September 12, 2019

आजको राशिफल / वि.सं. २०७६ भाद्र २६ गते बिहीबार

वि.सं. २०७६ भाद्र २६ गते बिहीबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १२ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : अनन्त चतुर्दशी व्रत, धनिष्ठा पञ्चक प्रारम्भ बिहान ०४ बजेर २४ मिनेटपछि, भाद्रपद शुक्लपक्ष (ञलाथ्व) चतुर्दशी तिथि,  (अहोरात्र व्याप्त), धनिष्ठा नक्षत्र, साँझ ०५:३६ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), सुकर्मा योग, बेलुका ०९:१७ बजेसम्म, त्यसपछि धृति योग, सुरुमा गर करण साँझ ०५:४१ बजेसम्म, त्यसपछि वणिज करण, आनन्दादि योग : श्रीवत्स, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पश्चिम, वारशूल : दक्षिण, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४७ बजे, सूर्यास्त : साँझ ०६:१२ बजे, दिनमान : ३१ घडी ०३ पला (१२ घण्टा २५ मिनेट, रात्रीमान : २८ घडी ५७ पला (११ घण्टा ३५ मिनेट)

आजका लागि अशुभ समय :–

राहु काल : दिउँसो ०१:३२ देखि ०३:०६ सम्म, यमघण्ट : बिहान ०५:४७ देखि ०७:२० सम्म, गुलिक काल : बिहान ०८:५३ देखि १०:२६ सम्म, काल वारवेला : दिउँसो ०३:०६ देखि ०४:३९ सम्म, रोग वारवेला : बिहान ०७:२० देखि ०८:५३ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–

लाभ वारवेला : दिउँसो ११:५९ देखि ०१:३२ सम्म, शुभ वारवेला : साँझ ०४:३९ देखि ०७:३९ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा महिलाको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

भोलिको चाडपर्व र उत्सव

पूर्णिमा व्रत, कुमारी इन्द्रयात्रा, नेवारी पर्व स्वाँछाय, लंकु ढँडार मष्टो पूजा, सद्गुरु श्री देवचन्द्र जी महाराजको धामगमन (कृष्णप्रणामी),  पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आज एकाबिहानै कर्मक्षेत्रको चन्द्रमा लाभ भावमा प्रवेश गरेको छ । चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी वा सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवजी

अशुभ रङ्ग : घिउरङ्ग/क्रिम

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी

के नगर्ने : अनुशासन भङ्ग

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आम्दानीमा कमी आउने छैन । कर्मक्षेत्रमा सबल चन्द्रमाको उपस्थिति भएकाले आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । आज कर्मचारीले हाकिम खुसी पार्ने दिन हो, गरेका क्रियाकलापबाट प्रशंसा पाइने छ । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तर सम्हाल्न सकिने नमिठोपना आउने सङ्केत भने देखिन्छ । आफन्तहरूले मनले चाहेजस्तै सहयोग गर्नेछन् ।

शुभरङ्ग : कालो

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : कुल/पितृदेवता

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास

के नगर्ने : अल्छीपन र अकर्मण्यता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

भाग्यस्थानमा चन्द्रमाको उपस्थिति भएकाले धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । आर्थिक पक्षमा टेवा पुग्नेछ । सामाजिक कार्यबाट जस पाइने दिन हो । आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । मान्यजनको आशीर्वाद पाउनु हुनेछ । लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न आजको दिन अनुकूल छ । गरेका काममा भाग्यले साथ दिनेछ, प्रयास गरेमा नचिताएको उपलब्धी हासिल हुने दिन छ ।

शुभरङ्ग : गाढा पहेंलो वा केशरी

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : धर्मराज

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम

के नगर्ने : अपमान

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

अष्टमस्थ चन्द्रका कारण गर्नु नपर्ने कामबाट जोगिने समय हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । अनावश्यक यात्रा हुनेछ वा छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मानसिक बैचेनीले सताउन सक्छ । साथीभाइ टाढिन सक्छन् । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । अनाहकमा अरुले गरेका गल्तीको सजाय आफूले भोग्नु पर्ने अवस्था आउन सक्छ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ वा कुनै गोपनीयता भङ्ग हुने खतरा देखिन्छ । त्यस्तै शरीरका भित्री अङ्गमा रोगव्याधिको प्रकोपसमेत रहेको छ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : भगवान् महादेव

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण

के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्ण दिन हो, आजको दिन । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । एकाबिहानै प्रणय भावमा चन्द्रमाको प्रवेश भएको छ, अब प्रेमजीवन र प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । आत्मीयजनसँग रमाइलो पल व्यतीत गर्ने मौका पाइने छ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

शुभरङ्ग : हलुका रातो

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : राधाकृष्ण

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने

के नगर्ने : कामुकता

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । झिनामसिना र सानातिना कामका लागि पनि निक्कै खट्नु पर्छ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक हुनु पर्ने दिन छ, रिसराग र घमण्डमाथि नियन्त्रण गरी व्यवहार गर्नु राम्रो हुन्छ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ । प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । अनपेक्षित वादविवाद पनि हुनसक्छ, संयमता अपनाउनु बेस हुनेछ । भोगविलासमा आकर्षण बढ्न सक्छ, तर मनले चाहेजस्तो परिणाम प्राप्त गर्न गाह्रो छ । मनोरञ्जनात्मक क्षेत्रमा समय र धन खर्च हुनसक्छ । बन्दव्यापारमा चुनौतीको सामना गर्नुपर्छ ।

शुभरङ्ग : सेतो वा घुर्मैलो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : विष्णु भगवान्

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने

के नगर्ने : मुद्दामामिला र झैझगडा

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज ज्ञानार्जनका क्षेत्रमा रहेकाहरूको राम्रो समय आएको छ । हुन त एकाबिहानै केही महत्वपूर्ण घरायसी समस्या हल गर्न प्रयास गर्नुपर्ने हुन्छ, तर यसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ ।

शुभरङ्ग : आकासे

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने

के नगर्ने : अहङ्कार

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

चतुर्थ भावमा चन्द्रमाको प्रवेश भएको छ, तर राशिस्वामी मङ्गलसँग समसप्तक सम्बन्ध बनेकाले समय लाभदायक नै देखिन्छ । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा बढोत्तरी हुनेछ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु परे पनि सफलता हासिल हुनेछ ।

शुभरङ्ग : कलेजी

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : अष्टमातृका

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने

के नगर्ने : लोभ र मोह

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

नजिकैका साथीभाइ र आत्मीयजनले सकेको मदद गर्ने समय छ । तर चाहनाबमोजिम छिटो कार्य सम्पन्न हुन कठिन छ, काम फत्ते गर्न तदारुकता र मिहिनेतको खाँचो पर्नेछ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । राज्यपक्षका अप्ठ्यारा र गैरकानुनी काममा हात नहाल्नु होला । समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र सँगीसाथीले राम्रो सहयोग गर्नेछन् । धार्मिक र सामाजिक काममा समय र धन लगानी गर्ने समय आएको छ । आकस्मिक रूपमा कुनै वस्तुको खरिद गर्दा अनायासै आर्थिक जोखिममा पर्न सकिन्छ, होस राख्नुहोला ।

शुभरङ्ग : हरियो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : गणेश

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने

के नगर्ने : दुःखीको अपमान

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आर्थिक पक्ष सुदृढ रहनुका साथै सम्पत्तिसम्बद्ध समस्याहरू समाधान हुनेछन् । काममा सफलता पाइने छ । आज तपाईंको बोलीको कदर हुने दिन हो, महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । दीर्घकालिक लगानीका लागि उत्सुक हुनुहुन्छ भने आज राम्रो दिन छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्या हल गर्ने प्रयास हुनेछ ।

शुभरङ्ग : सेतो

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने

के नगर्ने : फजुल खर्च

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आजबाट तपाईंको राशिमा चन्द्रमाको प्रवेश भएको छ, अब हुन त मन चञ्चल हुनसक्छ, तर खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ ।

शुभरङ्ग : गुलाबी

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : नैराश्यभाव त्याग गर्ने

के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । सुरुमा मनमा उत्साह र उमङ्ग देखिए पनि आज चन्द्रमाले बाह्रौं घरमा प्रवेश गर्ने भएकाले आत्मबलमा कमी देखिन सक्छ, तर शरीरमा स्फूर्ति, उत्साह र उमङ्गलाई नत्याग्नु राम्रो हुन्छ । राशिपति बृहस्पतिको भाग्यस्थानको यात्रा भएकाले अत्तालिनु पर्दैन, छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन् । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ । घरभित्रका समस्या हल गर्न आर्थिक व्ययभार बढ्नसक्ने सम्भावना देखिन्छ । दिन छिप्पिंदै जाँदा तनाव र चिडचिडेपन बढ्न सक्छ । रिसराग र प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ ।

शुभरङ्ग : बैजनी वा पहेंलो

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : कुल/पितृदेवता

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : खर्र्चमा नियन्त्रण

के नगर्ने : विलम्ब र ढिलासुस्ती

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द