स्थानीय तहमा ३६ हजार ६३९ पदमा निर्वाचन

2005255287nirwachna-aayog-press-meetकाठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि ३६ हजार ६३९ पदमा निर्वाचन गराउने तयारी निर्वाचन आयोगले जनाएको छ ।

यस निर्वाचनबाट चार महानगरपालिका, १३ उपमहानगरपालिका र २४६ नगरपालिकाका लागि २६३ जना प्रमुख र उपप्रमुख गरी ७२६ जना निर्वाचित हुने आयोगले जनाएको छ ।

यसैगरी, ४८१ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी ९६२ तथा छ हजार ६८० वडाबाट त्यतिकै सङ्ख्यामा वडाअध्यक्ष र  २६ हजार ७२० वडा सदस्य निर्वाचित हुनेछन् । यो निर्वाचनबाट १३ हजार ३६० जना महिला निर्वाचित हुनका साथै छ हजार ६८० दलित महिलाको प्रतिनिधित्व हुनेछ । दलित तथा अल्पसङ्ख्यक गरी एक हजार ७५१ प्रतिनिधिसमेत निर्वाचित हुने छन् ।

त्यसैगरी निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन व्यवस्थापन कार्यलाई सहज, सरल र सुगम बनाउन आपसी सद्भाव कायम गरी निर्वाचनको अभियानमा जुट्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।

आयोगद्वारा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनको ऐतिहासिक अभिभारा पूरा गर्न आयोग द्रूतगतिमा अघि बढिरहेको जानकारी दिए । उनले भने, “राजनीतिकदलबीच अपेक्षित सहमति, सहकार्य र विश्वास अझैसम्म कायम हुन नसक्दा निर्वाचन आयोगलाई गम्भिर बनाएको छ ।”

संवैधानिक व्यवस्थाअनुरुप आगामी वैशाख ३१ गते ७४४ स्थानीय तहको निर्वाचनको सन्दर्भमा आयोगले मतदाताको घरदैलोमा पुग्ने अभियान सञ्चालन सुरु गरिसकेको जनाउँदै उनले संविधानले प्रदान गरेको अधिकारलाई प्राप्त गर्ने यो निर्वाचन एकमात्र वैधानिक बाटो भएको बताए ।

स्थानीय निर्वाचनले लोकतन्त्रको जगलाई बलियो बनाउने जनाउँदै आयोगले स्थानीय तहको निर्वाचनको सन्दर्भमा केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रमुख आयुक्त डा यादवले भने, “अब जिल्लास्तर हुँदै आयोग स्थानीय तहसम्म पुग्न अगाडि बढिसकेको छ, तोकिएको समयमा नै निर्वाचन गराउन आयोग दृढ सङ्कल्पित छ ।”

देशभरका सबै सञ्चार माध्यमका लगानीकर्ता र सञ्चारकर्मीलाई निर्वाचन आचारसंहिताको पालन गर्न र उल्लङ्घन गर्नेप्रति खवरदारी गर्न आह्वान गर्दै आयोगले सार्वभौम मतदाताको अधिकारमाथि कोही कसैबाट धावा बोल्न सक्ने कार्यप्रति चनाखो भएर पहरेदारीको  भूमिका खेल्न अनुरोध गरेको छ ।

निर्वाचनको संवेदनशीलतालाई मनन गरेर अझ बढी संवेदनशील भई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गरी निर्वाचनको अभियानलाई सफल बनाउन अपील गर्दै आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन कहीँकसैबाट पनि हुने छैन भन्ने अपेक्षा गरेको छ ।

निर्वाचन आयोग एक्लैले निर्वाचन सम्पन्न गराउन नसक्ने भएकाले निर्वाचनलाई सफल बनाउन सरकार, राजनीतिक दल, नागरिक समाज, आमसञ्चारकर्मी, बुद्धिजीवी, निजामती प्रशासन, सुरक्षा निकाय, संवैधानिक अङ्ग, आम मतदातालगायत सबैको साथ सहयोग र विश्वास आवश्यक भएको जनाउँदै आयोगले यो ऐतिहासिक निर्वाचन प्रक्रियालाई सफल बनाउने अभियानमा लाग्न सम्बद्ध सबैसँग हार्दिक अनुरोध गरेको छ ।

आयोगले निर्वाचनमा ६७ प्रकारका निर्वाचन सामग्रीको व्यवस्थापन गर्नेछ । मतपत्र छपाइका लागि आवश्यक पर्ने सेतो कागज जनक शिक्षा सामग्री केन्द्रमा उपलब्ध भइसकेको र नेपाली सेनाले सुरक्षा व्यवस्था मिलाएको आयोगले जनाएको छ । आइतबारदेखि मतपत्र छपाइ सुरू गर्ने गरी तयारी प्रक्रियालाई अगाडि बढाइएको प्रमुख आयुक्त यादवले जानकारी दिए ।

निर्वाचनका लागि करिब एक करोड ४० लाख मतदाताको सङ्ख्या हुने आयोगले अनुमान गरेको छ । जनचाहनाअनुरुप नयाँ किसिमको मतदाता परिचयपत्र आयोगमै छापिइरहेको जनाएको छ ।

मतदाता नामावली ऐन, २०७३ अनुसार मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य छ । यो परिचयपत्रमा भायड प्याण्टोग्राफ, माइक्रो टेक्स्ट, वाटरमार्क र प्रमाणीकरण गर्न सकिने क्यूआर कोडसमेत राखिएको जनाइएको छ ।

मतदाता शिक्षा, कानुनी पूर्वाधार, सुरक्षा व्यवस्था, मतपेटिकाको व्यवस्थापन तथा निर्वाचन पर्यवेक्षणको कामलाई पनि उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेको जनाउदै आयोगले मतदान केन्द्रको सङ्ख्या करिब २१ हजार पुग्ने अनुमान गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा

सामाजिक मर्यादा ध्वस्त बनाउने घृणाको राजनीति नियन्त्रण गर्छौं : प्रधानमन्त्री

फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र

‘पत्रकारिताको माध्यमबाट निराशा हटाउनुपर्छ’

 फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ,  माघ १७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम ल्होसारका