प्रचण्डले विचार र सिद्धान्त छोड्दा सिद्धियो माओवादी !


नेपालमा २०५२ फागुन १ गतेबाट जनयुद्द शुरु भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आन्दोलनको नेतृत्व गरे । त्यतिखेर शुरु भएको आन्दोलन २०६२–६३ सालसम्म चल्यो । १७ हजार नेपालीले आन्दोलनमा ज्यान गुमाए, राज्यलाई अर्बौंको क्षति भयो । हजारौं नेपाली बेपत्ता भए । अहिले पनि तिनीहरु कहाँ छन् ? अत्तोपत्तो छैन् ।
त्यत्रो आन्दोलनको नेतृत्व गरेका प्रचण्डसंग गन्तव्य रहेनछ । भिजन र राजनीति गर्ने क्षमता पनि उनीसंग छैन् भनेर जनताले प्रष्टै थाहा पाइसकेका छन् । २०६१ माघ १९ गते राजाले सत्ता कब्जा गरेपछि गिरिजाप्रसाद कोइराला मोआवादीको शरणमा पुगे । सत्ता फिर्ता ल्याउन र राजतन्त्र हटाउन उनले माओवादीको सहयोग लिन खोजे । त्यतिखेर १९ दिने आन्दोलन भयो ।
हार खाएर राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै फिर्ता गरिदिए । त्यसपछि माओवादीका नेताहरु सार्वजनिक भए । उनीहरु वार्तामा आए । माओवादी आएपछि देशमा विकास हुन्छ । मुलुकले लय लिन्छ, भएका समस्याहरु अन्त्य हुन्छ भनेर जनताले आश गरेका थिए । अरु पार्टीका नेताले झैं माओवादीले भ्रष्ट्राचार गर्दैनन्, जनताको हितमा काम गर्छन् भन्ने सोच जनतामा थियो ।
तर, ठ्याक्कै उल्टो भयो । माओवादीका नेताहरु अत्यन्तै शोखी भए । मँहगा गाडी चढ्ने, आलिशान महलमा बस्ने, ठूल्ठूला रेष्टुरेण्टमा खाने, मँहगा लुगा लगाउनेबाहेक अरु केही गर्न सकेनन् माओवादीले । माओवादीका नेताहरु पनि भ्रष्ट्राचारको दलदलमा फस्दै गए । जुन उद्धेश्यले उनीहरुले हतियार उठाएका थिए, त्यो पुरा भएन् । जनता सबै सडकमा उतारे । तर के आश्वासन दिएर जनतालाई आन्दोलनमा ल्याएका थिए ? त्यो बिर्सिए ।
माओवादीका अध्यक्ष प्रचण्डसंग सिद्धान्त पनि छैन्, विचारको पनि अभाव देखिन्छ । उनीसंग राजनीति गर्ने क्षमता पनि देखिँदैन् । कहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झोला बोक्छन्, कहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको । यता र उता गर्दागर्दै उनको राजनीतिक यात्रा सखाप भयो । छोरीलाई मेयर बनाउने, बुहारीलाई मन्त्री र भाइलाई सांसद् बनाउनबाहेक उनले केही गर्न जानेनन् ।
आफ्नो वरिपरि घुम्ने र चाकरी गर्न सक्ने व्यक्तिलाई पटकपटक मन्त्री बनाइदिने । जनता को कुरा सदनमा उठाउने व्यक्तिलाई उनले मन्त्री दिएनन् । यो उदाहरण त २०७४ सालमा जुम्लाबाट चुनाव जितेर आएर निवर्तमान सांसद् गजेन्द्र महतमा लागु हुन्छ । जनताको समस्या समाधानका लागि पहल गर्ने नेता गजेन्द्रलाई प्रचण्डले टिकट नै दिएनन् । आफ्नो क्षेत्रमा विकास नभएको भन्दै सदनमा रोएका व्यक्ति हुन्, उनी ।
तर, योचोटिको निर्वाचनमा उनले टिकट नै पाएनन् । उनलाई टिकट दिएको भए माओवादीले थप एक क्षेत्र गुमाउनुपर्दैनथियो । जनताले नरुचाएको व्यक्तिलाई उम्मेदवार बनाउँदा जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले जीत हात पारे । आफ्नो विरोधमा बोल्नेलाई कि पार्टीबाट निकाला गरिदिन्छन् कि कुनै आरोप लगाएर उसको राजनीति नै धरापमा पारिदिन्छन् ।
माओवादीका नेता एवम् पूर्व सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएर राजनीति नै सिध्याइदिए । अहिलेको चुनावमा उनी जनताको बीचमै गएनन् । उनको विरोधमा बोल्ने बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्दलगायतलाई पार्टीबाट निकालियो । यता, उनको चाकरी गर्न सक्नेले पाँच चोटि मन्त्री खाइदिए । उदाहरणका लागि अर्थमन्त्री जनार्दन शर्मालाई नै लिऔं ।
उनी पटकपटक मन्त्री भइसकेका व्यक्ति हुन् । तर, जतिचोटि मन्त्री भएपनि उनले गरेका केही होइनन् । पार्टीका अध्यक्ष प्रचण्डको वरपर मात्र घुमिरहन्छन् । प्रचण्डले भाषण गर्दा सबैलाई आफूले नै प्रधानमन्त्री बनाएकोजस्तो गर्छन् । शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायतलाई आफ्नो बलमा प्रधानमन्त्री बनाएको भन्दै उनी ठूलो पल्टिन खोज्छन् ।
अरुलाई प्रधानमन्त्री बनाउन सक्ने व्यक्ति आफू किन प्रधानमन्त्री बनेनन् ? जनताको काम गर्न किन आफैं मैदानमा आउँदैनन् ? यहीबाट उनको क्षमताको मूल्याकंन भइहाल्छ । हिजो त्यत्रो आन्दोलन गरे, त्यत्रो नेपाली जनताले ज्यान गुमाए । तरपनि उनलाई केही फरक परेको छैन् । माओवादीका नेताहरुले सुःख सुविधाको जिन्दगी जिऊन् भनेर नेपाली जनता शहिद भएका हुन् ?
जनताको ज्यान माओवादीका नेताहरुलाई सस्तो भयो । जतिबेला पनि सरकारमा जाने अनि कमाउने भाडो बनाउने । हिजो माफियाको विरोध गरेर यहाँसम्म आइपुगेका प्रचण्ड आज ठेकेदारकै घरमा बहालमा बसेका छन् । समयमै काम नगरेर सरकारलाई हैरानी दिने ठेकेदारको घरमा उनले डेरा जमाएका छन् । तर, आफ्नो घरबेटीसमेत रहेका कामचोर ठेकेदार शैलेन्द्र अधिकारीको विरोधमा कहिलै बोल्दैनन् ।
२०६४ सालको चुनावमा १२१ ठाँउबाट प्रत्यक्ष जितेको माओवादी अहिले आएर १७ मा खुम्चियो । पार्टी सिद्धिसकेको छ भन्ने त उनले थाहा पाइसके होला । उनीसंग नैतिकता थियो भने उनले पार्टीको अध्यक्षबाट राजनीमा दिनुपर्थ्यो । आफ्नो कारणले पार्टी तहसनहस भएको भनेर स्विकार्नुपर्थ्यो । पहिलेपहिले प्रचण्डलाई राजनीतिको खेलाडी भनिन्थ्यो । उनी राजनीतिमा सबैभन्दा चतुर नेता भएको बताइन्थ्यो ।
तर, अहिले आएर उनको काम गर्ने हैसियत पुष्टि भएको छ । मिडिया र जनताको बलमा उनी नेता भएका रहेछन् । वडाध्यक्ष बन्न सक्ने क्षमता नभएको व्यक्ति पार्टीको अध्यक्ष बनेर हिँडेका छन् । जनताले यसरी नङगाउँदा पनि उनको चेत खुलेको छैन् । केपीतिर जाने कि शेरबहादुरतिर चलखेल शुरु भइसकेको छ । पदको मोलमोलाई शुरु भइसकेको छ । पदका लागि जे पनि गर्ने व्यक्तिले कहिले देश विकास गर्छ ?
जनताका लागि काम गर्छन् ? जसरी भएपनि उनलाई पद नै चाहिएको छ  । सरकारमा गइरहने, कमाउधन्दा चलाइरहने माओवादीको उद्देश्य र योजना यही नै हो । जनताले यसरी नङगाइसकेपछि आफ्नो पार्टीलाई कसरी बलियो बनाउनेतर्फ प्रचण्ड लाग्नुपर्ने हो । सरकार त्यागेर अर्को पाँच वर्षमा जनताको मन जित्नुतर्फ अग्रसर हुनुपर्थ्यो । बुढापाखाले भन्थे,‘सर्पलाई विष, मान्छेलाई इख ।’
इख नभएको मान्छेले केही पनि गर्न सक्दैनन् । अबको पाँच वर्षमा माओवादी तहसनहस हुन्छ । अझै पनि यस्तै पारा देखाउने हो भने अर्को चुनावमा माओवादीले एक क्षेत्र पनि हात पार्दैन् । प्रचण्ड र माओवादीका नेतालाई राष्ट्रको माया नै छैन् । देउवा र ओलीको इशारामा नाच्छ, माओवादी । माओवादी कसरी सिद्धियो ? यो अवस्थामा कसरी आयो ? भनेर जनताले मूल्याकंन गरेका छन् ।
माओवादीलाई यो हालतमा पुर्‍याउने प्रचण्ड हुन् । जनयुद्धको मुद्दा व्युताएर आफू फस्ने हो कि भन्ने डर प्रचण्डमा छ । आफू बच्नका लागि उनी यताउता गरिरहन्छन् । आफू जेल जानुपर्छ भन्ने डरले उनले पार्टीलाई सखाप पारिदिए । आफ्नो राजनीतिको डोरोमा आफैंले आगो लगाइदिए । अहिलेको चुनावमा चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट लडेको भए उनले अवश्य पनि हार्थे ।
तर, बाबुराम भट्टराईले प्रचण्डका लागि भनेर गोरखा छोडिदिए । जसले गर्दा जीत उनको हातमा पर्यो । माओवादीका कार्यकर्ताहरु प्रचण्डसंग धेरै घमण्ड भएको बताउँछन् । उनी कहिले पनि जनताको सामु ननिउरिने र हात नजोड्ने उनीहरुको भनाइ छ । प्रचण्डकै दही चिउरे राजनीतिले गर्दा एमाले पनि सोत्तर भयो । कांग्रेसले पनि जनतामाझ भएको विश्वासनियता गुमायो ।
माओवादी त पत्तासाफ भइ नै हाल्यो । एउटा उखान छ,‘बाँदरले आफ्नो घर पनि बनाउँदैन्, अरुको पनि भत्काउँछ ।’ प्रचण्ड पनि ठ्याक्कै त्यसमै पर्छन् । अबको पाँच वर्ष प्रचण्ड कि देउवाको अघिपछि गर्छन् कि ओलीको । उनीहरुको झोला बोकेर हिँड्छन् । झिँगा धपाउँछन् । देउवाले ठाँउ दिएनन् भने ओलीतिर लागिहाल्छन् । नैतिकता भनेको के हो ? उनलाई थाहा रहेनछ ।
पार्टीले यत्रो हार व्यहोर्दा पनि उनी अलिकति पनि लज्जित भएका छैनन् । अझै पनि एमाले र कांग्रेसबाट पद पाइन्छ भनेर बार्गेनिङ गर्नु कतिसम्म लाजमर्दो कुरा हो । प्रचण्डको राजनीति कांग्रेसले खाइदियो । उनले माओवादीको सिद्धान्त र विचार लगेर कांग्रेस र एमालेको अगाडि तेर्साईदिए। अब माओवादीलाई जनताले भोट दिँदैनन् । माओवादीबाट कुनै पनि हालतमा माथि आउन सक्दैन् ।
माओवादीकी नेतृ पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ बाट कसरी हार व्यहोर्नुपर्यो । जनताले उनलाई नराम्ररी हराए । अहिले जितेर आएका १७ जनाको पाँच वर्षपछिको अवस्था हो यो । अर्कोचोटि चुनावमा यिनीहरु पनि बाँकी रहदैनन् । आएका सबै मन्त्री खान खोज्छन् । काम गर्दैनन्, अनि माओवादीको दुर्दशा शुरु हुन्छ । पाँच वर्षपछि माओवादीलाई बत्ती बाँलेर खोज्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि

फणीन्द्र माथिको कारबाही  कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

 असार १०.काठमाडौँ। सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गरेको

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त