कञ्चनपुर, १३ मंसिर । मोटरसाइकल ओभरटेक गरेको निहुँमा एकजना युवकलाई कुटपिट गरी हत्या गरिएको छ ।
मोटरसाइकल ओभरटेक गरेको भन्दै महाकाली नगरपालिका ३ का २२ वर्षीय दीपक पन्तलाई ५ जनाले कुटपिट गरी हत्या गरेका हुन् ।
महेन्द्रनगरबाट दोधाराचाँदनी जाने क्रममा मोटरसाइकल ओभरटेक गरेको भन्दै भीमदत्त नगरपालिका–१५ गोबरैयामा चार जनाले पन्तलाई चक्कु र हेलमेटले कुटपिट गरेको मृतकका आफन्तले बताएका छन् ।
कुटपिटबाट गम्भीर घाइते भएका पन्तको भारतको खटिमास्थित अस्पतालमा मृत्यु भएको हो । घटना लगत्तै प्रहरीमा खबर गर्दा समेत प्रहरी घटनास्थलमा नपुगेको आफन्तको गुनासो छ । घटनाको २४ घण्टापछि मुचुल्का उठाइरहेको भन्दै प्रहरीको लापरवाहिले पन्तको ज्यान गएको आरोप लगाएका छन् ।
बाबुसँगै घर फर्किरहेका दिपकमाथि भीमदत्त नगरपालिका–१५ गोबरैयाका १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र जानकी टोलका २२ वर्षीय गणेश लुहारले कुटपिट गरेका हुन् ।
प्रहरीले घटनामा संलग्न चारै जनालाई पक्राउ गरेको छ ।