मदन भण्डारी र पार्टी विधि

जबज राज्य र समाजको लोकतान्त्रीकरण मात्र होइन पार्टीको समेत लोकतान्त्रीकरणको सिद्धान्त थियो ।

डा. बेदुराम भुसाल

मदन भण्डारी नेपाली राजनीतिक इतिहासको एउटा चम्किलो तारा हो । उहाँ एउटा सिर्जनात्मक क्षमता भएको चिन्तक हो । उहाँका रचनाहरूको अध्ययन गर्दा उहाँले राजनीतिमा सक्रिय हुनथालेदेखि नै मौलिक खालका चिन्तन र विश्लेषण प्रस्तुत गर्नुभएको देखिन्छ । उदाहरणका लागि २०३३ मा जीवन शर्मा नामबाट ‘मुक्तिमोर्चा’ को तेस्रो शिविरमा प्रकाशित ‘सही नीति र पार्टीको निर्माण गरी क्रान्तिकारी कार्यदिशामा अघि बढौँ’ शीर्षकको लेखलाई लिन सकिन्छ । पुष्पलाल समूहबाट अलग भएर कोअर्डिनेसन केन्द्रसँग एकता गर्दै गरेको समयमा लेखिएको त्यस लेखमा उहाँले झापा सङ्घर्षको क्रममा देखापरेका सैद्धान्तिक, राजनीतिक, शैलीगत, पद्धतिगत र सङ्गठन एवं सङ्घर्ष सञ्चालनसम्बन्धी माक्र्सवादसित मेल नखाने विचार र व्यवहारहरूप्रति आलोचनात्मक दृष्टिकोण राख्नुका साथै कोअर्डिनेसन केन्द्रका सकारात्मक पक्षहरूको उच्च मूल्याङ्कन गर्दै क्रान्तिकारीहरू त्यसमा एकताबद्ध भएर अगाडि बढ्न सक्छन् भन्ने निष्कर्ष प्रस्तुत गर्नुभएको छ ।
२०३७–४० कोे अवधिका तत्कालीन नेकपा (माले) मा क्रान्तिको कार्यक्रम, कार्यनीति, प्रधान अन्तर्विरोध, मूल नारा र सङ्घर्षको रूपजस्ता विषयमा गम्भीर बहस चलेको थियो । त्यसबेला उहाँले विभिन्न रचनामार्फत उपर्युक्त विषयमा पार्टीको विचार तथा दृष्टिकोण निर्माणमा दिशानिर्देश गर्नुभएको थियो । उदाहरणका लागि ‘कार्यक्रम सम्बन्धमा एक विचार’ र ‘ठोस कार्यक्रम सम्बन्धमा’ भन्ने रचनाले क्रान्तिको कार्यक्रमसम्बन्धी विचार र दृष्टिकोण निर्माणमा दिशानिर्देश गरेका थिए ।
‘मशाल समूहका कार्यनीतिक विचारहरू किन गलत छन् ?’, ‘जनपक्षको यथार्थ वास्तविकता र बिरुको नजर’ तथा ‘जनपक्षको व्यवहार र बिरुका आरोपहरूबारे’ शीर्षकका रचनाले कार्यनीतिसम्बन्धी विचार र दृष्टिकोण निर्माणमा दिशानिर्देश गरेका थिए । ‘राजतन्त्र नै जनता र राष्ट्रको प्रमुख दुश्मन हो’ शीर्षकको रचनाले प्रहारको निसाना एवं प्रधान अन्तर्विरोधसम्बन्धी दृष्टिकोण स्पष्ट पारेको थियो । ‘जनवादी आन्दोलन र विद्यार्थीहरूको भूमिका’ र ‘राजनीतिक स्वतन्त्रता ः आजको सन्दर्भमा’ शीर्षकका रचनाले जनवाद र राजनीतिक स्वतन्त्रतासम्बन्धी दृष्टिकोण स्पष्ट पार्ने र सङ्घर्षको मूल नारासम्बन्धी दृष्टिकोण निर्माणमा दिशानिर्देश गरेका थिए । ‘शान्तिक्षेत्रको प्रस्ताव र राष्ट्रियताको सवाल’, शीर्षकको रचनाले राष्ट्रियता, ‘नेपालको मजदुर आन्दोलनको सम्बन्धमा केही सैद्धान्तिक सवालहरू’ शीर्षकको रचनाले मजदुर आन्दोलन अनि
‘जनमोर्चाको निर्माणः आजको आवश्यकता’ शीर्षकको रचनाले मोर्चा निर्माणसम्बन्धी दृष्टिकोण स्पष्ट पारेका थिए । यसरी उहाँले पार्टीलाई वैचारिक रूपले दिशानिर्देश गर्ने काम गर्नुभएको थियो र आफूलाई एउटा वैचारिक नेताको रूपमा स्थापित
गर्नुभएको थियो ।
मदन भण्डारीले पार्टीले अँगाल्ने विचारको बारेमा मात्र होइन पार्टीको सङ्गठनात्मक सिद्धान्त र पार्टी निर्माण एवं परिचालन सम्बन्धी दृष्टिकोणमा समेत दिशानिर्देश गर्नुभएको थियो । उहाँले २०४६ को भदौमा आयोजित पार्टीको चौंथो महाधिवेशनमा ‘नेपाली क्रान्तिको वर्तमान कार्यक्रम’ र ‘पार्टी निर्माणबारे आधारभूत प्रस्थापना’ शीर्षकका दुई वटा दस्तावेज प्रस्तुत गर्नुभएको थियो र ती दस्तावेज महाधिवेनबाट पारित भएका थिए । अघिल्लोमा बहुदलीयतासहितको जनवादी व्यवस्था स्थापना गर्ने मान्यता प्रस्तुत गरिएको थियो भने पछिल्लोमा पार्टी निर्माणसम्बन्धी दिशानिर्देश थियो । बहुदलीयतासहितको जनवादी व्यवस्थाको दृष्टिकोण नै जनताको बहुदलीय जनवाद (जबज)तर्फको प्रस्थान बिन्दु थियो ।
नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने सिद्धान्तको रूपमा रहेको जबजमा मुख्यतः चार प्रकारका अन्तर्वस्तु छन् ः
पहिलो, दार्शनिक एवं सैद्धान्तिक ः यसमा द्वन्द्वको नियम सार्वभौम नियम भएकाले राजनीतिमा पनि लागू हुन्छ, कुनै पनि वस्तु एवं
घटनाको अन्तर्वस्तु एवं सारपक्ष प्रधान हुन्छ र रूपपक्ष गौण एवं सापेक्ष हुन्छ, क्रान्ति मनोगत प्रक्रिया नभई वस्तुगत प्रक्रिया हो, श्रमजीवी वर्गको पक्षपोषण र उत्पादक शक्तिको मुक्तिमा जोड दिनुपर्छ, सङ्घर्षका रूप सापेक्ष हुन्छन्, राज्यसत्ता सधैँ अधिनायकवादी हुँदैन र कुनै पनि वस्तु वा घटनामा गुणात्मक परिवर्तन हुँदा अस्तित्वको पुरानो रूपका केही गुण नयाँ रूपमा पनि आउँछन् भन्नेजस्ता मान्यता रहेका छन् ।
दोस्रो, राजनीतिक ः यसमा नयाँ जनवादी र समाजवादी चरणमा समेत एकदलीय तानाशाही शासनसत्ता नभएर मौलिक हक, मानव अधिकार, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, संविधानको सर्वोच्चता, कानुनको शासन र शक्ति पृथकीकरणको सिद्धान्तजस्ता लोकतन्त्रका विश्वव्यापी मान्यतासहितको शासन प्रणाली अवलम्बन गर्ने दृष्टिकोण रहेको छ ।
तेस्रो, आर्थिक ः यसमा सम्पूर्ण रूपमा राज्यनियन्त्रित आर्थिक प्रणाली नभएर मिश्रित आर्थिक प्रणाली अवलम्बन गर्ने, सामन्तवाद, दलाल–नोकरशाही पुँजीवाद, वैदेशिक एकाधिकार पुँजीवाद तथा साम्राज्यवादका शोषण, उत्पीडन र प्रभुत्ववादका सबै आधार र अवशेषहरूलाई अन्त्य गरी जनवादी अर्थ व्यवस्था निर्माण गर्ने, सामन्ती भूस्वामित्वको पूर्ण रूपमा उन्मूलन गरी अर्धसामन्ती शोषणका सम्पूर्ण रूपको अन्त्य गर्ने, राष्ट्रिय पुँजीलाई औद्योगिक विकासमा संलग्न गर्ने गरी संरक्षण, प्रोत्साहन र विकास गर्ने र राष्ट्रिय हितलाई ख्यालमा राखेर वैदेशिक पुँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग गर्ने मान्यता रहेका छन् ।
चौथो, सामाजिक–सांस्कृतिक ः यसमा बन्द र नियन्त्रित समाज होइन बहुलवादी खुला समाजको सिद्धान्त अवलम्बन गर्ने तथा जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, लैङ्गिक आदि सबै प्रकारका विभेदको अन्त्य गर्ने र शिक्षा, साहित्य र संस्कृतिका क्षेत्रमामा रहेको सामन्ती एवं साम्राज्यवादी कुप्रभाव र सामाजिक कुरीति एवं अन्धविश्वासलाई हटाएर प्रगतिशील, राष्ट्रिय र जनवादी संस्कृतिको विकास गर्ने मान्यता रहेका छन् । ‘पार्टी निर्माणबारे आधारभूत प्रस्थापना’मा उहाँले पार्टी निर्माण र परिचालनका सम्बन्धमा निम्न दस बुँदामा अवधारणा प्रस्तुत
गर्नुभएको छ ः पहिलो, “लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई पार्टी जीवनमा कडाइका साथ स्थापना गरिनुपर्छ र यस सवालमा देखिने कुनै पनि ढिलासुस्ती, हेलचक्रयाइँ र सीमा मिच्ने प्रवृत्तिलाई समाप्त पारिनुपर्छ ।”
(भण्डारी, मदन.(२०६९) सङ्कलित रचनाहरू. भाग १.पृ.१८) । दोस्रो, “पार्टीमा विधान, नियम र संहितालाई हरेक सदस्य र प्रत्येक कमिटीको न्यूनतम योग्यता, क्षमता र न्यूनतम क्रियाशीलताको मूल्याङ्कन गर्ने मापदण्ड बनाएर लागू गर्नुपर्छ र तिनीहरूलाई दैनिक जीवनको विषय बनाइनुपर्छ । विधान, नियम र संहिताहरू भनेका न्यूनतम कुराहरू हुन् । तिनीहरूको उल्लङ्घन कसैका निमित्त पनि क्षम्य हुनुहुन्न ।”
तेस्रो, “कमिटी व्यवस्थालाई सुदृढ बनाउनुपर्छ । कमिटीहरू भनेका नेताहरू सङ्गठित भएका ठाउँ हुन्, तिनीहरू कार्यार्थ हुन्, केवल बोधार्थ वा मानार्थ मात्र होइनन् ।” चौंथो, “ठोस कार्य योजना अघि सारेर पार्टीलाई माक्र्सवादी–लेनिनवादीकरण गर्दै जानुपर्छ । यसको विषयवस्तु पार्टी सदस्यहरूको चेतनालाई माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूको अध्ययनद्वारा माथि उठाउनु, जीवनशैलीमा सर्वहाराकरण गर्नु, मुलुकका ठोस समस्याहरूबारे सिद्धान्तसङ्गत विश्लेषण गरी सुस्पष्ट बनाउनु र क्रान्तिकारी सङ्घर्षमा सीप र क्षमताका साथ उत्रन तम्तयार पार्नु नै हो ।” पाँचौँ, “सङ्गठनका रूप र ढाँचालाई व्यवस्थित गर्नुपर्छ । सङ्गठनका रूप र ढाँचा अपरिवर्तनीय हुंँदैनन् । वर्गसङ्घर्षको परिस्थितिअनुसार तिनीहरूलाई आवश्यक हेरफेर गर्नु र हमेसा अद्यावधिक बनाइराख्नु पर्दछ ।” छैटौँ, “हाम्रा कमिटीहरूको बनोट भौगोलिक प्रतिनिधित्वको आधारमा बनेको छ, त्यसले कामका क्षेत्रलाई समेट्न सकेको छैन । हामीले यो परिस्थितिलाई फेर्नुपर्छ र कमिटीलाई इलाका, कामका विविध क्षेत्रहरू र विभागहरूको नेतृत्व गर्नसक्ने ढङ्गले निर्माण गर्नुपर्छ ।” सातौँ, “पार्टीले मजदुर, कृषि मजदुर, गरिब तथा सुकुम्बासी किसानहरू, निम्नमध्यम किसानहरू र सहरीया गरिबहरूको बीचमा पार्टी कामको राम्रो विस्तार गर्न सकेको छैन । …पार्टीले ठोस कार्ययोजना अघिसारेर आधारभूत वर्गभित्र पार्टीलाई विस्तारित गर्नु, स्थापित गर्नु र ती वर्गहरूको सहभागिता पार्टीमा व्यापक पार्नु जरुरी छ ।” आठौँ, “कार्यकर्ता उत्पादन र प्रशिक्षणमा ध्यान दिनुपर्छ ।” नवौँ, “पार्टीमा काम गरिरहेका कार्यकर्ताहरूको समस्यामा ध्यान दिनुपर्छ ।” दसौँ, “पार्टीभित्र समय समयमा शुद्धीकरणको अभियान चलाउदै रहनुपर्छ ।”
(भण्डारी, मदन.(२०६९) सङ्कलित रचनाहरू. भाग १.पृ.१८–२५) ।
उहाँका उपर्युक्त अवधारणा पार्टी भूमिगत रहेको बेलाका थिए । उहाँले पार्टी खुला भएपछि आयोजित पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा पनि पार्टी निर्माण र परिचालनसम्बन्धी अवधारणा प्रस्तुत गर्नुभएको थियो । त्यसमा उहाँले पहिलो, “कम्युनिस्ट पार्टी आम रूपमा सैनिक सङ्गठन होइन (र) राजकीय सङ्गठन पनि हुन सक्तैन । कम्युनिस्ट पार्टी निश्चित वर्गका जनताको अगुवा राजनीतिक सङ्गठन हो र हुनपर्छ” भन्नुभएको थियो (उही पृ.२९४–९५) ।
दोस्रो, “कम्युनिस्ट पार्टी सर्वहारा श्रमजीवी जनताको पूर्णतः राजनीतिक पार्टीको रूपमा निर्माण गर्नुपर्छ । जुन पार्टीले देश, काल र परिस्थितिको आधारमा सङ्घर्ष र कामका कुनै पनि विधि, रूप र तरिका प्रयोग गर्नसक्छ” भन्नुभएको थियो (उही.पृ.२९५) । तेस्रो, पार्टीलाई “कार्यकर्ताहरूको पङ्क्तिभित्र मात्र सीमित होइन । तोकिएको मापदण्डको आधारमा निश्चित तरिकाबाट व्यापक बनाउनुपर्छ । व्यापक जनतामा आधारित बनाउनुपर्छ” भन्नुभएको थियो
(उही.पृ.२९६) ।
मदनले पार्टीलाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्ने मान्यता राख्नुहुन्थ्यो । उहाँले प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवाद राज्य र समाजको लोकतान्त्रीकरण मात्र होइन पार्टीको समेत लोकतान्त्रीकरणको सिद्धान्त थियो । मदनमा अहम्ता थिएन । अग्रजहरूलाई सम्मान र युवालाई प्रोत्साहित गर्ने गर्नुहुन्थ्यो । उदाहरणका लागि पाँचौँ महाधिवेशनमा उहाँले प्रस्तुत गर्नुभएको विचार अत्यधिक बहुमतले पारित भएको थियो । तर, नेतृत्व चयन गर्ने बेलामा आफ्नोभन्दा फरक विचार राख्ने मनमोहन अधिकारी र सीपी मैनालीसमेतका अग्रज नेताहरूले उम्मेदवारी नदिँदासम्म उहाँले उम्मेदवारी दिनुभएको थिएन र सबै अग्रज नेताहरूको साथै युवा साथीहरूलाई समेत समेटी नेतृत्व चयन गरिएको थियो । पोलिटब्युरो गठन गर्दा पनि उहाँले सीपी मैनालीलगायतलाई समेट्नु भएको थियो । छब्बीसौँ मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा मदन–आश्रितप्रति
हार्दिक श्रद्धाञ्जलि ।
(लेखक नेकपा एमाले स्थायी कमिटी सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड