यी हुन् हाइप्रोफाइल कलोबजारी गर्नेहरू : पक्राउ गर्न विशेष संयन्त्र परिचालन

Dugad

काठमाडौं । कालोबजारी तथा ठगी मुद्दामा फरार केएल दुगड ग्रुपका सञ्चालकहरू किसनलाल दुडग, नरेश दुगड, कुमुद दुगड र विकास दुगडलगायतका अभियुक्त पक्राउ गर्न सादा पोसाकमा विशेष संयन्त्र बनाई प्रहरी परिचालन भएको छ । २६ फागुनमा अदालतले मुद्दाको पेसी तोकेपछि दुगड ग्रुपका सञ्चालकहरूलाई सोही दिन पक्राउ गरी अदालतमा बुझाउने उद्देश्यका साथ खोजी तीव्र पारिएको प्रहरीले जनाएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रद्युम्न कार्कीका अनुसार अदालतबाट वारेन्ट जारी भएका कारण दुगड ग्रुपका सञ्चालकहरूलाई अदालत बुझाउनका लागि प्रहरीले सबै संयन्त्रको प्रयोग गरी खोजी जारी राखेको छ । ‘केएल दुगड ग्रुपका सञ्चालकलाई पक्राउ वारेन्ट जारी भएको अवस्थामा प्रहरी चुप लागेर बसेको छैन, हामीले उसको गतिविधिलाई नियालिरहेका छौं । सबै कारोबार नेपालमै भएकाले उसको आउजाउ हुन सक्ने सम्भावनालाई पनि ध्यान दिइएको छ ।

उनीहरू कुनै न कुनै बेला पक्राउ पर्नेछन्,’ प्रवक्ता कार्कीले राजधानीसँग भने । डेढ वर्षअघि काठमाडौं प्रहरी परिसरले केएल दुगड समूहको जडीबुटीस्थित गोदाममा बढी मूल्यमा बेच्न लुकाइराखेको चार ट्रकभन्दा बढी खाने तेल नियन्त्रणमा लिएर ९ करोडभन्दा बढी ठगी गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो ।अदालतमा मुद्दा दायर भएपछि फरार चारैजना सञ्चालकविरुद्ध अदालतबाटै पक्राउ पुर्जी जारी भएको थियो । केएल दुगड ग्रुपले स्वस्तिक आयल इन्डस्ट्रिजले धारा, ज्ञान, सनफ्लावर, स्वस्तिकलगायत ब्रान्डमा तोरीको तेल उत्पादन गर्दै आएको छ । प्रहरीले कम्पनीका म्यानेजर अमन जैन र प्रमोद अधिकारीलाई पक्राउ गरी अदालतमा पठाए पनि उनीहरू धरौटीमा छुटिसकेका छन् ।

 

अदालतमा नपुगेका मालिकहरू मात्रै यतिबेला फरारको सूचीमा छन् । नाकाबन्दीको समयमा खाने तेलको मूल्य बढाई कालोबजारी गरेको सूचनाका आधारमा प्रहरीले गोदाममा छापा मारेको थियो । काठमाडौं प्रहरी प्रमुख रहेका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विक्रमसिंह थापाले गोदाममा छापा मारेर सिलबन्दी गरेका थिए । त्यसबेला प्रहरीले दुई ट्रक धारा, एक ट्रक ज्ञान र एक ट्रक सनफ्लावर गरी चार ब्रान्डका तेल सिल गरेपछि कर्मचारीहरूलाई कम्पनी जिम्मा लगाएर दुगड ग्रुपका सञ्चालकहरू फरार भएका हुन् ।

प्रहरीले उनीहरूलाई कालोबजारी ऐनअनुसार कारबाही माग गर्दै सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको थियो । सो ऐनअनुसार अदालतले उनीहरूलाई बढीमा १० वर्ष जेल हाल्न सक्नेछ । कालोबजारी गरेर दुगड समूह बारम्बार विवादमा तानिँदै आएको छ । तर, अहिलेसम्म ठोस कारबाही गरेको छैन । दुगड समूहले खाने तेल, दाल, चामल मैदालगायत खाद्यन्नको उत्पादन र व्यापार गर्दै आएको छ । जब बजारमा आपूर्ति समस्या देखिन्छ, तब दुगड ग्रुप कालोबजारीमा सक्रिय हुने गरेको प्रहरीको भनाइ छ । तत्कालीन समयमा ९ करोड ९६ लाख १३ हजार ठगी गरेको आरोपमा मुद्दा दायर गरेको थियो । प्रहरीले १७ मंसिर २०७२ मा जडीबुटी डिपोमा छापा मार्दा तेल अधिक भण्डारण गरेको तथ्य फेला परेको थियो ।

त्यतिबेला बरामद सामान साल्ट ट्रेडिङ, नेसनल ट्रेडिङबाट बिक्री गर्ने व्यवस्था गरिएको थियो । प्रहरीले कालोबजारीका लागि भण्डारण गरिएको अवस्थामा त्यसबेला १ लाख ३५ हजार ९ सय ५० लिटर खाने तेल, ६० हजार लिटर वनस्पति घ्यु बरामद गरेको हो । बरामद गरेको सबै तेल बजार मूल्यमा बेचिएको थियो । प्रहरीका अनुसार दुगड ग्रुपका अन्य विभिन्न कम्पनीका सञ्चालकहरू किसनलाल दुगड, विकास दुगड, सौरभ दुगड, नरेश दुगड, कुमुद दुगड, चन्द्रीकाप्रसाद कुसवाह र लेखापाल रमाकान्त पारिक, धर्मचन्द्र दुगड, गौतम दुगड, प्रदीपकुमार छाणेज फरार रहेका छन् ।

दुगड ग्रुपले आफूले उत्पादन गरेको खानेतेलमा नाकाबन्दीको मौका छोपी बजार मूल्य (खुद्रा मूल्य) भन्दा ११९ प्रतिशत बढी मूल्यमा सामान बिक्री गरेका थिए । मूल्य स्टिकर परिवर्तन गरी १ सय १९ प्रतिशतसम्म बढी मूल्य लिएको प्रमाणका आधारमा उनीहरूमाथि मुद्दा चलाइएको हो ।

अघिल्लो वर्ष नाकाबन्दीको बेला (२०७२ असोजदेखि मंसिरसम्ममा)मात्र दुगड ग्रुपले उत्पादन गर्ने सनफ्लावर तेलमा खुद्रा मूल्यभन्दा प्रतिलिटर १ सय ४९ रुपैयाँ बढी लिएर बिक्री गरेको थियोे । १ सय २५ रुपैयाँ पर्ने सो तेललाई दुगडका विभिन्न बिक्री केन्द्रले २ सय ७५ रुपैयाँमा बिक्री गरेको प्रमाण फेला परिसकेको छ । त्यसैगरी, प्रतिलिटर १ सय ५८ रुपैयाँ पर्ने धारा हेल्थ तेललाई ३ सय २० रुपैयाँमा बिक्री गरेको पाइएको थियो ।

यस्तै, सनफ्लावरको ५ लिटरको जर्किनको तेललाई तत्कालको बजार मूल्यभन्दा ४ सय ५० रुपैयाँ बढी लिएर बिक्री गरेको पाइएको थियो । आमा तोरीको तेलमा पनि प्रतिलिटर १ सय ६४ रुपैयाँ वास्तविक मूल्यभन्दा बढी लिएको, १ हजार ९ सय ८६ रुपैयाँ तत्कालीन बजार मूल्यको १५ लिटरको स्वस्तिक सोयाबिन तेललाई ३ हजार ९ सय रुपैयाँमा बिक्री गरेको प्रमाण प्रहरीले अदालतमा पेस गरेको छ ।

त्यसैगरी, पाँच लिटरको धारा तोरी तेलमा खुद्रा मूल्यभन्दा ४ सय ६० रुपैयाँ बढी लिएर बिक्री गरेको, प्रतिलिटर १ सय ६४ रुपैयाँ खुद्रा मूल्यको ज्ञान तोरी तेललाई २ सय ४६ रुपैयाँमा बिक्री गरेको सबुत प्रमाण अदालतमा पेस भएको छ । प्रमाणका आधारमा बच्न सक्ने नदेखिएपछि सञ्चालक फरार भई मुद्दा कमजोर पार्ने र विभिन्न शक्तिकेन्द्रमा पुगेर आर्थिक प्रलोभनसहित जोगिने काममा लागेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको