February 20, 2017

‘नेपाल पूर्वाधार शिखर सम्मेलन’को प्राविधिक सत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राख्नुभएको मन्तव्य

baburam-bhattarai-1-696x388फागुन ८ काठमाडौ,नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘नेपाल पूर्वाधार शिखर सम्मेलन’को प्राविधिक सत्रमा ‘पूर्वाधार: विशाल तस्वीर’ विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राख्नुभएको मन्तव्य केहि अंश

भौतिक पूर्वाधार र सेवा क्षेत्रले जनताको जीवनको स्तरोन्नति मात्रै होइन हाम्रो अर्थतन्त्रको उच्च उत्पादकत्व हासिल गर्न पनि योगदान पुर्‍याउँछ । समकालीन भूमण्डलीकरणको युगमा आधुनिक पूर्वाधार निर्माणविना हाम्रो अर्थतन्त्रले अन्य मुलुकसित प्रभावकारीपूर्ण प्रतिस्पर्धा गर्न सक्दैन । हरेक देशको आ–आफ्नै विशिष्ट अवस्था अनुरुप नीतिहरु बनाउन आवश्यक रहे पनि केही साझा आधारतत्व भने ध्यानमा राख्नु पर्दछ, जस्तै, घरेलु र वैदेशिक पुँजी दुबैको परिचालन, प्राविधिक र व्यवस्थापकीय सामथ्र्यको सुधार, प्रविधिको स्थानान्तरण र नीजि क्षेत्रको बढ्दो संलग्नता ।
पूर्वी एशियाली राष्ट्रहरु जस्तै: जापान र कोरिया, र हाम्रा दुई छिमेकी मुलुक चीन र भारतमा पूर्वाधार विकासमा अभूतपूर्व स्तरको उच्च लगानीले ती देशहरुमा तीव्र आर्थिक वृद्धि र सामाजिक आर्थिक रुपान्तरण सम्भव बनाएको छ । पूर्वाधारमा गरिने उच्चतर लगानीले थुप्रै माध्यमद्वारा ती देशहरुको विकासमा योगदान पुर्‍याएको छ जस्तै: रोजगारी सिर्जना, उत्पादकत्वको वृद्धि, विश्वव्यापी प्रतिस्पर्धा र जीवनस्तरमा सुधार । तर, विकसित देशहरु खासगरी पश्चिमा मुलुकहरुले केही शताब्दी लगाएर गरेको पूर्वाधार विकास, हामी जस्तो विकासोन्मुख देशहरुले भने केही दशकभित्रै हासिल गर्नुपर्ने भएको छ । यसकारण पनि यो क्षेत्रमा उच्चतम लगानीको आवश्यकता छ ।

भौतिक पूर्वाधारमा बढ्दो लगानी आवश्यक छ कि छैन भन्ने कुरा अहिले बहसको विषय होइन किनभने यो क्षेत्रमा लगानी बढाउँदा समाज र अर्थतन्त्रलाई पुग्ने फाइदाबारे हामी सबैबीच मोटामोटी सहमति नै छ । वास्तविक बहस चाहीँ पूर्वाधार सेवा उपलब्ध गराउन कसरी पुँजी लगानी परिचालन गर्ने र सदुपयोग गर्ने भन्ने विषयमा हुन जरुरी छ ।

नेपालमा सडक तथा यातायात व्यवस्थाको स्तरोन्नती गर्न अत्यावश्यक छ । केही राजमार्ग र लिंक रोडलाई तीव्र गतिको द्रूतमार्गमा परिणत गर्नुपर्दछ । काठमाडौं–तराई द्रूतमार्गको निर्माणकार्य अविलम्ब सुरु गर्नुपर्दछ । पूर्व–पश्चिम विद्युतीय रेल र अन्य सम्भावित उत्तर–दक्षिण रेलमार्गको निर्माणलाई पनि शीघ्रता प्रदान गर्नुपर्छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र केही ठूला जलविद्युत परियोजनाहरुको निर्माण र कार्यान्वयन अत्यन्त आवश्यक छ । हामीले पूर्वाधार निर्माणको योजनामा उन्नत र नवीनतम प्रविधिहरुको उपयोग गर्नुपर्दछ ।

हाम्रो देशमा सीमित पुजीका स्रोतहरु र अपर्याप्त प्राविधिक सामथ्र्य जस्ता समस्याहरु विद्यमान रहेको हुँदा यी पूर्वाधार परियोजनाका सूचीहरु केही महत्वाकांक्षी देखिनु स्वाभाविक हो । तर हामीले अन्य मुलुकबाट सिक्न सक्छौं । हाम्रो निम्ति ठूलो विडम्बना के हो भने केही वर्षयता एकातिर हामी समक्ष न्यून पुँजी स्रोत छन् भने अर्कोतिर नियमित बजेटद्वारा निर्माण भएका पूर्वाधार परियोजनाहरु पनि कार्यान्वयनमा ल्याउन सकेका छैनौं । हाम्रा उर्जाशील युवा इन्जिनीयरहरु बेरोजगार वा अर्धवेरोजगार छन् ।

तर यी नकारात्मक प्रवृत्तिहरुलाई हामीले उल्टाउनुपर्छ । हाम्रो सामु यी चुनौतिहरुको सामना गर्न केही सम्भावना र अवसरहरु पनि छन् । जस्तै विप्रेशण प्रवाह, जुन वार्षिक ६ अर्ब डलर बराबर हुनेगर्दछ, यसले हामीलाई पुँजीं स्रोत प्रदान गर्दछ । हाम्रो ऋण/जीडीपी अनुपात तुलनात्मक रुपमा कम छ, ३० प्रतिशत भन्दा कम, यसले पनि हामीलाई घरेलु र वैदेशिक पुँजी परिचालन गर्न केही खुकुलो वातावरण बनाउँछ ।
हाम्रो विकासको परिकल्पना समावेशी, वातावरणमैत्री र दीगो हुन जरुरी छ । जलविद्युत विकासद्वारा हामीले हाम्रो उर्जा व्यवस्थालाई कार्वनमुक्त बनाउन सक्छौं । यातायात व्यवस्थाको विद्युतीकरणद्वारा हामीले संसारमै नमूना प्रदूषणरहित यातायात व्यवस्थाको स्थापना गर्नसक्छौं ।

मलाई आशा छ कि आगामी दिनहरुमा निजी क्षेत्रले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्नेछ र लगानी परिचालन, परियोजनाहरुको कार्यान्वयन र सेवा सञ्चालनमा अग्रता लिनेछ । यो सँगसँगै वैदेशिक पुँजी आकर्षित गर्न पनि जरुरी छ जसको निम्ति नेपाली निजी क्षेत्रले विदेशी कम्पनीहरुसँग साझेदारी र संयुक्त कार्यहरु सञ्चालन गर्न भूमिका खेल्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द