४ चैत, काठमाडौं । नेकपा एमालेले कैलाली कञ्चनपुरमा धूलो उडाउँदै मेची महाकाली अभियानको समापन गरेको छ । विगतको चुनावी परिणामलाई आँकलन गर्दा कैलाली-कञ्चनपुर नेपाली कांग्रेसको प्रभावक्षेत्र हो । संविधानसभाका दुईवटा चुनावमा शेरबहादुर देउवा कञ्चनपुर र कैलालीका जनप्रतिनिधिसमेत हुन् ।
अघिल्लो निर्वाचनको परिणाम कस्तो आएको थियो भन्ने आधारमा पछिल्लो चुनावको विश्लेषण गर्नु नेपाली राजनीतिमा निकै कठिन छ । यसका लागि कैलाली कञ्चनपुरमा पहिलो संविधानसभाको रिजल्ट हेर्दा स्पष्ट हुन्छ
आगामी संसदीय चुनावमा पहिलो दल बन्ने अभियानमा रहेको नेकपा एमालेका लागि कैलाली कञ्चनपुरका चुनाव क्षेत्रहरु निकै महत्वपूर्ण हुनेछन् । त्यहाँ उसले जीत हात पारेमा आफ्नोमात्रै सीट थपिने होइन कि कांग्रेसको सीट घटाउन पनि त्यसले भूमिका खेल्न सक्छ । यही कारणले गर्दा कैलाली कञ्चनपुरमा हुने कांग्रेस र एमालेवीचको चुनावी प्रतिस्पर्धा निकै रोचक हुनेछ ।
स्थानीय निकायको पुरानो तथ्यांक आँकलन गर्ने हो भने एमालेका लागि पनि कैलाली र कञ्चनपुर प्रतिष्ठाको विषय हो । ०५४ सालको स्थानीय चुनावमा कैलालीको टीकापुर नगरपालिका र धनगढी नगरपालिका दुबैमा एमालेले कब्जा जमाएको थियो । कञ्चनपुरको महेन्द्रनगर नगरपालिका पनि एमालेले नै जितेको थियो ।
कैलाली जिविस सभापतिमा कांग्रेस र उपसभापतिमा राप्रपाले बाँडेका थिए भने कञ्चनपुर जिविसमा एमालेका ऋषिराज लुम्साली र उपसभापतिमा पनि एमालेले जित हात पारेको थियो ।
स्थानीय तहमा एमालेले ०५४ सालमा प्राप्त गरेको जीत यसपालिको स्थानीय तहको चुनावमा पनि कायमै राख्नु उसका लागि चुनौती र प्रतिष्ठाको विषय बनेको छ ।
कांग्रेसको ६ सीट, एमालेको एउटामात्रै
हाल कैलालीमा ६ वटा र कञ्चनपुरमा ४ वटा गरी यी दुई जिल्लामा कुल १० वटा चुनाव क्षेत्रहरु छन् ।
दोस्रो संविधानसभामा कैलालीबाट कांग्रेस र फोरम लोकतान्त्रिकले २/२ सीट जिते भने एमाले र माओवादीले एक/एक सीट जिते । कांग्रेसले हारेका सबै ठाउँमा दोस्रो पोजिसन ल्यायो ।
कञ्चनपुरबाट दोस्रो संविधानसभामा कांग्रेसले ४ वटै सीट जित्यो । शुन्य सीटमा खुम्चिएको एमाले ३ वटा क्षेत्रमा निकटतम प्रतिद्वन्दी बन्यो । रमेश लेखकको क्षेत्रमा एमाले तेस्रो पोजिसनमा झर्यो ।
यो तथ्यांकका आधारमा हेर्दा अघिल्लो चुनावमा कैलाली-कञ्चनपुरका १० सीटमध्ये कांग्रेसले ६ र एमालेले १ सीट जितेका थिए । अब यहाँ एमालेले कांग्रेसमाथि धावा बोल्ने र उसलाई दुबै जिल्लामा हार खुवाउने रणनीति बनाएको देखिन्छ । मेची महाकाली अभियान त्यसैको एउटा पहेली हो ।
यस्तो पनि हुँदोरहेछ !
अघिल्लो निर्वाचनको परिणाम कस्तो आएको थियो भन्ने आधारमा पछिल्लो चुनावको विश्लेषण गर्नु नेपाली राजनीतिमा निकै कठिन छ । यसका लागि कैलाली कञ्चनपुरको विगतको चुनावी नतिजा हेर्दा स्पष्ट हुन्छ ।
पहिलो संविधानसभा ०६४ मा माओवादीले कैलालीबाट ६ वटै सीट जितेको थियो भने कांग्रेस र एमाले दुबैले शून्य सीटमा चित्त बुझाएका थिए । त्यस्तै कञ्चनपुरका ४ मध्ये ३ वटा सीट माओवादीले जितेको थियो ।
पहिलो संविधानसभामा यी जिल्लाका १० सीटमध्ये ९ सीटमा माओवादी र एउटामा कांग्रेस -शेरबहादुर देउवा)ले जितेका थिए । एमाले शून्य सीटमा खुम्चिएको थियो ।
पहिलो संविधानसभामा १० मध्ये ९ सीट जितेको माओवादी दोस्रो संविधानसभामा १ सीटमा खुम्चियो भने एकसीट जितेको कांग्रेस ६ सीटमा उक्लियो । पहिले शून्य सीट जितेको एमालेले पनि माओवादीको बराबरी अर्थात एक सीटमा चित्त बुझायो ।
एक कार्यकालमै यति धेरै चुनावी उतार चढाव हुने नेपाली राजनीतिको विशेषता भएकाले कैलाली कञ्चनपुरको भावी परिणामलाई विगतको गणितले प्रभाव नपार्न सक्छ ।
एमालेको पहिलो धक्का
पहिलो संसदीय चुनाव (०४८साल)को तथ्यांकका आधारमा हेर्दा कैलाली र कञ्चनपुर कांग्रेसको गढका रुपमा स्थापित थियो । तर , कांग्रेसको गढमा ०५१ को मध्यावधि चुनावमा एमालेले पहिलोचोटि धावा बोल्यो ।
स्थानीय चुनावको मिति बैशाख ३१ गतेका लागि तोकिएको अवस्था छ । तर, ०५४ सालमा वामदेव गृहमन्त्री भएर स्थानीय चुनाव गराउँदा एमालेलाई जति सजिलो थियो, उसलाई अहिले त्यति सजिलो छैन
०४८ को चुनावमा कैलाली र कञ्चनपुरका कुल ५ सीटमध्ये पाँचवटै सीटमा कांग्रेस विजयी बनेको थियो । पहिलो संसदीय चुनावमा कैलालीमा तीनवटा मात्रै चुनाव क्षेत्रहरु थिए, जहाँ तीनवटै कांग्रेसले जितेको थियो । कञ्चनपुरमा दुईवटा मात्रै चुनाव क्षेत्र थिए, त्यहाँ पनि कांग्रेसले नै क्लिन स्विप गरेको थियो ।
मध्यावधि चुनाव (०५१) मा कैलालीमा ४ वटा चुनाव क्षेत्र बने, जसबाट एमालेले ३ सीट जित्यो भने कांग्रेसले एउटामात्रै सीट जित्यो । गिरिजा सरकारको अलोकपि्रयता र एमालेको लोकपि्रयताको असर कैलाली कञ्चनपुरको चुनावी नतिजामा प्रकट भयो ।
कञ्चनपुरमा पनि ०५१ को चुनावमा कांग्रेसले धुलो चाट्यो । कञ्चनपुरमा त्यसबेला तीनवटा चुनाव क्षेत्रहरु थिए, जहाँ एमाले तीनवटै सीट हात पार्यो । अघिल्लो चोटि जिल्लाका सबै सीट जितेको कांग्रेस शुन्य सीट मा झर्यो ।
अर्थात् ०५१ को चुनावमा कैलाली र कञ्चनपुरका ७ सीटमध्ये सातैवटा एमालेले जितेको थियो । यो चुनावी नतिजा ०४८ सालको भन्दा ठ्याक्कै उल्टो थियो । र, कांग्रेसका लागि एमालेले दिएको यो निकै ठूलो धक्का थियो ।
तर, अर्को संसदीय चुनाव (०५६) मा महाकाली सन्धी र पार्टी विभाजनको मार एमालेले महाकालीकै बगरमा नराम्रोसँग भोग्यो । र, दुबै जिल्लाबाट उ, पत्तासाफ भयो ।
जसरी पहिलो संविधानसभामा मौलाएको माओवादी दोस्रो संविधानसभासम्म पुग्दा ओइलायो, त्यस्तै पीडा एमालेले ०५६ सालमा भोगेको देखिन्छ । ०५६ को आम निर्वाचनसम्म आइपुग्दा एमाले फेरि ०४८ सालमा जस्तै कांग्रेसबाट बढारियो कैलाली कञ्चनपुरमा ।
कञ्चनपुरका ३ वटै सीट ०५६ को संसदीय चुनावमा कांग्रेसले जित्यो । कैलालीका ४ वटै सीट पनि कांग्रेसले नै जित्यो । र, एमाले फेरि दुबै जिल्लाबाट शुन्य सीटमा झर्यो ।
अहिले एमालेका लागि चुनावी माहौल लगभग ०५१ सालकै जस्तो अनुकूल बनेको छ । उसले महाकाली सन्धीमा गरेको हस्ताक्षरको मसीमात्रै सुकेको छैन, महाकाली सन्धीका अभियन्ता ओली आफैं राष्ट्रियताका अभियन्ता बनेका छन्
कैलाली कञ्चनपुरमा ०४८ र ०५६ सालमा शुन्य सीट ल्याएको एमालेले ०६४ को संविधानसभामा पनि शुन्य सीटमै चित्त बुझायो । दोस्रो संविधानसभामा भने उसले एक सीट जितेको अवस्था छ ।
तर, अहिले एमालेका लागि चुनावी माहौल लगभग ०५१ सालकै जस्तो अनुकूल बनेको छ । उसले महाकाली सन्धीमा गरेको हस्ताक्षरको मसीमात्रै सुकेको छैन, महाकाली सन्धीका अभियन्ता ओली आफैं राष्ट्रियताका अभियन्ता बनेका छन् । यसले गर्दा कैलाली कञ्चनपुरमा एमालेको ‘कम ब्याक’ असम्भवै चाहिँ छैन ।
एमालेको पक्षमा जसरी माहौल बनेको छ, कांग्रेसको पक्षमा त्यस्तो छैन । कांग्रेस सरकारमा छ र बदनाम छ । यो स्थितिमा शेरबहादुर देउवाले ०६४ सालमा गरेजस्तै आफ्नोमात्रै सीट सुरक्षित गर्ने र पार्टीलाई हराउने स्थिति पनि नआउला भन्न सकिँदैन ।
विगतमा कांग्रेसबाटै सांसद बनेका रामजनम चौधरीले फोरम लोकतान्त्रिकबाट चुनाव जित्नु र त्यहाँ थरुहट आन्दोलन चर्कनुले आगामी चुनावमा केही न केही प्रभाव पार्ने छ, कांग्रेस र एमालेका लागि ।
त्यसो त कञ्चनपुरको एउटा क्षेत्रमा राप्रपाको पनि सामान्य जनाधार देखिन्छ । गत संविधानसभामा कञ्चनपुर क्षेत्र नं ४ मा एमालेका उर्वादत्त पन्तले राप्रपाका धर्मराज जोशीको भन्दा कम मत ल्याएका थिए । उर्वादत्तको मत ४५ सय थियो भने राप्रपाका जोशीले ४९ मतका साथ तेस्रो स्थान हासिल गरेका थिए । यो ठाउँमा राप्रपा विगतमा दोस्रो स्थानसम्म आउने गरेको थियो । र, आगामी चुनावमा उसले त्यहाँ एकसीट जित्ने लक्ष राख्न सक्छ ।
फोरम लोकतान्त्रिक र माओवादीको चढावभन्दा पनि उतार नै बढ्ता देखिएका कारण यो निश्चित छ, आगामी चुनावमा यी दुई जिल्लामा बहुकोणात्मक नभएर दुईकोणात्मक प्रतिस्पर्धा नै तीव्र बन्ने देखिन्छ ०४८, ०५१, ०५६ र ०६४ सालमा जस्तै ।
आगामी संसदीय चुनाव कहिले हुन्छ भन्ने मिति निश्चित भएको छैन । स्थानीय चुनावको मिति बैशाख ३१ गतेका लागि तोकिएको अवस्था छ । तर, ०५४ सालमा वामदेव गृहमन्त्री भएर स्थानीय चुनाव गराउँदा एमालेलाई जति सजिलो थियो, उसलाई अहिले त्यति सजिलो छैन । एमालेका लागि यो उसको प्रतिकूलता हो भन्दा फरक नपर्ला ।
अर्कोतर्फ एमालेको विपक्षमा सत्तापक्षका दलहरु अघोषित-घोषित तालमेलमा गए भने एमालेका लागि त्यो अर्को प्रतिकूलता हुन सक्छ । दृष्टान्तका लागि ०५६ सालको चुनावमा राप्रपा र कांग्रेसले तालमेल गर्दा एमालेले कैलाली जिविसमा सभापति र उपसभापति दुबैमा हार व्यहोर्नुपरेको थियो । अहिले पनि एमालेविरुद्ध त्यस्तै घेराबन्दी हुन सक्ने सम्भावना पनि त्यत्तिकै देखिन्छ ।
७ नं प्रदेशमा कांग्रेस र एमाले बराबर
सेती महाकालीका संसदीय चुनावमा शुरुका दिनमा वामपन्थीहरु कमजोर र कांग्रेस बलियो रहँदै आएको देखिन्थ्यो । तर, पछिल्ला दिनहरुमा सुदुर पश्चिममा वामपन्थी र कांग्रेसवीच पौंठेजोरी चल्दै आएको छ ।
दोस्रो संविधानसभाको चुनावी परिणामलाई हेर्दा ९ जिल्ला समेटिएको ७ नम्बर प्रदेशमा एमाले र कांग्रेसको सीट संख्या बराबरी छ ।
प्रदेश नं ७ मा ९ वटा जिल्ला छन् । ती जिल्लाको कुल संसदीय सीट संख्या २१ छ । यसमध्ये कांग्रेसले ९ सीटमा जित हात पारेको छ भने एमालेले ९ सीटै जितेको छ । बाँकीमा फोरम लोकतान्त्रिकले २ सीट र माओवादीले एक सीट जितेको छ ।
दार्चुला, बझाङ र बाजुरा र अछाममा एमालेले गत चुनावमा कांग्रेसलाई क्लिन स्विप गरिदिएको थियो । बैतडी र डोटीमा कांग्रेस र एमालेले एक एक सीट बाँडेका थिए । डडेलधुरा र कञ्चनपुरमा कांग्रेसले एकलौटी जितेको थियो ।
आगामी चुनावमा निर्वाचन क्षेत्र घट्दैछन् । २४० निर्वाचन क्षेत्रलाई १६५ मा झार्दा ७ नम्बर प्रदेशका २१ सीट घटेर १५ सीटको हाराहारीमा आउने देखिन्छ । यसरी सीट घट्दा बझाङ र अछाममा एक्लै जितेको एमालेलाई बढी असर पर्छ । कञ्चनपुरमा एक्लै जितेको कांग्रेसलाई पनि केही घाटा पर्न सक्छ ।
तर, कैलाली कञ्चनपुर र सुर्खेतमा जनसभा गरेर एमालेले यसपटक ७ नम्बर र ६ नम्बर प्रदेशका पहाडी जिल्लामा समेत कांग्रेसलाई धक्का दिन खोजेको उसका जनसभामा पहाडबाट उतारिएका समर्थकहरुले संकेत गरेका छन्, जुन कांग्रेसका लागि चुनौतीको विषय हुन सक्छ ।
सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज
काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति
असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार
असार २३, काठमाडौँ। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम
असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको
असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस