मिटरब्याजमा पैसा लिँदा सर्वसाधारणको उठीबास, सरकार चुपचाप

अहिले बजारमा मिटरब्याजमा पैसा लगानी गर्ने र लिने मानिसहरु यत्तिकै भेटिन्छन् । एक लाख रकमको महिनाको पाँच हजारदेखि ३० हजारसम्म ब्याज लिनेहरुको संख्या हवात्तै बढेको छ । यसरी यत्रो महँगो ब्याजमा ऋण लिनेले तिर्न नसकेपछि कि त आफ्नो जयाजेथा गुमाउँछन् कि त आत्महत्या गर्छन् ।
वित्तिय संस्थाले ऋण नदिएपछि सर्वसाधारणहरु मिटरब्याजमा ऋण लिन बाध्य भएका छन् । तर यसरी रकम लगानी गर्नेमा पनि सरकारी कर्मचारी, व्यापारी वा वित्तिय संस्थाकै कर्मचारी रहेका छन् । यिनीहरुले ऋण मागेको घण्टा पनि नबित्दै रकम दिन्छन् तर ऋण तिर्छु भनेको मितिमा रकम नतिरे गुण्डा लगाउने गर्छन् ।
यिनीहरुले गुण्डादेखि प्रहरीसम्मलाई नै हातमा लिएका हुन्छन् । यी मिटरब्याजहरुले पनि ठुला व्यापारी वा राजनितिक दलहरुको रकम चलाउँछन् । त्यस्तै, एक करोड मूल्य बराबरको घरजग्गा भएमा ३५ देखि ४० लाख महँगो ब्याजमा दिन्छन् र ३ महिनाको समयावधि दिन्छन् ।
तर तीन महिनाभित्र त्यो ऋण नतिरे एक करोडको सम्पत्ति ३० देखि ४० लाखमै खाइदिन्छन् । मिटरब्याजमा रकम लगानी गर्नेमा टोले गुण्डादेखि व्यापारीसम्मै रहेका छन् । त्यसैले, अब महँगो ब्याजका कारण धेरै सर्वसाधारणको उठीबाँस हुन्छ त धेरै मानिसहरु भाग्नुपर्ने वा आत्महत्या गर्नुपर्ने स्थितिमा पुग्छन् । पछिल्लो समय देशमा जति पनि आत्महत्याको संख्या बढेको छ त्यसको कारण पनि मिटरब्याज नै हो ।
प्रत्येक दिन मिटरब्याजीहरुको बिकबिकी बढिरहेको छ तर प्रहरी प्रशासनहरु भने न यस्तामाथि अनुगमन नै गर्छ न कारबाही । कति ठाउँमा त सुनिन्छ, प्रहरीकै हाकिम वा कर्मचारीले पनि यसरी मिटरब्याजमा रकम लगानी गरिरहेका छन् ।
व्यक्तिहरुले यसरी मिटरब्याजमा पैसा लगानी गर्दा अहिले देशको अर्थतन्त्रमा संकट आयो,सर्वसाधारणको उठीबाँस भयो । व्यापारी वा समस्या परेका मानिसहरुले यसरी मिटरब्याजमा पैसा लिन्छन् तर तिर्न नसकेपछि आफुसँग भएको जेथो पनि गुमाउँछन् र ज्यान पनि गुमाउँछन् ।
मिटरब्याजकै कारण पछिल्लो समय धेरै जनताहरुको घरमा रुवाबासी भइरहेको छ त मानिसहरु सुकुम्बासी हुने अवस्थामा पुगेका छन् । अहिले पैसा कमाउन सबैभन्दा सजिलो काम नै मिटरब्याजमा पैसा लगानी गर्ने भएकाले यस काममा युवादेखि बुढासममै संलग्न रहेका छन् ।
कानुनमा लगानी गरेको ऋणको १० प्रतिशतभन्दा बढी ब्याज लिन पाइदैँन तर यहाँ त एक लाख रकमको महिनाकै ३० हजार ब्याज लिइएको छ । अब यो कति प्रतिशत पर्‍यो आफैँ हिसाब गर्नुस् । यता सर्वसाधारणहरुले सहकारीमा जम्मा गरेको रकम लिन गएमा पैसा छैन भन्दै फर्काइन्छ तर सहकारीकै अध्यक्ष र सञ्चालकहरु भने यसरी मिटरब्याजमा रकम लगानी गरिरहेका हुन्छन् ।
यता पैसा जनताको हुन्छ, तर नाफा खानेसमयमा यिनीहरु खान्छन् । बैंकमा पनि त्यहीनै भइरहेको छ । जनता पैसा राख्छन् तर त्यो पैसा महँगो ब्याजमा लगानी गरी नाफा कमाइन्छ । पछिल्लो समय यसरी महँगो ब्याजमा रकम लगानी गरेर जनता ठग्नेमा प्रायजसो वित्तिय संस्थाकै अध्यक्ष, सञ्चालक वा कर्मचारीहरु रहेका हुन्छन् ।
सर्वसाधारणहरु हामीले हाम्रो पैसा वित्तिय संस्थामा लगेर सुरक्षित राखेका छौँ भन्छन् तर उता वित्तिय संस्थाहरु भने त्यो रकम महँगो ब्याजमा लगानी गरी नाफा कमाइरहेका छन् । पछिल्लो समय धेरै सहकारीहरु डुब्नुको कारण पनि यही नै हो । सहकारीका सञ्चालक वा अध्यक्षहरुले मिटरब्याजमा रकम लगानी गरे तथा ऋणीले महँगो ब्याजका कारण ऋण नतिरेपछि वा भागेपछि उनीहरु पनि भाग्नुपर्ने दिन आयो ।
झन् कति सहकारीहरुले त आनाको ४० लाख मूल्य पर्ने जग्गालाई घुस, सेवाशुल्क वा बढी ब्याज खानका लागि जति रकमको धितो थियो त्यत्ति नै रकम पनि दिए । यता कति वित्तिय संस्थाहरुले आँखा चिम्ली घरजग्गा, गाडी र सेयरमा धमाधम लगानी गरे । तर अहिले ती क्षेत्रमा मन्दी आएपछि यिनीहरु पनि डुबे ।
दुई वर्षअघिसम्म ठाउँअनुसार आनाको ६० देखि ९० लाख पर्ने जग्गा अहिले किनेको मूल्यको आधा मूल्यमा बेच्छुभन्दा पनि कोही भेटिदैँन । त्यस्तै, दुईवर्षअघिसम्म चार हजार कित्तामा किनेको सेयर अहिले सय रुपैँयामा बिक्री हुदैँन भने २० लाखमा किनेको गाडी लाखमै बिक्री हुँदैन । यी क्षेत्रमा नाफा हुन्छ भनी लगानी गर्नेहरु त चुर्लुम्मै डुबि नै हाले ।
यता आफुसँग भएको पैसाले घरजग्गा, गाडी र सेयर किन्नेलाई त त्यत्ति असर परेन भने ऋण लिएर लगानी गर्नेलाई मर्नु कि बाँच्नु भइरहेको छ । बजारमा अहिले घरजग्गा, गाडी र सेयर बेच्नेहरु यत्तिकै छन् तर किन्ने कोही छैन ।
अहिले बजारमा ५० वर्षअघिको मुल्यमा घरजग्गाको मूल्य आयो भनेर कति मानिसहरु कुरा गर्छन् त जो व्यक्ति वा वित्तिय संस्थाले यी वस्तुहरु धितो राखेर ऋण प्रवाह गरे तीनीहरुलाई अहिले यो राख्नु कि टोक्नु भइरहेको छ ।
वित्तिय संस्थामा यी वस्तुहरु धितो राखेर ऋण लिएकाहरुले अहिले हामी ऋण तिर्न सक्दैँनौँ धितो लिलाम गर्नुस् भनेर भनिसकेका छन् । वित्तिय संस्थाहरुले पनि दिनप्रति दिन ऋणीको पत्रिकामा फोटो निकाल्दा र कालोसूचीमा राख्दा पैसा फिर्ता आउँदैन । वित्तिय संस्थाबाट लिएको ऋणको ब्याज र साँवा दिनप्रति दिन बढिरहेको छ तर यता घरजग्गा, गाडी र सेयरको मूल्य घटिरहेको छ ।
कति बैंकहरु टाट पल्टिसके त कति सहकारीहरु डुबेर भागिसके । अहिले सहकारी र बैंक डुबेको वा भागेको कुरा जनताको कानमा पुगेपछि सर्वसाधारणले पनि पैसा राख्न छोडे । त्यसैले, अहिले वित्तिय संस्थामा पैसा निकाल्नेको लर्को लागेको छ त राख्ने कोही छैन । हिजो सरकारले ठाउँअनुसार आनाको एक लाखदेखि ६६ लाख ५० हजारसम्म जग्गाको मूल्य निर्धारण गर्दा मूल्य बढाएर त्यही जग्गा करोडसम्म पुप्याउने पनि दलाली नै हुन् ।
तर अहिले त यि दलालीहरुको पनि त भगाभाग नै भयो । यता बैंकले सय रुपैँया कित्तामा निष्कासन गरेको सेयर हजारदेखि चार हजारमा बिक्री गराउने पनि यिनै हुन् । यसैगरी, पाँच रुपैँया किलोमा बिक्री नहुने फलामलाई गाडी बनाएर लाखौँ रुपैँयामा बिक्री गराउने पनि यिनै हुन् ।
साथै वित्तिय संस्थाहरुले पनि पछिल्लो समय यिनै क्षेत्रमा भरिपूर्ण लगानी गरे । त्यसैले, यिनीहरु पनि डुबे । हिजो नाफा हुन्छ भनेर आफुसँग भएको र ऋण लिएर समेत यी क्षेत्रमा लगानी गरे तर अहिले यिनीहरुकै हालबेहाल भयो । त्यसैले, पनि अहिले सर्वसाधारणहरु बाध्यताका कारण मिटरब्याजमा रकम चलाउन पुगे । अहिले घरजग्गा, गाडी र सेयरलाई कुनै वित्तिय संस्थाले ऋण दिदैँन ।
यता वित्तिय संस्थामा कर्जा माग्न गएमा रकम छैन भनेर फिर्ता पठाइन्छ जसले गर्दा समस्या परेका मानिसहरु मिटरब्याजीकोमा पुग्छन् । वित्तिय संस्थाहरुले कर्जा प्रवाह नगर्दा यसको फाइदा मिटरब्याजीहरुले उठाइरहेका छन् । बैंकमा आफुले राखेको रकम निकाल्न गएमा एक लाखको चेक साटिदैँन त सहकारीमा त पाँच हजार समेत दिइदैँन ।
तर मिटरब्याजीहरुले भनेजति ब्याज र धितो पास गरिदिन्छु भन्नेबित्तिकै लाखदेखि करोडसम्मै आधा घण्टामै दिन्छन् । यसबाट त स्पष्ट थाहा पाइन्छ, अहिले वित्तिय संस्थासँग रकम नभइ व्यक्तिहरुसँग पैसा रहेको छ । कति वित्तिय संस्थाका अध्यक्ष, सञ्चालक तथा कर्मचारीहरु त आफु पर्दाभित्र बसेर मिटरब्याजमा पैसा लगानी गरिरहेका छन् ।
आज वित्तिय संस्थाकै कर्मचारीहरुले यसरी मिटरब्याजमा रकम लगानी गरेको देख्दा वा सुन्दा अचम्म लाग्छ । सर्वसाधारणहरुले पनि यो कुरा थाहा पाएपछि उनीहरुले आफ्नो पैसा वित्तिय संस्थामा राख्न छोडेका हुन् । वित्तिय संस्थाका कर्मचारीहरुले आफ्नो व्यक्तिगत फाइदाका लागि काम गर्दा आज वित्तिय संस्था पनि टाट पल्टेको हो ।
वित्तिय संस्थालाई नाफा भयो नि त्यँहाको नाफा सेयर धनीलाई बाड्नुपर्छ, त्यसैले पनि उनीहरु संस्थाको नाफाका लागिभन्दा पनि व्यक्तिगत नाफाका लागि काम गर्नतिरबाट लागे । वित्तिय संस्थाकै कर्मचारीहरु यसरी मिटरब्याजमा रकम लगानी गर्छन् भनेर सर्वसाधारणले सुन्दा उनीहरुको वित्तिय संस्थामाथिबाट विश्वास गुमेको छ ।
वित्तिय संस्थाहरु एक लाख कर्जा प्रवाह गर्छन् अनि १० लाख मूल्य बराबरको वस्तु खाइदिन्छन् । मिटरब्याजी बजारमा यसरी मौलाउँदा वा सर्वसाधारणको उठीबास हुँदा सरकार किन मौन बस्छ ? अहिले वित्तिय संस्था वा व्यक्तिबाट मिटरब्याजमा ऋण लिनेहरु कति त भागे त कति सम्पर्कविहिन भए । यिनीहरु बाँचि नै रहेका छन् कि मरिसके भनेर पनि आफन्तजनलाई थाहा छैन ।
बुढापाकाले भन्थे, चोक्टा खान गएकी बुढी झोलमै डुबेर मरि । त्यस्तै, मिटरब्याजमा पैसा लिँदा आफ्नो घरखेत पनि सिद्धियो, साथीभाइबाट पनि टाढिनुपर्यो र मर्नुपर्ने अवस्था पनि निम्तियो । बुढापाकाले भन्थे,रुखमुनिको बाली कहिले फल्दैँन र ऋण लिने मानिस कहिले उभो लाग्दैन । अहिले यो प्रमाणित नै भएको छ । करोडौँ जनताको अहिले यही अवस्था भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।