सपूतको ‘पीर’ले तरंगित माओवादी शिविर

 २०७८ फागुन २९ गते, आम मानिसको कथाव्यथालाई संवेदित ढंगले भावनात्मक कसीमा राखेर गीत सृजना गर्नु कलाकार प्रकाश सपूतको विशेषता नै हो । उनी आम मानिसको दुःख र बाध्यताहरुमा मुटु छेड्ने विम्बहरु चलाउन माहिर छन् । दर्शक–स्रोताको मन रेट्न, आँखा रुझाउन सिपालु छन् । आम मानिसले झेल्ने अप्ठ्याराहरुलाई सरल भाषामा पोख्न पोख्त छन् ।

https://youtu.be/Gep3jLq32OI

अहिले उनै सपूतको गीत ‘पीर’ को चर्चा छ । १६ मिनेटको गीतले १६ वर्षअघि शान्तिप्रक्रियामा आएको माओवादी जनयुद्ध र त्यसपछि घर फर्किएको घाइते लडाकुको अन्तरकुन्तर खोतल्ने प्रयास गरेको छ । जो राजनीतिक परिवर्तनका लागि ज्यानको बाजी लगाएर युद्ध लडेका थिए ।

परिवर्तनका लागि बम र बारुदको धुवाँमा मृत्युको चित्कार सुन्दै मुठ्ठी कसेर हिँड्नु चानचुने हिम्मतको कुरा थिएन त्यसवेला । बन्दुकको आवाज र धुवाँमा रुम्मलिएको कठिन जीवन झेले योद्धाहरुले । यसपछि माओवादी शान्तिपूर्ण प्रक्रियामा मात्रै आएन, ०६४ सालको पहिलो संविधानसभा चुनावमा पहिलो पार्टी बनेर निस्कियो ।

मुक्तिको, न्यायको, समानताको सपना देखेर जंगलबाट घर फर्किएका योद्धाहरुमा उत्साह र जाँगर कम थिएन । एक दशकसम्म बन्दुक बोकेको काँधले गोलीका दागहरु बिर्सिएको थियो । भाँचिएका हातखुट्टालाई बिर्सिएको थियो । किरिया गर्नका लागि टालोसम्म नभेटेका आफन्तहरुको आँसुले आकार पाउलाजस्तो भएको थियो । तर, सोचेजस्तो केही भएन ।

‘माओवादी शिविर’ का ‘कम्रेड’ हरु रोल्पामा अन्तिमपटक पिलित्त रोएका थिए । अहिले भन्न सकिन्छ– त्यो आँसु, आँसु मात्रै थिएन, लडाकुले मुठ्ठी पारेर भन्ने ‘लालसलाम’ माथिको उपहास थियो ।

२०६२ साल असोज ५ गते माओवादीको चुनबाङ बैठकका क्रममा सांस्कृतिक प्रस्तुति दिइएको थियो । कार्यक्रममा कलाकारले पूर्ण घर्तीद्वारा लिखित गीत ‘कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन ? कसले भन्छ योद्धाहरुको जीत हुँदैन ?’ मा प्रस्तुति दिएका थिए । गीतमा अर्को लाइन थियो, ‘एक–दुई हार हुनसक्छ, तर मुटु स्पात बन्छ ।’

मोहित श्रेष्ठ र कर्ण परियार ‘विद्रोही’ले गाएको गीतको स्रोता थिए, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कृष्णबहादुर महरा, नन्दबहादुर पुन, वर्षमान पुन, रामबहादुर थापा लगायत शीर्षस्थानका नेता ।

गम्भीर भएर गीत सुनिरहेका प्रचण्ड भावुक बने । नेताहरु भावुक बने । झनै सूर्य विकले ‘जित्नैपर्छ यो अन्तिम लडाइँ’ गाउँदा प्रचण्डका आँखाबाट धाराप्रवाह आँसु बगेको देख्ने स्रष्टाहरु नै छन् । आँसु रोक्न नसकेपछि दुवै हातले आँखा छोपेर घोप्टो फर्किएका प्रचण्ड पूर्वलडाकुहरुको स्मृतिबाट अझैं हटेका छैनन् ।

‘शीर्षस्थानका नेताहरु सबै रोए,’ पत्रकार दिलिप कुँवर भन्छन्, ‘प्रचण्ड मात्रै रोएनन्, उनका सबै सहयोद्धाहरु रोए । कसैले गलबन्दीले आँसु पुछे त कसैले रुमालले । नेत्र विक्रम चन्द विप्लव स्तब्ध बने । एकोहोरो टोलाइरहे । त्यस दिन कसैको आँखा ओभानो रहेन ।’

प्रचण्डहरुको चुनबाङमा बगेको त्यही आँसुसँगै क्रान्ति बगेर गयो । कसैले सिंहदरबारमा आँसुलाई पुछे । कसैले शीतल निवासमा आँसुलाई पुछे । कसैले संसद भवनमा आँसुलाई पुछे । कसैले कालो गाडीमा हुइँकिएर बनेपाको होटलतिर मदिराको प्यालाले आँसुलाई पुछे । कसैको बहुराष्ट्रिय कम्पनीको पिँधमा आँसुलाई थिग्राए । कसैले दलालीको हत्केलामा आँसुलाई थमाइदिए ।

उता छातीमा गोली थापेर नेतृत्वलाई बचाएका लडाकुहरुको आँसु निरन्तर बगिरह्यो । कसैको आँसु सहरका गल्लीहरुमा बगिरह्यो । कसैको डान्सबार र गेस्टहाउसमा बगिरह्यो । कसैको युद्धका ट्रमाहरुमा बगिरह्यो । कसैको घाइते ज्यान र मनमा आँसु बगिरह्यो । कसैको अरबको मरुभूमिमा आँसु सोसिइरह्यो ।

‘प्रचण्ड’हरुलाई पो चुनबाङमा अन्तिमपटक रोएपछि पुग्यो, तर युद्धमा निःस्वार्थ परिवर्तनका खातिर होमिएका हजारौं योद्धाहरु त अहिले पनि निरन्तर रोइरहेकै छन् । उनीहरुको आँसुले गिलो बनाएको सडकमा कम्रेडहरु चिल्ला गाडीमा सवार भइरहेका छन् । सपूतले यही यथार्थलाई गीतमार्फत् उजागर गरिदिए ।

गीतको भिडियोमा गोलीको दाग बोकेर श्रीमती अरब उड्छिन् । विमानस्थलमा श्रीमान् र छोरीसँग छुटिँदै गर्दाको दृश्यले मुटु चिर्छ । सपूतले खिचेको त्यो दृश्य फिक्सन हो । तर, फिक्सन मात्रै होइन, बिमानस्थलमा धेरैपटक देखिएको यथार्थ पनि हो ।

रोल्पा नगरपालिका, खुमेलकी फूलमाया थापा मगर १२ वर्षकी हुँदा भूमिगत भएकी थिइन् । युद्धमा होमिएकी थिइन् । युद्ध सकियो, अन्य लडाकुसँगै घर फिरिन् । त्यो पनि जनवादी विवाह गरेको श्रीमानसँग । श्रीमानले तल खोलाबाट चामल बोक्ने टालोमा बारुद माथि लाँकुरी डाँडामा पुर्‍याउँथ्यो । फूलमाया भने बन्दुकमा त्यही बारुद भरेर युद्धमा निस्किन्थिन् ।

दश वर्षपछि घर फिरेकी फूलमायाले बन्दुकले लड्नुपर्ने परिवर्तनको युद्ध टुंगाएकी थिइन् । बन्दुक बिसाएकी थिइन् । तर, उनले आफैं लड्नुपर्ने युद्ध भने सकिएको थिएन ।

सपना पूरा भएको भ्रममा उत्साहित भएर घर फिरेकी फूलमायाको गर्धनमा टेक्ने भएर निस्कियो नेतृत्व । उनको गर्धनमा टेकेर नेतृत्वले उनले लडेको युद्धलाई नै उपहास गर्न थाल्यो । र आजित भएर विदेशिइन् ।

दुईपटक विदेश गइसकेकी उनको अभिभारा श्रीमान्, तीन छोराछोरी र एक सासुलाई पाल्नु मात्रै छैन, मरुभूमिमा आफूलाई पनि बचाउनु छ । जीवनको युद्ध लड्नु छ । अहिले त उनलाई ‘कम्रेड’ शब्दप्रति नै वितृष्णा छ । भन्छिन्, कमरेडहरु कम्रेड रहेनन् । बन्दुकको नालमा ज्यानको बाजी थापेर हिँडेको हाम्रो सपना तुहाइदिए ।’

धेरै फूलमायाहरु विदेशमा छन् । यता ठमेलमा मसाज सेन्टर खोलेर बसेका छन् । गैंती हानेर, बालुवा छानेर बसेका छन् । सपूतले यिनै प्रतिनिधि कथालाई गीतमा केलाएका हुन् । मसिनो गरी छुन्छ गीतले । भावुक बनाउँछ । माओवादी जनयुद्धको अँध्यारो पाटोलाई मिहिन ढंगले उधिन्न सफल भएका छन् सपुत ।

तर, सपूतको यो कालजयी सिर्जनामा असन्तुष्ट बनेको छ माओवादीको पार्टीं पंति । गीतले माओवादीका कथाव्यथालाई व्यवसायीकरण गरेको आरोप उनीमाथि लगाइएको छ । साथै, देशको लागि ज्यानको आहुति दिन तयार भएका पूर्वलडाकु महिलाहरु अहिले देहव्यापारमा संलग्न भएको देखाएर जनयुद्धको विद्रुपीकरण गरिएको गुनासो पनि माओवादी पंतिको छ ।

एउटा राजनीतिक विषयवस्तुमा सिर्जना बुन्न खोज्नु कुनै पनि कलाकारका निम्ति सबैभन्दा जोखिमको विषय हो । किनकि यस्तो विषयमा हात हाल्दा सबैलाई एकैचोटि सन्तुष्ट पार्न सकिन्न, जसरी अन्य हल्काफुल्का सिर्जनाबाट सकिन्छ । सपुतले यो जोखिम मोलेकै हुन् ।

सपुतको गीतले माओवादी जनयुद्धको एउटा पाटोलाई चित्रण गरेको छ, जुन सत्यको एकदमै नजिक पनि छ । तर, यही नै पूर्णता भने होइन । यस आन्दोलनले जन्माएका उज्याला बिम्बहरु पनि छन्, जस्तो कि धाविका मिरा राई । बम र बारुदको धुँवाबाट बाहिर निस्किएकी उनी ‘अयोग्य लडाकु’ हुँदै संसारका पहाडहरुमा दौडेर आफूलाई चिनाएकी उनको सफलताको कथा पनि कम रोचक र कम भावुक छैन । साथै, देशमा आएका राजनीतिक परिवर्तनका लागि माओवादी जनयुद्ध नै मुख्य कारकतत्व थियो भन्ने बुझाइ उक्त पार्टीभित्र छ । त्यसैले पनि यो गीतले जनयुद्धलाई न्याय नगरेको उनीहरुले महसुस गरेका हुन सक्छन् ।

गीतप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्ने हक जोकोहीलाई छ । तर, उत्तेजित प्रतिक्रिया दिएर सिर्जनामाथि आक्रमण गर्नु चाहिँ वाञ्छनीय हुँदैन । प्रकाश सपूतले बहसको विषय छेडिदिएका छन् । माओवादी पंतिले यसमाथि पर्याप्त बहस गर्ने ठाउँ छ । तर, गीतलाई नै दण्डित गर्ने, युट्यूवबाट हटाउने जस्ता अतिरञ्जित प्रतिक्रिया दिएर उनीहरुले आलोचना पचाउनै नसक्ने बिन्दूमा आफूलाई उभ्याएका छन् । यो स्वभाविक छैन ।

सपूतले जे प्रयास गरेका छन्, त्यसले जरुर पुराना सवालहरुलाई पुनः ब्युँताइदिएको छ । युद्ध केका लागि थियो, कसका लागि थियो ? युद्धले हामीलाई के दियो ? युद्धलाई क–कसले चलाए, क-कसले प्रयोग गरे र क-कसले फाइदा लिए ?

स्थानीय चुनावको संघारमा सार्वजनिक भएको सपूतको गीतले ठूलै राजनीतिक अर्थ राख्ने नै छ । यो गीतले दिने राजनीतिक लाभ–हानीको हिसाबकिताबको चर्चा सुरु भइसकेको छ । तर, यो गीतको राजनीतिकरण भन्दा पर सपूतले ‘पीर’ मार्फत् माओवादी शिविरमा जसरी बारुद पड्काएका छन्, यसले टुक्रा–टुक्रामा विभाजित माओवादी शिविरलाई समीक्षा गर्न वाध्य बनाएको छ ।

Coppied from nepalpress.com

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सहकारीका बारेमा विज्ञ टोलीद्वारा अध्ययन प्रतिबेदन नगर प्रमुख लाई हस्तान्तरण

१४असोज,भक्तपुर ।      सुर्यविनायक नगरपालिका भित्रका सहकारीका बारेमा विज्ञ टोलीद्वारा अध्ययन प्रतिबेदन नगर प्रमुख

जिफण्टले प्रत्येक बुथहरुको लागि पच्चीस हजार स्वयं सेवक परिचालन गर्दैछ,अध्यक्ष श्रेष्ठ

१४ असोज,काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेडयुनियन महासंघ (GEFONT) का अध्यक्ष विनोद

स्वतन्त्र उमेदवारीको तयारीमा समाजसेवी श्रीभक्त कासिछवा

१३ असोज,भक्तपुर। समाजसेवी तथा उद्योगवाणिज्य संघ चांगुनारायणका अध्यक्ष श्रीभक्त कासिछवाले  स्वतन्त्र उमेदवारी दिने तयारी गरिरहेको

अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो काठमाडौँ आईपुगिन

काठमाडौँ, १२ असोज । अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ ट्रुडो

मध्यपुर थिमी वडा नं ४ को कार्यालय उद्धाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

११ असोज,भक्तपुर । नेकपा (एमाले) मध्यपुर थिमी वडा नं ४ को कार्यालय उद्धाटन तथा बडा

तरुण विभागका केन्द्रीय सदस्य सहित दर्जनौं युवाहरू एमाले प्रवेश

१० असोज ,भक्तपुर । नेपाली काङ्ग्रेसको तरुण विभागको केन्द्रीय सदस्य अरुण सापकोटा र नेकपा एकीकृत