योगा गर्नै पर्ने १६ कारणहरु

  -प्रकाश आचार्य, योग विषेशज्ञ मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर, जति कोसिस गरे पनि रोगले शरीरलाई छाड्ने होइन । कताबाट रोग आइलाग्छ पत्तै हुँदैन । स्वस्थ्य रहनका लागि मानिस बिहानबिहानै दौडिन्छन्, जिम लान्छन्, जिउ मर्काइमर्काई ‘डान्स’ गर्छन् तै पनि भनेजस्तो हुँदैन । एरोबिक, ब्याडमिन्टन, कराँतेजस्ता खेल पनि मान्छेले स्वस्थ्य रहने उपायकै रूपमा लिन्छन् । स्वस्थ्य रहन अपनाइने यस्ता अभ्यासले मानिसलाई सामान्य फाइदा पुर्याए पनि पूर्णता भने दिएको हुँदैन ।

शारीरिक अभ्यासका रूपमा जबसम्म योगलाई आत्मसात् गरिँदैन अरू कुनै उपायले त्यो सन्तुष्टि दिनै सक्दैन । योग त्यस्तो माध्यम हो जसले शरीर र आत्मालाई एकाकार गर्दछ र मान्छेलाई स्वस्थपनको व्यावहारिक अनुभूति दिलाउँछ । अरू व्यायामभन्दा योग नै किन ? भन्ने जिज्ञासुहरूका लागि निम्न बुँदा उपयोगी साबित हुन्छन् ।

१) स्वास्थ्य वैज्ञानिकहरूका अनुसार रोग लाग्नुको कारणमध्ये शरीरमा ‘फ्रि रेडिकल’ बढ्नु पनि एक हो । फ्रि रेडिकलले हाम्रो कोषिका तथा डीएनएलाई विकृत गर्छ । फ्रि रेडिकल बढ्ने कारणमध्ये अत्याधिक थकानयुक्त कसरत (जिम, एरोबिक, दौड आदि) पनि एउटा हो । योगको अभ्यासपछि भने शरीरमा हल्कापन आउँछ र फ्रि रेडिकल बढ्न पाउँदैन ।

२) अन्य अभ्यास तथा कसरतले शरीरको बाहिरी भाग र मांशपेसीलाई मात्र धेरै प्रभाव पार्छ भने योगले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ ।

३) शारीरिक अभ्यासका अन्य विधि खर्चिला हुन्छन् । सहयोगी, साधन, ठूलो स्थान आदिको आवश्यकता पर्दछ । योग भने खर्चबिना नै गर्न सकिन्छ । न त सहयोगी नै चाहिन्छ न ठूलो ठाउँ न उपकारण नै । योग अभ्यासका विधिबारे राम्रो जानकारी राख्यो भने एक्लैले गर्न कुनै कठिनाइ हुँदैन ।

४) अन्य अभ्यासमा मन तथा इन्द्रीयलाई नियन्त्रण गर्ने कुनै प्रक्रिया नै छैन । तर, योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।

५) योग मात्र यस्तो अभ्यास हो, जसका हरेक अभ्यासमा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ ।

६) योगका लागि धेरै खुराक आवश्यक पर्दैन, सामान्य खाना पर्याप्त छ । तर अन्य अभ्यासमा ‘हेभ्भी डाइट’को आवश्यकता पर्दछ ।

७) योगमा मात्र शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास छ । जसबाट अत्यन्त कम शक्ति खर्चिएर शारीरिक तथा मानसिक लाभ प्राप्त गर्न सकिन्छ । कमजोर व्यक्तिले पनि योगको फाइदा लिन सक्छन् ।

८) योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउने प्रक्रिया हुन्छ तर अरू अभ्यासमा त्यो पाइँदैन ।

९) जति ‘रिढ’ लचिलो हन्छ त्यति नै शरीर स्वस्थ रहन्छ । यौवन, युवापन र शरीरमा स्फुर्ती आउँछ । ‘रिढ’को लचकता बढाउने राम्रो अभ्यास योगमा छ ।

१०) योगाभ्यासले सम्पूर्ण नशा–नाडी तथा रक्तनली शुद्ध गर्छ । अरू शारीरिक व्यायाममा यस्तो पाइँदैन ।

११) योगमा फोक्सोलाई पर्याप्त खुम्च्याउने र फैल्याउने अभ्यास छ । जसले अक्सिजन लिने क्षमता बढाउँछ तर अन्य व्यायाममा यो प्रक्रिया छैन । अन्य अभ्यासमा गहिरो स्वास लिने प्रक्रिया छैन जसले गर्दा फोक्सोको कम भाग मात्र सक्रिय रहन्छ ।

१२) अहिलेको रहनसहन तथा खानपिनको अवस्था विकृत बन्दै गएको छ । योगमा खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी पाइन्छ ।

१३) अन्य अभ्यासमा पाचन प्रणाली बिग्रने, लामो समयपछि हाडजोर्नी तथा मांशपेसी दुख्ने जस्ता समस्या आउन सक्छन्, तर योगमा त्यस्ता कुनै ‘साइड इफेक्ट’ हुँदैन ।

१४) योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास तथा समग्र जिउने तरिका सिकाउँछ ।

१५) शरीरमा हर्मोन्स तथा इन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगले ठूलो भूमिका खेल्छ ।

१६) शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक विकासका लागि योग सर्वोत्तम पद्धति हो, यसको दाँजोमा अन्य कुनै पनि शारीरिक व्यायाम आउनै सक्दैनन् । स्वस्थ्य रहनका लागि शारीरिक व्यायामका अन्य उपायभन्दा योग कैयौं गुणा फाइदाजनक रहेको अभ्यास र अनुसन्धानले नै देखाएको कुरा हो ।

अतः स्वास्थ्यका लागि सक्षम योगगुरुको आवश्यकतालाई भने भुल्न हुँदैन । सुरुका दिनमा टीभी तथा सीडीका आधारमा योग सिक्नुभन्दा योगगुरुको निगरानीमा सिक्नु राम्रो हुन्छ ।

(स्रोत : स्वास्थ्य खबरपत्रिका)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी