May 15, 2017

७३ प्रतिशत मतदान, पहिलो चरण उत्साहपूर्ण : ३ केन्द्रमा मतदान स्थगित

काठमाडौं –  पहिलो चरणअन्तर्गत तीन प्रदेशमा आइतबार भएको स्थानीय तह निर्वाचनमा ७३ प्रतिशत मत खसेको छ । २० वर्षपछि नागरिकले आफ्नो घरदैलोको सरकार छान्न मतदानमा उत्साहजनक सहभागिता जनाएका छन् । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८१ स्थानीय तहमा पहिलो चरणमा मतदान भएको हो । दुई वटा तहमा यसअघि नै प्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका थिए । आइतबार दोलखा, काभ्रे र कालिकोटका एकएक स्थानमा मतदान स्थगित भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार तीनै प्रदेशमा ७३ प्रतिशत मत खसेको छ । सबैभन्दा बढी भक्तपुरमा ८३ प्रतिशत मत खसेको छ भने रसुवामा ८२ प्रतिशत मत खसेको छ । काठमाडौंमा ७५.५ प्रतिशत मत खसेको छ भने ललितपुरमा ७९.७६ प्रतिशत मत खसेको छ । सबैभन्दा कम मनाङमा ५३ प्रतिशत, म्याग्दीमा ६८ प्रतिशत र तनहुँमा ६९ प्रतिशत मत खसेको छ । दोस्रो संविधानसभा निर्वाचनमा ७९ प्रतिशत मत खसेको थियो । निर्वाचन आयोगका अधिकारीहरू आयोगले प्रारम्भिक विवरण संकलन गरेको र देशभर मतदान भएपछि मात्र एकिन तथ्यांक सार्वजनिक गर्न सकिने बताउँछन् ।

आयोगले आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरे पनि बिहानैदेखि मतदान केन्द्रमा मतदाताको भीड लागिसकेको थियो । युवा पुस्तादेखि ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, किरियापुत्री, दृष्टिविहीनसम्मले निकै उत्सुकतापूर्वक मतदानमा सहभागिता जनाएको निर्वाचन आयोगले उल्लेख गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो चरणमा जनताको उत्साहले जेठ ३१ गते निर्धारित दोस्रो चरणको निर्वाचनमा सहभागी हुन मतदातालाई उत्साहित बनाउने विश्वास व्यक्त गर्नुुभएको छ । ‘केही छिटफुट घटनाबाहेक शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा मतदानकार्य सम्पन्न भएको छ’, प्रमुख आयुक्त यादवले भन्नुभयो, ‘मतदाताले लोकतान्त्रिक अभ्यासमा देखाएको यस व्यापक सहभागिताप्रति आयोग हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’

४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिकामा प्रमुख÷उपप्रमुखसहित वडाध्यक्ष, महिला वडाध्यक्ष, दलित महिला वडाध्यक्ष र खुला महिला वडाध्यक्ष निर्वाचनका लागि मतदान भएको हो । पहिलो चरणबाट नगरप्रमुख÷अध्यक्ष २८३, उपप्रमुख वा उपाध्यक्ष २८३, वडाध्यक्ष २,५९८, महिला वडा सदस्य २,५९८, दलित महिला वडा सदस्य २,५९८ र खुला ५,१९६ सदस्य निर्वाचित हुनेछन् । प्रमुख वा अध्यक्षमा १ हजार ७ सय २३ पुरुष र १ सय ५७ महिला उम्मेदवार छन् । उपप्रमुखमा भने महिलाको संख्या निकै बढी छ ।

उपप्रमुख वा उपाध्यक्ष पुरुष २ सय ५७ र महिला १ हजार १ सय २७ उम्मेदवार छन् । वडाध्यक्ष पुरुष १ हजार २ सय ९६ जना र महिला ४ सय ४८ जना उम्मेदवार छन् । पहिलो चरणको निर्वाचनमा कुल मतदाता ४९ लाख ५६ हजार ९२५ रहेकोमा ६ हजार ६ सय ४२ मतदान केन्द्र थिए । २८३ स्थानीय तहअन्तर्गत मनाङ जिल्लाको नारपूm गाउँपालिका र डोल्पा जिल्लाको शेफोक्सुन्डो गाउँपालिकामा यसअघि नै निर्विरोध निर्वाचन भइसकेको थियो । मतदान कार्यपछि सबै मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्‍याइएका छन् । हिमाली तथा पहाडी जिल्लाका विकट मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न आयोगले हेलिकोप्टरको व्यवस्था गरेको थियो । मतदानकार्य सम्पन्न भएका स्थानीय तहका मतपेटिका सम्बन्धित स्थानीय निकायको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणनाप्रक्रिया अगाडि बढाइने छ ।

काठमाडौं महानगरपालिकालगायत कतिपय स्थानमा आइतबार रातिबाटै मतगणना सुरु हुँदैछ । तीनवटा मतदान केन्द्रमा मतदानकार्य स्थगित भएको आयोगले जनाएको छ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ४ को मतदान केन्द्र र कालीकोटको कालिका गाउँपालिकाको बालाचौर आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदानकार्य स्थगित भएको आयोगले जनाएको छ । दोलखा जिल्लाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर माविमा रहेको मतदान केन्द्रमा सुरक्षाकर्मीको कारबाहीमा एकजनाको निधन भएको र त्यस केन्द्रको मतदानकार्य पनि स्थगित भएको आयोगले जनाएको छ ।

मतदाता परिचयपत्रको प्रयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आयोगलाई सहयोग पुगेको जनाइएको छ । मतपत्र ठूलो हुनु, छोटो समयमा तयारी गर्नु, मतदाता शिक्षा प्रदान गर्न समय कम हुनु, बेलैमा राजनीतिक सहमति कायम नहुँदा उत्पन्न अन्योलबीच भएको तयारीप्रति आयोगले सन्तोष व्यक्त गरेको जानकारी प्रमुख आयुक्त यादवले दिनुभयो ।

३ केन्द्रमा मतदान स्थगित
स्थानीय तह निर्वाचनका क्रममा अराजक र हिंसात्मक घटनापछि तीनवटा मतदान केन्द्रमा मतदानकार्य स्थगित भएको छ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ४ को मतदान केन्द्र र कालीकोटको कालिका गाउँपालिकाको बालाचौर आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदानकार्य स्थगित भएको छ । आयोगका अनुसार दोलखा जिल्लाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर माविमा रहेको मतदान केन्द्रमा सुरक्षार्थ सुरक्षाकर्मीको कारबाहीमा एकजनाको निधन भएको छ । उक्त केन्द्रको मतदानकार्य पनि स्थगित भएको छ । ती मतदान केन्द्रहरूमा निर्वाचनको नयाँ मिति तोक्ने जनाइएको छ ।

२ तहमा निर्विरोध
मनाङ जिल्लाको नारफू गाउँपालिका र डोल्पा जिल्लाको शेफोक्सुन्डो गाउँपालिकामा उम्मेदवारहरू निर्विरोध निर्वाचन भइसकेको आयोगले जनाएको छ । दुई तहमा जनप्रतिनिधि निर्विरोध निर्वाचित भएकाले ती स्थानमा मतदान भएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको