नेपालमा वैकल्पिक राजनीतिक शक्ति स्थापित गर्ने भनेर लाग्नु भएको लामै समय भइसक्यो । कसरी अगाडि बढिरहेको छ यो अभियान ?
सापेक्षिकरुपमा सफलतापूर्वक अगाडि बढिरहेको छ । अभियान भनेर हामीले पार्टी घोषणाभन्दा अगाडिको प्रचारात्मक चरणलाई लिएका थियौं । त्यो चरण बढी प्रचारमुखी थियो । वैकल्पिक राजनीतिक पार्टीको औचित्य, आवश्यकता र महत्वबारे ग्राउण्ड तयार बनाउनको लागि जेठ ३० गतेसम्म सम्प्रेषणमुलक गतिविधि गरेका थियौं । जेठ ३० देखि आजसम्म आउँदा झण्डै सात महिना बितेको छ । यो अन्तरालमा पार्टीको जुन संरचनाहरु बनेका छन्, यो त्यतिधेरै निराशाजनक छैन । आशालाग्दो छ । नेपालको इतिहासमा पहिलोपटक यति छोटै अवधिमा ७५ वटै जिल्लामा संरचना बनाउन सक्ने नयाँ शक्ति पहिलो पार्टी हो ।
संरचना त बनाउनुभयो । पार्टी, नेता र कार्यकर्ताको नेपालमा कमी छैन । यो भिडमा तपाईंको नेता, पार्टी र कार्यकर्तालाई कसरी फरक र नयाँ छन् भनेर छुट्याउने ?
यो चुनौतीकै विषय छ । पार्टीको स्केच बनाएर मात्रै पुग्दैछ, संरचनालाई परिचालनमार्फत जनतासँग जोडेर उनीहरुको मुद्दालाई सम्बोधन गर्दै जनताले नै अपनत्व महसुस नगरीकन निर्वाचनमा र वैकल्पिक शक्ति निर्माणमा उपयुक्त नतिजा निकाल्न सकिँदैन । यो चुनौती हामीले महसुस गरिरहेका छौं र कार्यकारी राष्ट्रपति र आर्थिक समृद्धिको एजेन्डालाई ठोस र मूर्तरुपमा अगाडि बढाएका छौं । यो केवल बहसको लागि मात्र होइन, कार्यक्रमिक रुप दिएर कार्यान्वयनमा अगाडि बढ्नुपर्छ भन्ने सोच बनाएका छौं ।
यस्तो पनि बुझाई देखियो कि नयाँ शक्ति फिल्मको हिरो आएजसरी आउँछ, दुई चार महिनामा देशको विकास र समृद्धि गर्दछ ।
अहिलेसम्मको समिक्षा नै गरौं । अरु पार्टीहरुले भन्दा हामीले यो यो फरक गरियो भन्ने केही अनुभूति छन् यहाँसँग ?
यस्तो पनि बुझाई देखियो कि नयाँ शक्ति फिल्मको हिरो आएजसरी आउँछ, दु्ई चार महिनामा देशको विकास र समृद्धि गर्दछ । जनताको यस्तो चाहना र अपेक्षा हुनु स्वभाविक छ । तर नियमले त्यस्तो भन्दैन । हिरोइज्म भनेजस्तै आउँदा बित्तिकै सबै सफाचट गर्न सक्ने भन्ने हुँदैन । त्यसको एउटा प्रक्रिया छ । पार्टी जनताको बीचमा हुनुपर्यो । जनताले निर्वाचित गर्नुपर्यो । राज्य प्रणालीलाई प्रयोग गरेर कार्यक्रम गर्नुपर्यो । अर्थप्रणालीलाई प्रयोग गरेर कार्यक्रमिक रुप दिएपछि मात्रै हामीले लिएको कार्यक्रमलाई अगाडि बढाउनुपर्छ । यसरी हेर्दा सबै उस्तै उस्तै हुन् कि भन्नेजस्तो लाग्न सक्छ । जनताले अपेक्षा गर्नु स्वभाविक हो । त्यो आवश्यकता पनि छ । नेपालका पुराना राजनीतिक दलहरुले संक्रमणकाललाई यति लम्ब्याए कि छिटोभन्दा छिटो कोही आएर तत्काल नयाँ पार्टीले केही भूमिका खेल्दिए हुन्थ्यो कि भन्ने चाहना हुनु स्वभाविक छ । तर, हामीसँग अहिले यथेष्ट जनमत छैन । सदनबाट निर्णय नगरिकन, गणितीयरुपमा उपस्थिति नभईकन राष्ट्रिय राजनीतिमा प्रभावकारी हस्तक्षेप पुर्याउन सकिँदैन । त्यो पनि त जटिलता छ ।
यति नै कुराहरु पर्याप्त होलान् त नयाँ र वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित हुन ?
अरु कतिपय कामका हिसाबले केही नयाँपन दिने प्रयास हामीले गरिरहेका छौं । कार्यक्रमको रुपरेखा र एजेन्डाका हिसाबले हामी अगाडि छौं । जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली हुनुपर्छ भनेर पहिलोपटक संस्थागतरुपमा निर्णय गरेर हामीले दबावका कार्यक्रम अगाडि बढाइरहेका छौं । पार्टीको कार्यक्रम र कार्यदिशा नै सुशासन र समृद्धिको हुनुपर्छ भनेर कार्यक्रम र लक्ष्य किटान गर्ने पार्टी हाम्रो पार्टी मात्रै छ । यी दुई महत्वपूर्ण एजेन्डाका दृष्टिले हामीले नेतृत्व गरिरहेका छौं । शैली र प्रणालीका दृष्टिले पनि समानुपातिक र समावेशी पहुँच र प्रतिनिधित्वको कुरालाई लोकतान्त्रिक अभ्यासको विधिद्वारा सुरुवात गर्ने हामीले भनेका छौं । कतिपय कमिटीहरुमा यो हामीले सुरु पनि गरिसकेका छौं । कोरियामा पहिलो निर्वाचन भयो, म आफैं पनि सहभागी भएँ । प्रत्यक्ष निर्वाचनको सुन्दर अभ्यास त्यहाँ साथीहरुले गर्नुभयो । यसरी प्रणालीमा पनि केही नयाँपन हामीले दिइरहेका छौं । अभियानलाई अधिवेशनको स्तरमा पुर्याउँदा आन्तरिकरुपमा पनि बाह्यरुपमा पनि केही नयाँपन दिएर अगाडि बढ्ने लक्ष्यअनुरुप नै काम गरिरहेका छौं ।
पहिचानको कुरा गर्नुभयो, खासगरी कम्युनिष्टहरुले नै राज्य सत्तामा समानुपातिक समावेशी भए पनि पार्टीमा हुँदैन । किनकी पार्टी त विचारद्वारा चल्ने हो भन्ने गर्दछन् । तर यहाँहरुले त पार्टीमै क्लस्टरको कुरा गरिराख्नु भएको छ ?
यो मान्छेको मनोविज्ञान र उसको आत्मिक स्वतन्त्रताको सम्बोधिकरणको सवाल हो । मान्छेलाई जहाँजहाँ उत्पीडनको अनुभूति छ, त्यसको अन्त्य नगरी वास्तविक लोकतन्त्रको अभ्यासमा हामी जान सक्दैनौं । नेपालमा यो यथार्थ हो कि यहाँ विभिन्न पृष्ठभूमि भएका समुदायको उपस्थिति छ । यहाँ बहु भाषा, धर्म र संस्कृति भएकोले हामीले बहुभाषीय, बहुजातिय, बहुसांस्कृतिक उपस्थिति भएको देश भनेर हामी सबैले मानेका छौं । त्यो छ भनेर न मानेका छौं । खाली त्यसको अभिव्यक्ति ऐना हेरेजस्तै हुनुपर्यो । जसरी ऐना हेर्दा हामी जे छ, त्यही देखिन्छौं, त्यसको अभिव्यक्ति राज्यमा पनि र पार्टीमा पनि अभिव्यक्त गरौं भनेका हौं हामीले । विभिन्न उपक्लस्टरहरु र मुख्य मुख्य तीन क्लस्टरहरु र तराई, पहाड र हिमाल यी तीनवटा विशेषता, तीन ठाउँमा बस्ने जनसमुदायहरुलाई नजोडिकन उनीहरुको आत्मिक सम्बोधिकरण हुँदैन । यसो नगरी सार्वभौमिकतासँग सम्बन्धित राष्ट्रिय एकता पैदा गर्न सकिँदैन ।
मान्छेलाई जहाँजहाँ उत्पीडनको अनुभूति छ, त्यसको अन्त्य नगरी वास्तविक लोकतन्त्रको अभ्यासमा हामी जान सक्दैनौं ।
तपाईंहरुले भनेजस्तो त भइरहेको छैन, मुलुक त अर्कै बहस र दिशामा अगाडि बढिरहेको छ ?
अहिले मुलुकमा दुई अतिहरु छन् । कतिपयले यसलाई वाद पनि भनेका छन्, म चाहिँ भन्दिनँ । एकातिर खस आर्यहरुलाई नै देशभक्तिको पहरेदारको रुपमा व्याख्या गर्ने ओली प्रवृत्ति, यसले एउटा भड्काउको सम्बोधन गरिरहेको छ । त्यसको प्रतिवाद गर्नुपर्छ भन्ने नाउँमा देशै अलग बनाउनुपर्छ भन्ने सिके राउत प्रवृत्ति छ । यी दुवै प्रवृत्तिले सामाजिक एकता र अखण्डतालाई खलल बनाएर गलत दिशातिर मुलुकलाई अगाडि बढाउन भूमिका खेलिरहेको छ । र, हामीले नै त्यस्तो वैज्ञानिक कुरा उठाइरहेका छौं कि यी दुवै प्रवृत्ति गलत छन् । नेपालको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता र नेपालकै आन्तरिक राष्ट्रियताहरुको सम्वर्द्धन र प्रवर्द्धनको लागि यी तीनवटै विशेषता भएकाहरुलाई सम्बोधन गरेर जानुपर्छ भनेर हामीले समानुपातिक र समावेशी पहुँच र प्रतिनिधित्वलाई सुनिश्चितता भएको राजनीतिक प्रणालीको आवश्यकतामाथि जोड दिइरहेका छौं । यसले मात्रै हामीलाई जोड्न सक्छ ।
यहाँले नै स्वीकार गर्नुभयो, दुईवटा अतिवादले गर्दा देशको संक्रमण लम्बिने र यसको भविष्य अनिश्चित हुने सम्भावन बढ्दै गइरहेको छ । यी समस्याहरुको सुरक्षित अवतरण कसरी होला जस्तो लाग्छ ?
आदिवासी जनजातिहरुले मधेस र खस–आर्यलाई सम्मान गर्नुपर्यो । कहाँकहाँ अप्ठ्यारो पर्यो, कहाँकहाँ समस्या पर्यो ? त्यसको पक्षमा उहाँहरुले बोल्दिनुपर्छ । मधेसी समुदायहरुले पहाडी खस आर्य र जनजातिको समस्याको बारेमा बोल्दिनुपर्छ । खासगरी खस आर्य र आदिवासी जनजाति जो पहाडमा बस्छन् हिमाल बस्छन् उनीहरुले मधेसको पीडाको बारेमा बोल्दिनुपर्छ । यसरी एकअर्कामा हामी फ्युजन भएर सहकार्य गरेर गइयो भने यो समस्याको हल हुन्छ । भड्काउने होइन । उत्तेजित बनाउने गरेर गइयो भने झन् बिग्रिन्छ । एकअर्कालाई सम्मान गर्न र एकीकृत भएर जानुपर्छ । म दोहोर्याएर भन्न चाहन्छु, जो छौं, जस्ता छौं, त्यस्तै त एकले अर्कालाई ग्रहण गरिदिनुपर्यो नि त ! त्यसरी मात्र हामी अगाडि बढ्न सकिन्छ ।
निर्वाचन पनि आउन लाग्यो । यहाँहरुको एजेन्डा त गाउँगाउँसम्म पुगिसक्यो भन्दा पनि हुन्छ । तर पार्टी त अलि सदरमुकाम र राजधानीतिर तर लागेर बसेजस्तो देखिन्छ । गाउँगाउँसम्म फैलने योजना के छ यहाँहरुसँग ?
ठीक भन्नुभयो यहाँले । हामीले अस्ति झन्डै दश दिन लगाएर देशभरीको रिपोर्टहरु संकलन गर्यौं । हामी कहाँ र कति पुग्यौं त ? यसरी हेर्दा, हामीले एक सय ७ वटा जिल्ला संरचनाहरु बनायौं । भौगोलिक र गैरभौगोलिक गरेर ११ वटा प्रदेश बनायौं । २३ वटा आंगिक संगठनका केन्द्रीय संरचनाहरु बनाइसक्यौं । यसैगरी नेपालीहरु पुगेका २८ वटा देशहरुमा पनि हामीले कमिटीहरु बनायौं । संगठनात्मक संरचनाको सञ्जाल यसरी बिस्तार भइरहेको छ । गाउँपालिका र नगरपालिकातिर पनि हामी पुग्यौं कि पुगेनौं भनेर हामीले हेर्यौं । संगठन विभाग बसेर समिक्षा गर्दा झण्डै ४० प्रतिशत गाउँपालिका र नगरपालिकामा हाम्रो कमिटीहरु बनेका छैनन् । यो यथार्थ हो । एक लाख पार्टी सदस्यहरु जम्मा भएर सामूहिक प्रतिवद्धतासहित हामीले पार्टी घोषणा गर्यौं । एक वर्षभित्र तीन लाख बनाउने पार्टी सदस्यता भनेको, त्यसलाई अझै तिव्रता दिनु जरुरी छ । राजधानी, सदरमुकाम र सहरतिर अलि बढी केन्द्रित भएको हो कि भन्ने कुरा आंशिकरुपमा सत्य हो । त्यसलाई गाउँ, नगर र वडासम्म पुर्याउने र निर्वाचनको तयारी गर्ने भनेर घरघरमा नयाँ शक्ति भनेर अभियान सञ्चालन गरेका छौं, यसले धेरै उभार ल्याइरहेको छ ।
वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भनेर लागिरहनुभएको छ, नेपालमा यो अभियानलाई अगाडि बढाउँदा यहाँहरुले कस्ता चुनौतीहरु सामना गर्न परिरहेको छ ?
पहिलो कुरा त वैकल्पिक राजनीतिक शक्ति हो भनेर टिमबद्ध रुपमा प्रस्तुत भएर अगाडि बढ्ने कुरामा चुनौती रहेका छन् । किनभने विभिन्न पृष्ठभूमिको केन्द्रीकरण रहेको छ । त्यो धेरै राम्रो र सकरात्मक पुँजी पनि हो । तर त्यसलाई बुझाईमा, कार्यक्रममा र अभियानमा एकीकृत गरेर परिचालन गर्ने कुरा त्यत्तिकै चुनौतीपूर्ण पनि छ । दोस्रो चुनौती, जनताले अनुभूत गर्ने गरी कार्यक्रमको प्रस्तुति गर्न सक्ने कि नसक्ने भन्ने छ । हामीले ठूला ठूला सभा नगर्ने भन्यौं, चन्दा नउठाउने भन्यौं । त्यसले हामीलाई अलि अप्ठेरो पारिराखेको छ । आर्थिक स्रोत कहाँबाट जुटाउने, परिचालन कसरी गर्ने भन्ने कुराले किन अप्ठेरो पारिराखेको छ भने जति बैठकहरुले भए आन्तरिक स्रोतहरुबाट भइरहेका छन्, जुन कमिटीको बैठक हुन्छ, त्यही कमिटीले उठाएर खर्च गरिरहेका छन् । तर ठूला ठूला कार्यक्रमहरु गर्नका लागि खर्च बढी चाहिन्छ । यसरी हामीले सुरुमा गरेका कतिपय अन्तरक्रिया र भेलाहरुको प्रस्तुती हिरोइज्म जस्तोगरी भयो, व्यवहारमा त गाह्रो छ रुपान्तरण हुन, लागू गर्न । यो पनि हाम्रो चुनौती हो ।
तेस्रो, हामीलाई मानिसहरुले उत्पादन र समृद्धिको एजेन्डालाई लिएर जन्मिएको पार्टीको रुपमा बुझेका छन् । यद्यपि यो काम राज्यले गर्ने हो भोलि कुनै व्यक्ति, पार्टी, कुनै संघसंस्था वा कुनै कम्पनीले गरेर राज्यलाई नै फेर्न सक्दैनौं । तर, हामीले यो ठोस र मूर्तरुपमा यहाँ गरियो है नमूना कामको रुपमा भन्ने भएको छैन, यद्यपि सुरुवात गर्ने प्रयत्न गर्दैछौं । लगानी कम्पनीहरु खोलेर साथीहरुको शेयर जम्मा बनाएर केही कामहरु हामीले गर्दैछौं । यो कुरा मानिसहरुले अलि धेरै अपेक्षा गरेका छन्, छिटो हुनुपर्यो भन्नेछ । यो काम ठोस र मूर्तरुपमा अभिव्यक्त गर्न केही ढिलाई भइरहेको छ ।
यी दुवै प्रवृत्तिले सामाजिक एकता र अखण्डतालाई खलल बनाएर गलत दिशातिर मुलुकलाई अगाडि बढाउन भूमिका खेलिरहेको छ ।
नेपालमा राजनीतिक दलहरुले पार्टी चलाउन र चुनाव जित्न चन्दा उठाउने र पार्टी सत्ता र राजनीतिक सत्तामा पुगेपछि त्यही रकम भ्रष्टाचार गरेर उठाउने दुष्चक्रमा फसिरहेका छन् । तर व्यवहारमा जाँदा फेर्छु भन्न सजिलो फेर्न गाह्रो हुने रहेछ भन्ने हो तपाईंहरुको अनुभव ?
विलकुल होइन, सम्भव छैन भन्ने ठाउँमा हामी पुगेका छैनौं ।
चन्दा नउठाएर पनि पार्टी चलाउन सकिन्छ ?
सम्भव छ तर चन्दा नै नउठाउने हामीले कहिल्यै भनेका छैनौं । चन्दा कुन कुन समुदायसँग कुन परिणाममा कसरी लिने ? भन्ने कुरामा एउटा नीति बनाएर पारदर्शी हुनुपर्छ भन्ने कुरा हामीले गरेका हौं । चन्दा नै कहिल्यै नलिने भनेर हामीले भनेका छैनौं । अलिकति व्यवहारिक अप्ठेरो कहाँनेर छ भने राजनीतिक पृष्ठभूमिबाट निरन्तर सक्रिय भएर नयाँ शक्तिमा आउनुभएका साथीहरुलाई साँच्चिकै समस्या परेको छ । उहाँहरुको दैनिकी र घरखर्चको त कुरै छाडौं, पार्टीको काममा हिंड्दाखेरि समस्याहरु पैदा भएको छ । गैरराजनीतिक क्षेत्रहरु वा विभिन्न पेशा व्यवसायबाट आउनु भएका साथीहरु जो उत्पादनमा जोडिएर, आयआर्जनको काममा भाग लिइरहनुभएको छ, उहाँहरुको हकमा त्यति समस्या छैन । हामीले आदर्शको कुरा त गरेका छौं तर, संक्रमणकाल छ किनकी पार्टी नै बनाउने प्रक्रियामा छौं । यो एउटा सेटमा गइनसकेको छैन, आन्तरिक लेवी र शुल्कहरु व्यवस्थित बनाएर एउटा प्रक्रिया, प्रणालीमा ल्याउन सकिसकेका छैनौं । योजना त छ हाम्रो, तीन लाख पार्टी सदस्य भए, त्यसलाई पाँच लाख पुर्याउने र त्यसको नियमन लेवी, शुल्क आदिबाट गरेर पार्टी चलाउने त हाम्रो लक्ष्य छ । तर संक्रमणकालमा भएकोले त्यहाँसम्म पुग्न सकिरहेका छैनौं र यसलाई चुनौतीकै रुपमा लिएका छौं । तर फेरिपनि कतिपय साथीहरुले बिस्तारै बिस्तारै आफ्नै ठाउँबाट व्यवस्थापन गर्दै जानुभएको छ । कठिनाइ रहेछ यसमा । साथीहरुलाई हामीले भनेका पनि छौं, हामी लडाईहरुमा जाने पनि होइन, जेल जाने पनि होइन । तर, यी कठिनाईहरु सामना गरेर नयाँ शक्ति बनाउनुपर्छ । अप्ठेरोका बावजुद पनि साथीहरु हिंडिरहनुभएको छ । कयौं उदाहरणहरु छन्, यसले एउटा खुसीको अनुभूति पनि गराएको छ ।
खासगरी नेपालका वामपन्थी भन्नेहरुले भावनात्मक र उत्तेजनात्मक कुराहरु गरेर भड्काउने काम गरिरहेका छन् । साँझ बिहान उनीहरुकै गुलामी गरेर सरकारमा जाने प्रयत्न गर्छन् र दिउँसो चाहिँ युवाहरुलाई भावनात्मक कुरा गरेर राष्ट्रियताको गफ दिन्छन् ।
फरक प्रसंगमा कुरा गरौं, ब्रेक्जिटपछि डोनाल्ड ट्रम्पको विजयसम्म हेर्दा यो वैकल्पिक शक्ति निर्माणको लागि हाम्रो सन्दर्भमा अनुकूलता हो कि प्रतिकूलता हो ?
मैले चाहिँ, प्रतिकूलता बढ्दै गएको महसुस गरेको छु । पुरानो भाषामा भन्दा दक्षिणपन्थी, तर म परम्परावादी प्रवृत्ति हुर्कंदै गएको छ । बेलायतका केही घटनाहरु, संसारभरीका प्रतिभाहरु केन्द्रीकरण गरेर विकास गरिएको अमेरिका, यसलाई पनि बदलेर परम्परागत प्रणालीबाट चलाउने प्रयास भइरहेको छ । त्यसको प्रभाव नेपालमा पनि परेको छ । यस्तो वहाव आएको छ कि नेपालका पार्टीहरु असफल भए, केही पनि गर्न सकेनन् । यसको विकल्प भनेको केवल एकात्मक राज्य प्रणाली हो । हिन्दूवाद हो, पछाडि फर्कनुपर्छ । बेकार परिवर्तन गरिएछ, किन छाडिएछ ? भन्नेतिर गइरहेको छ । आन्दोलनबाट आफूले प्राप्त गरेको हकअधिकार र स्वतन्त्रताको प्रयोग गरेर त्यसैलाई बिर्सने, त्यो कसरी आयो भन्ने बिर्सेर परम्परातिर फर्कने प्रवृत्ति नेपालमा देखा पर्नु भनेको वैकल्पिक राजनीतिक शक्ति निर्माणको लागि धेरै अनुकूल समय हो जस्तो लाग्दैन । तर, फेरि पनि सीमा भने नाघिसकेको छैन । अहिले पनि पार्टीका कामहरुमा हिंड्दा, जनसमुदायसँग भेटघाट, अन्तक्रिया गर्दा आलोचना पनि छ तर सँगसँगै वैकल्पिक धारको आवश्यकता महसुस गर्दै एकप्रकारको अपेक्षा पनि गरेका छन् ।
आवश्यकता त हो, तर तपाईंहरु सक्नुहुन्छ कि सक्नुहुँदैन ? छोटो समयमा तिव्र गतिमा देशको कायापलट नगरिकन मान्छेहरुले पत्याउनेवाला छैनन्, त्यो काम तपाईंहरुबाट हुन्छ कि हुँदैन भन्ने प्रश्न भने छ । आवश्यकता महसुस छ, शुभकामना पनि छ, तर मान्छे लागिहाल्दैनन् । राम्रो गर्नुहोला भन्छ, तर गरिदिने कस्ले ? यसर्थ, हामीले आव्हान गरेका छौं, समृद्धि र सुशासनको एजेन्डामा ध्रुवीकृत होऔं । मिलेर काम गरौं । यो एउटा पार्टी मात्रै नभएर देश निर्माण गर्ने अभियान पनि हो । त्यसर्थ, प्राप्त उपलिब्धहरुको रक्षा गर्दै विकास, निर्माण र समृद्धिमा जानुपर्छ । आन्दोलनबाट प्राप्त उपलब्धि पनि गुम्नेगरी काम गर्यौ भने त्यो अगाडि बढाई होइन, पछाडि हटाई हुनेछ । उपलब्धिहरुलाई आधार मान्ने, त्यो विन्दूमा टेकेर अगाडि बढ्नुपर्छ भनेका छौं । यति छोटो अवधिमा एकदमै प्रभावकारी ढंगले हाम्रो अभियान भने अगाडि बढिरहेको छ । नेपालको राजनीतिक पार्टीहरुको इतिहास हेर्दा, कांग्रेस ००४ सालबाट सुरु भयो, कम्युनिष्टहरु ००६ सालबाट सुरु भए । राजतन्त्रको पनि लामो इतिहास छ, यसमा आस्था राख्ने मानिसहरु पनि छन् । कतिपय क्षेत्रीय पार्टीहरु पनि छन्, यी सबै पार्टीहरुको पृष्ठभूमि हेर्दा र हाम्रो पृष्ठभूमि हेर्दा धेरै निराशाजनक नतिजा छैन । हामी धेरै आशावादी छौं ।
तर कुरा गर्न जति सजिलो काम गर्न छैन । आदर्श पार्टीको कुरा गर्नेहरुले जब पार्टी खोलेर व्यवहारमा जान्छन्, उनीहरुले थाहा पाउँछन् । सेलिब्रेटी भएर र भावनात्मक कुरा गरेर पार्टी बनाउन सजिलो छैन ।
अन्तर्राष्ट्रिय राजनीतिको परिवेश हेर्दा नेपालमा पनि राष्ट्रवादी धार भनेर कमल थापा र केपी ओलीहरुले एउटा ध्रुवको नेतृत्व गरिरहेका छन् । नेपालमा नयाँ शक्तिले त्यसको वैकिल्पक ध्रुव अथवा प्रतिध्रुव स्थापित गर्न सक्छ त ?
म व्यक्ति विशेषको नाम लिन चाहन्नँ । दुई प्रकारका अतिवादहरुले न देशको सम्बोधन गर्न सक्छ, न देशलाई निकाश दिएर अगाडि बढाउन सहयोग गर्छ, यसले देशलाई लैजाने खाल्टोमै हो । यसर्थ, उनीहरु विकल्प हुनैसक्दैनन् । केही भावनात्मक कुरा गरेर जनतालाई भड्काउने काम केही समय टिक्न सक्ला तर यो अस्थायी हो । वैकल्पिक राजनीति, विचार र एजेन्डालाई अभियानात्मकरुपमा अगाडि बढाएर मात्रै यी सबै अतिवादहरुलाई हामीले नियन्त्रण गर्न सक्छौं र देशको राष्ट्रियता र सार्वभौमिकतालाई रक्षा गर्न सकिन्छ । हरेक नागरिकलाई देशको माया हुन्छ, राष्ट्रियताको भावनात्मक कुरा गरेर केही मानिसलाई अस्थायीरुपमा भड्काइएको मात्रै हो, त्यो अस्थायी नै हुन्छ । छिमेकी कहिल्यै फेर्न सकिँदैन । भारत र चीनजस्ता विशाल छिमेकीलाई हामीले फेर्न सक्दैनौं । ६ देखि ८ प्रतिशत आर्थिक वृद्धिदर भारतको छ र ८ देखि १० प्रतिशत आर्थिक वृद्धिदर चीनको छ । बंगलादेशको आर्थिक वृद्धिदर सात प्रतिशत छ । उनीहरुको बीचमा हामी छौं । देशको राष्ट्रियता र सार्वभौकिताको रक्षा गर्दै उनीहरुलाई प्रयोग र परिचालन गर्न सक्ने सन्तुलित कुटनीतिक अभ्यास हामीले गर्न सक्नुपर्छ । खासगरी नेपालका वामपन्थी भन्नेहरुले भावनात्मक र उत्तेजनात्मक कुराहरु गरेर भड्काउने काम गरिरहेका छन् । साँझ बिहान उनीहरुकै गुलामी गरेर सरकारमा जाने प्रयत्न गर्छन् र दिउँसो चाहिँ युवाहरुलाई भावनात्मक कुरा गरेर राष्ट्रियताको गफ दिन्छन् । आजको एक्काइसौं शताब्दीको देशभक्तिको भावनाको यस्तो प्रवृत्तिले प्रतिनिधित्व गर्न सक्दैनन् ।
कतिपयले नेपालमा वैकल्पिक राजनीतिक शक्ति आवश्यक त थियो तर नयाँ शक्ति भन्नेहरुले आफू नयाँ पनि बनेनन् र अबको १०–२० वर्ष नयाँ शक्ति बन्न पनि नदिनेभए भन्ने आरोप लगाउँछन् नि ?
म उहाँहरुको गालीलाई स्वागत गर्छु । लोकतन्त्रमा गाली गर्न पाइन्छ । तर हामी कसैको गालीको खण्डन गर्न जन्मिएको दल होइनौं । केही गरौं भनेर कोशिस गर्ने हो । अरुको आलोचना गरेर आफ्नो उन्नति चाहने हाम्रो लक्ष्य होइन । हामी केही गरेर आफैं अगाडि बढ्न चाहन्छौं । नयाँ शक्ति नबनोस् भन्नेहरुले पनि यस्तो प्रचार गरिरहेको पाउँछु मैले । यो कुरा प्रकारान्तरले पुष्टि हुँदै पनि गएको छ । सँगै यो नबनोस् तर हाम्रो नेतृत्वमा बनोस् भन्ने पनि छन् केही । हाम्रोबाट सबैलाई ठाउँ खुल्ला छ, सबैले नयाँ कुरा लिएर आउन पाउँछन् । प्रतिस्पर्धा गरेर कसैले नयाँ काम गरेर स्थापित हुनसक्छन् भने भोलि समायोजन भएर जान पनि सकिन्छ । तर कुरा गर्न जति सजिलो काम गर्न छैन । आदर्श पार्टीको कुरा गर्नेहरुले जब पार्टी खोलेर व्यवहारमा जान्छन्, उनीहरुले थाहा पाउँछन् । पार्टी भनेपछि आलोचना पनि सहेर अगाडि बढ्नुपर्छ, संगठन निर्माणको क्रममा धैरै व्यवहारिक कठिनाईहरु पनि झेलेर अगाडि बढ्नुपर्छ । सेलिब्रेटी भएर र भावनात्मक कुरा गरेर पार्टी बनाउन सजिलो छैन । ती साथीहरुले पनि हाम्रो आलोचना गर्दागर्दै यदि पार्टी बनाइहाल्नुभयो भने यी सबै कुराहरु बुझ्नुहुनेछ कहाँ अप्ठेरो रहेछ भनेर ।
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा
साउन १५, । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसका बिच सहकार्य भएको
काठमाडौँ, साउन ११ गते । बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल
सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज