हेटौंडा । यो समाचार लेख्दै गर्दा काठमाडौं महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले ल्याएको मत ४१ हजार बढी पुगेको छ । कांग्रेसका राजुराज जोशी १३ हजारको भारी मतले पछाडि छन् ।
एमालेसँग गठबन्धन गरेको अवस्थामा राप्रपाका उपमेयर उम्मेदवार राजाराम श्रेष्ठको मत विद्यासुन्दरकै हाराहारीमा आउनुपर्ने हो । नभए पनि दुई/चार हजार फरक भएको भए सामान्य मान्न सकिन्थ्यो । तर, एमालेका विद्यासुन्दरको भन्दा राजारामको मत करिब १९ हजार कम छ ।
राप्रपा नेता राजाराम उपमेयरमा कांग्रेस नेतृ हरिप्रभा खड्गीभन्दा १५ हजार मतले पछाडि छुटेका छन् । उपमेयरमा हरिप्रभाले ३७ हजार मत पाउँदा राजरामको मत बल्ल २२ हजारमा सीमित छ ।
अब प्रश्न उठ्छ- एमालेले काठमाडौं महानगरमा राप्रपासँग तालमेल नगरी एक्लै लडेको भए के हुन्थ्यो ? देशकै पहिलो पार्टी बन्न कस्सिएको पार्टीका अध्यक्ष केपी ओलीले काठमाडौं महानगरमा हठात कमल थापासँग किन तालमेल गरे ? के एमालेले पोखरामा जस्तै काठमाडौंमा पनि एक्लै चुनाव लडेको भए हुँदैनथ्यो ? एमालेले राप्रपासँग तालमेल नगरी एक्लै लडेको भए काठमाडौंको उपमेयर समेत आफ्नै पार्टीको पोल्टामा पार्ने पो थियो कि ?
काठमाडौं महानगरको चुनावले अर्को प्रश्न पनि उठाएको छ । राप्रपाले एमालेका मेयरलाई दिएको भोट के ‘एकतर्फी प्रेम’ मात्रै हो ? यदि होइन भने विद्यासुन्दरको ४१ हजार मत झर्दा राजारामले किन २२ हजार मतमै चित्त बुझाउनुपरिरहेको छ ? के नेकपा एमालेले धोका दिएकै हो त ?
महानगरमा राप्रपाको भोट कति हो ?
यो समाचार तयार पार्दासम्म उपमेयरका उम्मेदवार राजाराम श्रेष्ठले २२ हजार मत पाएका छन् । अहिलेसम्म राप्रपाले काठमाडौंको कुनै पनि वडाध्यक्षमा जित हात पार्न सकेको छैन । यो सबै परिस्थितिको आँकलन गर्दा राजधानीमा राप्रपाको मत साझा पार्टी वा विवेकशील नेपालीको जति पनि छैन भन्ने देखिन्छ ।
महानगरमा राप्रपाको वास्तविक मत थापा पाउन प्रत्येक वडामा उसले पाएको मत जोड्नुपर्ने हुन्छ ।
राजारामले प्राप्त गरेको २२ हजार मतमा एमालेको पनि केही प्रतिशत मत थपिएको हुन सक्छ ।
तालमेलबाट दुबैलाई घाटा
काठमाडौं महानगरमा भएको एमाले र राप्रपावीचको तालमेलबाट एमाले र राप्रपा दुबैलाई घाटा भएको देखिन्छ । एमालेलाई के घाटा भयो भने उसले आफ्नै दलबाट आउन सक्ने मेयर पद गुमायो । र, मेयरमा पनि पोखरामा जस्तो आफ्नै बलले जित्न सकिने र गौरब गर्न सकिने सम्भावनामाथि ‘दाँतमा ढुंगो’ लागेजस्तै भयो ।
पोखरामा कांग्रेस माओवादीले आपसी तालमेल गरेका ठाउँमा समेत एमाले राप्रपासित तालमेल नगरी एक्लै चुनाव लड्यो । तर, केपी ओलीको ‘गल्ती’ का कारण काठमाडौंमा एमाले चुक्यो ।
एमालेले काठमाडौंको उपमेयरमा उम्मदेवारी नदिएपछि यसको फाइदा कांग्रेसले उठाएको छ । अब महानगरमा हरिप्रभा खड्गीले वडाध्यक्षहरुसहित एमालेको सामना गर्ने ठाउँ बनेको छ ।
एमालेकै कतिपय नेताहरुका अनुसार केपी ओलीले कमल थापासँग भागवण्डा गरेर गल्ती नगरेको भए यस्तो अवस्था आउने थिएन ।
नावको मुखमा ओली केही आत्तिएका थिए, त्यसैले उनले आफ्नो भागमा आउन सक्ने उपमेयर कमल थापालाई जिम्मा लगाए ।
उता कमल थापालाई पनि के घाटा भयो भने वैकल्पिक राजनीतिक शक्तिको विकास गरिरहेको राप्रपाले काठमाडौंमा मेयरकै उम्मेदवारी दिएन । र, राप्राले राजधानीको आफ्नो जनमतलाई सुरक्षित राख्न सकेन । राजाराम आफैं मेयरका उम्मदेवार थिए, तर उनलाई एमालेको छायाँ बनाइयो ।
बरु काठमाडौंमा राप्रपाले भन्दा विवेकशील पार्टी, साझा पार्टी र माओवादी केन्द्रले आआफ्नै उम्मेदवारी दिएर आफ्नो भोटको सुरक्षा गरे । संघीय समाजवादीले पनि आफ्नै मेयर उठाएर मतको सुरक्षा गर्यो, जुन काम राप्रपाले गर्न सकेन । आफूसँग रहेको राष्ट्रवादी जनमत कमल थापाले केपी ओलीलाई जिम्मा लगाए ।
यति गर्दा गर्दै पनि एमाले तालमेलप्रति इमान्दार भइदिएको भए हुन्थ्यो । तर, विद्यासुन्दरको ४१ हजार मत आउँदा राजारामलाई २२ हजारमा मात्रै मत दिने काम भयो ।
ललितपुरमा पनि बिटुलो
काठमाडौंमा जस्तै एमाले र राप्रपाको गठबन्धन ललितपुरमा पनि बिटुलो भयो । त्यहाँ पनि राप्रपाले मेयरमा एमालेलाई सघाएको थियो । उपमेयरमा एमालेले राप्रपालाई सघाएको थियो । तर, कांग्रेसले कसैसँग तालमेल नगरी मेयर-उपमेयर दुबै पदमा जीत हात पार्यो ।
ललितपुरमा एमाले र राप्रपावीच तालमेल नभएको भए दुबै दलका मतदाता कति रहेछन् भनेर हिसाब लगाउन सकिन्थ्यो ।
तर, ललितपुरमा पनि के देखियो भने एमालेका मतदाताले उपमेयरमा राप्रपासँग गरिएको तालमेलमा इमान्दारिता देखाएनन् र बाबुकाजी थापालाई कम भोट दिए ।
अब दोस्रो चरणमा के होला ?
अब दोस्रो चरणको चुनावमा पनि एमाले र राप्रपावीच तालमेल होला कि उनीहरु एक्लाएक्लै मैदानमा जालान् ? यसको जवाफ अहिल्यै दिन सकिँदैन । तर, यसो भन्न सकिन्छ, जसले जोसित तालमेल गरेर पनि एक अर्कालाई धोका चाहिँ नदिँदा राम्रो हुन्छ ।
हुन त दुई पार्टीवीच नेताहरुले कोठामा बसेर तालमेल गरे पनि त्यसलाई मतदाताहरुले अनुमोदन गरिदिनुपर्ने हुन्छ । राप्रपा र एमालेवीचको तालमेलमा एमालेले धोका दिएको नभएर मतदाताहरुले नै राप्रपालाई नरुचाएको पनि हुन सक्ने सम्भावना छ ।
किनभने, देशका विभिन्न ठाउँमा राप्रपाले एक्लै लडेका ठाउँमा राप्रपाको भोट अत्यन्तै कम देखिन्छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका