जेठ १४, काठमाडौं । धेरैलाई थाहा छैन, पोखरा महानगरपालिकाको उपमेयर निर्वाचित मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी सैनी (मितिनी) हुन्। चुनावका बेला पनि यो साइनाको चर्चा किन पनि भएन भने मञ्जुले उम्मेदवारको टिकट राष्ट्रपतिकी सैनी भएकैले पाएकी भने होइनन् ।
कुरा २०५१ सालको हो। एमाले पोखरा नगर कमिटीको अधिवेशनमा विद्या अतिथि बनेर आएकी थिइन् । पहिल्यैदेखि विद्याको स्वभाव र व्यवहार नियालिरहेका मञ्जुका माइला बुवाले त्यही मौकामा दुवैजनाबीच सैनी साइनो जोडिदिने सोचे । नगर कमिटी इन्चार्ज कृष्ण थापा र मानबहादुर सूत्रधार भएर दुई साइनो जोडियो।
‘विद्याका लोग्ने मदन भण्डारी पनि दुर्घटनामा बित्नुभएको, मेरो छोरीज्वाइँको पनि दुर्घटनामा’, मानबहादुरले भने, ‘दुइटै नरम बोल्ने, अरुलाई नघोच्नेखालको हुँदा जोडी मिल्ने देखें।’ सैनीछोरी राष्ट्रपति र आफ्नो छोरी उपमेयर हुँदा जीवनकै ठूलो खुसी मिलेको उनले सुनाए। संयोग कस्तो पनि परेको छ भने उनी यसअघि पोखरा उपमहानगरपालिकाको उपमेयर थिए । छोरी मञ्जु आफ्नै ठूलोबुवाको उत्तराधिकारी भएकी छिन् ।
भोजपुरमा जन्मिएकी विद्यालाई गण्डक प्रदेशतिर छोरी मान्छेबीच गाँसिने सैनी सम्बन्धका बारेमा ऊ बेला थाहा नभएको पनि मानबहादुरले सुनाए । छोरा मान्छेहरुबीच मित लगाएजस्तो यता महिलाबीच सैनी लगाइन्छ। दुई कन्या राखेर, पूmलपाती, चामल, अक्षता र पैसा राखेर, अनि एक अर्काको जुठो खाएर विधिपूर्वकै सैनी लगाएको मञ्जुले बताइन् ।
साइनो गाँसिएपछि विद्या पोखरा आउँदा मञ्जुकहाँ बस्थिन् भने मञ्जु काठमाडौं जाँदा विद्याकहाँ। ‘राष्ट्रपति भएपछि उहाँकी छोरीको बिहेमा जाँदा भेटेयता कुराकानी र भेट भएको छैन’, मञ्जुले भनिन् । उनका अनुसार भेटघाटका बेला दुवैबीच पारिवारिक गफगाफ भइरहन्थ्यो। मञ्जु ३१ वर्षमै एकल भएकी थिइन् ।
उनका पति मेखबहादुर गुरुङको २०४९ सालमा नुवाकोटमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो। राजनीतिमा संलग्नता भने उनी अविवाहित हुँदादेखि नै थियो। आफ्ना मामाको प्रेरणाले कम्युनिस्टप्रति आकर्षित भएकी थिइन् । उपमेयर भइसकेपछि न्यायिक जिम्मेवार सम्हाल्नुपर्ने मञ्जुलाई थाहा छ। त्यसैले उनले प्रतिबद्धता गरिसकेकी छिन्,‘पोखरालाई महिलाहिंसामुक्त महानगर बनाउन लाग्छु, विभेदमुक्त महानगर बनाउन लाग्छु।’अाजको अन्नपूर्ण पोस्टमा खबर छ ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास