जब नौ बर्षको छोराले ‘यौनसम्पर्क’ बारे सोध्यो

 

-विजया सिंखडाmother-son-vector-drawing-her-walk-31151937

‘यौनसम्पर्क’ अर्थात् ‘सेक्स’ शब्द सुन्दा हामीलाई कस्तो कस्तो अप्ठेरो लाग्छ । नेपालीका लागि उच्चारण सामाजिक रूपमा अशोभनीय मानिन्छ्र । सामान्य रूपमा यो शब्दलाई उच्चारण गर्नु राम्रो र सभ्य मानिदैन । हाम्रो समाजमा जति यो शब्दको प्रयोगले हलचल ल्याउँछ, पश्चिमी सभ्यतामा यो शब्दले खासै त्यति हलचल मच्चाएको भने म पाउँदिन । शायद यहाँ बालबालिकाहरुलाई स्कूलमा दिईने शिक्षाको कारण हो या यसलाई पश्चिमाहरुले त्यति आश्चर्यजनकरूपमा नलिने हुनाले । यो शब्द विशेष महत्व राखेर पनि त्यति उत्सुकता भने यहाँ देखिदैन ।

नौ वर्षको चंचल मेरो छोरा, आज भोलि धेरै विषयलाई लिएर धेरै प्रश्न गर्ने गर्दछ । उसको प्रश्नहरु आजभोलि निकै टेढा मेढा हुन थालेका छन् । उसको उमेरसंगै बढेको उत्सुकतालाई म हरसम्भव सहि उत्तर दिने कोशिस गर्दछु ।

एकदिन म छोरालाई लिएर ट्रेनमा स्वीमिङ कक्षाका लागि अष्टोरिया कम्प्लेक्सतिर जाादै थिएँ । ट्रेन भित्र बीस पच्चिसजना मानिसहरु थिए । थरीथरीका मानिसहरु । स्वेतअस्वेत अमेरिकन, हिस्पानिक, एशियन आदि.. । अमेरिका आप्रवासीहरुले बनेको देश भएकाले हामी संसारका अधिकांश देशका मानिसहरु यहाँ भेट्न सक्छौं । न्युयोर्क शहरमा त यसको प्रभाव अझ धेरै छ ।

ट्रेन भित्र कोही पत्रिका पढ्दै थिए । कोही फोनमा गेम खेल्दै थिए । कोही आँखा बन्द गरेर टाउको अड्याएर आराम गर्दै थिए । कोही साथीसँग गफगाफ गर्दै थिए । सबै आआफ्नो धुनमा । त्यसरी नै म पनि ट्रेनको सिटमा बसेपछि आफ्नो ब्यागबाट फोन निकालेर फेसबुक हेर्न थालें । फेसबुक आजकल मानिसहरुको बलियो सामाजिक सञ्जाल बनेको छ । संसारका जुन कुनामा जस्तो महत्वपूर्ण घटना हुन्छ, त्यो तुरुन्तै फेसबुकमा आइहाल्छ । त्यसैले म पनि आजकल आफ्नो दिनको केहि समय फेसबुकलाई अवश्य पनि दिने गर्दछु ।

यत्तिकैमा मेरो छोराले सबैले सुन्ने गरी अँग्रेजीमा चिच्याउँदै प्रश्न गर्छ –‘मम्, यो यौन संग्राहालय भनेको के हो ? के को बारेमा हो ?’

मेरो नौ वर्षको छोराले ट्रेन भित्र व्याप्त शुन्यता भंग गर्दै लगभग सबैले सुन्ने गरी सोध्दा मेरो पनि ध्यान भंग भयो । एकछिन त म चुप लागें । शायद उसले मेरो मेरो अनुहारमा छाएको दुविधा बुझेर हो कि क्याहो फेरि अँग्रेजीमा भन्यो –‘सेक्स भनेको के हो मम् ?’

उसले औंल्याउदैं ट्रेनको सिट माथिको बिज्ञापन मलाई देखायो । त्यस बिज्ञापनमा खासै विशेष त केहि थिएन तर त्यसमा लेखिएको थियो –‘म्युजियम अफ सेक्स’

‘सेक्स’ शब्द नै त्यहाँ प्रश्नको लागि काफी थियो त्यो बालक मष्तिस्कका लागि । उसको प्रश्नात्मक कलिला नजरहरु मेरो जवाफको प्रतिक्षा गरिरहेका थिए । उसले आज सम्म धेरै म्युजियम घुमेको थियो तर यस्तो म्युजियमको नाम पनि सुनेको थिएन । न त मलाई नै थाहा थियो । उसले ऊ म्युजियम जान पाउँदा सधैं खुशी भएर जाने गर्दथ्यो किनकी म उसको ज्ञानका लागि लागि पनि म्यसजियमको महत्व कति छ भनेर बताउने गर्दथें ।

ट्रेनका वरपरका थरीथरीका यात्रुहरु मेरो र मेरो छोराको मुखमा हेर्न थाले । केहीका आखाँमा अप्रत्यासित रुपमा सोधिएको यो प्रश्नले आश्चर्य ल्याएको थियो भने केहीका अनुहारमा कौतुहलता । केहीले अनुहार हेरिरहेका थिए कि अब म के उत्तर दिनेछु यो प्रश्नको । म पनि निकै दुविधामा परें । तर चाडैं सम्हालिएँ । किनकि म आमा हुँ । र त्यो मेरो जिम्मेवारी थियो । मेरो सन्तानको मनमा जाग्ने हर कौतुहलताको उत्तर दिनु मेरो कर्तव्य थियो । आफुलाई सजग र सहज बनाएर मैले आफ्नो धर्म संस्कृति सम्झिएँ । आफ्नो देश र बाल्यकाल सम्झिएँ । सानै उमेर देखि आफुले देखेका र भोगेका कुराहरु सम्झिएँ । आजको समय र मेरो समय एउटै थिएन । समयले निक्कै फड्को मारिसकेको थियो ।

हामी आज एक्काईसौं शताब्दीमा छौं र म जे भन्न गईरहेकी छु त्यो मेरो छोराले सालौं साल सम्झनेछ । त्यसैले म उसलाई उसको प्रश्नको गलत व्याख्या गरेर गलत मार्गदर्शन गर्ने पक्षमा थिईन । मैले सम्झें, म आजसम्म पनि मेरो आमाले सिकाउनु भएको कुरालाई आत्मसात गर्छु र सत्य मान्छु । त्यसैले मैले केही क्षण मै सोचें म जे भन्नेछु सत्य भन्नेछु । एकदिन ऊ जवान भएर यो नसोचोस् कि मैले उसलाई गलत भनेकी रहेछु । अर्को अर्थमा भनौं भने आजका बालबालिका हामीले सोचेको र हाम्रो समयको जस्त्तो सिधा पनि छैनन् । आजको प्रगतिशील दुनियाँमा धेरै अघि बढिसके । र उनीहरुले अझ धेरै बढ्नु छ । नत्र उनीहरुलाई भविष्यमा जिउन गाह्रो हुनेछ् ।

त्यसैले यस्ता सानातिना तर महत्वपूर्ण विषयलाई मध्यनजÞर राखेर उनीहरुको उत्सुकता र कौतुहलतालाई उचित उत्तर दिएर शान्त पार्नुलाई म आफ्नो कर्तव्य ठान्छु । मलाई लाग्छ, मेरो यो विचार कतिपय मेरो जस्तै देशमा जान्मिनु भएका अभिभावकहरुलाई चित्त नबुझ्ला तर के तपाईहरु चाहनुहुन्छ भोलि तपाईहरुको
कम्पुटर या ल्यापटपमा आफ्ना बच्चाहरु आफ्नो उत्सुकता को उत्तर खोजुन् ? अनावश्यक हजारौं भिडियो र नराम्रो विकृतिले भरिएको निलो सिनेमाहरु खोजि गर्दै हेरेर गलत शिक्षा लिउन् ! अवश्य नै चाहनु हुन्न ।

हामी मानव यस्ता छौं कि जति जुन कुरा लुकायो त्यसमै त्यति नै त्यसको खोजीनिती गरेर पत्ता लगाउने कोशिश गर्छौं । यीनीहरु त बालक हुन् । जसका सिक्ने र बुझ्ने उमेर अब सुरु हुदैंछ । हामीले बेलामै उनीहरुले खोजिरहेको प्रश्नको उत्तर यथोचित उत्तर दिई शान्त गर्न सक्यौ र त्यसको गलत र सही पक्ष र उचित समयको बारेमा जानकारी गरायौं भने कमसे कम सहि गलत छुट्टाउने क्षमताको बृद्धि हुनेछ ।

यस्तै सोचेर मैले मेरो छोरालाई मैले मार्गदर्शन गर्ने निर्णय गरें र उसको प्रश्नात्मक नजरलाई एक पटक फेरि पढें ।

‘सेक्स भनेको के हो मम् ?’ – उसले अझै उत्तरको आशामा मलाई पर्खिरहेको थियो । मैले भनें – ‘यौन सम्पर्क भनेको महिला र पुरुषबीच हुने सामान्य चीज हो..’

यद्यपी आजकल सेक्स अर्थात् यौनसम्पर्कको परिभाषाले बृहत रुप लिइसकेको छ । तर मेरो नौ वर्षको छोराले बुझ्न सक्ने मात्र सम्झाउन मैले उचित ठानें त्यसबखत । म अझै अघि बढें –
‘भगवानले पुरुष र नारीको सिर्जना गरेका छन् संसार चलाउन । उनले मानिसको दुई किसिमको शरीर बनाए । त्यसमा तिमि पुरुष शरीर हौ । म लगायत सबै महिलाहरु नारी शरीर हुन् । तिम्रो शरीरको बनावट नारी भन्दा फरक छ । तिमी आफ्नो शरीरको तल्लो भाग मात्र छोपेर हिड्न सक्छौ । तर हामी केटी मानिसलाई भगवानले अलि फरक तरिकाले बनाएका छन् । त्यसैले हामीले हाम्रो शरीरको दुई भाग छोप्नु पर्ने हुन्छ । यसमा कुनै अचम्म मान्नुपर्ने कुरा छैन । यहाँ जति पनि मानिसहरु छन् ति या त केटा हुन् या केटी । यो भगवानको सृष्टि हो । जब कोही केटा या केटी मान्छे हुर्किदै जान्छ र जवान हुन्छन् । तब एक अर्को संग आकर्षित हुन्छन् । अनि नजिक हुन्छन् या बिहे गर्छन् । उनीहरु बीच शरीरको सम्बन्ध हुन्छ जसलाई यौनसम्पर्क भनिन्छ । यो सबैको जीवनमा हुन्छ, ढिलो या चाँडो । त्यसैले तिमि अहिले सानै छौ अलि ठुलो भएपछी बुझ्नेछौ ।’
यति त उसको प्रश्नको उत्तर दिएँ । थाहा छैन उसले मेरो उत्तरबाट कति बुझ्यो ! के बुझ्यो ! तर म अनुमान लगाउन सक्थें कि उसको कौतुहलता केही हदसम्म शान्त भएको थियो । मैले सन्तुष्टिको सास फेरें । मेरो छेवैमा एक ७० बर्ष जतिकी स्वेत भद्र महिला हामी आमा छोराको वार्तालाप सुनिरहेकी थिईन् । उनले भनिन् –‘तिमीले असाध्यै राम्रो तरिकाले छोराको प्रश्नको जवाफ दियौ । यो असाध्यै संवेदनशिल उमेर हो र उनीहरुलाई सही तरिकाले मार्गदर्शन गर्नुपर्छ । मेरो चारजना छोराहरुसँगै मैले पनि झण्डै यस्तै अवस्था भोगेकी थिएँ ।’

मलाई खुशी महसुस भयो । शायद म आमा हुनुको कर्तव्य सही ढंगबाट निभाउँदै छु । म कोशिश गर्दछु आफ्नो तर्फबाट । बाकीं त भाविश्यको गर्भमा । हाम्रो गन्तव्य आइसकेको थियो । ती महिलालाई शुभदिन भन्दै म त्यो विज्ञापनमाथि पुन एकपटक हेर्दै मेरो भुन्टे छोराको हात समातेर ट्रेन बाहिर निस्कें ।

 

photo

NOC1-250x300