आजको  राशिफल / वि.सं. २०७६ भाद्र २७ गते शुक्रबार

rashifal-friday-new-7वि.सं. २०७६ भाद्र २७ गते शुक्रबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु,  आजको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, कुमारी इन्द्रयात्रा, नेवारी पर्व स्वाँछाय, लंकु ढँडार मष्टो पूजा, सद्गुरु श्री देवचन्द्र जी महाराजको धामगमन (कृष्णप्रणामी), भाद्रपद शुक्लपक्ष (ञलाथ्व) चतुर्दशी तिथि, बिहान ०६:३८ बजेसम्म, त्यसपछि  पूर्णिमा  तिथि, शतभिषा नक्षत्र, बेलुका ०८:१० बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), धृति योग, बेलुका ०९:५० बजेसम्म, त्यसपछि शूल योग, सुरुमा वणिज करण बिहान ०६:३८ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण बेलुका ०७:३९ बजेसम्म, अन्तिममा बब करण, आनन्दादि योग : सौम्य, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पश्चिम, वारशूल : पश्चिम, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४७ बजे, सूर्यास्त : साँझ ०६:११ बजे, दिनमान : ३० घडी ५९ पला (१२ घण्टा २४ मिनेट,  रात्रीमान : २९ घडी ०१ पला (११ घण्टा ३६ मिनेट)

आजका लागि अशुभ समय :–

राहु काल : बिहान १०:२६ देखि ११:५९ सम्म, यमघण्ट : दिउँसो ०३:०५ देखि ०४:३८ सम्म, गुलिक काल : बिहान ०७:२० देखि ०८:५३ सम्म, रोग वारवेला : दिउँसो ०१:३२ देखि ०३:०५ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–

शुभ वारवेला : दिउँसो ११:५९ देखि ०१:३२ सम्म, अमृत वारवेला : बिहान ०८:५३ देखि १०:२६ सम्म,  आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा महिलाको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

भोलिको चाडपर्व र उत्सव :

इन्द्रदह स्नान, भक्तपुरमा सिद्धपोखरी मेला, सोह्र श्राद्ध प्रारम्भ, सोह्र श्राद्धअन्तर्गत प्रतिपदा तिथिको श्राद्ध, चेपांगहरूको चोनाम पर्व, प्राणनाथ छत्रशाल मिलाप (कृष्णप्रणामी), यँया पुह्नि, ओंगया मंगया, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । कुनै कीर्तिमानी काम सम्पादन हुनसक्छ । प्रतिष्ठा कमाउने बेला छ । गरेको क्रियाकलापबाट सन्तुष्ट भई धेरैले तारिफ गर्नेछन् । घरगृहस्थीमा समय दिन नसक्नाले केही समस्या देखिनसक्छन्, परिवारजनसँग असमझदारी बढ्ने छ, फकाउने फुल्याउने काम पनि गर्नुपर्छ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । माताको सहयोग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिने छ ।

शुभरङ्ग : सेतो वा सुन्तले

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवजी

अशुभ रङ्ग : घिउरङ्ग/बैजनी

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने

के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । ठूलाबडा र सहयोगीहरूको साथसहयोग प्राप्त हुने दिन छ । मिहिनेत र लगनशीलताको राम्रो परिणाम प्राप्त हुने समय हो, आस मारेको फल पुनः प्राप्त हुनसक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । उद्योग र व्यापारमा संलग्नहरूका लागि विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : भोलेशङ्कर

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने

के नगर्ने : उदासीनता/नैराश्यता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पराक्रम र उत्साह बढ्ने दिन हो, किनभने भाग्यमा बलियो चन्द्रमाको उपस्थिति देखिन्छ । हाँकेका र ताकेका हरेक काम सजिलै सम्पन्न हुनेछन् । सामाजिक सम्मान र प्रतिष्ठा कमाउने बेला छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम र पुराना समस्या हल गर्न गरिएको प्रयास सफल हुनेछ, साथै नयाँ काम र जिम्मेवारीसमेत हात पार्ने मौका छ । कीर्तिमानी काम सम्पादन हुनसक्छ । मातापिताको इच्छा पूरा गरेको राम्रो हुन्छ ।

शुभरङ्ग : बैजनी वा पहेंलो

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : विष्णु

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : कुलधर्म र परम्पराको अनुसरण

के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

अष्टमस्थ चन्द्रमा रहेकाले काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ला । प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती र अप्ठ्याराको सामना गर्नुपर्ने दिन छ । पुरानो लेनदेनको समस्या बल्झिनसक्छ, अकारण वादविवादमा फँस्ने सम्भावना छ । नचिताएको ठाउँमा अचानक धनहानि हुने परिस्थिति बन्नेछ, गरेका कामबाट पनि समुचित प्रतिफल नआउन सक्छ । आफन्त र परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ । प्रयत्न गरेको काम समयमा सिद्ध्याउन सकिंदैन । इच्छाशक्ति जागे पनि चाहना पूर्ण हुनेछैनन् । आज हातहतियारको प्रयोग गर्दा, बाटो काट्दा वा सवारी हाँक्दा सचेत हुनुपर्छ ।

शुभरङ्ग : ध्वाँसे

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : सङ्कटा देवी

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : नैराश्यभाव त्याग गर्ने

के नगर्ने : तीव्रगति र हडबड

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आत्मबल र उत्साहमा बृद्धि हुने दिन छ । उचित समयमा गरिएको निर्णयले उम्किन लागेको काम बन्नेछ । आफन्तजनसँग आत्मीयता बढ्ने छ । तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । नयाँ मित्र बनाउने दिन हो, विपरीतलिङ्गी मित्रसँग मन फुकाएर कुराकानी गरिने छ । छात्रछात्रा रामरमाइलोमा भुलिने छन् ।

शुभरङ्ग : सुन्तले

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : विष्णुलक्ष्मी

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल

के नगर्ने : परिवारको बेवास्ता

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आजको दिन प्रतिस्पर्धा र सङ्घर्ष गर्ने समय छ । आर्थिक क्रियाकलापमा सोचेको फाइदा उठ्न सक्दैन । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । मानसम्मानमा आघात पुग्ने र काममा विघ्नबाधा उपस्थित हुनसक्छन् । तापनि, रोजगारी र व्यावसायिक काममा सामान्यतया फाइदा नै हुनेछ, तर आज असाध्यै चनाखो भएर काम गर्नुपर्ने दिन हो, गरेको कामबाट जस पाउनुको साटो उल्टै फन्दामा पर्ने समय छ । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने समय छ । शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने समय छ ।

शुभरङ्ग : छिर्केमिर्के बुट्टे

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : गणेश

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : खानपानमा नियन्त्रण

के नगर्ने : आवेग, घमण्ड र क्रोध

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज छात्रछात्राका लागि विशेष दिन छ, अन्य सबैले पनि समुदायको हितमा राम्रो काम गर्न सकिने समय हो । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारीप्रति आकर्षण बढ्ने छ । गरेको प्रयासअनुरूप आफ्नो क्षेत्रको नेतृत्व गर्नुपर्ने हुन्छ, त्यस्तै सामाजिक हैसित स्थापना गर्ने मौका मिल्नेछ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । आफन्त र सँगीसाथीको सहयोग र सद्भाव प्राप्त हुनाले नचिताएको काम बन्न सक्छ । आर्जित धनको दीर्घकालिक उपयोग हुनेछ । पुरानो समस्यालाई निराकरण गरी अघि बढ्ने हौसला प्राप्त हुनेछ ।

शुभरङ्ग : गाढा हरियो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : सूर्यदेव

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने

के नगर्ने : अल्छी र अकर्मण्यता

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

राशिस्वामी मङ्गल र चन्द्रमाको एकआपसमा पूर्णदृष्टि रहेको आजको दिन स्थिर सम्पत्ति जोड्ने वा त्यसप्रति आकर्षण देखाउने समय हो । बोलीको भरमा काम फत्ते गर्ने सकिने छ, बोली र विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको मिहिनेत र परिश्रमको प्रतिफल पाउने समय छ, त्यस्तै रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । तर आज चतुर्थ भावमा रहेको चन्द्रमाको केही नकारात्मक परिणाम पनि पाउन सकिन्छ, जस्तै , आशा देखाउनेहरूको भरमा पर्दा धोका हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न ढिला हुनसक्छ, अनि जिम्मेवारी बढिरहने समय छ ।

शुभरङ्ग : गाढा रातो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : शिवर्पावती

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने

के नगर्ने : गोपनीयता भङ्ग

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

तृतीय भावमा रहेको चन्द्रमाको प्रभावले आज मिश्रित फल प्राप्त हुने समय छ, तर अल्छीपन र आलस्य त्याग्न सके आजको दिन राम्रै हुनेछ । लापरबाही गरेमा कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । उपचारमा खर्च हुने योग छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । तर धैर्य गर्न सके रचनात्मक काम सुरु हुनसक्छन् । विगतको त्रुटि केलाउँदै नयाँ काम गर्न हौसला मिल्नेछ । सद्भाव र प्रेरणा प्राप्त हुनेछन्, तिनलाई गम्भीरतापूर्वक ग्रहण गर्नसकेमा विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । विद्यामा कमजोरी देखिन्छ तर सँगीसाथीको सहयोग लिनसके राम्रै हुनेछ ।

शुभरङ्ग : गाढा हरियो

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने

के नगर्ने : साथीभाइको बेवास्ता

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

धनस्थानमा चन्द्रमाको उपस्थिति भएकाले थोरबहुत लाभ हुने दिन हो । तर कमाएको धन सञ्चय गर्ने परिस्थिति देखिंदैन । कुनै काम गर्नु छ भने खर्चको मात्रा सोचेभन्दा बढी हुनसक्छ । तर खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । टाढाको यात्रा गर्ने मौका मिल्नेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिने दिन छ । विभिन्न अवसर प्राप्त हुनाले उत्साहित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनाले मन प्रसन्न रहनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिने छ ।

शुभरङ्ग : सेतो वा उज्यालो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी

के नगर्ने : बोलीवचनमा कडापन

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । रोकिएका काम बन्नाले मनग्ये लाभ हुनेछ । द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिने छ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ । विद्यार्थीहरूका लागि नयाँ ज्ञान प्राप्त हुने योग छ, नयाँनयाँ विषयमा रूचि बढ्ने छ, सीपमूलक काम र पढाइमा प्रगति हुनेछ ।

शुभरङ्ग : हलुका रातो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : गणेश

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : मन उत्ताउलो नबनाउने

के नगर्ने : हतारमा निर्णय

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

बाह्रौं भावमा चन्द्रमाको उपस्थिति देखिन्छ, हरदम सचेत र सतर्क रहनु पर्छ, समयमा होस नपुग्नाले हुनै लागेको आम्दानी कसैले तगारो हाल्नसक्छन् । उता घरायसी परिबन्द र बाध्यात्मक काममा धनखर्च हुने दिन हो । तर अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन । दूरदराज वा वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । कडा मिहिनेत र परिश्रमका बलमा गरेको लगानीको उचित प्रतिफल प्राप्त हुनेछ । गरी आएको कामलाई समय दिएमा र निरन्तरता दिन सकेमा राम्रै फाइदा हुने देखिन्छ । आस मारेको काम सुझबुझ र लगनशीलताका कारण बनाउन सकिने समय छ ।

शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : कालभैरव

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी

के नगर्ने : याचकको अपमान

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द