कार कसरी जोगाउने ? प्रयोगकर्तालाई १३ टिप्स

नेपालमा गाडीको मूल्य सस्तो छैन । आफ्नै गाडी किन्ने कुरा घर जग्गा जोड्नु सरह नै हो । तर, नेपालका सडकको अवस्था धेरै दयनीय छ । यसले ब्यक्तिको ठूलो सम्पत्तिको रुपमा रहने गाडीलाई संरक्षण गर्न चुनौति थपेको छ । झन् कतिपय प्रयोगकर्ताले गाडीको उपयोग सहीसँग गर्दैनन्, कतिपयले जान्दैनन् पनि ।

2

त्यसैले धेरैले लाखौं खर्च गरेर किनेको नयाँ गाडी एक-दुई वर्ष नपुग्दै पनि पुरानो जत्तिकै बनाउँछन् । दैनिक पानीले पखालेपछि र देख्दा सफा भएपछि कारको शान देखिहाल्छ भन्ने मान्यता मौलाएको छ ।

 

तर, उचित मर्मतसम्भार नहुँदा गाडी चाँडो-चाँडो र पटक-पटक बिग्रने र खर्च पनि बढ्दै जाने हुन्छ । यस्ता समस्या आउन नदिन कारलाई कसरी स्याहार गर्ने त ?

यस विषयमा हामीले हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) दीपक थपलियासँग कुराकानी गरेका छौं ।

थपलियाले कारको स्याहारमा उपभोक्ताले ध्यान दिनुपर्ने पक्षमा १३ वटा टिप्स प्रस्तुत गरेका छन् ।


किन्नुु अघि नै हेर्नुस्, बुझ्नुस्

अहिले कुन ब्राण्डका कुन कार, कस्ता छन् भन्ने थाहा पाउन धेरै गाह्रो छैन । इन्टरनेटमा नै कुन ब्राण्डको कुन गाडीमा कस्ता कमजोरी र समस्या हुन्छ भन्ने समाचार तथा जानकारी रिभ्यूका रुपमा आइसकेको हुन्छ ।

पछिल्लो समयमा आफूले किन्ने योजना बनाएको कारका बारेमा ग्राहकले केही रिसर्च गरेर आउने प्रचलन बढ्दो छ । यो जरुरी पनि हुन्छ ।

त्योबाहेक गाडीको मास प्रोडक्सन हुने भएकाले कुनैमा केही म्यानुफ्याक्चर डिफेक्ट आउँदैन भन्ने हुँदैन । त्यस्तो कुरामा गाडी किन्नु अघि नै सचेत रहनुपर्छ । त्यस्ता डिफेक्ट आउँदा कम्पनीले रि-कल गरेका उदाहरण हामीसँग छँदैछन् ।

त्यसैले आफूले किनेको गाडीको बारेमा केही रिसर्च गर्नु कष्टमरको बुद्धिमानी हुन्छ । न्युजपोर्टल र अटो पोर्टलहरुमा चाहिए जति जानकारी राखिएका हुन्छन् । मात्रै उपभोक्ता यसमा सचेत रहनुपर्‍यो ।

प्रयोजन के हो ? ध्यान दिनुस्

अहिले धेरैले गाडी किन्दा आफ्नो प्रयोजन नै छुट्याउँदैनन् । आफूलाई यो गाडी अधिकतम् प्रयोग कुन कामका लागि गर्ने भन्नेमा सचेत नरहने प्रवृत्ति देखिएको छ ।

विशेष गरी अरुको भन्दा राम्रो कार किन्ने लहडमा आफ्नो प्रयोजन ख्याल नगर्दा लगानी मात्रै ठूलो हुने तर, प्रयोग भने कम हुने र नहुने अवस्था पनि देखिन्छ । अरुकोभन्दा राम्रो किन्छु भन्ने देखासिकीको प्रवृत्तिले पनि समस्या मात्रै ल्याउने हो ।

जस्तो कोही-कोहीले फोर ह्वील जीप किनेर लैजान्छन् । तर, चलाउन थालेको ५ वर्षपछि हामी कहाँ आउँदा पनि यो फोर ह्वील ड्राइभको बटन चाँही कता हुन्छ भनेर सोध्नुहुन्छ ।

भन्नाले, उहाँलाई त्यो प्रयोग गर्न नै परेन । धेरै कन्जुमरले आफ्नो अवश्यक्ता हेर्नेभन्दा पनि एकैपटक महंगोमै बढी विश्वास गर्ने देखिन्छ । त्यसो होइन, सस्तो र महंगो भन्दा पनि गाडी कुन प्रयोजनका लागि हो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

महंगो किन्दा मात्रै होइन, सस्तो खोज्दा प्रयोजनमा विचार गर्नुपर्छ । प्रयोजन अनुसारको गाडी नकिन्दा त्यसले समस्या पनि ल्याउन सक्छ ।

कसैलाई दैनिक ५० किलोमिटर ट्राभल गर्नुपर्छ भने उहाँले त राम्रो माइलेज दिने गाडी छान्ने हो । त्यसैले मेरो आवश्यक्ता के हो भन्ने कुरामा ध्यान दिएर गाडी किने त्यसलाई मेन्टेन गरेर राख्न पनि सजिलो हुन्छ र त्यसको सदुपयोग हुन्छ । आफ्नो साधनको प्रयोजनमा क्लेयारिटी भयो भने त्यसले अटोमेटिक राम्रो पर्फम गर्छ ।

गाडीलाई माया गर्नुस्, स्याहार गर्नुस्

नेपालमा गाडीलाई इज्जतसँग जोडिन्छ । त्यसैले यहाँ अधिकांशले गाडीलाई माया गर्नुहुन्छ । त्यो निकै आवश्यक पनि छ । गाडीलाई आवश्यक केयर भएन भने विभिन्न समस्या आउँछ ।

ठूलो लगानी गरेर किनिएको साधन भएकाले त्यसलाई उचित स्यहारको अवश्यक्ता पर्छ । त्यसको नियमित सफाइ र मर्मतसम्भारका लागि झन्झट नमान्नुस् । तपाईंले गाडीलाई इज्जत दिए मात्रै तपाईंको इज्जत यसले राख्छ ।


त्यसैले यसलाई चलाउँदा होस् वा नचलाउँदा यसको उचित संरक्षणको योजना तयार राख्नुस् र त्यसैअनुसार केयर गर्नुस् ।

यो नबिर्सिनुस् कि यो मेकानिकल साधन हो, यसलाई चुस्त दुरुस्त राख्दा तपाईंको यात्रा पनि सुरक्षित रहन्छ । त्यसैले गाडीलाई दिनुपर्ने माया र स्याहारमा कमी हुन नदिनुस् ।

सफा मात्र हैन, ‘स्वस्थ’ पनि राख्नुस्

काठमाडौंको बाटो अवस्था निकै खराब छ । हिलो र धुलो यहाँका लागि सामान्य जस्तो बनेको छ । नबिर्सनुस् कि गाडी भनेको हावा र तेलको मिक्सचरले चल्ने साधन हो । त्यसैले एयर इन्टेक कस्तो अवस्थामा छ भन्नेमा ध्यान दिनुपर्छ । हामीले सास लिएकोजस्तै गाडीले पनि लिएको हुन्छ ।

त्यसैले तपाईंले ड्राइभ गरेको ठाउँको इन्भायरोमेन्ट कस्तो छ ? प्रदुषित वातावरणमा उसले पनि त्यही प्रदुषित हावा लिन्छ । त्यसैले खराब कन्डिसनमा ड्राइभ गरिएको छ भने त्यसै अनुसार केयर गर्नुपर्छ । गाडीको एयरफिल्टरलाई क्लीन राख्नुपर्छ ।

बाहिरको हिलो धुलो पनि अर्को पाटो हो । हिलो धुलोले गाडीलाई फोहोर त देखाउँछ नै । सँगै त्यसले पर्फमेन्समा पनि फरक पार्छ । गाडीलाई सफा र चिटिक्क राख्न त सबैले प्रयास गरेका हुन्छन् । तर, चक्कामा धेरै हिलो भयो भने माइलेज कम दिने समस्या हुन्छ ।

त्यसले वेट बढाउँछ । ग्रीपमा समस्या पर्छ । आकर्षण फितलो हुन्छ । एयर इन्टेक कस्तो छ भन्नेमा ध्यान दिनुपर्छ । यो नियमित मर्मतसम्भार भन्दा फरक पाटो हो । किनभने प्रदुषित वातावरणमा यस्ता समस्या कम हुन्छन् ।

तर, हाम्रो बाटो र वातावरणको कन्डिसनले यि कुरामा विशेष ख्याल राख्न जरुरी बनाएको छ । यो पक्षलाई हेर्ने कुरा त्यस ठाउँको वातावरणसँग निर्भर हुन्छ ।

सँगै बाहिर खुला रुपमा बेचिएका मिसावटयुक्त तेल नहाल्दा राम्रो हुन्छ । त्यसले इञ्जिनलाई खराब गर्न सक्छ । त्यसैले आवरणमा मात्रै होइन, गाडीको मेसिनरी पार्टपूर्जासम्मलाई क्लीन राख्नुस्, हेल्दी राख्नुस्, अर्थात गाडीलाई सफासँगै स्वस्थ राख्नुस् ।

पखाल्ने पानीमा आइरन छ कि ? ख्याल गर्नुस्

केही मान्छेहरु आफ्नो गाडीलाई राम्रो देखाउन दैनिक गाडी ‘वास’ गरिरहनुहुन्छ । तर, अहिले काठमाडौंको पानी हेर्नुभयो भने यसमा निकै ‘आइरन रिच’ छ । वैज्ञानिक हिसावमा भन्दा यस्तो पानी गाडी धुनयोग्य मानिदैँन ।

जस्तो कि तपाईंको सेतो गाडी छ, अब दिनदिनै त्यस्तो पानीले पखाल्नुस्, त्यो केही समयमै गाडी पहँेलो जस्तो भएर जान्छ । सफा गर्न प्रयोग गरेको पानीले तपाईंको गाडी झनै बिगार्ने खतरा हुन्छ । गाडीमा मेटालिक कलरहरु प्रयोग हुन्छ । त्यसैले पनि यस्ता पानीबाट गाडीलाई टाढा राखेकै बेस हुन्छ ।

यो समस्या समाधानका लागि धेरै वासिङ सेन्टरहरुले एन्टी आइरन भएको र टि्रटमेन्ट वाटर प्रयोग गर्छन् ।


अब यसको मतलव घरमा गाडी सफा गर्नुहुँदैन भन्ने पनि होइन । दैनिक गाडी सफा गर्नुहुन्छ भने, आफ्नो घरको पानी कस्तो छ भन्ने कुरामा ध्यान दिएर मात्रै कार सफा गर्नुपर्छ ।

त्यसैले आफ्नो घरको पानीको अवस्था कस्तो छ भन्ने ध्यान दिनुपर्छ । ट्रिटमेन्ट वाटर प्रयोग गर्दा समस्या हुँदैन । कार सफा गर्दा खस्रो कपडाको प्रयोग नगर्नुस् ।

सर्भिसिङबारे अपडेट रहनुस्

अहिले सर्भिसिङबारे गाडी आफैंले सूचना दिन्छ । धेरै गाडीमा त्यस्ता प्रविधि आइसके । ड्यासबोर्डमा नै सर्भिसबारेका सबै सूचना दिने फिचर्सहरु राख्न थालिसकियो । अब कन्जुमर पनि त्यो प्रविधिबारे अपडेट रहनुपर्छ ।

अहिले धेरै गाडी मेन्टिनेन्स-पि्र नै बनाइएको हुन्छ । ब्याट्रीमा आजभोलि पानी हाल्नुपर्ने झन्झट छैन । तर, आफ्नो ब्याट्रीको लाइफ साइकल कति हो भन्ने कुरा चाँही थाहा पाइराख्नुपर्छ । त्यसैगरी क्लष्टरमा गाडीको अवस्थाबारे सूचना दिने सबै इन्फरमेसन हुन्छ ।

क्लष्टरले देखाउँछ कि चेक लाइट बल्यो कि बलेन, सर्भिसमा जाने बेला भयो कि भएन ? अहिले त सर्भिसिङ सेड्युल पनि राख्न मिल्ने र रिमाइन्डर सेट हुने गाडी पनि छन् । क्लष्टर पढेर तपाईंले थाहा चाहीँ पाउनुपर्‍यो । कुनै बत्ति बल्यो भने यसले के संकेत गर्दैछ भनेर जानकारी पनि राख्नुपर्‍यो । सूचना आएपछि हेलचक्र्याइँ नगरी सर्भिस सेन्टर जानुपर्छ ।

यदि यस्ता इन्फरमेशन नआउने गाडी हुन् भने आफैं यसबारे अपडेट रहनुपर्‍यो । सर्भिसिङ समस्या आएपछि गरौंला भन्ने सोच राख्नु गलत हो । किनभने तपाईं मोटर हाँक्दै हुनुहुन्छ ।

यसको स्याहारको कुरा तपाईंको मात्रै होइन, अन्यको जीवनसँग पनि जोडिएको हुन्छ । त्यसैले नियमित मर्मतको लागि तयार रहने बानीले तपाईंसँग अरुलाई पनि फाइदा हुन्छ ।

असामान्य आवाज र गन्धलाई पनि ख्याल गर्नुस्

गाडी मेकानिकल साधन हो । यसका पार्टपूर्जाहरु जतिबेला पनि फेल हुन सक्छन् । त्यसैले कार चढ्ने र चलाउनेले यसबारे महत्वूर्ण ‘थ्री सेन्स’ राख्नुपर्छ ।

पहिलो ‘भिजिबल’ कुरा भयो । गाडीमा केही प्रोबलम भिजिबल अर्थात मज्जाले देखिने खालका हुन्छन् । टुटेको, फुटेको, चर्केको, बिग्रेको कति चिज आँखाले नै देख्छ ।

अर्को पक्ष भने ‘अडिबल’ अर्थात सुनेर महसुस मात्रै गर्न सकिन्छ । कार चलाउँदा कुनै अनयुजल या अस्वाभाविक आवाज आइरहेको हुन सक्छ । त्यसलाई पनि गम्भीर रुपमा लिनुपर्‍यो ।

सामान्य अवस्थामा असामान्य र अस्वाभाविक आवाज आउँदैन भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ । कुनै पार्टपूर्जा प्रयोग गर्दा ‘अनयुजल’ महसुुस भयो भने पनि त्यसमा ध्यान दिनै पर्‍यो ।

तेस्रो पक्ष चाँही ‘स्मेल’ अर्थात गन्ध हो । तपाईंको गाडीमा असामान्य स्मेल आयो भने पनि तपाईं सर्भिस सेन्टर जानैपर्छ । किनभने त्यसले गाडीमा खराबीको संकेत गरेको हुन्छ ।

त्यसैले कुनै अप्ठेरो अवस्था आउनु अघि नै ‘थ्री सेन्स’ राखेर गाडीको केयर गर्नुपर्छ । यस्ता पाटोमा ख्याल गरियो भने बाटोमा गाडी बिगि्रएर दुःख पाइरहनुपर्दैन । यस्ता असामान्य अवस्थामा गाडीको सर्भिसिङ गराइहाल्नुपर्छ ।

चर्को घाममा लामो समय पार्क नगर्नुस्

गाडी पार्क गर्दा पनि निकै ख्याल गर्नुपर्छ । कार पार्किङको पनि आफ्नो गाइडलाइन हुन्छ । तपाईंले गाडी दिउँसो खुला ठाउँमा चर्को घाम पर्ने गरी राख्नु भएको छ भने त्यसलाई असर पर्छ ।

धेरैले आजभोलि गाडीमा पर्फ्युम राखेका हुन्छन् । पर्फ्युम त ग्यास हो, अल्कोहल हो । त्यो त धेरै घामको एक्सपोजरमा फुट्न सक्छ । त्यसो भएमा ड्यासबोर्ड बिग्रन्छ । यस्तो कुरामा ख्याल नगर्दा कतिपय गाडीमा आगलागी पनि भएका छन् ।

एकपटक एकजनाले गाडीको ग्लोब बक्समा ‘बडी स्प्रे’ राख्नुभएको रहेछ, लामो समय घाममा पार्किङ गर्दा त्यो पडि्कएर सिसा नै फुट्यो । यस्तो ‘डियोड्रेन्ट’मा त अल्कोहलको मात्रा धेरै हुन्छ त्यसले गाडीमा आगो लाग्ने खतरा पनि हुन्छ ।

त्यस्तै गाडीभित्र सेन्ट, रक्सी, पेट्रोल लगायत प्रज्वलनशील पदार्थ नराखेकै जाति हुन्छ । त्यो नभए पनि पार्किङ गर्दा सकेसम्म घाम छलाउनु उत्तम हो । घाममा राख्ने नै हो भने गाडीको लागि सनलाइट प्रोटेक्टर पनि पाइन्छ । त्यो प्रयोग गर्दा राम्रो हुन्छ ।

सँगै धेरैले गाडीको बोटल होल्डरमा पानी राख्ने प्रचलन हुन्छ । त्यो पनि राम्रो होइन । एक त वाटर बोटल नै प्लास्टिकको हुन्छ, त्यसमाथि ड्यासबोर्डदेखि ट्रिभहरु प्लास्टिकको हुन्छ । त्यसको रेडियसन पनि पानीमा सिधा पर्छ । त्यसैले पानी बाफिएको हुन्छ ।

त्यस्तो पानी खानु कति उपयुक्त होला ? धेरैलाई पार्किङ यसरी गर्नुस् है भन्दा धेरै मैले जानेकै छु भन्ने हुन्छ । तर, पार्किङमा ख्याल गर्नुपर्ने कुरा धेरै छन् ।

पानी पर्दा र कभर लगाउँदा ख्याल राख्नुस्

खुला स्थानमा पार्किङ गर्दा पानी पर्‍यो भने पनि गाडीमा असर पर्न सक्छ । अहिले वातावरण निकै पोलुटेड छ । कुनै अवस्थामा एसिड वर्षा भयो भने गाडीको बाहिरी भाग र कलरलाई प्रभाव पर्छ । भारतको मुम्बइमा त एसिड रेनको समस्या धेरै छ । यहाँको पनि वातावरण सधैं राम्रो अवस्थामा रहँदैन ।

सँगै गाडी पार्किङ गर्दा पानी बगेर जानसक्ने ठाउँमा राख्नुपर्छ । पार्किङस्थलको ड्रेन सिस्टम गतिलो भएन भने ठूलो वर्षामा गाडीलाई खतरा हुन सक्छ । गाडी पानीमा डुब्ने वा बगाउने खतरा पनि हुन सक्छ ।

गाडी छोपेर राख्ने प्रचलन पनि छ । यो ठीकै पनि हो । तर, यसमा बेवास्ता गरियो भने त्यसले उल्टो बेफाइदा पनि हुन सक्छ । अहिलेको बडी कभरमा भित्रबाट सिल्भरको कोटिङ गरिएको हुन्छ । पानी रहनासाथ त्यसलाई निकालीहाल्नुपर्छ ।

किनभने पानी रहेपछि घाम लाग्यो भने त्यो सिल्भर कोटेड कलर गाडीको बडीमा टाँसिन्छ । त्यसैले पानी नसुक्दै गाडीबाट कभर हटाउनुपर्छ । घाम लाग्दा पनि गाडी छोप्ने कभर पाइन्छ । तर, सकेसम्म छायाँ पर्नेस्थानमा राख्नु नै सबैभन्दा बुद्धिमानी हुन्छ ।

गाडीलाई घर नबनाउनुस्

गाडी बाहिरबाट हेर्दा मात्रै होइन, भित्र पनि सफा र चिटिक्क राख्नुपर्छ । तर, कतिपयले त गाडीलाई नै घर बनाएका हुन्छन् । कपडा, जुत्तादेखि आफूलाई आवश्यक पर्ने चिज गाडीभित्रै राख्नेहरु पनि धेरै छन् ।

आरोपित गर्न खोजिएको हैन, गाडी सफा राख्ने मामिलामा पुरुषभन्दा महिला प्रयोगकर्ताहरु कमजोर देखिएका छन् । प्रायः घर सफा नराख्ने पुरुष गाडीको सफाइको मामिलामा हामी सचेत देख्छौं ।


घरको सरसफाइमा अब्बल महिलाहरु गाडी सफाइमा भने किन कमजोर देखिन्छन् भन्ने अध्ययनकै विषय हुन सक्ला ।

धेरैले गाडीमा न्यापकिन राख्ने, तर प्रयोग पटक्कै नगर्ने प्रचलन छ । यस्ता साना विषयमा गाडीमा प्रयोगकर्ता सेचत हुनैपर्छ । गाडीको भित्री भागलाई गन्धरहित बनाउनुस् ।

गाडीलाई घर नबनाउनुस् । किनभने गाडीको सफाइ घरको भन्दा असहज हुन्छ । त्यसैले नियमित सफाइमा अल्छी नगर्नुस् ।

ग्राउण्ड क्लियरेन्स कति हो भन्ने नभुल्नुस्

आजभोलि गाडीलाई सकेसम्म कम तौलको बनाउन अनेकन प्रयासहरु गरिन्छन् । त्यसैले गाडीको अघिल्लो भागमा पार्टहरु प्लास्टिक र अल्मुनियमको राख्न थालिएको छ । यदि गाडी चलाउनेले आफ्नो गाडीको ग्राउण्ड क्लियरेन्स ख्याल गरेन भने ठोक्किएर त्यस्ता पार्टपूर्जाहरुमा क्षति पुग्छ ।

यो पक्षलाई निकै ध्यान दिनुपर्छ । कस्तो सडकमा आफ्नो सवारी जान सक्छ र त्यसलाई चलाउँदा कति केयर गर्नुपर्छ भन्नेमा सचेत हुनुपर्छ । त्यसैले सेन्स अफ ड्राइभिङमा तपाइर्ं निकै धैर्यवान हुनुपर्‍यो ।

अप्ठेरो बाटोमा किन सवारी दौडाउनुपर्‍यो ? तपाईंको गाडीलाई पनि आफूलाई जत्तिकै माया गरेर चलाउनुस्, त्यसले पनि तपाईंको ‘वेल केयर’ गर्छ ।

टाइमिङमा हेलचक्रयाँइ नगर्नुस्

तपाईंले गाडी चलाउनुहुन्छ भने गर्नुपर्ने काम समयमै गर्नुपर्छ । जस्तो कि समय-समयमा इञ्जिन आयल फेेर्नुपर्छ । तपाईंको इञ्जिन आयल कति समयमा फेर्नुपर्ने हो ? यसमा पटक्कै हेलचक्रयाइँ नगर्नुस् ।


तपाईंको इञ्जिन आयल ५ हजार किलोमिटर दौडिँदा फेर्नुपर्ने छ तर, तपाईंले बेवास्ता गर्नुभयो भने पछि तपाईंको इञ्जिनको बेरिङमा लोड पर्छ ।

त्यसले पिस्टनमा इफेक्ट पर्छ । त्यसले इञ्जिन सिज हुनेसम्मको खतरा हुन्छ । तपाईंले आफ्नो गाडीको पार्टको लाइफ साइकल कति हो भन्नेमा ध्यान दिनुपर्छ । त्यसअनुसार समयमै त्यसलाई फेर्ने र मेन्टेन गर्ने कुरामा ध्यान दिनुपर्छ ।

सस्तो स्पेयर्स नखोज्नुस्

बजारमा स्पेयर्स पार्टस् थरी-थरी मूल्यमा पाइन्छ । धेरैले सस्तो स्पेयर्स पार्टस् खोज्छन् पनि । तर, निकै अस्वभाविक मूल्यमा स्पेयर्स पार्टस् हाल्नुभयो भने पनि त्यसको कार्यक्षमता राम्रो हुँदैन । त्यसको ड्युरेबिलिटीमा पनि असर पर्छ ।

सस्तोमा पाएको चिजले अपेक्षा अनुरुप काम गर्दैन भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ । सस्तोमा मात्रै लाग्दा समस्या पनि धेरै आउन सक्छन् । त्यसैले सकेसम्म गुणस्तरीय पाट््र्सहरु हाल्दा फाइदा हुन्छ ।

जस्तो एउटा स्यान्ट्रो कारको ब्रेक प्याड ८ सयदेखि ३५ सयसम्ममा पाइन्छ । राम्रो ब्रेकप्याड सेरामिक्सले बनेको हुन्छ । तर, बजारमा सेरामेटालिकबाट बनेका कमजोर ब्रेकप्याडसम्म पाइन्छन् ।

यसरी गाडीलाई आफ्नो सन्तान जत्तिकै स्याहार दिन सके त्यसले आफ्नो कार्यक्षमता पनि त्यसैअनुसार देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न