नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीले प्रहरी संगठनको व्यावसायीक छविमा थप सुधार गर्न आन्तरिक शुद्धीकरण सुरु गरिएको दाबी गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा एसएसपी सुवेदीले भने,‘‘हामी आन्तरिक शुद्धीकरणमा छौं । कमजोरी केलाएर अझै व्यावसायिक बन्छौं ।’’
उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्दै शान्ति सुरक्षामा प्रहरी नेतृत्व र संगठन लागिपरेको उनले बताए । ‘‘कतिपय व्याक्तिले गरेका कमजोरीमा पुरै संगठनलाई मुछन खोज्नु राम्रो होइन,संगठनको छविलाई बदनाम गर्ने गधाहरुलाई छाडिन्न,’’ प्रवक्ता सुवेदीले भने ।
प्रहरी र नागरिकको सम्बन्धलाई थप मजबुत र विश्वासिलो बनाउन प्रहरी–समुदाय साझेदारी कार्यक्रम अघि सारिएको उनले बताए ।
देशभरबाट प्रहरी–समुदाय कार्यक्रमका लागि १० हजार प्रहरी परिचालन गरिने बताउँदै नागरिकको सहयोगको अपेक्षा गरे । विगतमा प्रहरीले चलाएका सकारात्मक अभियानको समिक्षा गर्दै नयाँ कार्यक्रमको रुपमा ल्याइएको प्रहरी–समुदाय साझेदारी कार्यक्रमले अपराध न्युनिकरणमा सहयोग पुग्ने प्रहरी प्रधान कार्यालयको विश्वास छ ।