वर्षौं लगाएर बनाएको यति ठूलो परियोजनाको यो हालत कसरी भयो ? प्राविधिकहरू भन्छन्, ‘कारण हो– गुणस्तरहीन काम।’ अस्थायी बाँध बनाएर वर्षात्को समयमा सुरुङ परीक्षण गर्दा पानीको बहाव बढी भई सुरुङ चुहावट भएको प्राविधिक बताउँछन्। आयोजनाले भने सुरुङ के कारणले फुटेको भनेर आधिकारिक कारण दिएको छैन। आयोजनामा काम गरिसकेका एक प्राविधिक भने हतारमा भएको गुणस्तरहीन काम नै प्रमुख कारक रहेको दाबी गर्छन्।
आयोजनाका एक इन्जिनियरका अनुसार जम्मा ४ किलोमिटरको प्रेसर थेग्न नसकेको गेटमा पूरै २६ किलोमिटर पानी पठाएको भए दुर्घटना अझ भयावह हुन सक्थ्यो। ‘४ किलोमिटरमा पठाएको पानी फर्किंदा भएको दुर्घटना हेर्दा पूरै परीक्षण गर्ने क्रममा दुर्घटना भएको भए अवस्था अझ गम्भीर हुन्थ्यो’, उनी भन्छन्, ‘सुन्दरीजलबाट पानी फर्किंदा आयोजनाको मुहान तलका धेरै बस्ती जोखिममा पर्थे।’
थोरै क्षेत्रमै दुर्घटना भएकाले धेरै जनधनको क्षति हुने अवस्थाबाट भने जोगिएको उनको तर्क छ। ‘मेलम्चीपछि कार्यान्वयनमा आउने दोस्रो र तेस्रो चरणको यांग्री र लार्केको गरी दैनिक ५१ करोड लिटर पानी लैजान निर्माण गरेको सुरुङ पहिलो चरणको १७ करोड लिटरको परीक्षणमै पड्कियो’, ती प्राविधिक व्यंग्य गर्छन्, ‘तपाईं आफैं भन्नुस्, मेलम्ची आयोजनाको काम कति गुणस्तरीय भएको रहेछ ? ’
यसले दुई दशकपछि मेलम्चीको पानी खान पाउने काठमाडौंवासीको उत्साहमा धक्का त लागेको छ नै बाँकी २२ किलोमिटर सुरुङको अवस्थामै गम्भीर शंका उत्पन्न भएको छ। आयोजनालाई नियालिरहेका एक विश्लेषक हतारमा काम सकेर आयोजना सम्पन्न गराएको जस लिने मन्त्री मगरको लालसा नै निर्मित संरचना कमजोर हुनुको मुख्य कारण रहेको दाबी गर्छन्। यसमा पछिल्लो समय सुरुङको काम सम्पन्न गर्ने ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रो मुख्य जिम्मेवार रहेको उनी बताउँछन्।
इटालीको कम्पनीले ठेक्का रद्द गरेपछि हतारमा अस्थायी बाँध बनाउने ठेक्का दिने निर्णय गरिएको थियो। त्यस क्रममा कमिसनको खेल भएको, त्यसले गर्दा निर्माण कार्यको गुणस्तरमा अनुगमन हुन नसकेको जानकार बताउँछन्।
गेट फुटेर दुर्घटना भएपछि मन्त्रालयले सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा छानबिनका लागि प्राविधिक समिति खटाएको छ। सुरुङ संरचना परीक्षण गर्न स्वतन्त्र निकायलाई जिम्मा दिनुपर्नेमा मन्त्रालयकै कर्मचारीलाई पठाएर कमजोरी ढाकछोप गर्न लागेको आरोप एक पक्षले लगाएको छ।
‘मन्त्री मगरले आफ्नो र आयोजनाको कमजोरी ढाकछोप गर्न मन्त्रालयकै टोली छानबिन गर्न पठाएकी छन्’, आयोजनानिकट स्रोत भन्छ, ‘आयोजनाको कमजोरी भएकाले त्यसका लागि स्वतन्त्र निकायलाई छानबिन गराउनुपथ्र्यो।’
बिहीबार घटनास्थल अम्बाथान पुगेका छानबिन टोलीका संयोजक दवाडीले पानीको प्रेसरका कारण सुरुङको भित्री संरचनामा क्षति पुगेको नदेखिएको बताए। विस्तृत अध्ययन सक्न बाँकी रहेकाले खास कारण उल्लेख गर्न केही समय लाग्ने दवाडीको भनाइ छ। उनले पानीको प्रेसरले नटबोल्ट खुस्किँदा गेट खुलेर पानी बाहिर आएको प्रारम्भिक अध्ययनका क्रममा देखिएको उनले सुनाए। ‘नटबोल्टले अड्याइएको गेटको नट खुस्केर गेट खुलेको देखियो’, उनले टेलिफोनमा भने, ‘सुरुङभित्रको संरचनामा भने कुनै समस्या र क्षति देखिएको छैन।’
उनले केही दिनमै अध्ययन प्रतिवेदन तयार गरी सार्वजनिक गरिने बताए। इन्जिनियरको टोली पानीको प्रेसर नाप्न जाने क्रममा गेट खुलेर बाहिर निस्किएको पानीले बगाएको उनको भनाइ छ। डिजाइन वा निर्माणका क्रममा केमा कमजोरी भएको हो सो भने अध्ययन प्रतिवेदनपछि बाहिर आउने उनले बताए।
खानेपानीको सुरुङ पूर्णरूपमा कंक्रिट ढलानसमेत गरिएको छैन। कतै–कतै ढलान गरेको सुरुङबाट जाने पानीमा माटो र चट्टानमा हुने विभिन्न तŒव मिसिँदा पानी पिउनलायक नहुनेतर्फ आयोजना सचेत नदेखिएको प्राविधिकको भनाइ छ।
आयोजनाका कार्यकारी निर्देशक तिरेशकुमार खत्रीले बढी खर्चिलो हुने भएकाले सबै ठाउँमा कंक्रिट ढलान नगरिएको बताए। उनका अनुसार चट्टान भएको ठाउँमा आवश्यक नपर्ने भएकाले माटो देखिएको ठाउँमा मात्र ढलान गरिएको हो।
मन्त्रालयको प्राविधिक टोलीले छानबिन गरी दुर्घटनाको कारण बताउने उनको भनाइ छ। सुरुङ परीक्षण मात्र भएकाले हतार गरेको भन्न नमिल्ने तर्क उनले गरे। ‘निर्माण कम्पनीले काम सकियो भनेकाले हामीले परीक्षण सुरु गराएका हौं’, उनले भने, ‘निर्माणकै चरणमा पनि आयोजनाले गर्नुपर्ने अनुगमन गरेको छ। त्रुटि कहाँनेर छ भन्ने प्राविधिक समितिले पत्ता लगाउला।’