प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्न चिकित्सा शिक्षा विधेयकबारे छलफल गर्न मंगलबार बालुवाटारमा बैठक बोलाएका छन्।
संसदमा दर्ता विधेयकका के–के बुँदा संशोधन गर्न सकिन्छ भन्नेबारे छलफल गर्न प्रधानमन्त्रीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङ, मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमालाई बैठकका लागि मध्यान्ह १२ बजे बालुवाटार बोलाएको नेकपाका एक नेताले जानकारी दिए।
मंगलबार बिहानभरि प्रधानमन्त्रीले बालुवाटारमा नेकपाका नेताहरूसँग केसीका माग र विधेयक संशोधनबारे छलफल गरेका छन्।
‘नेताहरूबीच नै कुरो अझै टुंगोमा पुगिसकेको छैन, अझै केही समय लाग्न सक्छ,’ ती नेताले सेतोपाटीसँग भने।
यसअघि सोमबार दिउँसो नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महान्यायाधिवक्ता अग्नि खरेल र शिक्षामन्त्री गिरिराजमणि पोखरेलबीच यो मुद्दा कसरी हल गर्ने भनी कुराकानी भएको थियो।
बैठकपछि परराष्ट्रमन्त्री ज्ञवाली १० दिन लामो युरोप भ्रमणमा गएका छन्।
सो बैठकपछि विधेयक संशोधनको विषय प्राविधिक रूपमा सल्टाउने जिम्मा नेम्वाङलाई दिइएको थियो। नेम्वाङले बाँस्कोटा र माथेमालाई छलफलका लागि खबर गरे पनि राति बैठक बस्न सकेन।
डा. केसीले माथेमा कार्यदलको सुझावकै आधारमा चिकित्सा शिक्षा कानुन बन्नुपर्ने माग गर्दै आएका छन्।
पूर्ववर्ती शेरबहादुर देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशका केही बुँदा हटाएर नयाँ विधेयक संसदमा पेस गरिएपछि डा. केसी अनसन बसेका हुन्।
काठमाडौं उपत्यकाभित्र दस वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने, एउटै विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेज सम्बन्धन नदिने, लगातार तीन वर्ष अस्पताल सञ्चालन गरेको कलेजलाई मात्र सम्बन्धन दिने लगायत अध्यादेशमा भएको व्यवस्था त्यसलाई प्रतिस्थापन गर्न सरकारले बनाएको चिकित्सा शिक्षा विधेयकमा राखिएका छैनन्।
यही विधेयकको विरोधमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अनसन बसेका डा. केसीलाई सरकारले गत बिहीबार जबर्जस्ती काठमाडौं ल्याएको थियो। मंगलबार उनी अनसन बसेको २५ दिन भएको छ। यो अहिलेसम्मकै लामो अनसन हो।
पछिल्ला केही दिनदेखि नै सरकारले डा. केसी र उनका वार्ताकारसँग अनौपचारिक छलफल जारी राखेको थियो।
नेकपा नेता नारायणकाजी श्रेष्ठ आइतबारै डा. केसीलाई भेट्न अनसनस्थल पुगेका थिए। उनले डा. केसीलाई ‘तपाईंको जीवन ठूलो हो, कम्तिमा स्वास्थ्य परीक्षण गर्न दिनुहोस्’ भनेका थिए। त्यही क्रममा अनसनस्थलमै श्रेष्ठ र डा. केसीको वार्ता टोलीबीच औनपचारिक कुराकानी पनि भयो।
परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार पनि केसीको वार्ता टोलीलाई भेटेर यो मुद्दा सल्टाउन कसरी जान सकिन्छ भनी छलफल गरेका थिए।
स्रोतका अनुसार प्रधानमन्त्री ओली मनमोहन अस्पताल सरकारले किनेर भए पनि यो मुद्दा सल्टाउने पक्षमा पुगेका छन्। उनले सोमबार बिहान आफूनिकट नेताहरूलाई ‘मनमोहन अस्पताल सरकारले किनेर भए पनि यो मुद्दा चाँडै सल्टाउँछु’ भनेको स्रोतले जानकारी दियो।
यसअघि केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा नै मनमोहन अस्पताल वीरलाई बेच्ने सहमति भएको थियो।
वीरले उक्त अस्पताल किन्ने र वीरको नाम फेरेर मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान राख्ने सहमति भएको हो। मनमोहनका सञ्चालकहरूले पनि अस्पताल बेच्न सहमति जनाएका थिए।
विधेयकमा संशोधन गर्न सकिने बुँदाबारे धारणा बनाएपछि आजै डा. केसीका वार्ताकारसँग कुराकानी हुनेछ। त्यसपछि डा.केसीलाई संशोधित बुँदा देखाएर सहमति लिन प्रयास गरिने स्रोतले बतायो।