शेरबहादुरका सारथिः ‘राम्रा’लाई भन्दा ‘हाम्रा’लाई जोड

Deuba-Team

२४ जेठ , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो सपथ ग्रहण गर्नुभन्दा केही घण्टा अगाडि एउटा चर्चा चल्यो- रामचन्द्र पौडेल समूह सपथ ग्रहणमा उपस्थित नहुने ।

उत्साहका साथ सत्ताको बागडोर सम्हाल्न लागेका देउवाका लागि यो सुखद समाचार थिएन । लगत्तै देउवाले रामचन्द्र पौडेललाई फोन गरेर सपथ ग्रहणमा आइदिन अनुरोध नै गर्नुपर्‍यो ।

मंगलबार भारी मतका साथ व्यवस्थापिका संसदबाट प्रधानमन्त्री बनेका देउवाले बुधबार शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् र लगत्तै सिंदरबार पुगेर कार्यभार सम्हालेका छन् । देउवाले पहिलो चरणमा बुधबार ३ उपप्रधानमन्त्रीसहित ७ जनालाई मन्त्रिमण्डलमा ल्याएका छन् ।

देउवाको मन्त्रिमण्डलमा माओवादी र फोरम लोकतान्त्रिकलाई छाडेर भन्नुपर्दा कांग्रेस पार्टीबाट ल्याइएकाहरुमा देउवाले राम्रा सक्षम मानिसलाई भन्दा पनि आफ्नो गुटलाई प्राथमिकता दिएको देखिएको छ ।
जस्तो कि रामचन्द्र पौडेल पक्षमा रहेका महेश आचार्यलाई देउवाले अर्थमन्त्री बनाउने धेरैको अपेक्षा थियो । बिराटनगरका आचार्य प्रत्यक्ष निर्वाचित सांसद हुनुका साथै अर्थमन्त्रालय चलाएको अनुभव बोकेका नेता हुन् । तर, आचार्य देउवाको रोजाइमा परेनन् ।

आफ्नै गुटबाट अर्थमन्त्री

देउवाले भोजपुरमा कहिल्यै चुनाव जित्न नसकेका समानुपातिक सांसद ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थमन्त्री बनाएका छन् ।

कार्की देउवाको रोजाइमा पर्नुका पछाडि दुईवटा कारण रहेको कांग्रेस नेताहरु बताउँछन्- एउटा, कार्की पार्टीभित्र देउवा गुटका विश्वासपात्र हुन् । दोस्रो- राणा परिवारका ज्वाइँ हुनुको नाताले उनी देउवाका नातेदारसमेत हुन् । र, उनी शीतलनिवासका समेत नातेदार हुन् ।

महेश आचार्यसँग अर्थ मन्त्रालय चलाउने अनुभव भए पनि उनी कोइराला परिवारसँग नजिक नेता हुन् । कार्कीको जस्तो दरबारसम्म आचार्यको नाता र पहुँच छैन ।

‘निबन्धकार’ लाई शिक्षाको साँचो

देउवाको रोजाइमा परेका अर्का नेता हुन्- उपप्रधान मन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ । स्याङ्जाका श्रेष्ठ नेपाली कांग्रेसका पुराना नेता हुन् तर परफरमेन्सको हिसाबले उनी त्यति सक्षम नेता मानिँदैन । देउवाले मन्त्री बनाएर श्रेष्ठलाई त पक्कै न्याय भएको छ, तर पार्टीलाई न्याय हुने नहुने आगामी दिनले बताउला ।

उपप्रधान तथा शिक्षामन्त्री बनेका गोपालमान श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र हुन् । उनलाई आवश्यकताले भन्दा पनि नेता व्यवस्थापन गर्नुपर्ने बाध्यताले उपप्रधानमन्त्री बनाइएको कांग्रेसकै नेताहरु बताउँछन् ।

श्रेष्ठ पार्टी उपसभापतिका दाबेदार थिए । तर, देउवाले विमलेन्द्र निधिलाई उपसभापति बनाउने वचन दिइसकेकाले आफ्नो सरकारमा उपप्रधामन्त्री बनाएर श्रेष्ठको चित्त बुझाएका छन् ।

श्रेष्ठलाई रक्षामन्त्री बनाउने देउवाको तयारी थियो । तर, अन्तिम क्षणमा आएर शिक्षा मन्त्रालयको जिम्मा दिइएको छ ।

रोचक त के छ भने स्याङ्जामा जन्मिएका श्रेष्ठले २०२० सालमा नै ‘पूर्वपश्चिम राजमार्ग, नेपालको भाग्यरेखा’ निवन्ध लेखेर पदक पाएका थिए ।

नवनियुक्ति शिक्षामन्त्रीले ‘चुरोटको ठूटो’, ‘स्यानो माछा ठूलो माछाले खान्छ’ निवन्धका साथै तरुण साप्ताहिकमा आफ्नै आत्मकथा समेत प्रकाशित गरेका छन् ।

हाल काठमाडौं कुलेश्वरमा बस्ने उनी ९ जना सन्तानका पिता हुन् । उनका तीन छोरा र ६ छोरी छन् ।

फर्मूल्लाहः गुट परिवर्तनलाई पुरस्कार

श्रममन्त्री बनेका बाराका फर्मूल्ला मन्सुर लामो समय कांग्रेसको कोइराला परिवार निकट रहे । तर, कांग्रेसको १३ औं महाधिवेशनको पूर्वसध्यामा उनले एकाएक गुट परिवर्तन गरे ।

गुट परिवर्तन गरेपछि त्यसबेला नै देउवाले मन्सुरलाई केन्द्रीय सदस्य र मन्त्री बनाउने आश्वासन दिएका थिए । देउवा गुटबाटै उनी कांग्रेस केन्द्रीय सदस्य बने । अब देउवा सरकारमा मन्त्री बनेका छन् ।

बारा ३ बाट प्रत्यक्ष निर्वाचित मन्सुर कांग्रेसको मधेस राजनीतिमा प्रभाव राख्ने नेतामा पर्छन् । मुस्लिम समुदायका प्रभावशाली नेता भए पनि मन्सुरको ‘हाइट’ मधेसमा अलि कमजोर रहेको कांग्रेस नेताहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने