April 29, 2017

४ हजार लिटरमा ९९ लिटर पेट्रोलियम ट्यांकरबाटै हुन्छ गायब , यस्ता छन् ४ कारण

nepal-oil-nigam-NOC-339x177

१६ वैशाख ,काठमाडौँ –  राजधानीमा वितरित पेट्रोलियममध्ये प्रति ४ हजार लिटरमा ९९ लिटर हराउने गरेको भेटिएको खबर आजको नयाँ पत्रिकामा छ । आयल निगमले कम तेल दिएको पेट्रोलपम्पहरूले गुनासो गरेपछि अध्ययनका क्रममा यस्तो पत्ता लागेको नेपाल आयल निगमले जनाएको छ । राजधानीको कालिमाटीस्थित माली आयल स्टोर्स पेट्रोलपम्पमा खन्याइएको ४ हजार पेट्रोलमध्ये ९९ लिटर गायब भएको छ । मंगलबार सो पम्पको अन्डरग्राउन्ड ट्यांकी खाली गराएर ४ हजार लिटर पेट्रोल खन्याइएकोमा नोजलले ३ हजार ९ सय १ लिटर मात्रै वितरण गरेको थियो । पम्पमै इन्धन गायब भएपछि आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारी चकित भएका छन् र अहिले छानबिन भइरहेको छ ।

आयल निगमका निर्देशक दीपक बरालले निगमबाट पम्पलाई कम तेल वितरण हुने गरेको गुनासो बढ्दै गएपछि कालिमाटीस्थित माली आयल स्टोर्समा मंगलबार परीक्षण गरिएको बताए । ‘निगमको थानकोट डिपोबाट ट्यांकर लोड गरी माली आयल स्टोर्समा १२ हजार लिटर पेट्रोल लगिएको थियो,’ उनले भने, ‘त्यसमध्ये एउटा च्याम्बरमा रहेको ४ हजार लिटर पेट्रोलपम्पमा खन्याएर पुनः सोही इन्धन ट्यांकरमा हाल्दा ९९ लिटर कम वितरण भएको देखिएको छ ।’

उपत्यकाका अधिकांश पम्पले निगमबाट कम इन्धन आएको गुनासो गरेकाले गुणस्तर तथा नापतौल विभागले सबै पम्पको इन्धन प्राप्ति र वितरण अवस्थाको अनुगमन गर्ने जनाएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सबै पम्पको अनुगमन गरी यथार्थ पत्ता लगाउने बताए ।

यसरी भयो छानबिन
व्यवसायीले राजधानीका अधिकांश पम्पले निगमले कम तेल दिने गरेको गुनासो बारम्बार दोहोर्याएपछि आयल निगम, गुणस्तर तथा नापतौल विभाग र व्यवसायीको प्रतिनिधि सम्मिलित भएर मंगलबार दिउँसो माली आयलमा परीक्षण गरेका थिए । थानकोटबाट पेट्रोल बोकेर आएको १२ हजार लिटरको ट्यांकरबाट ४ हजार लिटर अटाउने एक च्याम्बरको पेट्रोल उक्त पम्पको अन्डरग्राउन्ड ट्यांकीमा खसालियो । ट्यांकरको पेट्रोल खन्याउनुअघि पम्पको ट्यांकी खाली गरिएको निगमका निर्देशक दीपक बरालले बताए ।

च्याम्बरमा रहेको ४ हजार लिटर ट्यांकीमा खसाएपछि डिस्पेन्सिङ पम्पमा रहेको नोजल (सवारीसाधनमा इन्धन हाल्ने मेसिन)को सहायतामा पुनः उक्त पेट्रोल ट्यांकरमै हालियो । तर, नोजलले ३ हजार ९ सय १ लिटर मात्रै पेट्रोल ट्यांकरमा गएको देखियो । पम्पबाटै ९९ लिटर कम तेल बाहिर आएपछि ट्यांकरको च्याम्बरको क्यालिब्रेसन गर्न गुणस्तर विभागको प्राविधिक टोली आयो । गुणस्तरको टोलीले च्याम्बरमा ४ हजार लिटरमा १२ लिटर कम अर्थात् ३ हजार ९ सय ८८ लिटर तेल रहेको पुष्टि गर्यो । गुणस्तरको रिपोर्टअनुसार अन्डरग्राउन्ड ट्यांकीमा ३ हजार ९ सय ८८ लिटर तेल खसेको थियो । तर, नोजलले ३ हजार ९ सय १ लिटर मात्रै वितरण गर्दा पम्पबाटै ८७ लिटर गायब भएको देखिन्छ ।

निगमबाट १२ लिटर कम वितरण
आयल निगमले ४ हजार लिटर दाबी गरे पनि १२ लिटर कम दिने गरेको माली आयलबाट पुष्टि भएको छ । निगम निर्देशक बरालले भारतीय क्यालिब्रेसन र नेपाली क्यालिब्रेसन फरक परेका कारण ४ हजार लिटरमा १२ लिटर कम देखिएको बताए । ‘हामीले भारतीय क्यालिब्रेसनलाई मान्यता दिएर इन्धन बुझ्दै आएका छौँ,’ उनले भने, ‘तर, नेपाली क्यालिब्रेसनले ४ हजार लिटरमा १२ लिटर कम आएको देखिन्छ । यो विषयमा हामी भारतीय आयल कर्पोरेसनसँग कुरा गर्छौँ ।’

गायब हुनुका ४ सम्भावित कारण
१.चालक : ट्यांकरचालकले प्रत्येक च्याम्बरमा ग्यालेन राखेर इन्धन चोरी गर्न सक्छन् । विगतमा यसरी उनीहरूले इन्धन चोरी गरेको पुष्टि भइसकेको छ । च्याम्बरभित्र खाली ग्यालेन राख्ने र इन्धन ढुवानीका क्रममा उक्त ग्यालेन भरिन्छ । तर, च्याम्बरमा भएको तेल पाइपको सहायताले पम्पमा खसाल्दा ग्यालेनको तेल आउँदैन र पम्पले कम तेल पाउँछन् ।
२. मेसिनको खराबी : प्राविधिक खराबीका कारण डिस्पेन्सिङ पम्पले देखाएभन्दा बढी तेल फाल्न सक्ने अनुमान गरिएको छ । मालीको डिस्पेन्सिङ पम्पले डिस्प्लेमा ३ हजार ९ सय १ लिटर देखाउने, तर तेलचाहिँ ३ हजार ९ सय ८८ लिटर फालेको हुन सक्ने अनुमान छ ।
३. चोरीको ट्यांकी जडान : पम्प परिसरमा निगमको स्वीकृति लिएर अन्डरग्राउन्ड ट्यांकी बनाइन्छ । तर, सोही ट्यांकीसँग जोडेर निगमलाई थाहै नदिई अन्डरग्राउन्डमै अर्को ट्यांकी बनाउने र दुई ट्यांकीलाई पाइपको सहायताले जोडेर राख्न सकिन्छ । यस्तो भएको खण्डमा स्वीकृति लिएर राखेको ट्यांकीमा तेल खन्याउँदा अवैध रूपमा बनाइएको अर्को ट्यांकीमा पाइपको सहायताले निश्चित तेल जान्छ । र, ट्यांकरबाट खन्याएभन्दा कम तेल पम्पले वितरण गरेर बाँकी तेल अवैध ट्यांकीमा लुकाएर राख्न सक्छन् ।
४. ट्यांकीबाट चुहावट : अन्डरग्राउन्डको ट्यांकीमा कुनै खराबी आएर इन्धन चुहावट हुन सक्ने आँकलन गरिएको छ । मंगलबार माली आयलमा ट्यांकरबाट २५ मिनेटमा ट्यांकीमा तेल खसालिएको थियो भने ट्यांकीबाट नोजलको सहायताले पुनः ट्यांकरमा तेल हाल्न २ घन्टा ३० मिनेट लागेको थियो । छोटो अवधिमा ८७ लिटर तेल चुहावट भयो भन्ने मुस्किल छ ।

हामीले कम तेल पाइरहेका छौँ
‘हामीले लामो समयदेखि सय लिटरसम्म कम तेल पाइरहेको अवस्था छ । एकपटकमा सय लिटरसम्म कम तेल पाएर व्यापार गर्न गाह्रो भएपछि एक सातासम्म त निगमबाट तेल नै नलिएर बेच्ने काम पनि गरेनौँ । त्यसपछि बागमती पेट्रोलियम डिलर्स एसोसिएसनको पहलमा पम्पले कम तेल पाउने विषयमा अनुसन्धान अघि बढाउने क्रममा मंगलबार हाम्रो पम्पमा अनुगमन भयो । त्यसक्रममा ट्यांकरमा रहेको ४ हजार लिटर पम्पको अन्डरग्राउन्ड ट्यांकीमा हालेर नोजलको सहायताले पुनः ट्यांकरमा हाल्दा ९९ सय लिटर कम देखियो । यो कसरी भयो, थाहा भएन । अहिले अनुसन्धान भइरहेको छ । यथार्थ विषय अनुसन्धान सकिएपछि बाहिर आउनेमा विश्वस्त छौँ ।’ -कवीन्द्रबहादुर माली, सञ्चालक, माली आयल स्टोर्स

‘८७ लिटर हराउँदा चकित छौँ’ -विश्वबाबु पुडासैनी, महानिर्देशक, गुणस्तर तथा नापतौल विभाग

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने