सहकारीमा पैसा नराखौँ, भएको पनि छिटो निकालौँ


जनताले ब्याज आउँछ वा आफुसँग भएको पैसा सुरक्षित हुन्छ भनेर वित्तिय संस्थामा पैसा राख्छन् । साथै वित्तिय संस्थामा आफ्नो पैसा राख्दा सुरक्षित पनि हुन्छ र ब्याज पनि आउँछ भनेर जनता आश गर्छन् । यसरी वित्तिय संस्थामा पैसा राख्दा मानिसको सम्पूर्ण चिन्ता नै मेटिन्छ । वर्षभरि मेहेनत गरेर वा खाईनखाई जम्मा गरेको र पुर्खोली सम्पत्ति बेचेर आएको पैसा मानिसहरु वित्तिय संस्थामा विश्वासका साथ राख्छन् ।
देशैभरिका जनताले आफ्नो धेरथोर रकम सहकारी तथा बैंकमै जम्मा गर्छन् । वित्तिय संस्थामा जनताले पैसा राख्नुका पनि केही कारण छन्, एक त सुरक्षित पनि हुन्छ र ब्याज पनि आउँछ त अर्कोतिर आफुलाई आवश्यक परेको समयमा निकाल्न पनि पाइन्छ ।
त्यसैले पनि सहकारी तथा बैंकमा पैसा राख्नप्रति जनताको पनि विश्वास बढ्दै गएको थियो र सरकारले पनि बैंक तथा सहकारी खोल्न वा दर्ता गराउन च्याउ उम्रिएको जसरी लाइसेन्स दियो । अहिले हेर्ने हो भने एउटै घरमा बैंक तथा सहकारी गरेर ७ ओटा समेत बोर्ड देखिन्छ । घरैपिछे सहकारी र बैंक रहेको छ र गल्लीगल्लीमा सहकारी र बैंकको बोर्ड देखिन्छ ।
सहकारी र बैंकले पनि आफ्नो संस्थामा बढी ब्याज ल्याउन आफुखुशी डिपोजिटको ब्याज दिएर जनताले पनि आफ्नो पैसा राख्दा कुन सहकारी वा बैंकले बढी ब्याज दिन्छ भन्दै ब्याजको प्रलोभनमा पैसा राखे । बैंक तथा सहकारीहरुले डिपोजिटको बढी ब्याज दिनुपरेपछि र कर्मचारीलाई तलब वा कार्यालय खर्च धान्नु परेपछि जोखिमपूर्ण ठाउँमा कर्जा लगानी गरे वा कमसल धितोलाई कर्जा प्रवाह गरे ।
बैंक, फाईनाइन्स र सहकारीले छिटो नाफा कमाउनका लागि कमसल धितोलाई मिटरब्याजमा कर्जा प्रवाह गर्दा आज वित्तिय संस्थाबाट धितो राखेर ऋण लिएकाहरुले ऋण तिर्न सकेनन् र यता रकम सुरक्षित हुन्छ वा ब्याज आउँछ भनेर डिपोजिट गर्नेहरुको पनि अहिले पैसा डुब्ने अवस्थामा पुगेको छ ।
पहिलापहिला त जनताले बैंक, फाइनाईन्स र सहकारीलाई राम्रो मान्थे तर पछिल्लो समय त यसको ठयाक्कै उल्टो भएको छ । भनिन्छ नि समयअनुसार मानिसको सोचमा पनि परिवर्तन आउँछ । हो, त्यसरी नै जब सहकारीहरु भाग्न थाले र बैंकहरु डुब्न थाले तब जनताले पनि यी संस्थाहरुमाथि विश्वास गर्न छाडे ।
सरकारले पहिला टोलटोलमा सहकारी र घरमा धानको भकारी भन्दै जनतालाई सहकारीमा पैसा राख्न उत्साहित गर्‍यो तर अहिले त्यही सहकारीले सबै भकारी नै उठाएर लागेपछि जनताको घरमा रुवाबासी भइरहेको छ । उडायो हावाले भनेझैँ डुबायो सहकारीले भन्नेहरु घरैपिछे भेटिन्छन् ।
सहकारीले करोडौँ जनताको घरमा रुवाबासी बनाइदियो र खर्बो रुपैँया डुबाइदियो । जताततै अहिले एउटै कुरा सुनिन्छ, सहकारी चोर हो । पछिल्लो समय त कति सहकारीहरु जनताको पैसा फिर्ता गर्न नसकेर भागेका छन् त कति भाग्ने तयारीमा छन् ।
ब्याज आउँछ भनेर सहकारीमा ५० हजारदेखि ३ करोडसम्म पैसा राख्ने पनि व्यक्तिहरु छन् । तर अहिले सहकारीले जनताको पैसाको न ब्याज नै दिन्छ न साँवा । ब्याज चाहिँदैन साँवा मात्र फिर्ता गर्नुस् भन्दा पनि पैसा दिदैँन । १५ दिनमा ५ हजार पैसा लैजानुस् भन्छ । सहकारीमा पैसा राख्नेहरुलाई मर्नु कि बाँच्नु भइरहेको छ ।
पैसा नभएर उनीहरुले अहिले न कोठाभाडा नै तिर्न सकेका छन् न बालबच्चाको फिस । बिहान ९ बजे नै मानिसहरु आफ्नो रकम पाइन्छ कि भनेर सहकारी पुग्छन् तर बेलुकाको ५ बज्दा पनि पैसा पाइदैँन । सबै सहकारी डुबिसकेका छन् वा टाट पल्टि सकेका छन्, जसले गर्दा सहकारीमा पैसा निकाल्नेको लाइन लागेको छ ।
सहकारी र बैंकमा अहिले पैसा राख्ने कोही छैन त झिक्नेको लाइन हेरेर साध्य छैन । सहकारीले यसरी जनताको पैसा डुबाउँदा जोहीकोहीको पनि मुख अध्याँरो देखिन्छ । जिल्लाजिल्लाको सहकारी कार्यालयमा सहकारीले पैसा फिर्ता गरेन वा सहकारी भाग्यो भन्दै गुनासो ल्याउनेहरु यत्तिकै छन् भने वडा र नगरमा पनि त्यस्तै छ ।
तर यता सहकारी अनुगमन न वडा वा नगरले नै गर्छ न सहकारी कार्यालयले नै गर्छ । पशुपति शर्माले एउटा गीत गाएका थिए, ‘लुट्न सके लुट कान्छा,लुट्न सके लुट,अरु देशमा पाईंदैन,नेपालमै हो छुट’ । यो गीत त अहिले सहकारीमाथि नै लागू हुन्छ । सहकारीहरुले जनता यसरी डुबाउँदा वा ठग्दा पनि सरकार सहकारीमाथि अनुगमन गरी कारबाही नगरी चुपचाप बसिरहेको छ ।
सहकारीहरुले दुई वर्षअघिसम्म मिटरब्याजमा कर्जा प्रवाह गरेर जनतालाई लुट्न समेत लुटे तर सरकारले पनि यस्ता सहकारीहरुलाई कारबाही गरेको छैन । अहिले त सहकारी तथा बैंकमा जनताले पैसा राख्न छोडे, जसले गर्दा यिनीहरुको ठगीधन्दा पनि बन्द भएको छ । सहकारीमा पैसा राख्नेहरुलाई पैसा डुब्यो भनेर चिन्ता छ त सहकारीबाट मिटरब्याजमा कर्जा लिनेहरुलाई ऋण तिर्न नसकेर बसिटिक्नु छैन ।
सहकारीमा जाँदा संस्थाका सञ्चालक वा अध्यक्ष भेटिदैँन तर कर्मचारीहरुभने हुन्छन् । व्यापारी वा सर्वसाधारणहरुले पनि सहकारीमा आफ्नो पैसा राख्न छोडिसकेका छन् । सहकारीले २२ देखि ३६ प्रतिशतसम्म डिपोजिटको ब्याज र बैंकले १५ देखि २० प्रतिशतसम्म ब्याज दिन्छु भन्दा पनि पैसा कोही राख्दैन ।
सर्वसाधारणहरुले वा देशैभरिका जनताले पछिल्लो समय बैंक तथा सहकारी डुबेको थाहापाइसकेका छन् । बैंकमा ५ लाखको चेक लिएर गएमा बैंकका सिइओ, मिनेजरहरु पैसा ननिकाल्नुस् हामी ब्याज बढाउँछौँ भन्छन् होइन भने एक पटकमा १ लाख मात्र लैजानुस् भन्छन् । बैंक तथा सहकारीहरुले आफ्नो खर्च धान्न नसकेर कति शाखाहरु त बन्द नैगरिसकेका छन् ।
त्यस्तै यिनीहरुले १ वर्षदेखि कर्मचारीलाई तलब नदिएको र ६ महिनादेखि घरभाडा नतिरेको भनेर सुनिन्छ । त्यसैले सहकारीका कति कर्मचारीहरुले त तलबबिनै काम छोडे त कतिलाई संस्थाले नै खर्च धान्न नसकेर निकालिरहेको छ । पहिला एक बजार प्रतिनिधिले बजारबाट दिनहुँ लाखदेखि ३ लाखसम्म उठाउँथे भने अहिले हजारदेखि ३ हजारसम्म उठाउँछन् ।
देशैभरि ३५ हजार २ सय ३९ ओटा सहकारी दर्तामा रहेका छन् तर योमध्येमा आधा सहकारीहरु त भागिसकेका छन् त आधा भाग्ने तयारीमा छन् । करोडौँ जनताको १३ खर्ब रुपैँया सहकारीमा राख्दा चुर्लुम्मै डुब्ने अवस्थामा पुगेको छ । यता सहकारीबाट कर्जा लिनेहरु ४८ प्रतिशत ब्याज लिनुपर्ने भएकाले धितो नै छोडेर भाग्नुपर्ने अवस्थामा पुगेका छन् ।
हिजो सहकारीहरुले डेढ करोड मूल्य बराबरको धितो राखेर १ करोड कर्जा दिए, ४ प्रतिशत सेवाशूल्क र १० लाख घुस खाई भन्ने समयमा अगाडी १६ प्रतिशत ब्याज भनेपनि पछि हिसाब गर्दै जाँदा ४८ प्रतिशतसम्म ब्याज लिए । तर पछिल्लो समय घरजग्गा, गाडी र सेयरमा मन्दी आयपछी यिनीहरु डुब्ने वा भाग्ने अवस्थामा पुगेका हुन् ।
४ हजार कित्तामा किनेको सेयर अहिले सय रुपैँयामा बिक्री हुदैँन, आनाकै ८० लाखमा किनेको जग्गा लाखमा बिक्री हुदैँन र २० लाखमा किनेको गाडी एक लाखमा बिक्री हुदैँन । घरजग्गा, गाडी र सेयर बेच्नेहरु त बजारमा यत्तिकै भेटिन्छन् तर किन्ने भने कोही छैन । ५४ लाख जनताले सेयरमा गरेको खर्बो लगानी आज बालुवामा पानी हाल्या बराबार भएको छ । वित्तिय संस्थाबाट धितो राखेर ऋण लिनेहरुलाई अहिले धितो बेचौं त मान्छे छैन ऋण तिरौँ त पैसा छैन ।
सहकारीहरुले यसरी जनताको पैसा लिएर भाग्दा वा डुबाउँदा पनि सहकारी विभाग निरीह भएर बसिरहेको छ । विभाग न यस्ता सहकारीमथि कारबाही नै गर्छ न जनताको पैसा फिर्ता गराउन पहल नै गर्छ । साथै अब सहकारीमा पैसा नराख्नुस् भनेर सर्वसाधारणलाई सचेत पनि गराउँदैन । विभागकै कारण आज सर्वसाधारणहरुको उठीबास भएको छ र सहकारीमा पैसा राख्नेहरुको रुवाबासी चलेको छ ।
कति सहकारीहरुले अहिलेपनि आफ्नो निजी भवन छ भन्दै जनतासँग पैसा उठाइनै रहेका छन् तर फिर्ता भने गरेका छैनन् । त्यस्तै यता हिजो राजनितिक पार्टीको झोला बोलेर सहकारी संघ खोल्नेहरु पनि भागिसकेका छन् । जनताले कुट्छ वा लखेट्छन् भनेर यिनीहरु पनि अहिले गायब नै भएका छन् । यता कति सहकारीहरुले घरजग्गा , गाडी र सेयरमा लगानी गरी नाफा कमाउंथे तर जनतालाई भने डिपोजिटको ब्याज मात्र दिन्थे तर अहिले त यिनीहरु पनि डुब्ने भएका छन् ।
पछिल्लो समय सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेपछि बचतकर्ताहरु त्यो सहकारी नै घेर्न वा ताल्चा लगाउन अग्रसर छन् । पहिलाको जस्तो सहकारी र बैंकमा पैसा राखेर घरमा ढुक्कसँग निदाउने दिन गएको छ । किनभन्दा सहकारी कतिखेर भाग्छ र बैंक कतिखेर डुब्छ भनेर ठेगान छैन ।
त्यसैले पनि अहिले सहकारी तथा बैंकबाट पैसा निकालेर घरमा पैसा राख्नेहरुको संख्या बढिरहेको छ । ब्याजको लोभमा साँवा नै डुब्छ भन्ने सर्वसाधारणको मनमा पिर परेको छ । अरुको लहैलहैमा वा विज्ञापनको आधारमा बैंक तथा सहकारीमा पैसा राख्नुहुदैँन भनेर सर्वसाधारणले विश्वास गरिसकेका छन् ।
बिहान ज्यान घटाउन दौडिरहेका र दिउँसो कामका लागि हिडिरहेका सबै भन्छन्, सहकारीले पैसा खाइदियो, मलाई डुबाइदियो । अब हामी अरुको पैसा लिएर सहकारी भाग्यो वा सहकारीले डुबायो भन्दै हाँस्नुभन्दा आफैँ त कतै डुबिरहेको छैन भनेर विचार गर्नु नै उत्तम होला । किनभन्दा अरुलाई परेको पिडामा हाँस्दा पछि आफुमाथि पनि त्यही पिडा पर्न सक्छ ।
बजारमा अहिले व्यापारी वा सर्वसाधारणहरुले आफ्नो पैसा सहकारीमा राख्दैँनन् र सहकारीका बजार प्रतिनिधि आएमा पनि चोर वा ठगको नाम दिदैँ फर्काइ दिन्छन् । सहकारीमा पैसा राख्नु भनेको पैसाकै माया मार्नु बराबर भएको छ र कोहि आफ्नो जीवनभरको कमाइ माया मार्न चाहान्छ त ? त्यसैले अब हामीतपाईँ पनि समयमै विचार गरौँ, सहकारीमा पैसा नराखौँ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।