April 3, 2020

कोरोनाभाइरस ‘ल्याब’मा बनाइएको हौवा कसरी र किन फैलाइयो

अहिले संसार नै कोरोनाभाइरसले आक्रान्त भएको बेलामा भाइरस कसले र कसरी फैलायो भन्ने विषयमा अनेकथरी षड्यन्त्र सिद्धान्तहरू सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरूमा देखिन थालेका छन् ।

मनोविद्हरूका अनुसार, विश्लेषणात्मक सोच नभएका अनि आफूलाई अद्वितीय ठान्ने मानिसहरूले षड्यन्त्र सिद्धान्त अंगीकार गर्छन् । अरूलाई थाहा नभएको रहस्य आफूलाई थाहा छ भन्ने गलत सोच पालेका यस्ता व्यक्ति कुनै पनि घटनालाई रहस्यमय र सनसनीखेज बनाउन खोजिरहेका हुन्छन् । त्यसैले उनीहरू अनौठा सिद्धान्तहरू बाहिर ल्याइरहेका हुन्छन् ।

एकथरीले यो चीनले वुहानमा बनाएको जैविक हतियार हो भनी हौवा फैलाए । चीन सरकारले वुहानमा कोरोना संक्रमण भएको कुरालाई शुरूमा दबाएको र पछि स्वीकार गरेको स्थितिमा षड्यन्त्र सिद्धान्तकारहरूलाई झन् मसला प्राप्त भयो । अनि कोरोना महाव्याधिका विषयमा सचेत गराउन खोज्ने सूचनादाताहरू र आठजना चिकित्कसहरूलाई कारवाही गर्ने र तिनको आवाज दबाउने काम पनि चिनियाँ सरकारले गरेको भनी पश्चिमी सञ्चारमाध्यमले खबर दिए । त्यसले पनि यो भाइरस चीनको जैविक हतियार भएको गलत दाबीलाई बल पुर्‍यायो । 

यस षड्यन्त्र सिद्धान्तलाई मलजल गर्नका लागि हल्लाखोरहरूले अमेरिकी उपन्यासकार डीन कून्जको सन् १९८१ मा प्रकाशित पुस्तक दी आइज अफ डार्कनेसको एक अनुच्छेदलाई उद्धृत गरे । उक्त अनुच्छेदमा वुहानको एक प्रयोगशालामा भाइरस निर्माण गरेर संसारभरि फैलाइएको भनी लेखिएको छ । उक्त अनुच्छेदको स्क्रीनशट सामाजिक सञ्जालमा भाइरल भयो । पछि चाहिँ फेसबूक, ट्विटर लगायतले त्यस स्क्रीनशटमाथि पारदर्शी कालो स्क्रीन राखी झूटो सामग्री भनी प्रयोगकर्तालाई सचेत गराए ।

हुँदाहुँदा चीनले विकसित गरेको ५जी प्रविधिमार्फत भाइरस फैलिएको भनेर समेत हल्ला फैलाइयो । अमेरिकाका एक गायक केरी हिल्सनले लगालग ट्वीटहरू लेख्दै ५जी प्रविधि बाट निस्कने विकिरणका कारण मानिसहरू भुइँमा ढल्ने गरेको लेखे । अनि त्यसलाई पत्याएर धेरै मानिसले शेयर गरे तर विज्ञहरूले मानव स्वास्थ्यका लागि ५जी हानिकारक छ भन्ने विषयमा कुनै प्रमाण फेला नपरेको बताए । 

यसरी चीनका विरुद्ध षड्यन्त्र सिद्धान्तकारहरूले अनेकथरी भ्रम फैलाएपछि चिनियाँहरूले पनि आफ्नै किसिमका षड्यन्त्र सिद्धान्त अघि सारे । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अनेकौं ट्वीट गर्दै अमेरिकामा कोरोनाभाइरसको पहिलो बिरामी फेला परेको अनि अमेरिकाले त्यसलाई दबाएको आरोप लगाए । उनको भनाइ सार्वजनिक भएसँगै चिनियाँ सामाजिक सञ्जालमा गत वर्षको अक्टोबर महिनामा वुहान आएका अमेरिकी सैनिकहरूले कोरोनाभाइरस सारेको भन्ने हल्ला चल्न थाल्यो । 

तर नेचर मेडिसिन जर्नलले भाइरसको जिनोमको अध्ययन गर्दा यो कुनै प्रयोगशालामा बनाइएको जैविक हतियार हो भन्ने विषयमा कुनै प्रमाण फेला नपरेको भनी स्पष्ट पारेको छ । तर गम्भीर सामग्री प्रकाशित गर्ने जर्नलको कुरा सर्वसाधारणले पत्याइरहेका छैनन् । 

रुस र इरानमा पनि कोरोनाभाइरसका बारेमा अनेकौं षड्यन्त्र सिद्धान्तहरू अघि सारिए । भाइरस अमेरिकाको जासूसी संस्था सीआईएले लाटभियाको एक प्रयोगशालामा बनाएको जैविक हतियार हो र संसारलाई मानवरहित बनाउन अमेरिकाले गरेको षड्यन्त्र हो भन्ने हल्ला पनि फैलाइए । अनि आर्थिक संकटमा पर्न लागेका पश्चिमी मुलुकहरूले अर्थतन्त्र बचाउनका लागि नगद छाप्ने बहाना खोजिरहेकोमा भाइरसले उनीहरूलाई सहयोग गरेको भनेर समेत लेखियो । अमेरिकाका ठूला औषधि कम्पनीहरूले कोरोनाविरुद्धको औषधि र खोप संसारभरि बेचेर अकुत सम्पत्ति जोड्नका लागि भाइरस फैलाएको भनी लेख्ने पनि भेटिएका छन् ।

इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली शामखानीले एउटा ट्वीट लेख्दै अमेरिकाले अरूलाई दोष लगाउनु भन्दा पनि कोरोनाभाइरस बनाएको र फैलाएकोमा आफ्नो भूमिकाका विषयमा उठेका प्रश्नको जवाफ दिनुपर्छ भने । 
यसरी विभिन्न मुलुकले आरोप प्रत्यारोपको सिलसिला चलाएका छन् भने सर्वसाधारणले षड्यन्त्र सिद्धान्तहरू फैलाउँदैछन् । यस्ता गलत सूचना फैलाउनुको के उद्देश्य हुन सक्छ ? 

यो दुईथरी व्यवस्थाबीच संघर्षको परिणाम हुनसक्छ । पश्चिमी व्यवस्थाप्रति पश्चिमकै मानिसमा विश्वासको संकट परिरहेको अवस्थामा सरकारहरूप्रतिको अविश्वास झनै बढोस् भन्ने ध्येयका साथ रुस, चीन र इरानले यस्ता गलत सूचना प्रवाह गरेका हुन सक्छन् ।

उता पश्चिमी मुलुकहरूले पनि महाशक्ति राष्ट्र बन्न उत्सुक चीनलाई तल पार्न र त्यहाँका जनताप्रति संसारमा घृणा फैलाउन षड्यन्त्र सिद्धान्त ल्याएका हुन सक्छन् । राष्ट्रपति सी चिनफिङले महाव्याधि रोक्नका लागि उचित कदम नचालेको भन्दै कडा आलोचनाहरू भइरहँदा चिनियाँ कम्युनिस्ट पार्टीविरुद्ध जनता जागून् भन्ने उद्देश्य पश्चिमले लिएको छ तर पश्चिमी सञ्चारमाध्यममा चिनियाँहरूको पहुँच नदिइएकाले त्यसरी विद्रोह जगाउन लगभग असम्भव छ ।

त्यसमाथि पश्चिमी मुलुकहरूलाई भाइरस संक्रमण रोक्नका लागि लगाइएको लकडाउनले अप्ठ्यारो पारिरहेको स्थिति छ । मानवअधिकारका कुरा अघि सार्दै हिँडडुलको स्वतन्त्रता हनन भएको अनि व्यक्तिमाथि राज्य हावी हुन थालेको भनी गनगन गरे पनि संक्रमण फैलिन नदिन लकडाउन सर्वोत्तम उपाय हो भन्ने देखिएको छ चाहे त्यसले मानवअधिकारको उल्लंघन गरोस् ।

मानव रहे पो मानवअधिकार ? भाइरसले मानव मार्दा मानवअधिकारलाई थाती राख्नुपर्ने हुन्छ । (मानवअधिकारको अभ्यास गर्ने इटलीमा मानिसहरूले सरकारको निर्देशन नटेरी हिँडडुल गरेकाले व्यापक मात्रामा संक्रमण फैलिएको र मृत्युदर बढेको प्रमाणित भइसकेको छ ।)

चीनले लकडाउन लगाएर भाइरस संक्रमण रोक्न सफल हुँदा पश्चिमी मुलुकहरूले पहिला विरोध गरे तर अहिले त्यही उपाय अवलम्बन गरिरहेका छन् । अब उनीहरूले चीनलाई कसरी विरोध गर्ने ? त्यसैले भाइरस फैलिनुमा चीनकै दोष छ भनी उनीहरू आरोप र षड्यन्त्र सिद्धान्तलाई अंगीकार गरिरहेका हुन् ।

प्रत्येक महामारीले मानिसमा डर उत्पन्न गराउँछ र डरले घृणालाई जन्म दिन्छ । त्यही घृणाले गर्दा मानिसले आफूइतरको समुदायमाथि अनेकौं आरोप प्रत्यारोप लगाइरहेको हुन्छ । षड्यन्त्र सिद्धान्तहरू पनि त्यसैका उपज हुन् । 

अहिले उत्पन्न डरले मानवजातिलाई अविवेकी षड्यन्त्र सिद्धान्त बनाउन तथा दोषरोपण गर्ने पात्रको खोजीमा लाग्न प्रेरित गरेको हो । तर यो डरले मानिसहरूलाई जिम्मेवारीपूर्ण व्यवहार देखाउन अनि इतर समुदायका मानिसप्रति सम्मानको भाव देखाएर एकजुट भई महाव्याधिविरुद्ध लड्न प्रेरित पनि गरिरहेको छ ।

घृणावादी षड्यन्त्र सिद्धान्तकारहरू जतिसुकै वाचाल भए पनि मानवताप्रतिको जिम्मेवारी बोध गरेका असल आत्माहरू संक्रमितको उपचारमा खटिएका छन् । यसले मानवताप्रति आशाको सञ्चार गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको