काठमाडौँ, २७ जेठ । स्थानीय तहको निर्वाचनअघिदेखि थुप्रिएको काठमाडौँको फोहोर आजदेखि पुन: उठाउन थालिने भएको छ । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौँ महानगरपालिकाबीच भएको १९ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ ।
काठमाडौँ महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच बिहीबार राति १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो । यसअघि पनि आन्दोलनरत क्षेत्रका जनप्रतिनिधि र महानगरसँगै सहरी विकास मन्त्रालयबीच सहमति जुटेको थियो । तर, स्थानीयले आन्दोलन जारी नै राखेका थिए ।