के छ दिल्लीमा राष्ट्रपतिको आजको कार्यक्रम ?

bidhyadevi-bhandari_deheli-530x304

बैशाख ५, नयाँदिल्ली – पाँचदिने भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मध्याह्न नयाँदिल्ली आइपुग्नुभएको छ । भण्डारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय महिला राज्यमन्त्री कृष्णा राजले स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीलाई विशेष अतिथिको सम्मानसहित विमानस्थलबाट सिधै राष्ट्रपति भवन लगिएको थियो । राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारीसँग दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भेट गर्नुभएको थियो । 

त्यसैगरी, नेसनलिस्ट कांग्रेसका नेता डिपी त्रिपाठी, भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम येचुरी, जनता दल युनाइटेडका नेता शरद यादवलगायत नेताले भेट गर्नुभयो । भेटका अवसरमा उहाँहरूले नेपालको संवैधानिक व्यवस्था र समावेशीतामा नेपालले फड्को मारेको विषयमा चासो व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी, राष्ट्रपतिले आवधिक निर्वाचन सम्पन्न गराउने चुनौतीलगायत नेपालको संविधानमा महिला, सीमान्तकृत महिलाको अधिकारको सुनिश्चिततालगायत सवल पक्षबारे बताउनुभएको राष्ट्रपतिका सल्लाहकार डा.मदनकुमार भट्टराईले जानकारी दिनुभयो ।राष्ट्रपति भण्डारी मंगलबार औपचारिक कार्यक्रममा सहभागी हुनुहुनेछ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलगायत ३४ जनाको टोली राष्ट्रपतिसँग छ । राजकीय भ्रमणको परम्पराअनुसार उहाँलाई भारतीय राष्ट्रपति भवनमा राखिएको छ ।

आज राष्ट्रपति, प्रधानमन्त्रीसँग भेट
भण्डारीले मंगलबार भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अधिकांश भेटवार्ता त्यही दिन हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतीय उपराष्ट्रपति हमिद अन्सारी, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, भारतीय गृहमन्त्री राजनाथ सिंह अर्थमन्त्री अरुण जेट्लीलगायतले भण्डारीसँग मंगलबार भेटवार्ता गर्नुहुनेछ ।

मंगलबार साँझ भारतीय राष्ट्रपतिले भण्डारीको स्टेट ब्यांक्वेट दिने कार्यक्रम छ । मंगलबार नै राष्ट्रपतिले भारतीय उद्योगी र व्यापारीले आयोजना गर्ने बिजनेस इभेन्टमा सहभागिता जनाउने कार्यक्रम छ । दिल्लीपछि राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको भ्रमण गरी द्वारिका, सोमनाथ र पुरीस्थित मन्दिरमा पूजा–अर्चना गर्ने कार्यक्रम छ । दिल्लीस्थित जमुना बायोडाइभर्सिटी पार्कको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रपतिको सम्मानमा नेपाली दूतावासले सोमबार साँझ स्वागत कार्यक्रम आयोजना गर्‍यो । त्यसअवसरमा उहाँले नेपालको नेतृत्वदायी भूमिकामा महिला सहभागिताको अनुपातले विश्वका महिलालाई गौरवान्वित बनाएको बताउनुभयो । भण्डारीले महिला सशक्तीकरणको हकमा नेपाल निकै अगाडि रहेको धारणा व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा भारतमा रहेका प्रवासी नेपालीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘संसारभरका महिलाको व्यथा एउटै छ, महिला विभेदमै छन् । विश्वमा नेपाल मात्र त्यस्तो मुलुक हो, जहाँ संवैधानिक पद, राष्ट्रपति तथा सर्वोच्च अदालतसम्म महिला नेतृत्वदायी भूमिकामा पुगेका छन् । ‘नेपालको संविधानले स्थानीय निर्वाचतमार्फत ४० प्रतिशत महिलाको अधिकार सुनिश्चित गरेको छ । २० प्रतिशत दलित महिलालाई स्थानीय निर्वाचनमार्फत चुनिएर आउने अधिकार प्रदान गरेको छ, योभन्दा असल संवैधानिक व्यवस्था के होला’, संविधानका सबल पक्षलाई विश्लेषण गर्दै राष्ट्रपतिले भन्नुभयो ।

नेपाल शान्ति विकास स्थायित्वतर्फ अघि बढिरहेको भन्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘सबै मिलेर लोकतन्त्र स्थापना गर्‍यौं, आगामी दिनमा नेपालको विकासका लागि अन्तर्राष्ट्रिय समुदायको सद्भाव पनि उत्तिकै आवश्यक छ ।’

राष्टपति भण्डारीले तीन तहको चुनाव गराउनुपर्ने संवैधानिक व्यवस्थाअनुरूप नेपालमा हुन लागेको स्थानीय निर्वाचनमा प्रवासमा बसेका नेपालीको सहयोग र योगदान महत्वपूर्ण हुने बताउनुभयो । उहाँले स्थानीय निर्वाचनमा मताधिकार प्रयोग गर्न प्रवासमा रहेका नेपालीलाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रवासमा बसोवास गरिरहेका नेपाली मुलुकका सद्भावना दूत हुन् । नेपालको विकासमा उहाँहरूको महत्वपूर्ण भूमिका रहन्छ ।’

दिल्लीस्थित दूतावासमा विवाद
राष्ट्रपतिको सम्मानमा बारम्बार रोडस्थित दूतावास परिसरमा मञ्च बनाएर स्वागत कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा भारतीय व्यवसायीको छाता संगठन एभरेस्ट चेम्बर अफ कमर्सद्वारा प्रायोजित ब्यानर दूतावासको मुख्यद्वारदेखि वरिपरिको वालमा टाँगिएको थियो । दूतावासको स्वीकृति लिएर सो ब्यानर टाँगिएको थियो । त्यसैगरी, वाइवाइ चाउचाउको ब्यानर पनि दूतावास परिसरको स्वागत मञ्चस्थलमा टाँगिएको थियो । यो ब्यानर राख्न दिएकोमा प्रवासी नेपालीले विरोध जनाएका थिए ।

मुलुकको राष्ट्रपतिको भ्रमणलाई व्यावसायिक बनाउन खोजिएको भन्दै उनीहरूले विरोध गरेका थिए । यो कदमको विरोधमा एमाओवादीको भ्रातृसंगठन अखिल भारतीय एकता मञ्चका सदस्यले कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका थिए । ‘यसरी राष्ट्रपतिको स्वागतमा कुनै संघसंस्था तथा प्रोडक्टलाई विज्ञापन गर्न दिनु, ब्यानर नै लगाउनु गलत हो,’ प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारीले भन्नुभयो । प्रवासी नेपाली संगठनले दूतावास अधिकारीसँग निकै चर्को विरोध गरेपछि यी ब्यानर हटाइएको थियो ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, प्रवासी नेपाली संघका अध्यक्षलगायत केन्द्रीय सदस्य गोपाल थापालगायतको पहलमा ब्यानर हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’