May 13, 2017

विवादको भूमरीमा राजपा

काठमाडौँ, वैशाख ३० । मधेसवादी दलले हालै गठन गरेको राष्ट्रिय जनता पार्टी विवादै विवादको भूमरीमा परेपछि विगत हेर्न थालिएको छ ।

 पार्टी गठन हुनेबित्तिकै नाममा विवाद सुरु भएको थियो । पछि पार्टीको नाम नै परिवर्तन गर्नुप¥यो । त्यस्तै चुनाव चिह्नमा पनि विवाद देखिएको छ । निर्वाचन आयोगमा पहिले नै कसैले छाता चिह्नका लागि दाबी गरिसकेको छ । त्यस्तै पार्टीको विधान कस्तो बनाउने भन्नेमा पनि विवाद देखिएको छ ।

मधेसका लागि योगदान दिनुभएका नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्रनारायण सिंह तथा बाबा रामजनम तिवारीको चर्चा विधानमै हुनुपर्ने अडान अनिल झाले लिनुभएको छ तर अन्य नेताले त्यस्तो चाहनुभएको छैन । गजेन्द्रनारायण सिंहको नाम राखियो भने मधेसका लागि सहादत दिएका तथा सङ्घर्ष गरेका अन्य नेताको नाम पनि राख्नुपर्ने दाबी अन्य नेताले गर्नुभएको छ ।

विधानका लागि गठन गरिएको कार्यदल स्तरमा गजेन्द्रनारायणलगायत रघुनाथ राय, रघुनाथ ठाकुरको नाम राख्ने सहमति बने पनि अध्यक्ष मण्डलमा त्यसबारे सहमति जुटाउन बाँकी छ । अहिले सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सङ्घीय गठबन्धनको संयोजकबाट हटाएको विषयलाई लिएर पनि विवाद उत्पन्न भएको छ ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको चुनावमा भाग लिएपछि राजपा नेताहरूले मधेसी मोर्चाको औचित्यमाथि मात्र प्रश्न उठाउँदै गठबन्धनका संयोजकबाट पनि अध्यक्ष यादवलाई हटाउनुभएको छ ।

उपेन्द्र यादवलाई गठबन्धनको संयोजकबाट हटाएर राजपाका अध्यक्ष महन्थ ठाकुरलाई संयोजक बनाएपछि राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले त्यसमा आपत्ति जनाउनुभएको छ । सो निर्णयप्रति उहाँ सन्तुष्ट हुनुहुन्न । गठबन्धनबाट उपेन्द्रलाई हटाउन वैशाख २३ गते बसेको बैठकमा अनुपस्थित रहनुभएका महेन्द्रराय यादवले राजपा नेपालले गठबन्धनको संयोजकबाट उपेन्द्र यादवलाई हटाएर गलत गरेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, ‘राजपा भर्खर गठन भएको छ, त्यसले आफ्नो सङ्गठन निर्माण र अन्य काममा ध्यान दिनुपर्ने हो तर कहिले मोर्चा विघटन गर्छन् भने कहिले गठबन्धनलाई चलाउँछन्, यो राम्रो काम होइन । ’
राजपाका अर्का नेता केशव झाले राजपाभित्र महेन्द्र राय यादवको कुनै असन्तुष्टि नरहेको दाबी गर्दै भन्नुभयो, ‘गठबन्धनको संयोजकबाट उपेन्द्र यादवलाई राजपाले हटाएको होइन, गठबन्धनमा रहेका आदिवासी जनजातिका नेताले उपेन्द्र यादव संयोजकबाट हटाउनुपर्ने माग गर्नुभएको थियो । उपेन्द्र यादवलाई गठबन्धनबाट हटाउने कुनै योजना थिएन, गठबन्धनमा रहेका आदिवासी जनजातिको दबाबका कारण संयोजकबाट हटाएर महन्थ ठाकुरलाई राख्नुपरेको हो । ’

यद्यपि उपेन्द्र यादवे सङ्घीय गठबन्धन र मधेसी मोर्चाको निर्णयविपरीत चुनावमा गएको नेता झाले आरोप लगाउनुभयो । उपेन्द्र यादवलाई चुनावमा नै जानु थियो भने एकपटक मोर्चा र गठबन्धनमा सल्लाह गरेर गएको भए त्यसले कसैलाई चित्त दुख्ने थिएन तर निर्णय विपरीत चुनावमा जानुभयो । यो कुरा उहाँले स्वीकार गर्नुपर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष यादवले कुनै पनि मोर्चा वा गठबन्धनमा रहे पनि हरेक पार्टीको आफ्नो स्वतन्त्रता र नीति हुने गरेकाले आफ्नो पार्टीको निर्णयबाट चुनावमा गएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘मैले आफू जन्मेको भूमिलाई सम्झिएँ, माटोलाई सम्झिएँ, निर्वाचनबाट मुलुकलाई अघि बढाउन सकिन्छ भन्ने सोचेर नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको हुँ । ’ आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचनमा जानुबाहेक कुनै विकल्प नभएकाले हतारहतारमा आफ्नो पार्टी चुनावमा गएको बताउँदै उहाँले आफ्नो पार्टी चुनावमा गएपनि कुनै पनि एजेण्डा नछाडेको दावी गर्नुभयो ।

आफ्नो दलले उठाएको मुद्दाहरू संविधान संशोधनमार्फत सरकारले सम्बोधन गर्ने तयार गरेकाले चुनावमा गएको बताउँदै उहाँले अरु दलका नेता पनि चुनावमा आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यस्तो भनिरहँदा राजपाका नेताहरू पार्टी दर्ता तथा चुनाव चिह्नका लागि निर्वाचन आयोग पुग्नुभएको छ । दल दर्ताबारे छलफल गर्न शुक्रबार निर्वाचन आयोग पुग्नुभएका राजपाका नेता मनीषकुमार सुमनले स्थानीय तहको निर्वाचनमा भाग लिन पार्टी दर्ता गराउने उद्देश्यले आयोगसँग छलफल गरेको बताउनुभयो । उहाँले एकीकृत दलका रुपमा सहभागी हुन सम्भव नभए पनि यसपछिका निर्वाचनमा एकीकृत दलका तर्फबाट सहभागिताका लागि दल दर्ता गर्न लागिएको जानकारी दिनुभयो ।

राजपा नेता झाले जेठ ४ गते संविधान संशोधन भयो वा कुनै सहमति भयो भने आफूहरू चुनावमा जाने बताउँदै चुनाव चिह्नका लागि छाता नै दाबी गर्ने, त्यो सम्भव नभए छ दलसँग रहेको कुनै एउटा चुनाव चिह्नबाट चुनाव लड्ने बताउनुभयो ।

जेठ ४ गतेका लागि संसद् बैठक बोलाइएको छ, त्यसबाट संविधान संशोधन हुने विश्वास उपेन्द्र यादवले पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘संशोधन प्रस्ताव पारित गराउनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सहयोग र समर्थन गर्न तयार भएको छ, अब मलाई लाग्छ एमाले संशोधनमा बाधक बन्दैन् । ’ सङ्घीय गठबन्धनबाट आफूलाई हटाएको विषयलाई भने उहाँले नराम्रो कार्यको संज्ञा दिनुभयो ।

राजपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले गठबन्धनप्रति कहिल्यै सकारात्मक रहनु भएन । उपेन्द्र यादव गठबन्धनको संयोजक जबर्जस्ती बनेको आरोप उहाँहरूको थियो । गठबन्धनमा कसैलाई सल्लाह नै नगरीकन उपेन्द्र यादवले आफ्नै मनले आफूलाई गठबन्धनको संयोजक बनाएको दावी गर्दै उहाँहरू गठबन्धनको आन्दोलनमा पनि सहभागी हुनु भएन ।

राजपाका अध्यक्ष मण्डलका सदस्यद्वय राजेन्द्र महतो र महन्थ ठाकुर गठबन्धनभन्दा मधेसी मोर्चालाई आधिकारिक मान्नुहुन्थ्यो । सरकारसँग वार्ता गर्नु परोस् वा कुनै आन्दोलनको कार्यक्रम गर्नुपरोस् मधेसी मोर्चाबाट नै हुनुपर्ने उहाँहरूको चाहना थियो ।

यस्तै, उपेन्द्र यादव चाहिँ मधेसी मोर्चाभन्दा बढी गठबन्धनलाई महत्व दिनुहुन्थ्यो । उहाँले जे कुरामा पनि गठबन्धनलाई नै अघि सार्नु हुन्थ्यो । त्यसले गर्दा यी दुई पक्षमा मनमुटाव हुँदै आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने