यहाँ, ऐया ! भन्न नपाइ मरिरहेछ मानिस


  • prakash-pathakप्रकाश पाठक

विवशता भनुँ या लाचारता ? मान्छे मान्छेकै भिडमा एक्लो छ । गुलाबको त्यो अन्तिम जीवन बाँचेको जस्तो छ, उसको जीवन । बालुवाको त्यो मरभुमिमा प्रचण्डताको बाण खाएर ढले जस्तो छ उसको जीवन । आफुलाई अरुमाझ देखाउने प्रयास गरेपनि बाध्यतामा लुकेको छ उसको जीवन । एउटा मानिस दु:खमा सहयोगको भिख माग्दा सहयोग गर्ने कोहि हुँदैन यहाँ, हजारौं हुन्छन त्यहाँ रंगमञ्चको नाटक सरी टुलुटुलु हेर्न आएकाहरू । एउटा मानिस बाटोमा लड्दा अर्को नदेखेझै हिड्छ ।

एउटा दु:खी बालकले भोक तर्न सहयोग माग्दा विभिन्न उपनामको माला लगाइदिन्छ मानिस । सायद ढुंगाको हुनुपर्छ त्यो मन … के भनुँ ?? बरु ढुंगा पग्लिदेला मान्छेको मन पग्लिदैन यहाँ l मानिसले जीवनमा आफुलाई विकासको महाशिखरमा पुर्याउन त्यो कागज अर्थात पैसाको प्रयोग गर्यो । त्यो कागजी नोटको लागि उसले मानबता नै बिचिदियो । कस्तो बलबान रहेछ त्यो कागज, जसको अगाडी मान्छेले न भोक देख्छ, न निन्द्रा, न त कसैको दु:ख नै । केवल देख्छ त त्यो कागज । जुनदिन उसको आँखाबाट पैसाको त्यो जालो टुट्नेछ, त्यस दिन सायद मानवता नै बिलाउनेछ l हो, म पनि त्यहि ढुंगाको मन भएको मानिस हुँ । म पनि निर्दयी छु । म पनि स्वार्थी छु । केवल आफ्नो खुशीकोलागी बाँचिरहेको छु ।

आँखाले सब दृश्य देखेको छु, तरपनि अन्धोझै टार्न बाध्य छु । चाहन्थें म त्यो स्वार्थको शिखर चढ्न तर के गर्नु आफ्नो जिन्दगीले स्वार्थी हुन विवश गरायो । डर लाग्छ, कहिँ मानिसलाई कल्पनाको संसारमा उडाएर त्यसलाई गन्तव्य देखाउन नसकी बिचमै त बिलाउदीन ?  डर लाग्छ मलाई, अरुलाई मृत्युको मुखबाट खोस्ने क्रममा मृत्युको निशाना मै त बन्नेछैन ? डर लाग्छ मलाई अरुको जीवनमा रंग भर्दा – भर्दै आफै त्यो सेतो कपडामा त बेरिनुपर्ने छैन । हो काथर छु म, कतै मानिसको जीवनमा लागेको डढेलो निभाउने चक्करमा, आफै त बल्नुपर्ने छैन ? मलाई डर छैन मृत्युदेखि किनकि मेरो एक मृत्युसंग कयौ मानिसको जीवन जोडिएको हुन्छ । तर यो डर लाग्छ कि, कहिँ मेरो मृत्यु त अपुरो हुनेछैन ?  कहिँ म मेरो सपना पुरा नगरी क्लान्त त हुनेछैन ।

मैले पनि मानिसको जीवन सपार्ने प्रण खाएको थिएँ । अन्यायमा दबिएकालाई न्याय दिने बाचा गरेको थिएँ । अनि पिडामा डुबुल्की मार्न बाध्य भएकालाई तैरिन साथ दिन्छु भनि हात बढाएको थिएँ । हो यहि डर लाग्छ कि, म त्यो आशालाई मृत्युको महायज्ञमा होम्न त बाध्य हुनेछैन । कहिँ त्यो लक्ष्यमा हिड्दा हिड्दै न्यायका लागि भिड्दा भिड्दै त्यसलाई अपुरै छाडी मेरो जीवन्त समाप्त हुनेछैन ?? हो यहि डर हो, मेरो लक्ष्यमा तगारो बनि आएको त्यो अपुरो मृत्युको । त्यो भयानक काल जुन मेरो जीवन संगसंगै हजारौ मानिसको खुसी, आशा र सपना तहसनहस गर्न आएको ।

जीवन शुल्क पक्षको उज्यालो रात मात्र होइन, औँशिको त्यो कहालीलाग्दो रात पनि हो । अनि जीवन बिनाशलिलाको भयानक दृश्यपनि हो । हो बुझेको छु मैले, जीवन भोगेर होइन देखेर । यहाँ हरेक दिन पत्रिकाका पृष्ठहरु मानिसको लासले सिंगारिएको हुन्छ । मान्छेको मृत्यु त यहाँ लामखुट्टेको मृत्यु जस्तै भएको छ । ऐया ! भन्न नपाइ मर्छ मानिस । तर म त्यति निर्दयी पनि छैन । हराएको छैन म त्यो पैसाको मोहमा ।

म मा मानबता छ । बाटोमा कोहि मानिस तड्पिरहेको देख्दा, जीवन र मृत्युबिच तड्पेको त्यो क्षण याद आउदा, कसैको आँखा रसौदा, मैले मेरो हजुरबाको आँशु पुछ्न नसकेको त्यो आँखा याद आउछ, अनि मानिस मृत्युसंग जुदिरहेको देख्दा आफ्नो हजुरबालाई मृत्युको मुखबाट खोस्न नसकेको त्यो कालो रात याद आउछ । हो त्यही दिन थियो । मैले अफैसंग प्रण खाएको ।

हजुरबाको त्यो प्रत्येक आँशुको कण मेरो जीवनको कसम बनेको थियो । त्यो दिन, बाचा थियो मेरो, आफ्नो आशु बगोस – अरुको आँखामा आँशु आउन नदिने, आफ्नो जीवन समाप्त होस् – अरुको जीवन बचाउने, अनि दिनहु मरेर बाचेका ति व्यक्तिको जीवन रंगाईदिएर वास्तविक जीवनको अर्थ प्रस्ट्याइदिने, अनि मेरो जीवन रहेसम्म कसैलाई अन्यायमा फस्न नदिने । अब म हजुरबाको त्यो आँशुलाई अपुरो छोडेर मृत्युमा रम्न चाहन्न । उहाको त्यो आशु र आशाभन्दा बलवान छैन त्यो काल । जब हजुरबाको आशुको प्रत्येक थोपाको ऋण तिर्छु, तब तयार छु त्यो मृत्युसंग हाँसी हाँसी जान l ——-

 

photo

NOC1-250x300