काठमाडौं, ८ वैशाख । लामो समयदेखि एकताको गृहकार्य गर्दै आएका नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमले पार्टी एकीकरणलाई अन्तिमरुप दिन ‘पार्टी एकता संयोजन समिति’ गठन गरेका छन् ।
संयोजन समितिमा डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई रहेका नयाँ शक्ति पार्टी, नेपालले जानकारी दिएको छ ।
शुक्रबार बिहान जारी गरिएको संयोजक डा. भट्टराई र अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताको प्रयोजनार्थ दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका वैठकहरुमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पुर्याउनका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गर्ने निष्कर्षमा पुगिएको छ ।’
विज्ञप्तिमा जनाइएअनुसार यस समितिले ‘वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्याउने सहमति भएको छ’ उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपाल सरकारसँग सङ्घीय गठबन्धन, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा ६८ दलीय संयुक्त संघर्ष समितिले अगाडि सारेका मागहरुलाई सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन अनुरोध गर्दछौं ।’