अभिशाप बन्यो युरेनियम खानी

हेटौँडा, पुस ३० गते । बस्ती नजिकै प्राकृतिक स्रोत, सम्पदा उपलब्धता हुँदाको प्रत्यक्ष अप्रत्यक्ष फाइदा स्थानीय बासिन्दाले मनग्गे लिने गरेका उदाहरण धेरै भेटिने गरेका छन् । प्राकृतिक सम्पदा वरदान साबित हुँदा स्थानीय बासिन्दाको आर्थिक स्तरमा वृद्धि भई जीवनशैलीमा पनि परिवर्तन हुने गरेको छ तर मकवानपुरको चुरे, शिवालिक भेगका बासिन्दाका लागि बस्ती नजिकै रहेको युरेनियम खानी वरदान होइन, अभिशापजस्तै भएको छ ।

खानी नजिकका बासिन्दा वर्षाैंदेखि युरेनियम विकिरणयुक्त पानी खान बाध्य हुँदै आएका छन्, जसका कारण यहाँका बासिन्दा जटिल खालका रोगबाट पीडित हुने गरेका छन् । जिल्लाको बकैया गाउँपालिका–२ स्थित धियाल क्षेत्रमा खोज अनुसन्धानबाट युरेनियमको खानी भेटिएको पत्ता लागेको लामो समय भइसक्दासमेत उचित व्यवस्थापन नहँुदा स्थानीयवासीका लागि युरेनियम खानी दुःख बन्दै आएको छ । खानी नजिकका बासिन्दालाई रोजगारीका अवसर दिनुपर्ने बेलामा खानी पत्ता लागेर पनि सुखको अनुभूति गर्न सकेका छैनन् ।

सन् १९९० को दशकमा साबिकको धियाल गाउँ विकास समितिमा पर्ने कालापानी खोला, तीनभँगाले, आँपदमार खोलालगायत स्थानमा अन्वेषणबाट बहुमूल्य युरेनियम खानी फेला पर्दा अन्वेषणकर्ता र सरकारी अधिकारीहरू जति खुसी थिए, त्योभन्दा बढी स्थानीय बासिन्दाले हर्ष मनाएका थिए । स्थानीय बासिन्दामा विकास आउने आशा र अपेक्षा थियो तर अहिले युरेनियम खानी हुँदै बग्ने पानी खान बाध्य स्थानीय बासिन्दाका लागि युरेनियम खानी वरदान होइन, अभिशापमा परिणत हुँदै गएको छ ।

खानी तथा भूगर्भ विभागले पछिल्लो पटक आर्थिक वर्ष २०६९÷२०७० र आव २०७०÷२०७१ मा प्रारम्भिक अन्वेषण गरेको थियो । खानेपानीको वैकल्पिक स्रोतको व्यवस्था नहुँदा कालापानी, बरबोट, झल्ला, तीनभँगाले, दोभान, लामाडाँडा, टोङटोङ बस्तीका झन्डै तीन सय घरधुरीसहित स्थानीय भूमेश्वरी आधारभूत विद्यालयका छात्रछात्रा युरेनियम खानीबाट निस्किएको विकिरणयुक्त पानी पिउन बाध्य छन् ।

बकैया गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष वीरमान बलले कालापानी क्षेत्रमा युरेनियम खानी भएको भन्दै अन्वेषण गर्न आउने र पानी, ढुङ्गा, माटोलगायत थप अनुसन्धानका लागि लैजाने काम मात्र हुने गरेको जानकारी दिनुभयो । कालापानी शिरमा रहेको खानी क्षेत्रबाट निस्कने पानी सेतो लेदोसहित आउने दुर्गन्धित हुने गरेको बताउँदै उहाँले खानी क्षेत्रबाट निस्कने पानी पिउन बाध्य भएको बताउनुभयो ।

युरेनियम खानी क्षेत्रबाट निस्कने रसायनयुक्त पानी खानपान गरेका स्थानीयवासीमा पेटको समस्या, दिसा खराब हुने, आन्द्रामा घाउ हुनेलगायत समस्या देखिने गरेको बताउँदै उहाँले भन्नुभयो, “विकिरणयुक्त पानीकै कारण कति व्यक्तिको क्यान्सर भएर मृत्यु भएको छ । पेट र छालासम्बन्धी कैयौँ रोगको घर नै यो पानी भएको छ । यो थाहा हुँदाहुँदै पनि यहाँका बासिन्दा पानी प्रयोग गर्न बाध्य छन् । विकल्प केही छैन ।” धियाल स्वास्थ्य चौकीका अनमी होमकुमारी तिमिल्सिनाले युरेनियम खानी क्षेत्रबाट आउने पानीको प्रयोग गर्ने स्थानीय बासिन्दामा छालासम्बन्धी रोग देखिएको भन्दै छाला कालो हुने, चिलाउने र घाउ हुने समस्या पाइने गरेको बताउनुभयो ।

खानी तथा भूगर्भ विभागले भूकम्पपछि कालापानी क्षेत्रमा युरेनियमको थप अन्वेषण गरेको छैन । रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन २०७७ सङ्घीय संसद्ले बनाए पनि ऐन कार्यान्वयनका लागि निर्देशिका र नियमावली बन्न नसक्दा युरेनियम खानीको अध्ययन, अनुसन्धान र उपयोगसम्बन्धी थप प्रक्रिया अगाडि बढ्न नसकेको हो । विभागले मकवानपुरको धियाल क्षेत्रमा रहेको युरेनियम खानीभन्दा अन्यत्रको खानीलाई अन्वेषणमा प्राथमिकतामा राखेको छ ।

हालसम्मको अनुसन्धानअनुसार धियाल क्षेत्रमा रहेको युरेनियम खानी क्षेत्रबाट निस्कने रेडियोधर्मी गतिशील नदेखिएकाले त्यसबाट निस्कने विकिरणको प्रभाव कम रहेको विभागको दाबी छ । विभागको खनिज अन्वेषण शाखाका सिनियर डिभिजनल भूगर्भविद् धर्मराज खड्काले युरेनियम खानी क्षेत्रको अन्वेषण गर्दा रेडियोधर्मी विकिरणको प्रभाव कम देखिएको दाबी गर्नुभयो ।

सन् १९९० को दशकमा अन्वेषण गर्दा मकवानपुरको धियाल क्षेत्रमा ३५ टन युरेनियम भएको अनुमान गरिएकोमा पछिल्लो पटक गरिएको अन्वेषणबाट ४७ टन युरेनियम भएको अनुमान गरिएको छ । वडाध्यक्ष बलले युरेनियम खानीबाट स्थानीय बासिन्दा प्रभावित भएको भन्दै आफू निर्वाचित भएर आएदेखि आवाज उठाउँदै आए पनि प्रदेश र सङ्घीय सरकारले सुनुवाइ नगरेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिका सभाबाट बस्ती स्थानान्तरणसहित समस्या समाधान गर्न प्रदेश सरकारलाई अनुरोधसहितको पत्राचार गरिसकिएको छ तर मागको सुनुवाइ भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।