एसएसबीले गोली चलाएपछि नेपालीहरु तितरवितर भएको मौकामा भारतीयहरु श्याम गुरुङको घरमा प्रवेश गरेका हुन् एसएसबीको आडमा भारतीयहरुले नेपालीको घरमा तोडफोड गर्दा नेपाल प्रहरी भने मूकदर्शक बनिरहेको स्थानीयले गुनासो गरे । प्रहरी निरीक्षकको कमाण्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी मूकदर्शक बनेको र नेपालीमाथि ज्यादती हुँदा मूकदर्शक बनेको गुनासो स्थानीयको छ ।
घटनामा भारतीयहरुले हानेको ढुंगाले लागेर बेलौरिया सीमा पोस्टका सशस्त्र प्रही इन्स्पेक्टर राम खत्रीसमेत घाइते बनेका छन् । उनको मुखमा चोट लागेको छ । त्यस्तै, एक जना प्रहरी नायव निरीक्षकलाई समेत चोट लागेको छ । एसएसबीको गोली लागेर घाइते भएका गोविन्द गौतमको धनगढी अस्पतालमा मृत्यु भएपछि आनन्द बजारमा थप तनाव बढेको छ ।
सुरुमा जनपथ प्रहरीमात्रै खटिएकोमा दिउँसो २ बजेपछि कैलाली र कञ्चनपुरबाट सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । कञ्चनपुरबाट प्रमुख जिल्ला अधिकारी र एसपी पनि घटनास्थलतर्फ लागेका छन् । घटनास्थलमै भारतीय एसएसबीका अधिकारीहरुसँग वार्ता भइरहेको छ । नेपालीहरु आक्रोशित बनेर नाराबाजी गरिरहेका छन् ।