प्रतिनिधि सभाद्वारा ‘अन्तर्राष्ट्रिय आतंकवाद’सम्बन्धि महासन्धिलाई अनुमोदन

प्रतिनिधि सभाको सोमबारको बैठकले ‘अन्तर्राष्ट्रिय आतंवाद’ सम्बन्धि महासन्धिलाई बहुमतले अनुमोदन गरेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध, अवैध लागू औषध कारोबार विरुद्ध सहयोग सम्बन्धि विमस्टेक महासन्धिलाई (रिफरेन्स नोट सहित) अनुमोदन गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त महासन्धिलाई पारित गर्नु अघि बैठकमा छलफल समेत भएको थियो भने छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै गृहमन्त्री रामबहादुर थापाले विज्ञान र प्रविधिको विकासले अहिले सम्पूर्ण विश्वलाई नै प्रभावित पारिरहेको र यसैका कारणले गर्दा पनि आतंकवाद, संगठित अपराध र लागू औषधको कारोबारलाई नियन्त्रण र निस्तेजको विषय अहिले अन्तरदेशीय मुद्दा बनेको पनि स्पष्ट पारेका छन् ।

गृहमन्त्री थापाले नेपाल यस महासन्धिको एक पक्ष राष्ट्र भएकाले पनि यो अभिसन्धीलाई अनुमोदन गर्न जरुरी रहेको सदनलाई जानकारी दिंदै कुनै पनि मुलुकको आफ्नो मुक्तिका लागि हुने विभिन्न खाले आन्दोलनहरुलाई यसले असर पार्दछ की भन्ने विषयमा सांसदहरुले राखेको चिन्ता र चासोको विषयमा सरकार गम्भिर रहेको र सोही अनुरुप उक्त महासन्धिलाई ‘रिफरेन्स नोट’ सहित पठाइने पनि सदनलाई जानकारी दिएका थिए ।

गृहमन्त्री थापाले नेपालमा खुल्ला सीमानाका कारणले समेत यी विविध समस्याहरु आउने गरेकाले विगतमा भएको केही सन्धि–सम्झौताहरुलाई पुनरावलोकन गरी खुल्ला सीमानालाई नियमन गर्ने तर्फ सरकारले कदम चालेको पनि बैठकलाई जानकारी गराए । उक्त महासन्धि उपर सत्तारुढ दल नेकपा(नेकपा)कै मुख्य सचेतक देवप्रसाद गुरुङले संशोधनको सूची दर्ता गराएका थिए भने गृहमन्त्री थापाले जवाफ दिनेक्रममा उक्त संशोधनमा व्यक्त गरिएको चासो र चिन्ताको विषयलाई ‘रिफरेन्स नोट’ महासन्धिमा समावेश गरिने बताएका थिए ।

त्यस्तै प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले ‘जनस्वास्थ्य विधेयक, २०७५’ पेश गरेका छन् भने सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले ‘आवासको अधिकार सम्बन्धि विधेयक, २०७५’ पेश गरे । बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘जैविक विविधता महासन्धि अन्तर्गत जारी भएको आनुवंशिक स्रोतहरुमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँड सम्बन्धि नागोया अभिसन्धिको सम्मिलन गर्ने सम्बन्धि प्रस्ताव’ पनि पेश गरेका छन् ।

त्यसैगरी आजको प्रतिनिधिसभा बैठकले विभिन्न ५ वटा विधेयकहरुलाई समेत दफाबार छलफलको लागि भन्दै सम्बन्धित समितिमा पठाएको छ । बैठकमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५,’ गृहमन्त्री रामबहादुर थापाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७५’, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’, उद्योगमन्त्री मातृका यादवले ‘उपभोक्ता संरक्षण विधेयक,२०७५’ तथा अर्थमन्त्री डा.युवराज खतिवडाले ‘निवृत्तभरण कोष विधेयक, २०७५’लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी भिन्न भिन्न प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त ५ वटै प्रस्तावहरुलाई बैठकको सर्वसम्मतीले स्वीकृत गर्दै दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाएको हो । प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक