
सुरुमा यो एउटा तस्वीर, जसले मेरो लेन्सले देखेर खिचिक्क पारिसनसक्दै मेरा आँखामा साउन भेल ल्याएको थियो । भदौरे झरी रोकिएपछि खुलेको आकाशबाट सात सूर्य नै मधेसमा झरेको भान हुन्थ्यो । बफ्याउने त्रिपालमुनीको रापमा यी एक भुरा (बालक) लोलाएर सुतेका थिए । पहिले फोटो खिचे । क्यामेराको लेन्स जुम गर्दै जाँदा उनको पेटको छाला ढाडपट्टिको करङ्गमा टासिन लागेको देखे । अन्नका केही गेडा त्यहाँ पस्न पाएका थिए त त्यो अवस्था हुनेनै थिएन ।
सोधे केही खाएको छैनौँ ? सुकेर कलटी फर्केका ओठबाट आवाज निस्किन सकेन । सासले विस्तारै सुस्केरेर “चाउचाउ खाएको” उनले जवाफ दिए । मलाई हिक्क भयो प्रश्न गरिहाल्न सकिन । यत्तिकै मेरो मुखबाट कहिले ? भन्ने शब्द फुत्कियो । हिँजो दुईवटा चाउचाउ मात्र थियो । सबैले त्यही बाँडेर खाएको उनले भने । नजिकै रहेका एकजनाले उनका बाबु, आमा र दुई भाईबहिनी छन् भन्दै मलाई बुझाईरहेका थिए । मनमा अमिलो पस्यो । पाँच जनालेको परिवारले दुईवटा चाउचाउ खाएको १७ घण्टा वितिसक्यो । म त्यहाँ पुग्दा भोलीपल्टको ३ बजिसकेको थियो ।
अरुसँग कुराकानी गर्न भन्दा मलाई हठात् केही बाडिहाल्न मन लाग्यो । ल्याएको केही खाद्यन्न वितरण गरे । मेरो साथमा गएका साथीहरुलेपनि वितरण गर्नुभयो । सबैलाई भाग लगाएर दिएपछि मलाई केही थप बुझ्न मन लाग्यो । केही त्रिपालभित्र पुगे । भुराहरुको कुरा सुन्दा मनलाई थाम्नै सकिन । सबैको कहालीलाग्दो कहानी छ ।
अर्को हरियो त्रिपालमुनी सुतेका ७ बर्षका रामलखन विष्कुट खानपनि नसक्ने बनेका भेटिए । मुख पुरै सुकेको थियो । पिउन मिल्ने पानी थिएन । विष्कुट र चाउचाउ मात्रले शासको त्र्यान्द्रो अल्झ्याउनु परेको थियो । हामीले दिएको पानीलाई अमृत जस्तै ठान्दै थिए ।

११ बर्षकी यी गोग्गुले १० मिनेटसम्म पानीको बोट्टल खोल्नै मानिन । खेलाईरहिन् । प्यार गरेर च्यापिराखिन् । कुनै बेला कम्मरमा टसाएर राखिन् त कुनैबेला थाप्लोमा राखेर नाच्दै उफ्रिइन् ।

सप्तरी ४ कैलाडीयाका केही प्रतिनिधि तस्वीर मात्र पेस गरे । जुन सदरमुकाम राजविराजबाट मात्र १५ किलोमिटर छ । पुरै बगाएको यो दलित बस्तीमा खासै राहात वितरण गर्न पुगेको देखिएन । सबैले सशस्त्र प्रहरीको बेशक्याम्पमा थुपारेर फर्किने गरेका रहेछन् । हामी भने त्यहाँ पुग्ने कोसिस गरेर त्यहाँ पुगेका थियौँ । संकलित करिब ८ लाखका राहात सामाग्री र केही नगद बोकेर हामी त्यहाँ पुगेका थियौँ । चामल, त्रिपाल, बाल्टी, तेल, दाल, च्युरा, भुजिया, विस्कुट, चाउचाउ, मिठाइ लगायत गरेर वितरण गर्न सफल भईयो । तर दुर्भाग्य भोको पेट रहेको पुरै बस्तीले जब हामीले चाउचाउ, विष्कुट वितरण गरेको देख्यो सबै एक आपसमा लुछाचुडी गर्न थाले । कसैका कपडा च्यातिए, कसैलाई चोट लाग्यो । सहज भागबण्डा गर्न सकिएन ।
त्यहाँ अधिकांश भुराहरु (बालबालिका) का आङ्का आधा भागमा कुनै कपडै थिएनन् । भएकापनि झुत्रिएर लत्रिएका थिए । हाम्रो आँकलन यो अवस्था बाढीले मात्र ल्याएको भने पक्कै हैन । जहाँ कमजोर त्यही पहिरो गएको परिणाम हो । अति विपन्न बस्तीमा बाढीको चपेटाले झनै केही नभएपछि ल्याएको कहालिलाग्दो अवस्था हो । गरिबीका कारण कुपोषण, रोग, भोकको शिकार बनेको त्यो समुदायमा सबैको अवस्था यही हो ।

तर मधेसमा बाढीको कहरले निम्त्याएको दुर्दशाबाट भुराहरु (बालबालिका) को अवस्था देखेर कुनैपनि मानवजातिको आँखा रसाउन रोकिन्न । त्यो दुःखलाई सहयोगी हातहरुले टार्न जरुरी छ ।








माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष