अनौठो चलनः जिउदो मानिसको अन्तिम संस्कार

साउन ३१, आफन्तको मृत्युसँग जोडेर कुनै पर्व मनाउने यस्तो चलन नेपालमा मात्र होइन यहाँभन्दा कोसौं टाढा स्पेनको एउटा गाउँमा लगभग गाईजात्राकै आसपास एक पर्व मनाइन्छ, जसको मर्म केही हदसम्म गाईजात्रासँग नजिक छ । फरक यत्ति हो, गाईजात्रामा हामी मृत्यु भएकाको सम्झनामा झाँकी निकाल्छौं, स्पेनी जात्रामा मृत्युको मुखमा पुगेर बाँचेकाहरूका लागि ईश्वरलाई धन्यवाद दिँदै झाँकी निकालिन्छ ।

हरेक वर्ष जुलाई २९ मा यो पर्व मनाइन्छ । यसदिन मृत्युबाट बचेर आएकाको दीर्घायू कामना गर्दै उसका आफन्त एक दिनका लागि मृत्यु अँगाल्छन्।बाइबलमा उल्लेख भएअनुसार जुन दिन मृत्युको मुखमा पुगेका लाजारस जिसस क्राइस्टको आगमनपछि बाँचेका थिए, त्यसै दिन यो जात्रा मनाइने हो । लाजारस स्थानीय समुदायका एक महत्वपूर्ण सन्त मार्थाका भाइ थिए ।

पर्वमा मृत्युको मुखमा पुगेर बाँच्नेको कुनै आफन्त मरेको ‘अभिनय’ गर्दै कफिनमा सुत्छन् । साँच्चिकै लाशजस्तो उसको पूजापाठ गरिन्छ । मलामीले ‌ऊ सुतेको कफिन बोकेर चिहानसम्म पुर्‍याउँछन् र, अन्तिम संस्कार गर्छन् । मान्छे मरेपछि गरिने सम्पूर्ण किरियाकर्म यही एक दिनमा पूरा गरिन्छ। नाटक भए पनि यो सबै रित पुर्‍याएर गरिन्छ ।

स्पेनको उत्तरपश्चिमी पहाडी गाउँ सान्ता मार्ता डे रिबार्तेमेको एउटा सानो चर्चमा गत जुलाई २९ को दिन एकाबिहानै पिलर डोमिनज मुनोज आफ्नो लुगा मिलाउँदै थिइन् । उनले कालो चस्मा लगाईन् र सर्लक्क कफिनभित्र लम्पसार परिन्। मरेको मान्छेको झैं मुनोजको कफिन मलामीले चारतिरबाट काँधमा उचाले ।

मुनोजको अनुहार शान्त थियो । ब्रासब्यान्डको बाजागाजासहित अन्तिम संस्कार गर्न मलामीले लगिरहँदा कफिनमा सुतेकी उनको अनुहारमा बेचैनी थिएन । रातो गुलाफ लिएर दुई हात जोडेकी उनी ध्यानमा बसेकी योगीझैं देखिएकी थिइन् । उक्जिया भने यी सबै घटना उत्सुकतासाथ हेरिरहेकी थिइन् । बेलाबेला छक्क पर्थिन्, घरि रमाउँथिन्। एक दिनलाई मृत्यु अँगालेर कफिनमा सुतेकी मुनोजकी छोरी हुन्, उक्जिया ।

यो वर्ष अन्तिम संस्कार पर्वमा भाग लिने ९ जनामध्येकी एक मुनोज गत वर्ष पनि सरिक थिइन् । दुई पटक मृत्यु संस्कारमा सहभागी हुने कारण भने एउटै–छोरी उक्जिया।उक्जियालाई हड्डी कमजोर हुने रोग लागेको थियो । अघिल्लो वर्ष उनको सुस्वास्थ्यको कामना गर्दै पर्वमा हिस्सा लिएकी मुनोजले ‘यस वर्ष छोरीको स्वास्थय लाभ निम्ति सन्तलाई धन्यवाद दिएको’ बताइन् ।‘पोहोर म कफिनमा थिएँ, मेरी छोरी ह्विलचेयरमा । ऊ गोलीगाँठोको हड्डी भाँच्चिएर हिँड्न नसक्ने थिई,’ मुनोजले भनिन्, ‘आज सन्त मार्थाको कृपाले आफैं हिँडेर पर्वमा सहभागी छ । छोरीको सुस्वास्थ्यको निम्ति सन्तलाई धन्यवाद दिन म फेरि आएकी हुँ ।’

यो जात्रामा धेरै मान्छे आफन्त बाँचेको खुसीमा मृत्यु संस्कार गर्छन् । कोही आफ्नो संस्कारमा आफैं सरिक हुन्छन् । दुर्घटना वा रोगबिरामबाट बाँचेकाहरू जात्रामा आफैं भाग लिन्छन्- मरेको अभिनय र अन्तिम संस्कार गर्छन् ।‘कोही मान्छे हाम्रो यो पर्व देखेर छक्क पर्छन्, हामीलाई ‘क्रेजी’ भन्छन् । केही वर्षअघि यसमा सहभागी हुन्छु भन्दा मेरी आमाले नै मलाई त्यस्तै भन्नुभएको थियो,’ स्थानीय करिना डोमिनजले भनिन् । उनी गत वर्ष मृत्यु अभिनय गर्दै आफ्नै अन्तिम संस्कारमा सहभागी थिइन् । यस वर्ष मलामी छन् ।

केही सय व्यक्ति बसोबास गर्ने सानो गाउँमा यो पर्व कहिले सुरु भयो यकिन छैन । यसलाई मध्यकालीन पर्व मान्ने टन्नै छन् । जिन्दगीमा आएको आकस्मिक संकट टारेकोमा सन्त मार्थालाई धन्यवाद दिँदै दीर्घायू कामना गर्न यो जात्रा मनाउन थालेको स्थानीय बताउँछन् । यसले स्थानीय धामीझाँक्रीमा विश्वास गर्ने यहाँको परम्परा पनि इंगीत गर्छ ।  स्थानीय रोड्रिगज मेन्डेज भन्छन्,‘बीसौं शताब्दीमा यो समाज सामन्ती थियो। उनीहरूसँग आधुनिक उपचार पद्धति सुविधा थिएन। बिरामी परे स्थानीय धामीझाँक्रीकै भर पर्थे ।’

जिउँदै कफिनमा सुतेर अन्तिम संस्कारमा सरिक हुनुलाई ‘मृत्युमाथि जीवनको विजय’ का रूपमा लिइने यो पर्व ‘अस्वाभाविक’ मानिन्छ । ‘अस्वाभाविक’ भनिए पनि फ्रान्स र पोर्चुगलका केही क्याथलिक तीर्थस्थलमा समेत यो परम्परा प्रचलित छ । त्यहाँ शारीरिक तथा आत्मिक दुःख निवारण गर्न भनेर यस्तै विधि अपनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा