एक कदम अगाडि बढाइदिए ।
राजनीतिक हल्ला कि सल्लाह ?
हुन त, माओवादीको सहयोगमा केपी ओली प्रधानमन्त्री कुर्सीमा बसिरहेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका आन्तरिक प्रशिक्षणमा ‘अब एमालेसँगको सहकार्य चुनावी तालमेल हुँदै पार्टी एकतासम्म पनि अगाडि बढ्न सक्छ । तर, एमालेको एउटा पंक्ति यसमा सकारात्मक छैन । हामी सचेत पनि रहनुपर्छ ।’ हुन पनि त्यस्तै भयो । ओलीले वचन पूरा गरेनन् र माओवादी-एमाले गठबन्धन तोडियो । फलस्वरुप प्रचण्ड र शेरबहादुर पालैपालो प्रधानमन्त्रीको कुर्सीमा उक्लिन सके । स्थानीय तहको तेस्रो चरणसम्म आउँदा कांग्रेस-माओवादी सहकार्य असैद्धान्तिक नै भए पनि उनीहरुले एकअर्काको अस्तित्व जोगाउन भरपूर सहयोगी बनेको छ ।
मधेसको नतिजाबाट अत्तालिएको एमालेमा अब ओली प्रतिरक्षात्मक र नेपाल समूह आक्रामक बन्ने अवस्था देखा परेको छ । योसँगै एमाले-माओवादीको सहकार्यको चर्चा सुरु भएको छ । यसलाई केवल हल्लाको रुपमा मात्रै लिन सकिँदैन । किनकी दुवै पार्टीका दोस्रो तहका नेताहरुले लामो समयदेखि यो गृहकार्यमा जुटिरहेका छन् । अनन्त माओवादीभित्र प्रचण्डका विश्वासपात्र मानिन्छन् । माओवादी जिल्ला कमिटीहरुमा उनको राम्रो वर्चश्व छ । उनले रोल्पा पुगेर बिनाप्रसंग उक्त कुरा बोलेका होइनन् । सम्भवतः प्रचण्डकै चाहनामा उनले उक्त कुरा परीक्षणका लागि बोलेका हुन् ।
एमालेसँग आशंका !
तर, माओवादीको एउटा ठूलो पंक्ति एमालेले धोका दिनसक्ने भन्दै अहिलेको ‘हल्ला’लाई कांग्रेस-माओवादी गठबन्धन टुटाउने एमालेको नयाँ चालको रुपमा लिएका छन् ।
आइतबार नै एमाले नेता भीम रावलले ‘कांग्रेसलाई हराउन माओवादी मात्र हैन, पूर्व राजासँग समेत एकता र तालमेल गर्न सकिन्छ’ भन्ने अभिव्यक्ति दिएपछि एमालेले आफ्नो अवसरवाद लुकाउन नसकेको चर्चा समेत सुरु भएको छ । आगामी निर्वाचनमा कांग्रेसलाई पराजित गर्नको लागि एमालेले राष्ट्रवादी शक्तिदेखि लिएर प्रगतिशील शक्तिसमेतलाई समेटेर बृहत्त मोर्चा बनाउने तयारी गरिरहेको छ । एकताको कुराले राजनीतिमा जति ठूलो तरंग ल्याए पनि यी सब एमालेको कांग्रेस-माओवादी गठबन्धन भत्काउने र आगामी निर्वाचनमा बढी सिट ल्याउने रणनीति अन्तर्गतको गतिविधिको रुपमा बुझ्नेहरुको पनि राजनीतिक बजारमा कमि छैन । स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल गर्दा राप्रपाले पाएको धोकालाई माओवादीका नेता कार्यकर्ताले नजिर बनाउने गरेका छन् । एमालेलाई विश्वास गर्न नसकिने अधिकांश नेता कार्यकर्ताको बुझाइ रहेको छ ।
कुरो कम्युनिष्ट केन्द्रको
आइतबार नै माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका माओवादी नेता बिकेश श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘अध्यक्ष कमरेड प्रचण्डसँग भलाकुसारी राजनीतिक बिषय बन्यो । एउटा अर्को फड्कोको पूर्वतयारीको समयमा । सम्भवत मुलुकले नौलो सुखद अनुभुति गर्नेछ !’ उनले अगाडि लेखेका छन्,’आफु त दंगै । तर, यो आवश्यकता मात्रै होइन, परिस्थितिको माग यस्तै छ भने ।’
नेता श्रेष्ठले यो बहसलाई ‘कम्युनिष्ट केन्द्र’ बनाउने बहस भनेका छन् । यसले अहिले एमाले र माओवादीका केही नेताहरुबीच सबै वामपन्थीहरु मिलाएर नेपालमा एउटा साझा कम्युनिष्ट केन्द्र बनाउने विषयमा छलफल भइरहेको कुरा प्रष्ट हुन्छ । झलनाथ खनालले प्रचण्डलाई प्रत्यक्ष कार्यकारी राष्ट्रपति मान्न सकिने भन्नुको अर्थ उनीहरुबीच पदको बारेमा पनि कुराकानी भइसकेको अनुमान गर्न सकिन्छ । एमालेका कुनै नेतालाई कम्युनिष्ट केन्द्रको अध्यक्ष बन्नेबारेमा कुराकानी अगाडि बढेको अनुमान गर्न गाह्रो हुँदैन । माओवादी र एमालेका कतिपय दोस्रो तहका नेताहरुले यस्तो कुराकानी भइरहेको संकेत गरेका छन् ।
बाबुरामसँग भेट
परिवर्तित सन्दर्भमा आइतबार नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसँग झण्डै दुई घन्टा भेटवार्ता गरेका छन् । आफ्ना पूर्वसहकर्मीसमेत रहेका भट्टराईसँग प्रचण्डले नयाँ राजनीतिक घटनाक्रम, कम्युनिष्ट केन्द्र र चुनावी तालमेलको बारेमा कुराकानी गरेको प्रचण्डनिकट स्रोतले बताएको छ । यद्यपि, दुई नेताको भेटवार्तामा भएको कुराकानीबारे दुवै नेताका सचिवालयलाई समेत कुनै जानकारी नदिइएको बताइएको छ ।
यसअघि अपरेशनपछि टोखामा आराम गरिरहेका भट्टराईलाई भेट्न पुगेका प्रचण्डले पार्टी एकताको कुरा गरेका थिए । तर, भट्टराईले माओवादी पार्टी विघटन गरेर समाजवाद प्राप्तिका लागि नयाँ पार्टी बनाउन प्रचण्ड तयार भए यसमा छलफल गर्न सकिने बताएको समाचार सार्वजनिक भएको थियो । भट्टराईले कम्युनिष्ट केन्द्र भन्दा समाजवादी केन्द्र अबको लक्ष्य हुने पर्नेमा जोड दिएको प्रचण्डले नै आफ्ना निकटस्थहरुलाई बताउँदै आएका छन् ।
आइतबारको भेटमा भने नयाँ शक्ति निर्णायक रहेका तीन दर्जनभन्दा बढी स्थानमा तालमेलका लागि समेत प्रचण्डले प्रस्ताव गरेको स्रोतले जनाएको छ । भट्टराईसँग भेट्नको लागि प्रचण्डलाई नारायणकाजी श्रेष्ठले पनि दबाव दिएको माओवादीमा चर्चा हुने गरेको छ ।
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड