आज बडादशैंको सातौं दिन भव्यतापुर्वक मनाइदै

नवरात्रका नौ दिनमध्ये सातौं दिनलाई विशेष रुपमा मनाउने चलन छ । यस दिन देवी दूर्गा कालरात्री स्वरुपमा प्रकट हुनु हुन्छ । त्यसैले सातौ दिनको रातलाई कालरात्रीका रुपमा पूजा गरिन्छ । शास्त्रमा कालारात्री दूर्गाको स्वरुपलाई यसरी उल्लेख गरिएको छ ।
एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता ।
लम्बोष्ठी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी ।।
वामपादोल्लसल्लोहलताकण्टकभूषणा
वर्धनमूर्धध्वजा कृष्णा कालरात्रिर्भयंकरी ।।

माता दुर्गाको सातौं स्वरुपको नाम हो कालरात्रि । कालरात्रि स्वरूपा दुर्गा भवानीको सातौं दिनमा श्रद्धाका साथ पूजाआराधना गरिन्छ । शास्त्रमा देवी कालरात्रिको स्वरुप देख्दमा भयंकर र डरलाग्दो भएता पनि भक्तहरुलाई सदैव शुभ फल दिनुहुन्छ भन्ने मान्यता छ । उनको श्रद्धा एवं भक्तिले कुनै पनि प्रकारको बाधा, दुष्टको आतंक या ग्रहपीडा देखि मुक्त भई जसद्वारा साधक भयभीत हुनुपर्दैन भन्ने मान्यता रहेको छ ।

बडा दशैंको पहिलो दिन घटनस्थापना जस्तै सप्तमी, महाअष्टमी, महानवमी एवं विजया दशमी तिथिको महत्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ ।

यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवह्वान गरेर सोह्र सामग्रीले पुजिन्छ । अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी (जमल) ल्याई प्रोसेशन र बढाइँ साथ हनुमानढोका भित्र्याइन्छ ।

कालरात्री देवीसँग बरदान माग्ने मन्त्र
या देवी सर्वभूतेषु माँ कालरात्री रूपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।

अर्थातः

कालरात्री देवीकी रूपमा सर्वत्र विराजमान माता अम्बे !
म तपाइलाई कोटी(कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।।

फूलपातीको प्रचलन र महत्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल भने फूलपातीदेखि सुरु हुन्छ । घर–घरमा फूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । शास्त्रिय विधी अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ । हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।

गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिंगारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र रहुन्जेल हनुमानढोका दरबारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्रीको उपस्थिति हुने गरेको छ ।

 

photo

NOC1-250x300