March 4, 2017

आजबाट एमालेको १५ दिने मेची–काली अभियान

फागुन २१
काठमाडौं – प्रमुख प्रतिपक्षी एमालेको तराईकेन्द्रित १५ दिने राष्ट्रिय जागरण अभियान शनिबारदेखि सुरु हुँदै छ । ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान : राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ झापाको का“कडभिट्टाबाट सुरु हुने अभियानको उद्घाटन अध्यक्ष केपी ओलीले गर्दै छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

तराईको पूर्व–पश्चिम राजमार्गकेन्द्रित अभियानमा ३३ स्थानमा आमसभा, र्‍याली र सांस्कृतिक कार्यक्रम गर्ने एमालेको तयारी छ । र्‍याली र सभामा ५० लाख तराईवासीबीच पुग्ने गरी १५ लाखसम्मको जनपरिचालन गर्ने एमालेले दाबी गर्दै आएको छ ।

शीर्ष नेता झापामा: अभियानमा सहभागी हुन अध्यक्ष ओलीसहित शीर्ष नेताहरू झापा पुगेका छन् । वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्षहरू वामदेव गौतम, भीमबहादुर रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेलसहित स्थायी समिति सदस्यहरू, तराईबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, सांसदहरू झापा पुगेका छन् ।

प्रदेश र जिल्ला कमिटीहरूको व्यवस्थापनमा कार्यक्रम आयोजना हुने सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए । र्‍याली र जनसभामा सम्बन्धित प्रदेशका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, केन्द्रीय निकाय र ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी तथा सदस्य, सांसद तथा पूर्वसांसदलाई एमालेले अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।

त्यस्तै, पूर्वमन्त्री, प्रदेश कमिटी सदस्य, केन्द्रीय विभागका सदस्य, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् तथा अञ्चल समन्वय कमिटीका सदस्य, सम्पर्क समन्वय कमिटी र मातहत सम्पर्क मञ्चका सदस्यलगायतलाई पनि अनिवार्य उपस्थित हुन एमालेले निर्देशन दिएको छ ।

ओली–गृहमन्त्रीबीच सुरक्षाकेन्द्रित छलफल: अभियानको पूर्वसन्ध्यामा एमाले अध्यक्ष ओलीले उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शान्ति–सुरक्षाबारे छलफल गरेका छन् । बिहीबार साँझ आफ्नै निवास बालकोट बोलाएर पूर्वप्रधानमन्त्री ओलीले अभियानलाई सघाउन राज्यले उपलब्ध गराउने शान्ति–सुरक्षाबारे चासो व्यक्त गरेको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले बताए । गृहमन्त्री निधिले अभियानमा राज्यका तर्फबाट आवश्यक सुरक्षा प्रबन्धका लागि निर्देशन दिएको जानकारी गराएका थिए ।

भेटमा ओलीले केही दिनअघि गृहमन्त्री निधिका तर्फबाट अभियान बिथोल्नेगरी आएको ‘विवादास्पद’ अभिव्यक्तिबारे पनि चासो राख्दै कुनै अप्रिय घटना भए सरकार जिम्मेवार हुनुपर्ने चेतावनी दिएको बज्राचार्यले बताए । जवाफमा निधिले कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको प्रस्ट पारेको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

दाहालका अनुसार गृहमन्त्री निधिले संविधान संशोधनबारे एमालेले प्रयोग गरेको राष्ट्रघाती शब्दप्रति आपत्ति जनाएका थिए । जवाफमा ओलीले संविधान संशोधन देशको हितमा नभएको बताउँदै पार्टीको आधिकारिक दस्तावेजमा राष्ट्रघाती शब्द उल्लेख नगरेको जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको