महर्षि गौतम र उनको समाजसेवा

कमल रिजालkamal rijal

वैदिक मन्त्रद्रष्टा ऋषिहरूमा महर्षि गौतम पनि उत्तिकै परिचित नाम हो । वेद विज्ञानका विशिष्ट प्रतिभा यी महर्षि सप्तर्षि मण्डलका सदस्यमा पनि पर्छन् ।

प्रत्येक मन्वन्तरमा अलग अलग सप्तर्षि हुन्छन् । वर्तमान वैवस्वत मन्वन्तरमा उनीसहितका ऋषिहरू सप्तर्षि मण्डलमा रहेका छन् । अलौकिक प्रतिभाका धनी यी महर्षि गोत्रप्रवर्तक ऋषिसमेत मानिन्छन् । इन्दौरिया (गौड), ढोडारी, तिवारी, त्रिपाठी, दंगाल, नेगी, पाँडे, बम, विष्ट, भण्डारी, महत, महतो, जोशी, चन्द, आदि थरपरिवार आफूलाई अहिले पनि गौतम गोत्रीय भन्न रुचाउँछन् । उनीहरूका प्रवर भने गौतम, आंगिरस, बार्हस्पत्य गरी त्रिवर प्रवर हो ।

यद्यपि गौतमको नाम, काम र विशेषताबारे वैदिक विद्वानहरूमा मात्र नभई वैदिक ग्रन्थहरूमै पनि विविध मतमतान्तर भेटिन्छ । उनलाई कतै गोतम ऋषिका पुत्र भनिएको छ भने कतै महर्षि अंगिराका सन्तान आंगिरस परिवारभित्र पर्ने ऋषि रहुगणका पुत्र भनिएको छ ।

ऋग्वेद प्रथम मण्डलका कतिपय सूक्तहरूमा उनी आफंै गोतम ऋषिका रुपमा चिनिएका समेत छन् भने कतै कतै न्यायसूत्र अर्थात् न्यायदर्शनका रचयिताको रूपमा समेत चित्रण गरिएको भेटिन्छ तर यहाँनेर के चाहिँ बिर्सन हुन्न भने न्यायसूत्रकै रचनाकालबारे विद्वानहरूबीच मतैक्य भेटिन्न । यसले गर्दा उनीबारे इदमित्थंको धारणा बनाउन थप दुरूह हुन पुगेको छ । कतिपय विद्वानहरूले न्यायसूत्रको रचनाकाल विक्रमपूर्व छैटौं शताब्दी मानेका छन् भने कतिपय विद्वानको मतमा विक्रमपूर्व चौथो शताब्दी रहेको छ ।

अझ कतिपय विद्वानहरूले त ईशाको दोस्रो शताब्दी अनुमान लगाएका छन् भने कतिपयले तेस्रो शताब्दी हुन सक्ने तर्कसमेत उठाएका छन् । तथापि उनको विद्वत्ताबारेमा भने सबै एउटै विन्दुमा उपस्थित हुन पुगेका देखिन्छन् ।
महर्षि गौतम ब्रह्मपुत्री अहल्याको पतिका रूपमा समेत चिनिएका छन् ।

एकपटक ब्रह्माजीले छोरी अहल्यालाई गौतमको आश्रममा छाडेर कतै गएका थिए । उनी फर्केपछि गौतमले उनको नासो उनैलाई फिर्ता गरे । त्यतिबेला उनको जितेन्द्रिय र ब्रह्मतेज सम्बन्धी गुणलाई देखेर ब्रह्माजी निकै प्रभावित भए र ती कन्या उनैलाई कन्यादान दिएर ब्रह्मलोक फर्किए ।maharshi gautam

महापण्डित सतानन्द यी दुई दम्पतीकै सन्तान मानिन्छन्, जो पछि गएर राजर्षि जनकको कुलगुरुको हैसियतले लोक विख्यात हुन पुगेका छन् । यसबाहेक अर्का महान् वैदिक वैज्ञानिक वामदेव पनि उनकै पुत्र मानिन्छन् । ऋग्वेद चौथो मण्डलका द्रष्टा यी महर्षि आफंैले नै आफूलाई गौतमपुत्र भनेर चिनाएका छन् ।
त्याग, तपस्या र ज्ञान, वैराग्य तथा धर्मनिष्ठाका विशिष्ट संगम मानिने महर्षि गौतम ऋग्वेद प्रथम मण्डलको ७४ औंदेखि ९३ सम्म २० वटा सूक्तको द्रष्टासमेत मानिएका छन् ।

यी सूक्तहरूमा उनले आफूलाई रहुगणपुत्र भनेर चिनाएका छन् भने ७८ औं सूक्तको प्रथम मन्त्रमा गोतमवंशी भन्न पुगेका छन् । अग्नि, इन्द्र, मरुतगण, विश्वेदेवा, सोम, ऊषा र अश्विनिकुमार आदि देवताको प्रशंसा गरिएका यी सूक्तहरूमा कुल २०४ मन्त्र छन् । यी मन्त्रहरूद्वारा उनले सर्र्वत्र शान्ति, सुरक्षा, सद्भाव र समुन्नतिको कामना गरेका छन् ।

यसैगरी नवौं मण्डलको ३१ औं र ३३ औं सूक्तका द्रष्टा ऋषि पनि महर्षि गौतम नै मानिएका छन् । पवमान सोमको सम्मानमा गाइएका यी सूक्तहरूमा जम्मा १२ मन्त्र छन् । यी मन्त्रहरूमार्फत उनले बल, बुद्धि, पराक्रम र अन्न तथा ऐश्वर्य वृद्धिको चाहना गरेका छन् । त्यस्तै, प्रथम मण्डलको ५८ औंदेखि ६४ औं सूक्ततकका द्रष्टा ऋषि उनका छोरा नोधा मानिएका छन् । अग्नि र मरुद्गणको प्रशंसा गरिएका यी सूक्तहरूमा कुल ७४ मन्त्र छन् । यी मन्त्रहरूमार्फत उनले पनि शक्ति, सामर्थ्य, ऐश्वर्य र आनन्द आदिको कामना गरिएका छन् ।

महर्षि गौतम आध्यात्मिक ज्ञानका क्षेत्रमा अगाध समुद्र हुन् भने भौतिक विज्ञानका क्षेत्रका उज्ज्वल नक्षत्र पनि हुन् । मरुद्गणका विशेष उपासक रहेका यी महर्षिले वायुतत्त्वको गर्भमा जलतत्त्वको उपस्थिति भेटेका मात्र छैनन्, त्यसलाई निकालेर खाने र खुवाउने कामसमेत गरेका छन् ।

ऋग्वेदका विभिन्न सूक्तमा उनी कतै द्यावा, भूमि सर्वत्र एकनासले हिँडिरहेका देखिन्छन् भने कतै स्वर्गका वैद्य अश्विनिकुमारहरूसित मित्रताको हात बढाइरहेका फेला पर्छन् । त्यस्तै कतै अन्न, औषधि, रत्न र धातुसम्बन्धी विशुद्ध भौगर्भिक तत्त्वको व्याख्या र विश्लेषण गरिरहेका अवस्थामा फेला पर्छन् भने कतै अग्नि तत्त्वसित साक्षात्कार गरी सृष्टिका समग्र रहस्य खोतल्ने प्रयास गरिरहेका देखिन्छन् ।

वज्रधारी इन्द्रसित हाकाहाकी कुरा गर्ने हैसियत बनाएका यी महर्षि कतै तिनै इन्द्रलाई अश्वशक्तिले तान्ने विमानमा राखेर अन्तरिक्षमा घुमाइरहेका अवस्थामा फेला पर्छन् भने कतै सोही अन्तरिक्षमा विद्यमान सूर्यकिरण र मेघमालाको केस्राकेस्रा केलाइरहेका अवस्थामा देखापर्ने गरेका छन् । सर्वप्रथम पृथिवीको पानी वायुले सोसेर अन्तरिक्षमा लान्छन् भन्ने तथ्य पत्ता लगाउने पनि उनै हुन् भने तिनै वायुले नै आवश्यकता अनुसार त्यस पानीलाई पुनः पृथिवीमै फिर्ता गर्ने गरेका तथ्यको जानकारी गराउने पनि उनै हुन् ।

महाज्ञानी यी महर्षि समाजहित र समाजसेवाको त पहरेदारकै रूपमा रहेका छन् । आवश्यक पर्दा बरू उनले महादेवले जस्तै हाँसी हाँसी हलाहल पान गरेका छन् तैपनि परहित र परोपकारसम्बन्धी आफ्नो धर्मलाई छाडेका छैनन् । एकपटक उनको ख्याति देखेर तत्कालीन समाज निकै जलेको थियो ।

केही गर्दा पनि उनको ख्यातिमा अंकुश लगाउन नसकिने भएपछि उनीहरुले गोवधको आरोेपलगाई १२ वर्षसम्म तपस्या गरी प्रायश्चित्त गर्नुपर्ने कठोर सजाय सुनाएका थिए । जबकि उनीहरूले लगाएका आरोपसित उनको १२ हात परको समेत सम्बन्ध थिएन ।

गोवधको काम तिनै असहिष्णु समाजले गरेको थियो । तैपनि उनले त्यसलाई चुपचाप सहेका मात्र थिएनन् त्यसैको कारण सुक्खा, खडेरी र अनिकालले ग्रस्त हुन पुगेको समाजलाई स्वर्गबाट नदी ल्याएर उद्धारसमेत गरेका थिए । उनले स्वर्गबाट ल्याएका नदीलाई गोदावरी भनिन्छ, जसलाई लोकले अहिले पनि पवित्र नदी मानेर निकै श्रद्धा र सम्मान गर्दै आएका छन् ।

वेद, पुराण सर्वत्र उत्तिकै वर्चस्व कायम राख्न सफल यी महर्षिका गौतम धर्मसूत्र र गौतम स्मृति गरी दुईवटा धार्मिक ग्रन्थ समेत रहेका छन् । यीमध्ये धर्मसूत्रसम्बन्धी ग्रन्थमा साना साना २९ अध्याय छन्, जसले वर्णाश्रमधर्मको विशेषता वर्णन गर्दै गृहस्थी धर्ममा रहनेले जन्मदेखि मृत्युपर्यन्त गर्नुपर्ने कार्यको दिग्दर्शन गर्ने काम गरेका छन् । त्यस्तै उनको स्मृतिग्रन्थ गौतम स्मृतिमा २२ अध्याय रहेको छ भने यी अध्यायहरूमार्फत उनले मानिसको कर्तव्याकर्तव्य अर्थात् गर्नुपर्ने कार्य र गर्न नहुने कार्यबारे प्रकाश पार्ने प्रयास गरेका छन् ।

यस्ता ज्ञान र विज्ञानका धनी महर्षि गौतमको भौतिक शरीर त सम्प्रति हामीमाझ छैन तर उनको कृतिपताका भने अहिले पनि सप्तर्षि तारा बनेर आकाशमा चम्किरहेको छ ।

स्केच : ancientindiajourney.blogspot.com

 

photo

NOC1-250x300