‘प्रधानमन्त्री बिरामी हुनुहुन्छ, विश्राम दिऔँ’ : गगन थापा

काठमाडौं, भदौ १८ : सम्माननीय प्रधानमन्त्री अहिले उपचारको क्रममा सिंगापुरमा हुनुहुन्छ । नेपाली काँग्रेस उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । हामीले अथक कसरत गरेर संसदबाट केही समय अगाडी एउटा कानून पारित गर्यौँ । कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध हुने छैन । कानुनको पालना गर्नुभएकोमा प्रधानमन्त्रीज्यू प्रति हार्दिक आभार प्रकट गर्दछु ।  

नागरिकको यस विषयको अन्य चासोहरुलाई प्रधानमन्त्रीले उपयुक्त समयमा बताउनु हुनेछ भन्ने विश्वास पनि गर्दछु ।  

प्रधानमन्त्रीज्यूको उपचारको बारेमा यथार्थ जानकारी सरकारले संसदलाई गराएको छैन । जनताले आफ्नो प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा जान्न पाउनुपर्छ । प्रधानमन्त्रीको नीजि चिकित्सकलाई उदृत गरेर छापाहरुमा आएको सिमित सूचनाको आधारमा यो अनुमान लगाउन सकिन्छ कि प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख छ । हामी चाहन्छौँ सम्पूर्ण सुधार होस् ।  

मिर्गौला प्रत्यारोपण गराउनु भएको इच्छाशक्ति, क्रियाशिलता, योगदान संसारको लागि नमुना बनोस् । तर केही चिकित्सकहरुले संकेत गर्नुभएको जस्तो प्रधानमन्त्रीलाई अहिलेको जस्तो उपचार अर्थात् पटक पटक विदेशमा गएर केही समय विश्राम गरेर उपचार गर्नुपर्ने भयो भने चाहीँ के गर्ने ?  

संविधानको धारा ७५ अनुसार नेपालको कार्यकारी अधिकार मन्त्रिपरिषद निहित छ र मन्त्रिपरिषद्को प्रमुख प्रधानमन्त्री हुनुहुन्छ । संसदीय पद्दतीमा संसदको कामको सिर्जना पनि प्रधानमन्त्रीबाटै हुन्छ । प्रधानमन्त्री सेरोमोनियल पोजिसन होइन । डे टु डे जिम्मेवारी प्रधानमन्त्रीले निर्वाह गर्नुपर्छ । पछिल्ला दिनमा प्रधानमन्त्रीको कार्यबोझ बढाइएको छ ।  

हाम्रो प्रधानमन्त्रीज्यूले यी सबै पुरा गर्ने इच्छाशक्ति राख्नुहुन्छ भन्ने कुरामा दुई मत छैन । तर इच्छाशक्ति मात्रै सबै कुरा होइन । शारिरीक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्छ । प्रधानमन्त्री, राष्ट्रिय सुरक्षा, अखण्डता, सार्वभौमसत्ताको प्रमुख हुनुहुन्छ ।  

कार्यकारिणी प्रमुख एकैपटक लामो समयसम्म देशबाट बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कुटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न त छदै छ । प्रत्येक २–३ महिनामा १०–१२ दिन विदेश गएर टेलिप्रिजेन्स मार्फतबाट मन्त्रीहरुको ब्रिफिङ लिएर देश चलाउने कुराबाट शासकिय जिम्मेवारी पुरा हुन सक्दैन ।  

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था भएको भए फेरि निर्वाचनमा जानुपर्ने अवस्था आउँछ भनेर कष्ट दिएर भएपनि प्रधानमन्त्रीको निरन्तरताको अपेक्षा राख्ने कुरा स्वभाविक हुन्थ्यो । तर यहाँ यस्तो अवस्था छैन । यहाँ नेपाल कम्युनिष्ट पार्टीको बहुमत छ ।  

सजिलैसँग संसदले नयाँ प्रधानमन्त्री छान्न सक्छ । १०१ प्रधानमन्त्री हुनुभएको व्यक्ति यो पार्टीमा हुनुहुन्छ । प्रधानमन्त्री हुने इच्छा राख्ने व्यक्तिहरु हुनुहुन्छ । तर यस्तो बेलामा हामी विश्राम दिन किन चाहिरहेका छैनौँ । मैँले धेरै पटक नेकपाका युवा सांसदहरुले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु ।  

प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनुभएको के भन्थ्यौँ ? बा, धपेडी नगर्नुस्, आराम गर्नुस् । हामी हाम्रो बा लाई त्यसो भन्छौँ । तर प्रधानमन्त्री बा लाई किन यस्तो भन्न सक्दैनौँ । यो म कसैलाई मात्र भनिरहेको छैन । यो गल्ती हामीले पनि गर्यौँ । यो अन्याय हिजो हामीले पनि गर्यौँ । र सबैभन्दा बढी नजिक बस्ने मान्छेले अन्याय गर्यो । यो अन्याय तपाईँहरु नगर्नुस् । यो गल्ती तपाईँहरु नदोहोर्याउनुस् ।  

प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस् । किनकी नेपालको आन्दोलनमा यत्रो ठुलो योगदान पुर्याउनु भएको, नेपालको शान्ति प्रक्रियामा यत्रो ठुलो योगदान पुर्याउनु भएको, यत्रो ठुलो राष्ट्रिय जिम्मेवारी निर्वाह गर्नुभएको । यति मात्रै होइन, स्वाभिमानको लडाईँमा एउटा अथक योद्धाको रुपमा काम गर्नुभएको प्रधानमन्त्री हामी लामो समयसम्म हाम्रो बिचमा अभिभावकको रुपमा देख्न चाहन्छौँ । तर यो कुरा त्यतिखेर मात्रै सम्भव छ, शरीर सबैको शरीर हो । मन पनि सबैको मन हो ।  

प्रधानमन्त्रीको मनको इच्छाशक्तिको म प्रशंसा गर्दछु । म फेरि पनि कामना गर्छु, त्यहाँबाट फर्केर आइसकेपछि सम्माननीय प्रधानमन्त्रीले यो रोष्टममा उभिएर हामीलाई बताइदिने अवस्था बनोस् । हामी सबै पार्थना गर्छौँ । कामना गर्छौँ । कि लगातार कुनै विश्राम नलिकन काम गर्न सक्ने अवस्था बनोस् । तर यस्तो अवस्था आउँदैन भने म सबैलाई आग्रह गर्न चाहन्छु, यो कुरा सुन्दै गर्दा कतिलाई रिस पनि उठ्ला । तर कुनै व्यक्तिगत कुरा होइन, यो देशको कुरा पनि हो । तर देश भन्दा पहिला यो मानवियताको कुरा पनि हो ।  

हामी प्रधानमन्त्री एउटा मान्छे हुनुहुन्छ भन्ने कुरालाई नबिर्सौँ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक