ट्राफिक प्रहरीको काम गर्ने शैली र बोलीवचनमा कहिले सुधार आउला ?


ट्राफिक प्रमुख मीरा चौधरीलाई आम सर्वसाधारणको प्रश्न,‘तपाईले ट्राफिक व्यवस्थापन मात्रै गर्न निर्देशन दिने कि गल्ती गर्ने गाडीलाई कारबाही पनि गर्ने ?’ ट्राफिक प्रमुख चौधरीले बारम्बार सवारी साधन आउजाउलाई सहज बनाउने भनिरहेकी हुन्छिन् । तर, उनले ट्राफिक नियमको पालना गर्ने, कानून नटेर्ने सवारी साधनलाई कारबाही गर्ने भनेर चाहि बोल्दिनन् । बाटोमा २० वर्ष कटेका थोत्रा, पुराना, कबाडी सवारी साधन गुडिरहेका छन् ।
बस, ट्याम्पो, ट्याक्सी, माइक्रोबस, ढुवानी गाडीलगायत अन्य थोत्रा सवारी साधन खुलेआम चलाएका छन् । ती सवारी घटीमा २५ देखि २७ वर्षसम्मका छन् । जनता सोध्छन्,‘त्यस्ता सवारी साधनलाई किन नसमातेको ?’ २० वर्षे पूराना गाडी हटाउने भनेर मन्त्रिपरिषद्को निर्णयलाई ट्राफिक प्रमुख चौधरीले धोती लगाइदिएकी छिन् । कालो धुँवाको मुस्लो फालेर सवारी साधन चलाउँदा पनि किन कारबाही भएन् ?
केही महिनाअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र चौधरीले ‘नो हर्न’ अभियान चलाएका थिए । चर्चामा आउनका लागि गाडीमा स्टीकर टाँस्ने कामसमेत भयो । जुन अहिलेसम्म कार्यान्वयनमा आएको छैन् । अहिले पनि सवारी साधनहरु जथाभावी हर्न बजाउँदै हिँडेका छन् । अनि खोइ त कारबाही ? ट्राफिक कै आँखा अगाडि गुन्द्रुक खाँदेझैं यात्रु खाँदेर सवारी साधन चलाइरहेका छन् ।
तापनि ट्राफिक देखेपनि नदेखेझैं गर्छ । सरकारले एकदेखि पाँच किलोमिटरसम्म २० रुपैयाँ भाडा तोकेको छ । तर, चढ्नेबित्तिकै २५ रुपैयाँ उठाउँछन् । पैसा लिइसकेपछि टिकट पनि दिँदैनन् । गाडीमा भाडा लिस्ट पनि राखिएको छैन् । ट्राफिक प्रहरीहरु दिनभर बाटोमा घाम तापेर बस्छन्, अनुगमन गर्दैनन् । सार्वजनिक सवारी साधनको अवस्था कस्ता छन् ? यात्रुले सेवासुविधा पाएका छन् कि छैनन् ? निरीक्षण छैन् ।
बसस्टपमा १५ मीनेट गाडी रोकिदिन्छन् । अगाडिको गाडीले गर्दा पछाडि पुरै जाम भइसकेको हुन्छ । यस्तो प्रवृत्तिका कारण काममा जाने यात्रुलाई अति सास्ती भएको छ । जता पायो त्यतै यात्रु चढाउने र ओरोल्ने काम भइरहेको छ । बिच सडकमा यात्रु चढाउँदा र ओराल्दा जोखिम ह्वात्तै बढेको छ । यता, सहचालक र चालकले अहिले पनि चप्पल लगाएर सवारी साधन चलाइरहेका छन् ।
चप्पल लगाएर सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुन्छ । खुट्टा चिप्लिएर जे पनि हुन सक्छ । तर, ट्राफिकले सचेतना फैलाउने काम गरेको छैन् । ट्याक्सीले ठगीधन्दा पनि उस्तै छ । ट्याक्सीले मिटरमा यात्रु बोक्दैन्, नजिक जान मान्दैन् । दुई सय रुपैयाँको बाटोमा हजार रुपैयाँ लिन्छन् । तैपनि तिनलाई कारबाही गरिएको छैन् । ट्राफिक प्रमुखले दिन कटाउने र माना पचाउने काम मात्र गरिरहेकी छिन् ।
गाडीको अगाडि पछाडिको नम्बर प्लेट मेटिएको सवारी साधनलाई भकाभक समात्नुपर्ने हो । त्यो गर्न पनि ट्राफिक असमर्थ भएको छ । कि त नम्बर प्लेट पुरै धुलोले छोपिएको हुन्छ कि अक्षर नै सबै मेटिसकेको हुन्छ । यस्तो सवारी साधनले मान्छे हानेर भाग्यो भने को जिम्मेवार हुने ? हरियो स्टीकर टाँसेको छ तर यत्रो धुँवाको मुस्लो फालेर गाडी गुडिरहेको हुन्छ ।
गाडीको अवस्था शिथिल भइसकेको हुन्छ, तर चालकसंग जाँचपास हुन्छ । यो कहाँबाट आयो ? चेकजाँच गर्नुपर्दैन् ? यातायात कार्यालयमा नलगिकन पनि यातायात व्यवसायीहरुले हरियो स्टीकर र जाँचपास ल्याइरहेका छन् । यस्तो हुँदासम्म ट्राफिक प्रमुख चौधरी मौन छिन् ।  सरकारले गल्ती गर्ने सवारीलाई पाँच सयदेखि पाँच हजार जरिवाना तोकेको छ । तर, ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ लिएर चिट नै नकाटिकन छोडिरहेको छ ।
ट्राफिक प्रहरीमाथि पहिल्यैदेखि ‘घुस्याहा’ को ट्याग लागेको छ, जुन अहिले पनि मेटिन सकेको छैन् । तलब पनि खाने, घुस पनि खाने । राज्य जहिले पनि जिल्लै । अहिलेसम्मको इतिहासमा सबैभन्दा कामचोर ट्राफिक प्रहरी प्रमुख चौधरी नै हुन् । काम गर्ने मान्छे त ‘एक्सन’ मा आउनुपर्यो । जनताले देख्नेगरी र नतिजा आउने गरी काम गर्नुपर्यो । सिन्को पनि नभाँच्ने अनि मिडियाबाजी गर्ने ट्राफिक प्रहरी प्रमुखसंग जनता आजित भएका छन् ।
कुनै पनि रोडमा ट्राफिकले अनुगमन गरिरहेको देखिदैन् । गाडी रोकेर कागजात चेकजाँच गरेको त उपत्यकाभित्र कँही पनि भेटिदैन् । भोलिपल्ट ट्राफिकले यति कारबाही गर्यो भने सार्वजनिक गर्छ । साँच्नै नै कारबाही गरेको हो भने राज्यको ढुकुटीमा कति राजस्व जम्मा भयो त ? पाँच हजार लिनुपर्ने ठाँउमा पाँच सय लिएर पनि कारबाही हुन्छ ? ट्राफिकले राज्य र जनताको आँखामा धुलो झोकिरहेको छ ।
राजस्व नै नआएपछि राज्यले कहाँबाट तलब खुवाउने ? पेन्सन दिने पैसा कहाँबाट ल्याउने ? कारबाही गरेको विवरण सार्वजनिक गर्ने ट्राफिकले अब जरिवाना पनि खुलाउनुपर्छ । जनताले पनि दैनिक कति राजस्व उठ्यो ? थाहा पाउनुपर्छ । २०४९ सालदेखि अहिलेसम्म ट्राफिक प्रहरी महाशाखाले गल्ती गर्ने सवारीसंग लिनुपर्ने राजस्व बढाएको छैन् । यत्रो वर्षसम्म जरिवाना नबढाउनुको कारण के हो ?
यसको जवाफ महाशाखाले दिनुपर्छ । राजस्व नबढाउनुको पछाडि धेरै वटा रहस्य लुकेको हुन सक्छ । २०४९ सालदेखि अहिलेसम्म ट्राफिक प्रहरीको तलब कति गुणाले बढ्यो ? यात्रुले तिर्नुपर्ने भाडा कहाँबाट कहाँ पुगिसक्यो । मँहगीले सीमा नाघेको छ । तर, राजस्व बढेन्, किन ? यातायात व्यवसायीसंगको आर्थिक चलखेलले गर्दा  राजस्व नबढेको कुरा यहीबाट पुष्टि भइहाल्छ ।
गल्ती गर्ने सवारी साधनलाई १० देखि १५ हजार रुपैयाँ जरिवाना गर्नुपर्ने जनताको माग छ । यसो भयो भने यातायात व्यवसायीले ऐनकानून मान्छन् । धेरै जरिवाना भएपछि त गल्ती गर्न हात काप्छ । पाँच सय त जरिवाना हो भन्दै यातायात व्यवसायीले एउटै गल्ती दोहोर्याएको दोहोर्याएै गर्छन् । अनुगमनमा पनि कडाइ गर्नुपर्छ । ट्राफिक अलिकति जिम्मेवार भइदियो भने यात्रुलाई धेरै राहत हुन्छ ।
यता, राज्यको ढुकुटीमा ठूलो परिमाणमा राजस्व जम्मा हुन्छ । ट्राफिक महाशाखा जनशक्ति कम छ भन्दै पन्छिने गरेका छन् । त्यसो भयो नयाँ भर्ती खुलाउनुपर्यो । नेपालीहरु स्वदेशमा रोजगारी नपाएर खाडी गइरहेका छन् । राजस्व उठाऊ, जनशक्ति बढाऊ, यो गर्नलाई कसले रोकेको छ ? जनशक्ति छैन् भनेर गैरजिम्मेवारी जवाफ त दिन पाइएन् नि । ट्राफिक भर्ती खुलायो भने जनताले पनि रोजगारी पाँउछन् ।
ट्राफिक प्रमुख चौधरी नयाँ भर्ती खुलाउने प्रस्ताव गृह मन्त्रालयमा लैजान खोज्दिनन् । नयाँ दरबन्दी नमाग्ने अनि जनशक्ति छैन् भनेर बहाना बनाइराख्ने ? यो त आफूलाई बचाउने काम मात्र भयो । ट्राफिक प्रमुख भन्छिन्,‘ट्राफिकलाई बाटोमा ड्युटी गर्दा धुलो भयो, बिरामी भए, काम गर्न गाह्रो भयो ।’ जनताले कर लगाएर जागिर खाऊ भनको हो ? आफ्नो लागि काम गरेको होइन् ?
जनताले तिरेको करबाट तलबभत्ता, पेन्सन खाने अनि काम गर्न गाह्रो भो भन्न लाज लाग्दैन् ? सरकारी जागिर खाएपछि मर्न पनि तयार हुनुपर्छ । कुनै पनि काम सजिलो हुँदैन् । अझ सरकारी जागिर खाने बेलामै ‘म राष्ट्रको सेवा गर्छु, राष्ट्रका लागि मर्न पनि तयार हुन्छ’ भनेका हुन्छन् । धुवाधुलो त सामान्य कुरा हो । यदि जागिर खान त्यति नै गाह्रो भइरहेको छ भने राजीनामा दिँदा भइहाल्यो ।
यत्रो जनताको छोराछोरी लाइन लागेका छन्, जागिर खान । जसले सक्छ, उसले खान्छ । जनताले तिरेको करबाट बिहानबेलुका भात पनि खाने अनि लुगा पनि लगाउने । अनि काम गर्न चाँहि दुःख भयो भन्न पाइन्छ ? ट्राफिकलाई यस्तो कुरा गर्न लाज लाग्नुपर्ने हो । देशमा राजनीति परिवर्तन भयो । नेताहरु समेत जनताको सामु झुक्निुपर्छ । तर, ट्राफिक प्रहरीको बोलीमा कुनै सुधार छैन् ।
सभ्यता र नम्रता भनेको के हो ? ट्राफिक प्रहरीलाई थाहा छैन् । ‘हामी राष्ट्र र जनताको सेवा गर्न बसेका हौं, जनता हाम्रा मालिक हुन्’, भन्ने कुरा ट्राफिकले बिर्सिएका छन् । जनतासंग उनीहरुको व्यवहार देख्दा घृणा हुन्छ । जनतालाई इज्जत गर्नुपर्छ, राम्रो बोलीबचन गर्नुपर्छ, तपाई भन्नुपर्छ भनेर गृहमन्त्री बालकृष्ण खाँणले नै पो नसिकाएको हो कि ? अहिले पनि ट्राफिक प्रहरीले ‘त’ भनेको सुन्छौं ।
ट्राफिक प्रहरीले आफ्ना घरायसी झैझगडा पनि जनतामाथि पोख्छन् । आफूलाई काम गर्न गाह्रो भयो भने पनि जनतामाथि नै खनिन्छन् । ट्राफिकले गाडीको चालकलाई कागजपत्र माग्दा ‘कागजपत्र ले, कागजपत्र झिक’ भन्छन् । ट्राफिकलाई ‘त’ भन्ने अधिकार छ ? ट्राफिक प्रहरीको चेतना अहिलेपनि शुन्य नै छैन् । उनीहरुको बोलीव्यवहारमा सुधार आएन् । यसको दोषी गृहमन्त्री खाँण नै हुन् । उनले कडाइ नगर्दा ट्राफिक प्रहरी छाडा भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न