काठमाडौं महानगरमा ओलीको ‘गल्ती’

Capture-283हेटौंडा । यो समाचार लेख्दै गर्दा काठमाडौं महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले ल्याएको मत ४१ हजार बढी पुगेको छ । कांग्रेसका राजुराज जोशी १३ हजारको भारी मतले पछाडि छन् ।

एमालेसँग गठबन्धन गरेको अवस्थामा राप्रपाका उपमेयर उम्मेदवार राजाराम श्रेष्ठको मत विद्यासुन्दरकै हाराहारीमा आउनुपर्ने हो । नभए पनि दुई/चार हजार फरक भएको भए सामान्य मान्न सकिन्थ्यो । तर, एमालेका विद्यासुन्दरको भन्दा राजारामको मत करिब १९ हजार कम छ ।

राप्रपा नेता राजाराम उपमेयरमा कांग्रेस नेतृ हरिप्रभा खड्गीभन्दा १५ हजार मतले पछाडि छुटेका छन् । उपमेयरमा हरिप्रभाले ३७ हजार मत पाउँदा राजरामको मत बल्ल २२ हजारमा सीमित छ ।

अब प्रश्न उठ्छ- एमालेले काठमाडौं महानगरमा राप्रपासँग तालमेल नगरी एक्लै लडेको भए के हुन्थ्यो ? देशकै पहिलो पार्टी बन्न कस्सिएको पार्टीका अध्यक्ष केपी ओलीले काठमाडौं महानगरमा हठात कमल थापासँग किन तालमेल गरे ? के एमालेले पोखरामा जस्तै काठमाडौंमा पनि एक्लै चुनाव लडेको भए हुँदैनथ्यो ? एमालेले राप्रपासँग तालमेल नगरी एक्लै लडेको भए काठमाडौंको उपमेयर समेत आफ्नै पार्टीको पोल्टामा पार्ने पो थियो कि ?

काठमाडौं महानगरको चुनावले अर्को प्रश्न पनि उठाएको छ । राप्रपाले एमालेका मेयरलाई दिएको भोट के ‘एकतर्फी प्रेम’ मात्रै हो ? यदि होइन भने विद्यासुन्दरको ४१ हजार मत झर्दा राजारामले किन २२ हजार मतमै चित्त बुझाउनुपरिरहेको छ ? के नेकपा एमालेले धोका दिएकै हो त ?

महानगरमा राप्रपाको भोट कति हो ?

यो समाचार तयार पार्दासम्म उपमेयरका उम्मेदवार राजाराम श्रेष्ठले २२ हजार मत पाएका छन् । अहिलेसम्म राप्रपाले काठमाडौंको कुनै पनि वडाध्यक्षमा जित हात पार्न सकेको छैन । यो सबै परिस्थितिको आँकलन गर्दा राजधानीमा राप्रपाको मत साझा पार्टी वा विवेकशील नेपालीको जति पनि छैन भन्ने देखिन्छ ।

महानगरमा राप्रपाको वास्तविक मत थापा पाउन प्रत्येक वडामा उसले पाएको मत जोड्नुपर्ने हुन्छ ।

राजारामले प्राप्त गरेको २२ हजार मतमा एमालेको पनि केही प्रतिशत मत थपिएको हुन सक्छ ।

तालमेलबाट दुबैलाई घाटा

काठमाडौं महानगरमा भएको एमाले र राप्रपावीचको तालमेलबाट एमाले र राप्रपा दुबैलाई घाटा भएको देखिन्छ । एमालेलाई के घाटा भयो भने उसले आफ्नै दलबाट आउन सक्ने मेयर पद गुमायो । र, मेयरमा पनि पोखरामा जस्तो आफ्नै बलले जित्न सकिने र गौरब गर्न सकिने सम्भावनामाथि ‘दाँतमा ढुंगो’ लागेजस्तै भयो ।

पोखरामा कांग्रेस माओवादीले आपसी तालमेल गरेका ठाउँमा समेत एमाले राप्रपासित तालमेल नगरी एक्लै चुनाव लड्यो । तर, केपी ओलीको ‘गल्ती’ का कारण काठमाडौंमा एमाले चुक्यो ।

एमालेले काठमाडौंको उपमेयरमा उम्मदेवारी नदिएपछि यसको फाइदा कांग्रेसले उठाएको छ । अब महानगरमा हरिप्रभा खड्गीले वडाध्यक्षहरुसहित एमालेको सामना गर्ने ठाउँ बनेको छ ।

एमालेकै कतिपय नेताहरुका अनुसार केपी ओलीले कमल थापासँग भागवण्डा गरेर गल्ती नगरेको भए यस्तो अवस्था आउने थिएन ।

नावको मुखमा ओली केही आत्तिएका थिए, त्यसैले उनले आफ्नो भागमा आउन सक्ने उपमेयर कमल थापालाई जिम्मा लगाए ।

उता कमल थापालाई पनि के घाटा भयो भने वैकल्पिक राजनीतिक शक्तिको विकास गरिरहेको राप्रपाले काठमाडौंमा मेयरकै उम्मेदवारी दिएन । र, राप्राले राजधानीको आफ्नो जनमतलाई सुरक्षित राख्न सकेन । राजाराम आफैं मेयरका उम्मदेवार थिए, तर उनलाई एमालेको छायाँ बनाइयो ।

बरु काठमाडौंमा राप्रपाले भन्दा विवेकशील पार्टी, साझा पार्टी र माओवादी केन्द्रले आआफ्नै उम्मेदवारी दिएर आफ्नो भोटको सुरक्षा गरे । संघीय समाजवादीले पनि आफ्नै मेयर उठाएर मतको सुरक्षा गर्‍यो, जुन काम राप्रपाले गर्न सकेन । आफूसँग रहेको राष्ट्रवादी जनमत कमल थापाले केपी ओलीलाई जिम्मा लगाए ।

यति गर्दा गर्दै पनि एमाले तालमेलप्रति इमान्दार भइदिएको भए हुन्थ्यो । तर, विद्यासुन्दरको ४१ हजार मत आउँदा राजारामलाई २२ हजारमा मात्रै मत दिने काम भयो ।

ललितपुरमा पनि बिटुलो

काठमाडौंमा जस्तै एमाले र राप्रपाको गठबन्धन ललितपुरमा पनि बिटुलो भयो । त्यहाँ पनि राप्रपाले मेयरमा एमालेलाई सघाएको थियो । उपमेयरमा एमालेले राप्रपालाई सघाएको थियो । तर, कांग्रेसले कसैसँग तालमेल नगरी मेयर-उपमेयर दुबै पदमा जीत हात पार्‍यो ।

ललितपुरमा एमाले र राप्रपावीच तालमेल नभएको भए दुबै दलका मतदाता कति रहेछन् भनेर हिसाब लगाउन सकिन्थ्यो ।

तर, ललितपुरमा पनि के देखियो भने एमालेका मतदाताले उपमेयरमा राप्रपासँग गरिएको तालमेलमा इमान्दारिता देखाएनन् र बाबुकाजी थापालाई कम भोट दिए ।

अब दोस्रो चरणमा के होला ?

अब दोस्रो चरणको चुनावमा पनि एमाले र राप्रपावीच तालमेल होला कि उनीहरु एक्लाएक्लै मैदानमा जालान् ? यसको जवाफ अहिल्यै दिन सकिँदैन । तर, यसो भन्न सकिन्छ, जसले जोसित तालमेल गरेर पनि एक अर्कालाई धोका चाहिँ नदिँदा राम्रो हुन्छ ।

हुन त दुई पार्टीवीच नेताहरुले कोठामा बसेर तालमेल गरे पनि त्यसलाई मतदाताहरुले अनुमोदन गरिदिनुपर्ने हुन्छ । राप्रपा र एमालेवीचको तालमेलमा एमालेले धोका दिएको नभएर मतदाताहरुले नै राप्रपालाई नरुचाएको पनि हुन सक्ने सम्भावना छ ।

किनभने, देशका विभिन्न ठाउँमा राप्रपाले एक्लै लडेका ठाउँमा राप्रपाको भोट अत्यन्तै कम देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको