सपनाको देश अमेरिकाको अँध्यारो पाटो

सवारी दुर्घटना मृत्युको प्रमुख कारण

सवारी दुर्घटनाबाट नेपालमा हरेक वर्ष हजारौंको मृत्यु हुन्छ । धेरै दुर्घटना हुनुमा भौगोलिक विकटता र साँगुरो सडकलाई कारक मानिन्छ । तर, दुर्घटनाका लागि ती कुरा मात्र कारक नहुने रहेछन् भनेर अमेरिकाको सवारी दुर्घटनाको तथ्यांकले पुष्टि गरेको छ । अत्यधिक सडक दुर्घटना अमेरिकाको लागि टाउको दुखाइको विषय बन्ने गरेको छ ।

 

चिल्ला र व्यवस्थित सडक, सुविधासम्पन्न गाडी, सडक सुरक्षाका पर्याप्त साधन, कडा नियम अनि प्रविधिको सम्पन्नता । अर्कातिर, दुईदेखि ६ लेनको एकतर्फी बाटोमा प्रतिघन्टा ७० देखि ८० माइलको तीव्र गतिमा गुड्न सकिने सुविधा । आधुनिक अमेरिकी सडक सञ्जालले करिब ३२ करोड अमेरिकीलाई मात्रै नभएर त्यहाँ रहने थुप्रै अन्य देशका नागरिकलाई सुविधा दिएको छ ।

विश्वका विभिन्न देशका जनताको कर्मथलो रहेको अमेरिकामा सन् २०१४ को तथ्यांक अनुसार करिब २१ करोड ४० लाखले सवारी अनुमतिपत्र (लाइसेन्स) लिएका भिए भने सन् २०१५ को तंथ्याकले सो संख्या २१ करोड ८० लाख नाघेको जनाएको छ ।

यस बाहेक बिना लाइसेन्स सवारी चलाउने चालकको संख्या अनुमान गर्न असम्भव छ । भर्खरै बिदा भएकोले सन् २०१६ को आधिकारिक तथ्यांक भने उपलब्ध भइसकेको छैन ।

आवासीय क्षेत्रमा २० माइल प्रतिघन्टादेखि ४० माइल प्रतिघन्टाको गति निर्धारण गरिएको हुन्छ भने राजमार्गमा स्थान हेरेर ५० माइल प्रतिघन्टादेखि ७५ माइल प्रतिघन्टाको गति निर्धारण गरिएको हुन्छ ।

राजमार्गमा हाइवे गस्ती, तथा राडर अनि विमानबाट सवारी गति नियन्त्रण गरिएको हुन्छ भने आवासीय क्षेत्रमा प्रहरीको उपस्थितिले गाडीको गति नाप्ने गरिन्छ । सवारी गति कम भएको खण्डमा त्यसले पछाडि गुड्ने सवारीको गतिमा कमी ल्याउने र पूरै ट्राफिक व्यवस्था नै अस्तव्यस्त पारिदिने गर्छ भने कतिपय स्थानमा दुर्घटना समेत हुन्छ ।

त्यसैले कतिपय राज्यले राजमार्गमा न्यूनतम र अधिकतम गति दुवै निर्धारण गरिदिएको हुन्छ । करिब ५५ माइल प्रतिघन्टाको गतिमा गुड्ने सवारीले अकस्मात् बे्रक लगाएमा पछाडि रहने गाडीले ठक्कर दिने सम्भावना उत्तिकै रहन्छ, जसले गर्दा हरेक सवारीबीच न्यूनतम ३ सेकेन्डको दूरी राखेर चलाउनु अनिवार्य छ ।

हाइवेमा गुड्ने प्रहरीका गाडी, आकाशबाट विमानले गर्ने गस्ती अनि सडकमा राखिएका राडरले कुनै गाडीको गति मात्रै नियाल्दैन, अन्य चालकलाई पनि नियम पालनको निम्ति बाध्य बनाउँछ । जसले गर्दा मनपरी ढंगले सवारी हाँक्ने कार्यलाई नियन्त्रण गर्छ । विभिन्न स्थानमा राखिएका सिसीटीभी क्यामेराहरुले पनि गति नियाल्ने र कुनै अस्वाभाविक ट्राफिक गतिविधिबारे तुरुन्तै सचेत गराउन सहयोग गर्छ ।

 दुर्घटनाको तथ्यांक डरलाग्दो

अर्बौंको लगानी र प्रविधिको अधिकतम प्रयोग गर्दा पनि सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या अमेरिकामा निकै विकराल छ ।

२०१६ को तंथ्याक आइनसके पनि २०१५ को तंथ्याकले नै अमेरिकी सडकको कहालीलाग्दो अवस्था देखाउँछ । राष्ट्रिय सुरक्षा परिषद्को तथ्यांक अनुसार गत वर्ष अमेरिकामा करिब ३८ हजार ३०० जनाले दुर्घटनामा ज्यान गुमाएका थिए । करिब ४४ लाख मानिस घाइते भएका थिए । यो तंथ्याक आधा शताब्दीकै सबैभन्दा ठूलो मानिएको छ ।

यस्ता दुर्घटनामा मृत्यु हुनेको तथ्यांक हेर्ने हो भने १५ वर्षभन्दा मुनिको संख्या १६ सयभन्दा बढी छ । यस्तै, १६ देखि २० वर्ष उमेरसमूहको संख्या ८ हजारभन्दा धेरै छ । यसरी दुर्घटनामा मृत्यु र घाइते हुनेको उपचार र उद्धारका निम्ति करिब दुई खर्ब अमेरिकी डलर खर्च भएको तथ्यांकमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार, अमेरिकी सडकमा हुने मृत्यु विश्वका अन्य विकसित देशको तुलनामा सबैभन्दा धेरै हो । अमेरिकी मृत्युको प्रकृति अनुसार दुर्घटनाबाट हुने मृत्यु राष्ट्रिय मृत्युदरको चौथो नम्बरमा छ । पहिलोमा मुटु रोग, दोस्रोमा क्यान्सर र तेस्रोमा सघन श्वासप्रश्वास समस्या छन् । दुर्घटनामा सवारी दुर्घटना र लागूप्रदार्थबाट हुने मृत्यु मुख्य कारण रहेको उल्लेख गरिएको छ ।

सडक दुर्घटनाको भयावह अवस्था यस्तै रहे सन् २०३० सम्म अमेरिकी मृत्युको प्रमुख कारण सडक दुर्घटना हुने प्रक्षेपण गरिएको छ । अमेरिकाको विकास र प्रविधि सम्पन्नता चुलिँदै गए पनि सवारी दुर्घटना कम गर्न नसक्नु टाउको दुखाइको विषय बनेको छ । सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति नै देखिन्छ ।

हरेक राज्य, शहर र सडकको आ-आफ्नै मापदण्ड र सीमा तोकिएको पनि हुन्छ । यति हुँदाहुँदै पनि सवारी अनुपातको अत्यधिक मात्राले हरेक स्थानमा २४सै घण्टा निगरानी गर्नु असम्भव हुन पुग्छ, जसले गर्दा चिल्ला, फराकिला सडकमा बेलगाम कुद्ने सवारीसाधन कसैको निम्ति घातक बन्न पुग्छ । सन् २०१४ को तथ्यंाकले त्यस बखतको दुर्घटनाको ३६ प्रतिशत कारण अत्यधिक गति रहेको जनाएको छ ।

१५ देखि २० वर्षका अपरिपक्व चालकका कारण थुप्रैले ज्यान गुमाएको सरकारी तथ्यांकमा उल्लेख छ । तीव्र गतिको दुर्घटनाबाट हुने क्षति रोक्न २०१४ मा करिब ४० अर्ब खर्च गरिएको थियो । सवारी दुर्घटनाको पहिलो कारण तीव्र गतिमा हुइँकिनु हो भने दोस्रो कारण मापसे हो ।

मापसे गर्नेहरु पनि कम छैनन्

सन् २०१५ को तथ्यांक हेर्ने हो भने पनि १० हजार २ सय ६५ व्यक्तिले मादक पदार्थ सेवन गरेर सवारी चलाएकोले ज्यान गुमाउनुपरेको उल्लेख छ ।

मादक पदार्थ सेवन गरेर तीव्र गतिमा गुड्ने सवारीमध्ये ४१ प्रतिशत दुर्घटनामा परेको जनाइएको छ । त्यस्तै, अन्य कारणमा सवारी नियम र संकेतहरुको पालना नगर्ने रहेको छ । रातो बत्ती बलिसक्दा पनि सवारी गुडाउँदा बर्सेनि करिब एक हजारले ज्यान गुमाउने गरेका छन् । केही समयअघि अमेरिकाकै फ्लोरिडा राज्यमा रातो बत्तीमा नरोकिँदा भएको दुर्घटनामा नेपाली विद्यार्थी अश्लेषा पण्डितले ज्यान गुमाएकी थिइन् ।

car-accident-in-america-1

काममा निकै तदारुकता अमेरिकाको आवश्यकता नै हो । आफ्नो कामको समयमा कुनै समय अल्छी र आलस्यता यहाँ स्वीकार्य हुँदैन । बिहान होस् वा रातिको काम, आफ्नो जिम्मेवारीमा नाइँनास्ती र आनाकानी कदापि लागू हुँदैन । जसले गर्दा हुने थकान अनि अपर्याप्त निद्रा पनि दुर्घटनाको कारक बनेको छ ।

एक अनुसन्धानले देखाए अनुसार करिब ३७ प्रतिशत चालक आफ्नो यात्राको दौरान कुनै न कुनै समय निदाउन पुग्छन्, जसमा करिब २१ प्रतिशत दुर्घटनामा पर्ने गरेका छन् । त्यसैगरी सडकमा ध्यान नदिई सवारी चलाउँदा सन् २०१५ मा तीन हजार १ सय ९४ ले ज्यान गुमाएका थिए । मोबाइल फोनको प्रयोगबाट हुने दुर्घटनामा परी ज्यान गुमाउनेमा धेरैजसो युवा छन् ।

सिटबेल्ट नलगाई सवारी चलाउने, मौसमको प्रतिकूलता र अन्य सवारीको लापरवाहीबाट हुने दुर्घटना अन्य कारण हुन् ।

सजाय व्यवस्था भए पनि अवस्था उस्तै

सवारी दुर्घटना न्यूनीकरणका लागि नियम नभएका पनि होइनन् । राज्य अनुसारको आ-आफ्नै नियम कानून र सजाय छन् । तर, बर्सेनि ३० देखि ४० हजारको सडक दुर्घटनामा मृत्यु रोक्न अमेरिकी नियम र कानुन लाचार नै देखिएको छ ।

गाडी चलाएको बेला मोबाइल फोनमा कुरा गरेको पाइए जरिवाना, त्यसपश्चात् बढ्न जाने बिमा रकम जस्ता थुप्रै नियम हरेक राज्यले बनाएका छन् । खाल्टाखुल्टीरहित सडक, स्पष्ट रुपमा राखिएका संकेत र २४सै घन्टा काम गर्ने सडक बत्ती तथा ट्राफिक बत्तीहरु नभएका पनि होइनन् । तर पनि सडक दुर्घटनाबाट तबसम्म क्षति कम हुँदैन, जबसम्म चालकमा चेतना हुँदैन ।

आफ्नो सुरक्षा आफ्नै लागि नै हो । नियम उल्लंघन गरेपछि समातिए कारबाही होला, तर नसमातिए दुर्घटनामा परिन्छ र ज्यानै जान सक्छ । यस्ता दुर्घटनामा कहिले आफ्नो गल्ती त कहिले अर्काको गल्तीले नेपाली पनि परेका छन् । विकसित देश र प्रविधिमा सम्पन्नता भनेर मात्र पनि हुँदैन, सवारी साधन चलाउँदा आफूलाई हतियार बोकेको सुरक्षाकर्मी जस्तै ठानेर होशियारी अपनाए सुरक्षित भइन्छ ।

२०७३ माघ ८ गते ३:१० मा प्रकाशित (२०७३ माघ ७ गते १८:३६मा अद्यावधिक गरिएको)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित